७ कारोबार दिनमै १३८ अंकले बढ्यो नेप्से, यसकारण आयो उछाल | Khabarhub Khabarhub

७ कारोबार दिनमै १३८ अंकले बढ्यो नेप्से, यसकारण आयो उछाल


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेयर बजारले जेठ महिनामा सुखद सुरुवात गरेको छ । चालू महिना सुरु भएयता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७ दिन कारोबार हुँदा १३८.६ अंकको वृद्धि भएको छ ।

गत महिनाको अन्तिम दिन अर्थात् वैशाख ३१ गते १९९८.८९ बिन्दुमा रहेको नेप्से परिसूचक जेठ ९ गते बुधबार २१४०.२४ मा आइपुगेको छ । जेठ लागेयता नेप्सेमा दैनिक औषत १९.८ अङ्कको वृद्धि भएको छ ।

महिना सुरु भएयता एक दिन (जेठ २) मा मात्रै घटेको छ । सो दिन नेप्से ९ अंकले घटेको थियो । बाँकी ६ कारोबार दिनमा भने बजार निरन्तर बढेको हो ।

नेप्सेको ७ कारोबार दिन अवधिमा ३३ अर्ब ७६ करोड ३० लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दैनिक औषत ४ अर्ब ८२ करोड ३२ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

कारोबार अवधिमा ७ करोड ३६ लाख ९ हजार २६६ कित्ता शेयर कारोबार भएको छ । दैनिक औषत १ करोड ५ लाख १५ हजार ६०९ कित्ता शेयर कारोबार भएको हो ।

नेप्से १३८ अंकले बढ्नु, कारोबार ३३ अर्ब रुपैयाँ र ७ करोड कित्ता शेयर कारोबार हुँदा जेठ महिनाको पहिलो डेढ साता पूँजीबजारमा उछाल आएको देखिन्छ । वैशाख २७ गते देखि नै नेप्से ५.६३ अंकले बढ्ने क्रम सुरु भए पनि जेठमा भने निकै उछाल आएको हो ।

जेठमा यसरी बजारमा उछाल आउनुमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको तेस्रो समीक्षा नै मुख्य कारण हो ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा पूँजीबजार क्षेत्रलाई लगानीका लागि भरपर्दो स्थान बनाउने कुरा समेटियो । पूँजी बजार विकासको लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै सुरक्षित रहने वातावरण तयार गर्ने सरकारले कार्यक्रममा प्रतिबद्धता जनायो ।

पुँजी बजारमा ठूलो हिस्सा रहेको, तर पछिल्लो समय समस्यामा परेका बैंक, लघुवित्त र बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरू क्रमशः कार्यान्वयन गर्नेसमेत नीति तथा कार्यक्रममा समेटियो ।

उल्लेखित सो योजनाले लगानीकर्तामा केही आशाको सञ्चार भएर नीति तथा कार्यक्रम प्रस्तुत भएकै दिन नेप्से २८ अंकले बढ्यो । अघिल्लो दिन करिब २ हजार बिन्दुमा रहेको नेप्से परिसूचक नीति तथा कार्यक्रम प्रस्तुत भएको दिन २ हजार बिन्दु नाघ्यो । जेठ २ गते नेप्से एकल अंकले घटे पनि त्यस यता भने नेप्से निरन्तर बढ्दो क्रममा नै रहेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएको तेस्रो दिन अर्थात् जेठ ४ गते शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गयो । मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले शेयर बजारको शब्द नलेखेकाले लगानीकर्ताले ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’को संज्ञा समेत दिए । तर, समीक्षामा ल्याएको प्रावधानले शेयर बजारमा सहयोग पुगेको देखियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समीक्षा गर्‍यो । उक्त व्यवस्थाले शेयर बजारमा सकारात्मक प्रभाव पारेको एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले बताए । ‘२० प्रतिशतसम्म बिक्री गर्ने पाउने व्यवस्थाले त शेयर बजारमा सकारात्मक असर पर्छ’, आचार्यले भने, ‘पुँजी बजारमा राष्ट्र बैंकले लिएको बाटो ठीक छ ।’

मौद्रिक नीतिको तेस्रो समीक्षा आए पछिको पहिलो नेप्से कारोबार अर्थात् जेठ ६ गते आइतबार ४५ अंकले बढेर मौद्रिक नीतिलाई स्वागत गर्‍यो । राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दा २ हजार बिन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबारसम्म आउँदा २१ सय बिन्दु पार गर्‍यो ।

एक सातामा ११२ अंक वृद्धि

यो सातामा मात्र नेप्से ११२.७३ अंकले बढेको छ । बिहीबार बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा हुँदा शेयर बजार पनि बन्द भयो ।

सातामा ५ दिन कारोबार हुनेमा यो साता ४ दिन मात्र नेप्से कारोबार भयो । गत साता बिहीबार २०१८.७८ अंकमा पुगेको नेप्से परिसूचक बुधबारसम्म आउँदा बढेर २०६४.४५ बिन्दुमा कायम रह्यो । ४ दिनमा दैनिक औसत २८.१८२५ अंकले नेप्से बढ्यो ।

यस साता ४ दिनमा जम्मा २१ अर्ब ८६ करोड ६५ लाख ५६ हजार रुपैयाँको कारोबार भयो । दैनिक औषत ५ अर्ब ४६ करोड ६६ लाख ३९ हजार रुपैयाँको कारोबार भएको हो । कारोबारका हिसाबले यस साता नेप्सेमा उत्साह देखिएको हो ।

साताको ४ दिनमा ४ करोड ९२ लाख ४२ हजार ५८४ कित्ता शेयर कारोबार भयो । औषतमा दैनिक १ करोड २३ लाख ३५ हजार ८९६ कित्ता शेयर कारोबार भयो ।

यो साता कुन दिन कस्तो थियो बजार ?

साताको पहिलो नेप्से अर्थात् आइतबार नेप्से ४५.६९ अंकले बढेर २०६४.४५ बिन्दुमा कायम भएको थियो । आइतबार ३२३ कम्पनीको १ करोड २२ लाख ४० हजार ८०६ कित्ता सेयर ७४ हजार ९९१ पटक कारोबार हुँदा ५ अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँको कारोबार भएको थियो ।

नेप्से बढ्ने क्रम सोमबार पनि कायम रह्यो । सोमबार नेप्से २७.५४ अंकले बढेर बन्द भयो । सोमबार नेप्से १.३३ प्रतिशतले बढेर २०९२ बिन्दु कायम भएको थियो । सोमबार बीचमा नेप्सेले २१०० बिन्दु समेत पार गरेको थियो ।

सोमबार साढे ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटक किनबेच भयो ।

सोमबार ३१५ कम्पनीको शेयर कारोबार हुँदा १३४ वटा कम्पनीको शयेर मूल्य बढ्यो भने १०७ कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।

नेप्सेको बुलिस ट्रेन्ड मंगलबार १.१४ प्रतिशतले बढेर कायम राख्यो । मंगलबार पनि नेप्से २३.९४ अंकले बढेर १२१५.९४ बिन्दु कायम भयो । कारोबारको आधारमा पनि मंगलबार नेप्सेमा उत्साह छाएको थियो । मंगलबार ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । मंगलबार बजार बन्द हुँदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको १ अर्ब ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ७३ हजार ६६७ पटक किनबेच भयो ।

मंगलबार ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १९४ कम्पनीको शेयर मूल्य बढ्यो भने ४३ वटा कम्पनीको शेयर मूल्य घट्यो । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

साताको अन्तिम कारबारको रूपमा बुधबार नेप्से १५.५४ अंकले बढ्यो । बुधबार नेप्से ०.७३ प्रतिशतले बढेर २१३१.४९ बिन्दु रह्यो ।  बुधबार नेप्सेमा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भयो ।

बुधबार ३१८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८१ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६१ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ७ : ०८ बजे

दशक यताकै कमजोर ओपनिङ गर्ने फिल्म बन्यो ‘चन्दु च्याम्पियन’

काठमाडौं –गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड नायक कार्तिक आर्यनको मुख्य

मुस्लिम बस्तीमा बकर इदको चहलपहल

महोत्तरी –अहिले महोत्तरीका गाउँनगर बस्तीमा इस्लाम धर्मावलम्बीको दोस्रो मुख्य चाड

‘कोशी’विरुद्ध पहिचानवादी फेरि आन्दोलित, वडाबाटै समानान्तर सत्ता चलाउने चेतावनी

काठमाडौं- कोशी प्रदेशमा पहिचानवादीहरूले फेरि आन्दोलन घोषणा गरेका छन् ।

आजका समाचार :आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिसदेखि श्रममन्त्रीका सय दिने उपलब्धिसम्म

संवैधानिक परिषद्‍बाट निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस निर्वाचन आयुक्तमा

डेब्यू कलाकार : निश्चलले देखाए सम्भावना, सुपाला र प्रशन अब्बल बालकलाकार

काठमाडौं – वि.सं. २०८१ को सुरुवाती २ महिना नेपाली फिल्मका