‘चिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै « Khabarhub

‘चिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम । कैलालीको मध्य क्षेत्र घोडाघोडी र पहलमानपुर क्षेत्रका किसान ‘आलुचिप्स’ बनाउन उपयुक्त हुने जातको आलु खेती गरेर आम्दानी वृद्धि गर्न थालेका छन् । उत्पादित यो आलु बिक्री गर्न बजारको समस्या नभई उचित मूल्य पनि पाउन थालेपछि किसान यो खेती गरेर आम्दानी वृद्धि गर्न थालेका हुन् । यो जातको आलुको खेतीमा चार हजारभन्दा बढी कृषक संलग्न छन् ।

पहलमानपुरका कृषक शेरबहादुर चौधरीले आफूले पाँच कठ्ठा जग्गामा गरेको आलुखेतीबाट झण्डै २८ क्वीन्टल आलु उत्पादन भएको बताए । उनले “प्रत्येक घरपरिवारले कम्तीमा पाँचदेखि बढीमा दुई बिघासम्मको जग्गामा यो जातको आलुखेती गर्ने गरेका छन् । आलु उत्पादन बढ्दा सीमा नाकाबाट भित्रिने आलुको परिमाण घट्दै गएको छ ।”

आलुको चिप्स बनाउन इन्नोभेटर र सजिता जातको आलु उपयुक्त हुने गरेको बताइएको छ । उत्पादित आलु बिक्रीका लागि बुटवलमा रहेको आलु चिप्स उत्पादन गर्ने कम्पनीसँग कृषकले सम्झौता गरेका छन् । भारतको लुधियानाबाट यो आलुको बीउ आयात गर्ने गरिएको छ । बीउका लागि सरकारले किसानलाई ५० प्रतिशत अनुदानको सहयोग उपलब्ध गराएको छ ।

किसान रामबहादुर रावतले कम्पनीसँग उत्पादित आलु बजारको मूल्यभन्दा प्रतिकिलो रु दुई बढी मूल्य दिएर खरिद गरिदिने सम्झौता भएको बताए। यसका लागि चाहिने बीउ सोही कम्पनीको समन्वयमा भारतको लुधियानाबाट आयात गरिएको थियो ।

हिँउदेयाममा गरिने यो आलुखेतीमा क्रान्ति ल्याउन आलुबारीमा किसानले हरियो झण्डा टाँग्ने गरेका छन् । रावतले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको पहिचानका साथै आलु खेतीमा क्रान्ति ल्याउने सन्देश दिनका लागि आलुबालीमा हरियो झण्डा फहराउने गरिएको बताए।

घोडाघोडी नगरपालिकाको पहलमानपुर गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र बनाइएको छ । यो गाउँमा मात्रै आलु खेती क्षेत्र विस्तार भई हिउँदेयाममा ८० बिघा क्षेत्रफल पुगेको बताइएको छ । आलु उत्पादनको पकेट क्षेत्र बनाइएपछि विगतका वर्षमा गहुँ र मसुरो खेती गरिँदै आएको खेतमा आलु खेती गर्ने गरिएको छ ।

एक्लैले आठ बिघामा आलुखेती गरे रावतले भने, “आलु खेतीमा क्रान्ती ल्याउने गरी लागेका छौँ । यसबाहेक खायन आलु र बीउ आलुका लागि थप जग्गामा आलु खेती गर्ने गरिएको छ ।”

चालु वर्षमा सो क्षेत्रको आलु खेतीका लागि प्रदेश सरकारबाट रु ३० लाख अनुदान रकम उपलब्ध गराइएको बताइएको छ । आलुको व्यावसायिक खेती बढ्दै जाँदा भारतबाट आलुको आयात परिमाण घट्दै गएको किसानको भनाइ छ । समन्वय समितिका उपाध्यक्ष खडक बुढाले चिप्स उत्पादन गर्ने कम्पनीले उत्पादित आलु खरिद गरिदिने सम्झौता गर्दा किसानमा आलु खेती गर्न उत्साह जागेको बताए ।

यसवर्ष १० कठ्ठा जग्गामा आलुखेती गरेका उनले भने, “धान र गहुँ खेती गर्दा हुने आम्दानीको तुलनामा बढी आम्दानी हुने देखिएपछि किसान आलु खेतीमा लागेका छन् ।” कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले यस वर्ष जिल्लामा पहलमानपुर र सुख्खडमा पहिलो पटक ठूलो क्षेत्रफलमा आलु खेती गरिएको बताउनु भयो । शर्माले भन्नुभयो, “यो कार्यक्रम सफल भएमा तीन वर्षसम्म कार्यक्रममा समेटिएका किसानलाई बीउविजन र अन्य सामग्रीमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने प्रदेश सरकारको नीति छ ।”

चालु वर्षमा सुरु भएको यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुन लागेको छ । जिल्लाभरी छ हजार हेक्टरमा आलु खेती हुने गरेकोमा वार्षिक उत्पादन झण्डै ९० हजार टन हुन्छ । आलु खेती गरिने क्षेत्रफलमध्ये डेढ हजार हेक्टरमा जिल्लाको विषेश पहिचान बोकेको ‘थारु आलु’को उत्पादन हुने गर्छ । किसानले खायनका लागि यो रैथाने जातको थारु आलुको खेती पनि गर्ने गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ९ : ०७ बजे

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत