थिएटरमा नयाँ पुस्ता, नयाँ जोश | Khabarhub Khabarhub

कला

थिएटरमा नयाँ पुस्ता, नयाँ जोश


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रङ्गमञ्चमा नाटकका दृश्यद्वारा भनिने कथा र परिवेशले केवल रङ्मञ्चीय दृष्टिकोण मात्र बनाउँदैन, त्यसले लैङ्गिकता, सीमान्तकृत समुदायको इतिहास, भूगोल र बहुलभाषी संस्कृतिको सौन्दर्यलाई समेत बलियो रुपमा भन्न सक्छ भन्ने चेतबारे रङ्गकर्मी किरण चाम्लिङ अनविज्ञ थिए ।

कवि एवं फिल्म निर्देशक उपेन्द्र सुब्बाको कथासङ्ग्रह लाटो पहाडमा सङ्ग्रहित दुई कथाहरु ‘प्रभु माइला’ र ‘मनमाया’मा आधारित नाटक ‘लाटोपहाड’ मार्फत चाम्लिङले २०७२ सालमा रङ्गमञ्चमा निर्देशन यात्रामा डेब्यु गरे ।

नाटकमा उनले पूर्वी किराती जीवन र मुन्धुमको लयलाई समेट्ने जमर्को गरेका थिए । नाटकका माध्यममा आदिवासी जीवनको लय र सौन्दर्यलाई खोतल्ने पहिलो श्रेय उनै चाम्लिङलाई मिल्यो ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भएको नाटकलाई दर्शकको माया त मिल्यो नै, चाम्लिङको रङ्गमञ्चमा यात्रामा समेत कोशेढुङ्गो बन्यो । त्यसपछि नाटकमा उनको निर्देशन यात्रा तीव्र गतिकै दौडमा छ।

‘जोखाना,’ ‘खुवालुङ’ र ‘बाखाम्मा’ सम्मका नाटकहरुमा चाम्लिङले निर्देशककै रुपमा दरिलो उपस्थिति जनाएका छन् । पछिल्ला यी नाटकहरुमा समेत उनले पूर्वेली आदिवासी सौन्दर्य र लयसँगै तिनको आदिम सृष्टि, सत्ताबाट किनाराकृत जीवन र भोगाइहरुमा पहिचानको आवाज बुलन्द गरेका छन् ।

रङ्गमञ्चमा नाटकका माध्यमबाट पनि समकालीन मुद्दा र युवापुस्ताका कतिपय अव्यक्त भावनाहरु पोखिँदा त्यो झनै प्रभावकारी हुन सक्छ भन्ने बलियो उदाहरण चाम्लिङले दिएका छन् । युवालाई आफ्नो कथा र परिस्थितिलाई बुझाउन समेत रङ्गमञ्च बलियो आधारस्तम्भ हुन सक्ने रहेछ भन्ने आभास अहिले चाम्लिङलाई भएको छ ।

‘नाटक लाटोपहाडमा आफूले खतरा अभिनय नै गर्न सक्छु भनेर त मैले आँट गरेको होइन,’ उनी भन्छन्, ‘नाटकमा काम गर्ने शैली र कथा भनिरहेकै तरिकामा गरेको थिएँ । तर शैली र कथा दर्शकलाई फरक लागेछ र मन पराउनुभयो ।’

उनका लागि पनि रङ्गमञ्च आफ्नो कथा भन्ने सबैभन्दा सजिलो र सहज माध्यम हो । नाटकको कथा र विषयवस्तुका अतिरिक्त प्रयुक्त सङ्गीत, प्रकाश, मञ्च, कस्ट्युम र संवादका ध्वनीहरुमा समेत आफ्नो भावनाहरु अभिव्यक्त गर्न सकिने उनी सुनाउँछन् ।

तथापि ती अभिव्यक्त गरिने कथाहरुमा इमान्दारिता र गुणस्तरमा भने उत्तिकै सचेत रहनुपर्ने उनको भनाइ छ । यसले गर्दा यो समयमा रङ्गमञ्च युवाका लागि अन्तक्र्रियाका गर्न सकिने गतिलो प्लेटफर्म भएको उनको ठम्याइ छ ।

रङ्गमञ्चमा नयाँ जोश र जाँगर बोकेर आउने युवा रङ्गकर्मीहरुमा चाम्लिङ मात्र नभएर अन्य युवाहरुको समेत उल्लेख्य उपस्थिति देखिन्छ ।

