कांग्रेस नेता भन्छन् : बजेट संसद्‍बाटै आउनुपर्छ, अध्यादेशमा जानु अधिनायकवाद हो | Khabarhub Khabarhub

कांग्रेस नेता भन्छन् : बजेट संसद्‍बाटै आउनुपर्छ, अध्यादेशमा जानु अधिनायकवाद हो


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनैपर्ने बाध्यता सरकारलाई छ । तर, सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरिरहेको छ ।

कांग्रेसको माग सम्बोधनका लागि सरकारले जेठ ४ गते संसदीय छानबिन समिति गठनका लागि कार्यादेश तय गर्न कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गठन गरिसकेको छ । उक्त कार्यदलमा सहमति जुट्न नसक्दा जेठ ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको नाराबाजीबीच मार्सल लगाएर संसद्‍मा विश्वासको मत लिनु पर्‍यो ।

संसद्‍मा कांग्रेसले संसदीय समिति गठन मागसहित गर्दै आएको अवरोध र सत्तापक्षले प्रतिपक्षीलाई ‘पेलिरहेको’ अवस्थामा आगामी बजेट आउने प्रक्रियाबारे चौतर्फी चासो छ ।

अब बजेट ल्याउन सरकारले के गर्ला ? यसका लागि तीन विकल्प देखिन्छन् :

पहिलो – प्रतिपक्षसँग सहमति जुटाएर सदन खोल्ने । यसका लागि सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समिति बनाउने र सहमतिका आधारमा प्रक्रियाबाटै बजेट ल्याउने ।

दोस्रो – प्रधानमन्त्रीले विश्वासको मत लिँदा गरेजस्तै प्रमुख प्रतिपक्षीलाई मर्यादापालकले घेराऊ गरेर बलजफ्ती बजेट प्रस्तुत गर्ने ।

तेस्रो – संसद्‍को अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटोबाट बजेट ल्याउने ।

सरकार अब कसरी अगाडि बढ्छ भन्ने प्रश्न गर्दा कानुन मन्त्री गिरीले सहमति खोज्ने प्रयास भइरहेको जवाफ दिए । ‘कांग्रेस सहमति गर्न तयार छैन, ऊ सहमतिमा नआए विकल्प खोज्नैपर्छ, जसरी पनि जेठ १५ मा बजेट ल्याउनुछ’, उनले खबरहबसँग भने ।

त्यस्तै, श्रम मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल पनि सरकारसँग बजेट ल्याउने विभिन्न विकल्प रहेको बताउँछन् । भन्छन्, ‘सरकारसँग विभिन्न विकल्प छ । त्यहीबेला के हुन्छ, सोचौंला ।’

प्रतिपक्षसँगको पछिल्लो मतभेद यथावत रहे सरकारलाई अध्यादेशबाटै भए पनि बजेट ल्याउनै पर्ने छ । यस्तो अवस्था प्रतिपक्षी कांग्रेसका नेता तथा सांसदहरु के भन्छन् त ? खबरहबले उनीहरूसँग संक्षिप्त कुराकानी गरेको छ ।

सन्तोष चालिसे
प्रतिनिधिसभा सदस्य

संसद् चलिरहेको बेलामा अध्यादेशबाट बजेट ल्याउन खोजे  जनमानसले हेरेर हिसाब गर्ने कुरा हुन्छ । अब पेलेर जान खोजेको देखिरहनु भएको छ । सत्ता पक्षले अध्यादेशबाट बजेट नल्याउलान भन्ने विश्वासमा छौँ । किनभने सबै पार्टीहरु पार्लियामेन्टको सिस्टममा चलेका पार्टीहरू हौँ । मलाई लाग्छ त्यसो नगर्लान्, गर्नु पनि हुँदैन ।

तर, अहिले सबैमा शंका छ, सरकारले अध्यादेशबाट बजेट पो ल्याउँछ कि भनेर सबैले सोधिरहेका पनि छन् । तर, सत्तारुढ दलका जिम्मेवार व्यक्तिहरुले बोल्दा हामी कुनै हालतमा संसद्‍भन्दा बाहिरबाट बजेट ल्याउन चाहँदैनौँ, संसद्‍बाटै बजेट ल्याउँछौँ भनिरहनुभएको छ । संसद्‍बाटै बजेट आउनेमा म विश्वस्त छु ।

कान्तिका सेजुवाल
प्रतिनिधिसभा सदस्य

सहकारी ठगीबारे जबसम्म छानबिन समिति गठन हुँदैन, सहकारी पीडितले न्याय पाउँदैनन्, तबसम्म आन्दोलन जारी रहन्छ । संसद् अवरुद्ध हुन्छ ।

सरकारको नीति तथा कार्यक्रममा सदनमा प्रस्तुत गर्न दियौँ । तर, हाम्रो विरोधबीच धन्यवाद प्रस्ताव पारित गरियो । नीति तथा कार्यक्रममा छलफल गर्ने, सबैको सहभागिता रहने समान अधिकार र संसदीय मर्यादा कायम राखेको भए यस्तो हुने थिएन होला ।

