बीपी कोइरालाले आजभन्दा ४५ वर्षअघि गरेको राजनीतिक प्रक्षेपण काटिकुटी जस्ताको तस्तै अहिलेको अवस्थासँग मेल खान्छ।
अदालतलाई दिएको बयानमा बीपी त्रास नमानी तात्कालीन परिस्थितिको मूल्यांकन यसरी गर्छन्- ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन्, कोही चीनवादी होलान, कोही अरुवादी। म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे। भारतवादी खुशी छैनन् रे। एउटा चीनवादीले त मसित भने- भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं। भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं। र भारतको समर्थन गर्छौ भने हामीहरु विरोध गर्छौं। अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन्। चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन्। एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं। मानौं, नेपाली अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन्।’
आफ्नै सहकर्मीको गतिविधिबाट हायल कायल भएका बीपी ७५ वर्षअघि कांग्रेस बैठकमा दिक्दार हुँदै भन्दै थिए- ‘लौ सुन ! नयाँ सरकार बनेको एक हप्ता पनि भएको छैन, अहिलेदेखि नै नारा जुलुस…आज यहाँ बैठकमा के के हुनेवाला छ, मलाई थाहा हुँदैन। तर मोहनशमशेरलाई थाहा हुन्छ।’
जब दलहरु सरकारमा सामेल हुन्छन्, त्यसपछि पनि घटना परिघट्ना श्रृंखलाले विश्राम पाउँदैनन्। आफ्नै सहकर्मीहरुको गतिविधिबाट हायल कायल भएका बीपी ७५ वर्षअघि कांग्रेस बैठकमा दिक्दार हुँदै भन्दै थिए- ‘लौ सुन ! नयाँ सरकार बनेको एक हप्ता पनि भएको छैन, अहिलेदेखि नै नारा जुलुस। पहिले सरकारलाई काम गर्न दिनुपर्छ। अनि उसको काम हेरेर समर्थन या विरोध गर्नुपर्छ। सबैलाई मन्त्री पद चाहिएको छ। यो कसरी सम्भव छ ?आज यहाँ बैठकमा के के हुनेवाला छ, मलाई थाहा हुँदैन। तर मोहनशमशेरलाई थाहा हुन्छ।’
दुई तिहाइको नयाँ सरकारको तुरुप चलाएको खुसीयाली केपी ओलीले नमनाए हुन्छ। बीपीले भोगेको भाउँतो उनीमाथि आउन सुरु भइसकेको छ। अहिले नेपाली राजनीतिको विश्वसनीय प्रतिपक्षी भनेकै सामाजिक सञ्जाल हो। सामाजिक सञ्जालका लागि एक घन्टा भनेको एक वर्ष हो। यसका प्रयोगकर्तालाई हनिमून पिरियडसँग लिनु दिनु छैन। जनता सच्चिनुपर्ने आफूहरु मैमत्तामा चल्ने आत्मरतिको राजनीतिले नेतालाई नरम पानीले ढुंगा खियाएजस्तै सिध्याउने हो।
संसदबाट दुई तिहाइको प्रधानमन्त्री बनेका ओलीभित्र आफू हात्ती र अरुलाई कमिला देख्ने मनोविज्ञानले तमासा थालिसकेको भान पर्छ।
दुई तिहाइको नयाँ सरकारको तुरुप चलाएको खुसीयाली केपी ओलीले नमनाए हुन्छ। देशको सर्वशक्तिमान कार्यकारी प्रधानमन्त्रीले विद्युत प्राधिकरणको एउटा कर्मचारीमाथि सिंगो सदनमा व्यक्त गरेको धारणा नयाँ सरकारका लागि लागि गलपासो बन्ने लक्षण देखिएका छन्।
देशको सर्वशक्तिमान कार्यकारी प्रधानमन्त्रीले विद्युत प्राधिकरणको एउटा कर्मचारीमाथि सिंगो सदनमा व्यक्त गरेको धारणा नयाँ सरकारका लागि लागि गलपासो बन्ने लक्षण देखिएका छन्। वित्तीय मामलाको त्यो विषय घडीको पेन्डुलम जतिसुकै हल्लियोस् न, नेपालमा घुम्ने राजनीतिक दृश्य घट्ट घुमेजस्तै हो। जुन घुमाइले कुनै यात्रा तय गर्न सक्दैन।
२०१५ सालमा भएको नेपालको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेसले दुई तिहाई स्थान हात प-यो। यो जीतसँगै बीपी प्रधानमन्त्री भए। सूर्यप्रसाद उपाध्याय सर्वशक्तिमान गृहमन्त्री बनाइए। २०१७ सालको राजनीतिक ‘कू’ पछि प्रधानमन्त्री लगायत थुप्रै नेता जेलका पाहुना भए। तर त्यही सरकारका शक्तिशाली गृहमन्त्री उपाध्यायले दल विरुद्ध राजाको प्रायोजनमा भएको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै भनेका थिए-‘प्रजातन्त्रका लागि विदेशी भूमिमा लड्नेहरु अराष्ट्रिय तत्व हुन्। देशबाहिर बसेर यहाँभित्र अशान्ति गर्नेहरुलाई देश फर्काउने प्रयास गरिनुपर्छ। यदि मानेनन् भने नागरिकताबाट च्यूत गरिनुपर्छ।’ जुन सभाको अध्यक्षता नेपालको सबैभन्दा पुरानो पार्टीका खाँटी नेता टंकप्रसाद आचार्यले गरेका थिए।
मान्छेको विकल्प मान्छे नै हो। तर हामीभित्र शरणार्थी मानसिकता हावी हुँदा धोका, निरासा र अविश्वास एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्ने कोसेली बनेको छ।
नेपाली राजनीतिमा देखिएको यसखाले बेइमानी भाइरसको एन्टी भाइरस आजसम्म पनि पत्तो लागेको छैन्। बिल गेट्सले नेपालमै सफ्टवेयर कम्पनी सारे पनि धोकाको उपचार सम्भव देखिदैन। मान्छेको विकल्प मान्छे नै हो। तर हामीभित्र शरणार्थी मानसिकता हावी हुँदा धोका, निरासा र अविश्वास एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्ने कोसेली बनेको छ। थोरोले भनेका छन् – ‘मान्छे आफ्ना औजारको औजार भएको छ।’
हामी त अझ महाऔजार भएका छौं। निश्चय नै नयाँ पात पुरानो पातसँगै झर्न बनेको हुँदैन्। तर लछारेरै किन नहोस, कसैको भविष्य सुरक्षित हुन नदिने खेलले पुस्तौनी घर गर्दै आएको छ। जनताको जीवनस्तरमा परिवर्तन ल्याउन न कुनै राजनीतिक तन्त्र हुन्छ, न झारफुके मन्त्र। विश्वले प्रमाणित गरेको विकास गर्ने एउटै सूत्र भनेको दृढ इच्छाशक्ति हो। सिद्धान्तको आधारमा सत्य हैन, सत्यको आधारमा सिद्धान्तलाई हेर्नुपर्छ।
दुर्भाग्य भन्नुपर्छ- आजसम्म देशको केन्द्रीय राजनीतिमा राष्ट्रिय हितका विषयमा कहिल्यै गम्भीर बहस नै भएको छैन। निसन्देह व्यक्ति असल आए होलान तर समग्र राजनीति गुट, फुट, झूट र चुटबाट कहिल्यै माथि उठ्न सकेन। अरु त अरु सिंगो नेपाली कांग्रेसको आर्थिक बोझ उठाउने कांग्रेसका शीर्ष नेता मध्येका एक जो मुलुकको पहिलो अर्थमन्त्री पनि थिए, सुवर्णशम्शेरप्रति बीपीले मूल्यांकन गर्दै कुनै एक प्रसंगमा भनेका छन्- ‘हिन्दुस्तानले सुवर्णशम्शेरलाई जति मद्दत गरेको थियो, त्यति त कसैलाई गर्नै सक्दैन, तपाईं झुकेर मिल्नुभयो भने पनि। त्यसको परिणाम के भयो ? कति बलियो हुनुभयो ? हिन्दुस्तानसँग त्यसरी जोल्टिएर बस्दा पनि हिन्दुस्तानले गरेको तमाम मद्दतबाट के भयो ? उहाँ शक्तिको नजिक जानुभयो भन्ने मलाई लागेन। उहाँसँग पैसा थियो, त्यसैले केही कार्यकर्तालाई पालेर राख्नुभयो। राजनीतिक उपलब्धि त उहाँसँग क्यै देखिएन। त्यसो हुनाले अरुमाथि निर्भर भएर हामीले राजनीति गर्नुपर्छ भन्ने म मान्दिन।’
इतिहासका यस्ता ऐनामा एकपटक मात्र पनि वर्तमान पुस्ताका राजनीतिकर्मीले गहिरिएर हेरिदिने हो भने धेरै समस्या निदान हुने निश्चित छ। चित पल्टिए पनि, पोट पल्टिए पनि स्वीकार्ने हो भने हरेक पुस्ताले बाउ मिल्काउने डोकाको कथामूलमन्त्र बनाउनुपर्छ। नयाँपुस्ताले डोको सुरक्षित राखे पुग्छ। झन् राजनीतिमा मिल्काउन सन्तान चाहिँदैन, अरुले नै ओखती गरिदिन्छन्। फलाम अरुका कारण नभएर आफूभित्रकै खियासँग लड्न नसकेर सिद्दिन्छ।
क्रान्ति सफल भएपछि के गर्ने र के नगर्ने भनेर विवेक गुमाएका नेताहरुले प्रधानमन्त्रीको सुरक्षामा रहेको बिजुली गारत राजदरबार सार्ने निर्णय गरिदिए। यो निर्णय कार्यान्वयन हुनासाथ नेताको मूलघरजस्तो रहेको दरबार एकाएक भीर र भैंसी जस्तो विपरीत हुनपुग्यो।
२००७ सालको क्रान्तिपछि उब्जाइएको खुकुरी दलले त दिउँसै मन्दिरका टुँडाल समेत बाँकी नराखेको इतिहासमा उल्लेख छ। खुकुरी दल आतंक मच्चाउँथ्यो, सरकार बद्नाम हुँदै जान्थ्यो। उसको आतंक यतिसम्म अराजक थियो कि नाङ्गो खुकुरी नचाउँदै गृहमन्त्री बीपीलाई समेत ठुन्क्याउन पुगेको थियो। क्रान्ति सफल भएपछि के गर्ने र के नगर्ने भनेर विवेक गुमाएका नेताहरुले प्रधानमन्त्रीको सुरक्षामा रहेको बिजुली गारत राजदरबार सार्ने निर्णय गरिदिए। यो निर्णय कार्यान्वयन हुनासाथ नेताको मूलघरजस्तो रहेको दरबार एकाएक भीर र भैंसी जस्तो विपरीत हुनपुग्यो।
दरबारमा बोलाएर नेताहरुलाई खानपिन गराउने मात्र होइन, चुरोटसम्म सल्काएर खातिरदारी गर्ने राजा दुर्लभ बन्दै गए। त्यहींबाट राजनीतिमा राजा र रैतीको सूत्रपात भयो। यो देखेपछि मोहनशम्शेरले बीपीसँग भनेका थिए- ‘तपाईं पटनामा पढेर स्नातक हुनुभयो। नेपालको शासन व्यवस्थाको ज्ञान त्यति भइसकेको छैन। हामीले सय वर्षदेखि मुलुकको शासन व्यवस्था चलाउँदै आएका छौं। देशभरका मानिस चिनेका, चलाएका छौं। त्यसैले हामी मिलेर प्रजातन्त्र जोगाऔं। म हृदयदेखि भन्छु- हामीले बाघलाई परिबन्दमा पारेर दार्हा नङ्ग्रा निकालेर राखेका छौं। तपाईंहरुले अझ दारा, नङग्रा थपेर छोडिदिनु भयो। हामीलाई खाने बाघले तपाईंहरुलाई पनि खान्छ।’
कालान्तरमा मोहनशम्शेरले भने जस्तै भयो। नाराले आगो बाल्ने भगीरथ प्रयास भए। तर आगो बाल्ने भनेको नाराले होइन, इन्धनले हो। घाँस काट्न, दाउरा चिर्न, ढिंडो खान त सीप चाहिन्छ भने सरकार चलाउन र राजनीति गर्न केही जान्नु नपर्ने बुझाइका कारण राज्य सञ्चालनका विधि विधान कमजोर भए। अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई स्वभावतः नालायक ठान्यो। तर यति धेरै नालायक ठान्यो कि ६० वर्षे मानिस नातिको माध्यमबाट कलेजको परिचयपत्र देखाएर गाडी भाडाको सहुलियत सुविधा असुल्न थाल्यो। यो पनि समाजमा फैलिदै गएको अपराधिकरणको नमूना हो।
बदमासी अहिले मात्र भएको होइन। तर भएका बदमासी सच्याउने काम नहुँदा बेइमानीको संस्कृति पहाड भएर उभियो। २०११ सालमा राजा त्रिभुवनले बुद्धिजीवीहरुको छनोट गरी सल्लाहकार सभा गठन गरेका थिए। जसको एक सदस्य थिए- महाकवि लक्ष्मीप्रसाद देवकोटा। हिउँदको समय थियो। त्यसदिन देवकोटा कालो ओभरकोट लगाएर सिंदरबारस्थित संसद गएका थिए।
संसदको हाजिरी कक्षबाट कोट हराएपछि देवकोटाले हाँस्तै भनेका थिए, – कोटको मूल्य छोडिदिनोस्। प्रश्न त यहाँ नैतिक मूल्यको हो…म कोटको पीरले होइन, नेपालीको नैतिक बल गिरेकोमा बढता पिरोलिएको छु। हामी कहिले मान्छे बनौंला ?’
हतारमा रहेका देवकोटाले हातमा पट्याएर राखेको कोट सभासदले हाजिर गर्ने ठाउँमा रहेको टेबुलमा छोडे। हतारमा हाजिर गरेपछि उनी उतैबाट बाहिरिए। शरीरमा चिसो बढेपछि देवकोटा कोट लिन सिंहदरबार पसे। तर राखेको टेबलमा कोट थिएन। देशभरिका वुद्धिजीवी वर्गले प्रतिनिधित्व गरेको ठाउँ, जहाँ २४ घण्टा पाले पहराको व्यवस्था छ, त्यहाँबाट एउटा वरिष्ठ व्यक्तित्वको कोट हरायो। बाहिर निस्किएपछि एकजना सदस्यले दुःख व्यक्त गर्दै देवकोटालाई सोधेका थिए- ‘देवकोटाज्यू , कति परेको थियो त्यो कोटको ?’ देवकोटाले हाँस्तै जवाफ दिए-‘कोटको मूल्य छोडिदिनोस् न। प्रश्न त यहाँ नैतिक मूल्यको हो। देशको विधायिकाको सदनबाट एउटा साधारण कुरा चोरी भयो। यो नेपालीकै लागि निक्कै लज्जास्पद कुरा हो। म कोटको पीरले होइन, नेपालीको नैतिक बल गिरेकोमा बढता पिरोलिएको छु। हामी कहिले मान्छे बनौंला ?’
देवकोटाले उठाएको नैतिकताको प्रश्न झन्झन् पेचिलो बन्दै गएको छ। पहिला त छोडिएको कोट हरायो, अहिले त हाकिमले चलाउँदै गरेको ल्यापटपदेखि फूल फुल्दै गरेको गमला समेत हराउने गरेको समाचार आउने गरेका छन्। काँटा चम्चा कति हराउँदा हुन, त्यसको हिसाब किताब नै छैन। हातमा आइफोन त्यो पनि फिप्टिन प्लस भएर के गर्नु ? हाम्रो संस्कार र संस्कृति उही छ। समस्या समाधान हैन, समाधानमा समस्या उब्जाउनेहरुको बिगबिगी बढ्दो छ।
घटनाक्रमले देखाउँछ- हाम्रा राजनीतिज्ञहरु मान्छे कम, रोर्बट ज्यादा देखिए। संगैमा गृहयुद्धमा फसेको छिमेकी मुलुक श्रीलंकाले आफ्नो समस्या आफैं निदान गर्न सक्षम छौं भन्दै बेलायती दूतलाई फर्काइदियो। आफूलाई उपनिवेश बनाएबापत लिवियाले इटालीबाट पाँच अर्ब डलर क्षतिपूर्ति भर्न बाध्य बनायो। छिमेकी देशले स्वाभिमानको परिचय दिएर देशमा अभूतपूर्व परिवर्तन ल्याएका बेला हामीले पनि आफू जन्मिएको माटो हातमा लिएर मन र मस्तिष्कले निर्णय गर्ने बेला आएन र ? नत्र घोडाभन्दा बग्गी अगाडिको उल्टो अवस्था नआउला भन्न सकिन्न।
प्रतिक्रिया