राजधानीमा भएका मण्डला, शिल्पी, कौशी, सर्वनाम, ओजस लगायत थिएटरहरुमा युवा रङ्गकर्मीहरुकै नाटक सिर्जनाहरु छाइरहेका छन् । नाटक सिर्जनाहरुमा युवाले आफ्नो कथा मार्फत यो समयको आवाजलाई उँचो स्वरमा उच्चारण गर्दै सत्ता र शक्तिलाई समेत सचेत बनाएका छन् ।

पछिल्लो समयमा रङ्गमञ्चमा समुदायको कथाले अझै विविधता थपेको छ । आदिवासी सौन्दर्यका ध्वनि र लयमा गुञ्जायमान बनेका नाटकघरहरुमा दर्शकका रुपमा तिनै आदिवासी अनुहारहरु थपिएका छन् ।
अनिल सुब्बा, सोनाम लामा जस्ता नयाँ पुस्ताका रङ्गकर्मीहरुले आदिवासी स्वर र सौन्दर्य मात्र नभएर पहिचानलाई समेत रङ्गमञ्चमार्फत उठान गरेका छन् ।

बुद्धि तामाङसँगै रङ्गकर्मी लामा निर्देशित तामाङ समुदायको उत्पीडनको कथालाई समेटिएको नाटक ‘मासिन्या’ मा दर्शकको निकै राम्रो उपस्थिति रह्यो । नाटकमा दर्शकको उपस्थिति त रह्यो नै नाटकले समुदायमाथि नै एक सिकिमको प्रभाव छोड्ने काम ग¥यो । जुन नाटक थापागाउँस्थित मण्डला थिएटरमा महिना दिनभन्दा बढी मञ्चन गरिएको थियो ।

मण्डलामै हालै मात्र मञ्चन सकिएको रङ्गकर्मी सुब्बा निर्देशित नाटक ‘मेषी दण्ड’ को पनि निकै चर्चा–परिचर्चा भयो । नाटकले झण्डै डेढ÷दुई शताब्दी अघिको हालको सोलुखुम्बु जिल्लाको राप्छा गाउँमा रहेका खालिङभाषीहरुको कथालाई टिपेको छ ।

तत्कालीन खालिङ राईभाषीहरुले खस नेपाली भाषा नजानेकै कारण श्री ३ सरकारलाई दण्ड तिर्नुपर्दा भोग्नुपरेको पीडा र उतारचढावहरु नाटकमा समेटिएका छन् ।

रङ्गकर्मी सुब्बाकै भनाइलाई आधार मान्ने हो भने यो समयमा युवाहरुका लागि हतियार नबोकी कलाको माध्यममा आफ्नै पहिचानका लागि आन्दोलन गर्ने गतिलो प्लेटफर्म रङ्ममञ्च पनि एक हो । आफ्नो भन्ने जताउने पक्षहरुलाई नाटकमार्फत खोजी गर्दा अझै सशक्त हुने उनको मत छ ।

सुब्बाका अनुसार आजका युवाले आफ्नो कुरा भन्न भौतिक रुपमै सडकमा उत्रन जरुरी छैन । कलाको माध्यममा आफ्ना अनुभूतिहरु र भोगाइहरुलाई समेट्न सके त्यो अझै शक्तिशाली हुने अनुभव उनलाई उनको सिर्जनाकर्मले दिएको छ ।

रङ्गकर्मीहरुले आफूले बाँचेको समयको बोध र चोटलाई समेत नाटकमै व्यक्त गरेका छन् । आकाङ्क्षा कार्की जस्ता रङ्गकर्मीहरुले लैङ्गिक चेतलाई थिएटरमा प्रस्तुत गर्दै महिलाको शरीर र व्यक्तित्वमाथि समाजले हेर्ने नजरियालाई आम मानिस समक्ष भनेकी छिन् ।

आफ्नो दक्षता, सीप र शैली भएर पनि एउटी महिला कार्यस्थलहरुमा महिला भएकै कारण कसरी उत्पीडनमा पर्छिन् भन्ने सन्देश बोकेको कार्की निर्देशित नाटक ‘प्ले द सिस्टम’ हालै मात्र टेकुस्थित कौसी थिएटरमा मञ्चन गरिएको थियो ।

त्यस्तै, जमलस्थित नाचघरमा हालै मात्र युवाहरु विहीन बन्दै गएको देशको परिस्थितिदलाई देखाउन रङ्गकर्मी राम केएसीको लेखन तथा निर्देशनमा नाटक ‘अनुत्तर’ मञ्चन गरिएको थियो भने प्रकृति र पर्यावरण संकटमा रहेको विषयलाई समेटेर सर्वनाम थिएटरमा आरुष मगरको निर्देशनमा नाटक ‘पूर्णविराम’ प्रस्तुत गरिएको थियो ।

युवाहरुमा रहेको मानवीय मात्र नभएर प्रकृतिप्रतिको चिन्ता समेत नाटककै माध्यममा आएका छन् भन्ने यी पछिल्ला नाटकहरुले इंगित गरेका छन् ।

अर्की रङ्गकर्मी संगीता थापामगर मगर समुदायको कथालाई लिएर नाटक ‘सोरठी’ लिएर आउँदै छिन् । भाद्र ७ गतेदेखि मञ्चन हुने नाटकका लागि अहिले तीव्र तयारी चलिरहेको छ ।

नयाँ पुस्ताको यो जोश र जाँगरलाई रङ्गकर्मी पशुपति राई उत्साह र स्वभाविक रुपमा लिन्छिन् । रङ्गमञ्चको स्तम्भलाई धान्ने खालका नयाँ पुस्ताहरु जन्मिरहेकोमा उनी निकै खुसी छिन् । ‘नयाँ पुस्ताले पुरानाहरुबाट सिक्दै लेखन देखि निर्देशनमा समेत अगाडि आइरहेका छन् । यसरी आउनु अपरिहार्य पनि हो । पुरानो मान्छे सधैं एकै क्षेत्र र अवस्थामा मात्र हुन्छ भन्ने छैन । रङ्गमञ्चको आधारस्तम्भलाई धान्न नयाँहरु आउनुपर्छ,’ उनी भन्छिन् ।

रङ्गमञ्चमा आउने नयाँ पुस्तामा यसै क्षेत्रको ज्ञान र सीपको क्षमता भएकोले अझै आशा राख्ने ठाउँ देखिएको रङ्गकर्मी आशान्त शर्माको भनाइ छ ।

युवा रङ्गकर्मी मुक्तिको लेखन रहेको नाटक ‘काँचो धागो’लाई निर्देशन तथा परिकल्पनाकारका रुपमा कौसीमा मञ्चनको तयारीमा उनी लागिरहेका छन् । नाटकको भदौ ६ गतेदेखि मञ्चन शुरु भएको छ ।

शर्माले युवापुस्तामा निकै सम्भावनाहरु देखेका छन् । उनका अनुसार युवाहरु रङ्गमञ्चको प्रविधिदेखि, मञ्च र कथासम्म सबैका लागि परिपक्व देखिएका छन् । उनी भन्छन्, ‘अहिलेका नाटकमा युवाका आफ्नै कथा र छटपटीहरु छन् । यसमा विविधता र सह्रानीय सिर्जनाहरु छन् । यसले गर्दा भोलिको रङ्गमञ्चको स्थान माथि उठ्ने सम्भावना छ ।’

राजधानी मात्र नभएर राजधानी बाहिरका नाटकघरहरुमा समेत युवा रङ्गकर्मीहरुको सक्रियता निकै देखिन्छ । पोखरास्थित ‘पोखरा थिएटर’मा परिवर्तन, दमकस्थित ‘कदम थिएटर’मा सिजन दाहाल, इलामस्थित ‘चुलाचुली रङ्गमञ्च’मा चेतन आङथुपो, पोखरामै केदारनाथ पौडेल लगायत रङ्गकर्मीहरुले नाटकलाई गाउँबस्तीसम्म पुर्‍याइरहेका छन् ।

नाटक घरमा नयाँ पुस्ता, नयाँ विषय, नयाँ कथा, नयाँ नै दर्शक थपिनु यो समय नाट्य क्षेत्रकै लागि उर्वर समयका रुपमा लिन्छन् अग्रज रङ्गकर्मी अशेष मल्ल । उनी भन्छन्, ‘नेपाली रङ्गमञ्चको लामो इतिहास छ । यो समयमा देखिएको युथहरुको उपस्थिति हेर्दा रङ्गमञ्चका लागि यो निकै उर्वरकाल हो । तर यो समयमा युवाहरुले जति फड्को मारेका छन्, त्यति नै रङ्गमञ्चको यथार्थतालाई समेत स्वीकार्नुपर्छ ।’