सत्तापक्षले बहुमतको दम्भ देखाएर पारित गर्यो‍, त्यसमा हाम्रो विमति छ । सबैलाई सहमतिमा ल्याएर धन्यवाद प्रस्ताव पारित गरेको भए राम्रो हुन्थ्यो । यसमा मुख्य दोषी सभामुख हुनुहुन्छ । सरकार त भइ नै हाल्यो ।

हामीले संसद् चल्नु पर्छ भन्ने चाहेका छौँ । हामी संसद् चलाउने पक्षमा नै छौँ । तर, त्यसका लागि सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बन्नै पर्छ । नहुँदासम्म अवरोध जारी रहन्छ ।

हामी अध्यादेशको पक्षमा छैनौँ । संसद्‍बाटै बजेट ल्याउनु पर्छ, अध्यादेशबाट बजेट ल्याउन नहुने हाम्रो मान्यता हो । सत्तापक्षले संविधानको मर्मविपरीत एकलौटी गर्दैछ । हामी त्यसको विरोधमा छौँ ।

देवप्रसाद तिमल्सिना
प्रतिनिधिसभा सदस्य

अध्ययादेशबाट बजेट ल्याउने कुरा मिडियाबाट सुनिरहेका छौँ । यतिसम्म गिरेर, जारी संसद् छलेर अध्यादेशबाट बजेट ल्याए यो सरकारको कुन नैतिकता रहन्छ ? जनताका प्रतिनिधिबीचमा ल्याउनु पर्ने बजेटलाई अध्यादेशको सहारा लिन्छ भने यो सरकार सरकार नै होइन नि ! यति डराउनु पर्छ सरकार ? ल्याउनु पर्यो‍ नि संसद्‍मा बजेट ।

सदनबाट ल्याउनु पर्ने बजेटलाई अध्यादेशतिर गए हाम्रो आपत्ति छ । यो जनतामाथिकै कुठाराघात हो । अधिनायकवाद लाद्न खोजिएको हो । यो लोकतन्त्रको उपहास हो । त्यसकारण बजेट संसद्‍मा प्रस्तुत हुनपर्छ । संसद्का सबै कामकारबाही अघि बढ्नु पर्छ । सभामुखको तानाशाही अन्त्य हुनुपर्छ । सरकारले जुन बाटो लिएको छ त्यो गलत छ । गलत बाटो अन्त्य गर्ने कांग्रेस हो ।

सरकारको अवस्था हेर्दै गर्दा यो अधिनायकवादतर्फ जाँदै छ । २०५८ सालमा राजा ज्ञानेन्द्र शाहले अपनाएको शैली जस्तै यो सरकारले गरिराखेको छ । उदाहरणका रुपमा कैलाश सिरोहिया पक्राउलाई नै हेर्न सक्नुहुन्छ ।

मीन विश्वकर्मा
प्रचार विभाग प्रमुख, नेपाली कांग्रेस

अस्ति हामीले सरकारलाई नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न दिएका हौँ । यसमा कांग्रेस लचिलो भएको मात्रै बुझ्नु भएन, उहाँहरूले कमजोर भएको बुझ्नु भयो । नेपालकै इतिहासमा, नेपालको संवैधानिक इतिहासमा मर्यादापालकले विपक्षी घेरेर, नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था आयो ।

मलाई लाग्छ यो स्थितिमा उहाँलाई कताकता आत्मग्लानी हुनु पर्ने हो । त्यो आत्मग्लानी भएको छ भने उहाँहरू बजेट अध्यादेशबाट ल्याउने पक्षमा जानु हुन्न । अझै पनि हामीसँग समय छ । संसद्‍को समस्याको समाधान निकाल्न सकिन्छ । उहाँहरू (सत्तापक्ष) समाधान निकाल्नु हुन्छ र सहज ढंगबाट संसद्‍कै रोष्टममा उभिएर बजेट प्रस्तुत गर्ने वातावरण बनाउनु हुन्छ भन्ने विश्वास छ ।

डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस तथा प्रतिनिधिसभा सदस्य

समग्र सरकारको प्रवृत्ति गलत छ । सरकार संसदीय प्रक्रियालाई मिचेर बजेट ल्याउने, अध्यादेशबाट सम्पूर्ण कुराहरू गर्ने मानसिकतामा हिँडिरहेको छ । बरु संसद् नचले नचलोस् भन्ने मानसिकतामा सरकार छ ।

यी सबै कुराविरुद्ध, सहकारी ठगीविरुद्ध र बचतकर्ताको पक्षमा पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले जेठ १३ गते प्रदर्शनको घोषणा भइसकेको छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ३ : ०८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

गाई पालन र घाँस बिक्रीबाट राम्रो आम्दानी

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र नभइ

बेनी–जोमसोम–कोरला सडक : तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

म्याग्दी– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा

क्रिकेटमा बोल्ट युगपछिको न्युजिल्यान्ड

युगान्डा विरुद्धको खेलमा ७ रन दिएर उनले २ विकेट लिए।

कुरिलोखेतीबाट एकै याममा सात लाख आम्दानी

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात