कथा : साँहिली दिदी | Khabarhub Khabarhub

कथा : साँहिली दिदी


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

गाउँमा साँहिली दिदी थिइन् । मैले होस सम्हालेदेखि उनलाई गाउँमै देखेँ । उनी कहिले पाटीपौवा त कहिले सडक र कहिले कसैको घरको गेटमा सुत्थिन् । मानसिक बिरामी थिइन् ।

उनका बुवाआमा परिवार र घर कोही केही थिएन ।अहिलेजस्तो भएको भए उनी परिवारसँगै हुन्थिन् होला । उपचार गरिन्थ्यो होला ।
पहिले मानसिक बिरामीको उपचार थिएन । परिवारले सम्हाल्न नसक्नेबित्तिकै उनीहरु सडकमै पुग्थे । गाउँ फर्किने बाटो थाहा नपाउने गरी उनीहरुलाई कतै लगेर छोडिन्थ्यो ।

बुढापाकाका कुरा सुने अनुसार पहिले–पहिले मानसिक बिरामीलाई जंगलमा लगेर छोडिदिने पनि गरिन्थ्यो ।

समाजमा परिवारको निकै गुणगान चल्छ । फलानाको परिवार आहा ! कस्तो एकजुट, कति मिलेको, कति माया ममता भएको ।

तर, त्यस्तो परिवारमा कुनै एक सदस्य बिरामी पर्यो र लामो समय निको हुन सकेन भने कति छिटै बोझ बन्छ । अझ दीर्घकालीन रोगले समात्यो भने मान्छे पत्थर बन्छ ।

दिमागले सही के हो र गलत छुट्याउन नसक्ने भएपछि हामी हाम्रै परिवारका लागि बोझ बन्न कत्तिबेर लाग्दैन ।परिवार पनि तपाई निरोगी नहुञ्जेलसम्मका लागि मात्रै हो । बाबुआमाका लागि छोराछोरी र छोराछोरीका लागि बाबुआमा बोझ बन्न केही समय लाग्दैन । नत्र साँहिली दिदी बुवाआमाविनाकी लाबारिस कसरी भइन् ?

सायद साँहिली पनि कुनै घरकी लक्ष्मी थिइन् । प्यारी थिइन् ।

उनको मानसिक हालत ठीक भएका बेला राम्रै कुरा गर्थिन् । त्योबेला केही गाउँले उनलाई काम पनि लगाउथे । लुगा धुने, भाँडा माझ्ने गर्थिन् । कतिले दाउरा चिराउनेदेखि बारीमा मकै गोड्न पनि लगाउथे । उनी गर्थिन् पनि ।

उनलाई दिनभर काममा लगाएर पेटभरि खान दिए पुग्थ्यो । काम गरेको ज्याला किन नदिएको भनेर सोध्ने उनलाई ज्ञान थिएन । आवश्यकता पनि थिएन ।

तर, जब उनको मानसिक हालत बिग्रन्थ्यो । उनले सारा गाउँलेलाई मुखमा आएजति फोहोर शब्दले गाली गर्थिन् । घर अगाडि उभिएर सुन्न नसक्ने गाली गर्थिन् । त्यो घरका मान्छेले ढोका थुनेर बस्नुपर्ने हुन्थ्यो । दिमागको बिरामी मान्छेभित्र यति धेरै अपशब्द कसरी बस्छ होला ? म छक्क पर्थेँ ।

आज साँहिली बौलाइछे भन्थे, गाउँलेहरु ।

पुरुषहरु साँहिलीको नजिक पर्नै डराउथे । कतिबेला सन्किन्छे र मुखबाट आएजति बोल्दिने हो भन्ने भय थियो ।

कहिलेकाँही खुरुखुरु बाटो हिँडेको मान्छेलाई ढुङगाले पनि हान्थिन् । साँहिलीसँग जोगिएर पनि हिँड्नु पर्थ्र्यो । उनको गाली र प्रहारबाट बचेर हिड्नु पर्थ्यो ।

उनको व्यवहारबाट आजित भएपनि गाउँहरुले सबैले उनलाई भित्रबाट माया पनि गर्थे ।

कुनैले स्थायी रुपमा ग्रहण नगरेपनि साँहिली गाउँले सबैको हिस्सेदार थिई । विवाह, पूजा लगायत सबै ठाउँमा उसलाई भाँडा माझ्नदेखि पानी बोक्न लगाइन्थ्यो । सद्दे अवस्थामा साँहिली निकै मिहिनेती थिई ।

कसैै–कसैले उनलाई सारी दिन्थे । सारी लगाएर हिँडेको दिन उनी बेहुलीजस्तै देखिन्थिन् । अग्लो र पातलो, मिलेको जिउडाल थियो । दिमागी हातल नबिग्रिएको भए, साँहिली कसैकी प्रेमिका हुने थिइन् । कुनै राम्रो केटोले उसलाई बिहे गर्ने थियो । साँहिलीको पनि परिवार हुने थियो । समाजमा इज्जत हुने थियो ।

तर, दिमागी हाल ठीक छैन । उनी कसैकी प्रेमिका हुन सक्छिन् ?

साँहिली गाउँलेहरुले राखिदिएको नाम थियो । बुवाआमाले राखिदिएको नाम पक्कै अर्कै थियो । रुपरंग अनुसार त्यो नाम उनलाई सुहाएको थिएन । गाउँमा साना–ठुला जुनसुकै उमेरकाले पनि ‘तँ’ भनेर बोलाउथे ।

केहीले बौलाही भनेरै बोलाउथे ।

उ कहिलेकाँही एक्लै गफ गरेर हिँड्थिन् । आफैसँग के गफ गर्छिन्होला । कहिले रुँदै, कहिले हाँस्दै हिँड्थिन् । आज फलानोलाई ठेगान लगाउँछु भन्दै मुर्मुरिन्थिन् ।

साँहिलीलाई नुहाउन जाँगर लाग्दैनथ्यो । निकै फोहोरी थिइन्। नजिकै आइन् भने ह्वास्स नमिठो गन्ध आउँथ्यो । उनले कसैलाई छुन खोजिन् भने मान्छेहरु गाली गर्थे । नछो भन्दै पर–पर सर्थे ।

यी सबै सामान्य क्रियाकलाप र व्यवहार थिए ।तर, एउटा कुरा निकै असामान्य थियो ।

साँहिलीपटक–पटक गर्भवती हुन्थिन् । उनको कुनै प्रेमी थिएन । उनको लोग्ने थिएन । तर पनि उनी गर्भवती हुन्थिन् ।

उनलाई गर्भवती बनाउने को थियो ? सत्ययुगको समय भए, कुरा अर्कै हुनेथियो । हावाले छोएको भरमा देवीहरु गर्भवती हुन्थे भनिन्छ । कलियुगमा साँहिलीलाई केले, कसले छोएको थियो ?

गाउँका सबै पुरुष उसलाई देखेर घिनाउथे । उनीहरु नजिक नै पर्दैनथे शंका पनि कसलाई गर्नु ? साँहिली गाउँ छाडेर बाहिर गएको पनि कहिल्यै देखिएको छैन ।

साँहिलीको महिनावारी रोकिएको गाउँलेहरुले थाहा पाइहाल्थे । महिनावारी रोकिएपछि उनमा झनै चिडचिडाहट बढ्थ्यो । कसैले भनेको नमान्ने । कसैको घरमा काम नगर्ने । खानपिनकोसमेत वास्ता नगर्ने ।

उनको महिनावारी रोकिएपछि महिला, पुरुष, केटाकेटी भलाद्मी सबै गाउँलेहरु साँहिलीलाई सराप्न थाल्थे । ‘फेरि कसको भुँडी बोकी यो बौलाहीले ?’ भन्थे । राम्रो काम गर्न दिमाग नहुने, यस्तो कुकर्म यसले कसरी गरी भनेर गाली गर्थे ।

साँहिलीले राखेको शारीरिक सम्बन्धलाई गन्यमान्यहरुले कुकर्म भन्थे । तर, उनलाई ललाई–फकाई गरिएको हुन्थ्यो वा करणी गरिएको हुन्थ्यो ? कसैले यसको खोजीनीति गर्दैनथ्यो । उनको सहमतिले नै यो सब भएको हो भने एक मानसिक बिरामीको सहमतिलाई कुन र कस्ता पुरुषले कुकर्म गरिहेका थिए ? यो पनि कसैले सोच्दैनथ्यो ।

प्रश्न साँहिलीतिर होइन, प्रश्न समाजतिर हुनुपर्ने थियो । एक मानसिक बिरामीलाई लुट्नेलाई गाली दिनुपर्ने थियो । तर, त्यो अमूक पात्रलाई कसैले सराप्दैनथ्यो । गाली साँहिलीले मात्रै एकलरुपमा खान्थिन् ।

साँहिलीको महिनावारी रोकिने कुरा सामाजिक विषय थिएन र हुन्थेन । तर, उनलाई काममा जोताउनेहरुले स्वास्थ्य चौकी लगेर उनको गर्भपतन गरिदिन्थे । र,उनीहरु आफूले समाजसेवा गरेको बताउँथे । साँहिलीको महिनावारी रोकिने र गर्भपतनको प्रक्रिया यसैगरी चलिरहेको थियो ।

साँहिलीलाई यही रुपमा हेर्दै गाउँमाम पनि हुर्कँदै गएँ । सामाजिक चेतनाको पनि विकास हुँदै गएर होकि,म धेरै सोच्ने भएकी छु । गाउँले, छिमेकीका कुरामा सहमति जनाउन सकिरहेकी छैन ।

मलाई आजकाल त्यो स्वास्थ्यचौकीको डाक्टरसँग पनि डर लाग्छ । हरेक चेहरामा अपराधी नजर आउँछ । शंकाले हायकलकायल बनाउँछ ।गाउँमा चारसयको हाराहारी जनसंख्या छ । त्यसमा डेढ सय पुरुष छन् । त्यसमध्येमा ५० जति बालखै छन् । बाँकी सय पुरुषमा साँहिलीसँग यौन प्यास मेटाउने एकै जना थियो कि अरु पनि थुप्रै थिए ?

यही नै हो भनेर निधारमा नलेखेको भएपनि यिनै पुरुषमध्येकै तहोलान् । अर्को गाउँ र जिल्लाबाट आएर कोहीले यो कार्य गर्ने सम्भावना कमै थियो । पक्कै पनि मेरै गाउँकाले गरेका थिए ।

आजकाल जब साँहिलीको महिनावारी रोकिन्छ । मलाई मेरै घरका पुरुषहरुसँग डर लाग्छ । जब साँहिलीको महिनावारी रोकिन्छ, मलाई मेरै छिमेकीसँग डर लाग्छ । कहिले त मलाई ७० वर्षे मुखियाबासँग पनि डर लाग्छ । मलाई हुर्कँदै गरेको १६ वर्षे किशोरसँग पनि डर लाग्छ ।

म अहिले शहरमा छु । तर, उनै साँहिलीलाई सम्झिरहेकी छु । दिमाग चल्न थालेपछि केटी मान्छेले आफ्नै समाजमा सास फेर्न नसक्ने रहेछन् । आफ्नै घरमा, आफ्नै समाजमा सास फेर्न मुस्किल पर्दोरहेछ ।

गाउँमा साँहिली दिदी अहिले के गर्दै होलिन् ? कस्ती भइन् होला ?

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १२ : ०६ बजे

अवैधरूपमा बिहार लगिएका ९५ बालबालिकाको उद्धार

अयोध्या– उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैधरूपमा उत्तरप्रदेश लगिएका ९५

‘लगानीकर्ता फजुल खर्च होइन, विवेकशील ढङ्गले लगानी गर्न आउँछन्‌’ : पूर्वगभर्नर क्षेत्री

काठमाडौं – पूर्वगभर्नर एवम्‌ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले

आम जनता र समाजवादी जनएकताबीच एकीकरण

काठमाडौं– आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

‘लगानी सम्मेलन तयारी उत्कृष्ट छैन, नपुगेको पनि हैन’ : खतिवडा

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई