बीपीले उतिबेलै सचेत गराएका थिए– देश रहेन भने प्रजातन्त्र निरर्थक छ | Khabarhub Khabarhub

बीपीले उतिबेलै सचेत गराएका थिए– देश रहेन भने प्रजातन्त्र निरर्थक छ


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कांग्रेसले महासमिति बैठक सम्पन्न गरेको छ । सेल्फीका लागि बीपीको ठूलो फोटो सजाएर राख्ने कांग्रेस मनसा, बाचा, कर्मणा बीपीको पदचापबाट निरपेक्ष भइसकेको छ । हिजो सम्पन्न महासमिति बैठकमा बीपीको फोटो सेल्फीका लागि व्यापक उपयोग त भयो तर उनको आदर्श र राष्ट्रियताप्रति व्यक्त अडान कसैका लागि अनुकरणीय भएन ।  २०३७ सालमा नेपालगञ्जमा कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा बीपीले राखेको धारणा सान्दर्भिक हुने ठानेर हामीले हुबहु राखेका छौं ।

म अमेरिकाको अस्पतालमा थिएँ, जुनबेला राजाबाट संविधानको घोषणा भयो । त्यसपछि मलाई त्यहाँका नेपालीहरूले संविधानको संशोधन ल्याएर दिए । त्यसमा ६ वटा वर्गीय संगठनमध्ये एकको सदस्य अनिवार्य गरिदिएकोले मलाई के लागेको थियो भने, त्यसबाट राजाले संसदलाई आफ्नो हातमा नियन्त्रण गर्ने अप्रत्यक्ष शक्ति लिएको होला । त्यहाँ कसैले गडबडी गर्‍यो भने, त्यसबाट राजाले संसदलाई आफ्नो हातमा हतियार राखेको होला ।

मानिलिनोस् ८४ स्थान लिएर म प्रधानमन्त्री भएँ रे, तर त्यहाँ अप्ठ्यारो परेमा ०१७ सालको जस्तो काण्ड नगरी वर्गीय संगठनको जस्तो स्वीच दबाइदियो भने मेरो प्रधानमन्त्री पद पनि संसदमा खतम हुने, त्यो उद्देश्य हुन सक्छ कि भन्ठानेको थिएँ । तर एक महिना पहिलेको अध्यादेशबाट त्यो पनि नभएको प्रमाणित भयो । वर्गीय संगठनको सदस्य त केवल औपचारिक किसिमको मात्र रहेछ ।

२१ वर्ष पुगेका मानिसले भोट दिन पाउँछन् भन्दा जनतासँग सम्पर्क स्थापित गर्ने मौका देखिन्छ । तर अधिकारको कुरा भने यसमा छैन । त्यसकारणले यसलाई हामीले अहिले दुई स्तरमा विचार गर्नुपरेको छ । जो पञ्चायतवादी छन्, तिनीहरूको निम्ति यो संविधान आखिरी हो । यो संविधान उनीहरूलाई पुग्ने ठाउँ हो, अब टुंगियो । अब पञ्चायतको अन्त्य आइसकेको छ ।

यसले प्रजातान्त्रिक प्रक्रियाको निम्ति अवसर प्रदान गरेको छ ? अथवा यात्रा प्रारम्भ गराउँछ, गराउँदैन ? प्रजातन्त्र निम्तिको यात्रालाई सुगम गराउँछ, गराउँदैन ? सुगम गराउँछ भनेर चुनावमा भाग लिन हामी गयौं भने के हामीहरूको चरित्र उही रहन्छ ? हामीहरूको अनुहार उही रहन्छ ? नेपाली कांग्रेस, जसको बीस बर्षको यत्रो दमनपछि पनि एउटा आदर्श छ । कतिलाई लाग्यो होला– नेपाली कांग्रेस मरेर गयो, सिद्धिएर गयो, खत्तम भएर गयो । तर यो त नमरेको बीउ पो रहेछ, अलिकति पानी पर्ने बित्तिकै त्यो अंकुरित भएर निस्केर आइहाल्ने । यो तपाईँहरूले देखिहाल्नुभयो ।