मल्लकै भनाइ अनुसार रङ्गकर्मी चाम्लिङ अहिलेको नाटक सिर्जनामा दर्शकको उपस्थितिलाई देखेर भोलिसम्म ढुक्क हुने अवस्था देख्दैनन् । युवाहरुले आफ्नो कथा भन्ने हुटहुटीमा नाटकको गुणस्तरलाई समेत ध्यान पु¥याउनुपर्छ भन्ने उनलाई लाग्छ ।

उनी जोड्छन्, ‘कथा त जसको भने पनि हुन्छ । तर, त्यसमा नाटकको पक्ष, तत्व र गुणस्तर चाहिँ हुनैपर्छ । यसलाई हामीजस्ता रङगकर्मीले भुल्नु हुँदैन ।’

इलाममै बसेर रङ्गकर्मलाई अगाडि बढाइरहेका आङथुपो युवापुस्ताको जोशलाई अझै विस्तारित र दिगो रुपमा टिकाउन अग्रज पुस्ताले जोड दिनुपर्ने मत राख्छन् । उनलाई लाग्छ, पछिल्लो समयमा रङ्गमञ्चमा देखिएका युवा र तिनका सिर्जनाहरुमा सपना र समर्पणहरु मिसिएका छन् । त्यसलाई अब कसरी हुर्काएर मलजल गर्ने भन्ने पाटोमा अग्रज पुस्ताले तत्कालै सोच्नुपर्छ ।

आङथुपोकै जस्तै धारणामा मल्ल निकै चिन्तित छन् । किनकि उनको पाँच दशकभन्दा लामो रङ्गमञ्चको यात्रामा कैयौं रङ्गकर्मीहरु जीविकोपार्जनकै लागि नाट्य क्षेत्र छोडेर दूर भएका छन् भने कतिले देशै छोडेर हिँडेका छन् ।

नाट्य क्षेत्र जति चलायमान देखिए पनि यसबाट आउने आर्थिक पक्ष अझै बलियो भएको छैन भन्ने कुरालाई युवा पुस्ताका रङ्गकर्मीले स्वीकार्नैपर्छ भन्ने उनको आग्रह छ ।

उनी अझै प्रस्ट्याउँछन्, ‘थिएटरहरुमा जति दर्शकको भिड बढे पनि आथिक रुपमा प्रतिफल आउने वातावरण बनेको छैन । यो नै रङ्गमञ्चको यथार्थता हो । यो पीडालाई हामीले स्वीकार्नैपर्छ ।’

उनी अगाडि भन्छन्, ‘यसलाई स्वीकारेर नयाँ पुस्ताले समय र खर्चको व्यवस्थापन गरेर नाटकलाई अगाडि बढाउनु आजको आवश्यकता हो ।’

युवा पुस्ताले नाटकलाई उत्कृष्ट बनाउने होडमा मञ्च झकिझकाउ गरेर खर्च गर्ने र समयको व्यवस्थापन नगर्ने हो भने यसमा होमिएका युवामा फ्रस्टेसन, डिप्रेसन जस्ता समस्या आउला कि भन्ने उनलाई ठूलो भय छ ।

रङ्गमञ्चलाई मितव्ययी बनाउँदै अभ्यास र प्रोडक्सनको समय व्यवस्थापन गरी अन्य आर्थिक उपार्जनको बाटोलाई समातेर यसलाई अगाडि लैजान सकिने मल्ल बताउँछन् । यो शैली अपनाएमा मात्र आज रङ्गमञ्चममा केही गर्छु भनेर देखिएको युवा जोश र जाँगर भोलिसम्म यथावत रहने उनको मत छ ।

(जोय नेपाल डटकम मा कार्यरत पत्रकार सुशीला तामाङ कला, मनोरञ्जन  र सामाजिक विषयमा कलम चलाउँछिन् ।)

 

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ९ : २७ बजे

विराटनगरलाई लुम्बिनीले दियो एनपीएलकै उच्च १९२ रनको चुनौती

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लाइन्सले

एनपीएलको तेस्रो खेलमा सन्दीपको पहिलो विकेट

काठमाडौं– सन्दीप लामिछानको कप्तानीमा रहेको विराटनगर किङ्गले बुधबार नेपाल प्रिमियर

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार : प्रधानमन्त्री ओली

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

काठमाडौं– नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस

काठमाडौँको टुँडिखेलमा एक जना मृत भेटिए

काठमाडौं – काठमाडौँको टुँडिखेलस्थित गोल पोस्ट नजिकै एक जना मृत