सरकारमा हामी एकचोटि १७ महिना मात्रै थियौं, केही अधिकारकासाथ । हाम्रो ठूलो नैतिकताले यतिका वर्षसम्म हामीहरू विरोधीका रूपमा सह्यौं । जब म प्रधानमन्त्री थिएँ, विरोधी जस्तै रहेछु । किनभने त्यस बखतमा सबभन्दा ठूलो मार प्रधानमन्त्रीलाई पर्‍यो । त्यो विरोधी भएरै होला । त्यसकारण नेपाली कांग्रेसको इतिहासमा या भनौं राजनीतिमा जब नेपालको राजनीतिले नयाँ मोड लियो ।

२००३ सालपछि या २००७ सालपछि तबदेखि नेपाली कांग्रेस विरोधीका रूपमा आएको छ । तर विरोधीका रूपमा आउँदा आउँदै पनि जहिले पनि राजनीतिको केन्द्रमा छ । अहिले पनि राजनीतिक केन्द्रबाट हामीहरू के भन्छौं, हामीहरू के निर्णय लिन्छौँ देशभित्र र विदेशमा पनि त्यो जान्न सबै उत्सुक छन् ।

आदर्श र व्यवहारको बारेमा मैले एउटा उदाहरण भन्ने गरेको छु– जंगलमा हामीहरू छौं रे या समुद्रमा हामीहरू छौं रे । अँध्यारो रात छ । के ले अगाडि जाने ? कताबाट दिशा प्रदान गर्छ भन्दा ध्रुबतारा हेरेर भन्नुहुन्छ या कुनै तारा हेरेर भन्नुहुन्छ– यो त पूर्वपट्टिको तारा हो । त्यसै अनुसरण गरेर गयौं भने हामीहरू पूर्वतिर जान्छौँ, त्यो भनेर तपाईं गोडा कता राख्नुहुन्छ, त्यो पनि तपाईंले ध्यानमा राख्नुहुन्छ ।

तपाईंले त्यो आदर्शको चम्किलो तारापट्टि पनि दृष्टि राख्नुहुन्छ । आदर्शलाई मात्र हेर्नुभयो– चम्किलो तारालाई मात्र हेर्नुभयो भने गोडा खाडलमा पुग्या छ भन्ने थाहा हुँदैन । खोट केलाएर हेर्नुभयो भने आदर्शको ज्योतिले हामीलाई जंगलबाट बाहिर निकाल्छ ।

देशको समस्या जटिल छ । हाम्रो मुलुक अहिले बडो कमजोर आधारमा अडेको छ । पृथ्वीनारायण शाहले त्यसबखतको अवस्थामा एउटा देश बनाए । तर उनले यसलाई राष्ट्रियताको बलियो आधार दिन सकेनन् । ०७ सालसम्म यसको आधार बनेन । प्रजातन्त्र नभए राष्ट्रियता रहन्न । राष्ट्रियताको विकासद्वारा देशलाई जोगाउनु परेको छ । राष्ट्रप्रति कत्रो खतरा आइपरेको छ भन्ने कुरा सबैले बुझ्नुपरेको छ । अन्तर्राष्ट्रिय षड्यन्त्र र हाम्रै मुलुकभित्र भइरहेको षड्यन्त्रबाट देशलाई जोगाउनु छ । राष्ट्र रहेन भने हाम्रो प्रजातन्त्रको कुरा पनि निरर्थक हुन्छ र यस देशको उन्नतिको कुरा पनि निरर्थक भएर जान्छ । प्रजातन्त्र जो हाम्रो परम्परा र हाम्रो आदर्श हो, त्यसमा थपिएको छ– राष्ट्रियताको प्रश्न ।

मेरो भनाइको तात्पर्य के हो भने राष्ट्र निर्माण गरिसकेपछि प्रजातन्त्रको लडाइँ हुनुपर्थ्यो । तर राष्ट्र निर्माण नभईकनै राष्ट्रलाई मजबुत पार्न पनि हामीहरूले प्रजातन्त्रको लडाइँ लड्नुपरेको छ । यदि नेपाल राष्ट्र बनिसकेको भए, राष्ट्रियताको अरु अंगहरु, संस्थाहरु, संसद, शासन प्रणाली, शासन व्यवस्था, न्यायपालिका, कार्यपालिका आदि चलेको भए, राष्ट्रलाई एक ठाउँमा राख्न सक्ने अंगहरु भएको भए राष्ट्रियता कमजोर हुने थिएन । तर नेपालमा केही पनि भएन ।

अर्को हामीले बुझ्नुपर्ने कुरा– यो बीस वर्षमा यहाँ एउटा नयाँ वर्ग स्थापित भयो । कुनै पनि हालतमा, कुनै पनि अर्थमा त्यो राष्ट्रिय वर्ग होइन । न त त्यो सामन्ती वर्ग हो । पहिले राणाहरू सामन्ती वर्ग थिए । सामन्ती वर्ग भनेको जो कृषिको आधारमा किसानको शोषण गरेर धनोपार्जन गर्दछन् । भूमिपतिहरु, ठूला ठूला विर्तावालाहरु, जमिन्दारहरु, जसले ठूल्ठूला जमिनहरू पनि राखे, किसानलाई हलो जोत्न लगाए, त्यसको अधिकांश भाग आफूले लिए ।

किसानहरूलाई नमरुन् भनेर खान मात्र दिन्थे । ती सामन्तीहरूलाई पनि यो भूमिको मोह थियो । जमिनमा वर्षा भएन भने काठमाडौंमा बसेर दाङको खेती गर्ने या कैलाली कन्चनपुरको खेती गर्ने ? वर्षा नभए अब त्यसबाट अन्न हुँदैन, यसपाली त सुनचाँदीको खरिद वा छोरीको विवाह गर्न पाइन भएन भन्ने उनीहरूलाई ठूलो चिन्ता लाग्थ्यो । यहाँ वर्षा राम्रो होस, उब्जनी होस भन्ने ती शोषकहरूलाई पनि हुन्थ्यो ।

तर अहिले जुन वर्ग उपस्थित छ, अहिले जुन वर्ग बन्या छ, त्यसलाई देशसंग कुनै वास्ता छैन । सुखा भए तापनि उनीहरूको सम्पत्तिमा कुनै कमी हुँदैन । पानी पर्छ, पर्दैन, नहर लाग्छ, लाग्दैन तिनीहरूलाई कुनै वास्ता छैन । बजार डुबेर जाओस् या उद्योगधन्दाहरूको विकास होस, नहोस् । उनीहरूलाई कुनै फरक पर्दैन । उनीहरू त यहाँको सम्पदालाई नष्ट गरेर, प्राचीन कला कृति विदेशमा पठाएर, जंगल खाएर, अवैध धन्दा गरेर बसेका छन् । यही तत्व अहिले शासनको केन्द्रमा छ । यो राष्ट्रिय तत्व होइन, अराष्ट्रिय तत्व हो । यिनीहरूले बीस वर्षसम्म, हामी राष्ट्रवादीहरूलाई अराष्ट्रिय तत्व भनिरहे । यो वर्ग अहिले बडो धनाढ्य र सुसम्पन्न छ । यो वर्ग प्रजातन्त्र आउनेवित्तिक्कै अस्तित्वहीन भएर जान्छ ।

एउटा घतलाग्दो कुरो यहाँका विद्यार्थीहरूले पनि सुन्नुपर्ने छ । विद्यार्थी आन्दोलन चल्दछ, त्यसले गर्दा हामीलाई जनमत संग्रह प्राप्त भयो, यसो भयो, उसो भयो भनिन्छ । म त केवल समस्याको प्रकृतिलाई हेर्ने गर्दछु । म देख्दछु, त्यसको सबैभन्दा ठूलो प्राप्ति हो– सूर्यबहादुर थापा । त्यत्रो ठूलो आन्दोलनबाट त आन्दोलनकारी पो स्थापित हुनुपर्ने, तर यहाँ तिनीहरू स्थापित भएनन् । स्थापित को हुन्छ भने सूर्यबहादुर थापा । थापाको निम्ति आन्दोलन गरेजस्तो पो प्रमाणित भयो ।

कति विद्यार्थीहरू मरे, अपांग भए, थुनिए, यातना पाए । ती सबैले सूर्यबहादुर थापा ल्याउन गरेको म भन्दिनँ । तर त्यस्तो प्रमाणित भयो । आन्दोलन हुन्छ भुट्टोलाई लिएर । तपाईंलाई थाहा छ ? हाम्रा मान्छे मारिँदा आन्दोलन हुँदैन । त्यसभन्दा १५ दिन अगाडि यहींका देशभक्तहरू मारिए, झुण्ड्याइए, गोलीका शिकार भए– यज्ञबहादुर, भीमनारायण श्रेष्ठ । तिनीहरुका बारेमा केही हुँदैन । आन्दोलन भुट्टोको कारणबाट प्रारम्भ हुन्छ र अन्त्य हुन्छ– सूर्यबहादुर थापाको स्थापनामा ।

अर्को कुरा भनिन्छ, किसानले आन्दोलन गरे । किसानले आन्दोलन गरेको भए मालपोत कहाँ रोकियो ? कुन ठाउँमा किसान किसान भएर उभिए ? कुन ठाउँमा मजदुर मजदुर भएर उभिए ? कुन ठाउँमा मजदुरले हडताल गरे ? कहाँ यातायात रोकियो ? यातायात रोकियो भने पनि तिनीहरूले बाटो छेकेनन् ।

यदि मेरो विश्लेषण सही हो भने जुन दिन सूर्यबहादुर थापा जानुपर्ने खण्ड आउँछ, त्यस बखत यो भन्दा ठूलो आन्दोलन हुन्छ । अर्को कुरा, हालै राजाको सबभन्दा सम्माननीय अतिथि राजकीय भ्रमणमा आएका थिए– प्रिन्स चाल्र्स, ब्रिटेनका उत्तराधिकारी । त्यसदिन काठमाडौं सम्पूर्ण बन्द हुन्छ । त्यो कसले गरायो ? त्यत्रो हडताल गराउने शक्ति कसको ? म विद्यार्थीहरूलाई सोध्दछु– के विद्यार्थीहरूले गराए ? हामीले गराएको ? राजाबाट भयो ? जब हामी यी सब कुराको विश्लेषण गर्दैनौं तबसम्म हामी एउटा अव्यवहारिक मात्र होइन, केवल कितावी कुराहरू मात्रै, आदर्शका कुराहरू मात्र गर्न थाल्दछौँ ।

एउटा ठूलो षडयन्त्र, देशलाई समाप्त पार्ने षडयन्त्र भइरहेको छ । अर्को उदाहरण म तपाईंलाई दिन चाहन्छु– यो उदाहरण अहिले उपयुक्त छ , छैन । धेरै ठाउँमा आन्दोलन भएका छन् । धेरै ठाउँमा सशस्त्र क्रान्ति भएका छन् र हुँदैछन् । कुन ठाउँको अहिले सशस्त्र क्रान्ति, अमेरिकाको मद्दत वा रुको मद्दत नभै कहीँ भएको छ ? जति पनि अहिले क्रान्तिका कुरा चलेका छन्– त्यसमा हतियार या त रुसले दिएको छ या अमेरिकाले दिएको छ । तपाई एलसाल्भाडोरलाई हेर्नुस् या इथियोपियालाई हेर्नुस् या अन्य ठाउँहरूलाई हेर्नुस्, जहाँ पनि । अफगानिस्तानलाई हेर्नुस्, त्यहाँ रुस आइसकेको छ । जब हामी बम, गोली र बन्दुकका कुरा गर्दछौँ, त्यो कुन परिप्रेक्ष्यमा कुरा गरिरहेका छौ, त्यो बुझ्नुपर्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ३ : ११ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द