कर्नरिङको दलदलमा फस्यो नेपालको शेयर बजार ! | Khabarhub Khabarhub

कर्नरिङको दलदलमा फस्यो नेपालको शेयर बजार !

कानूनको धज्जी उड्दा मूकदर्शक बन्दै धितोपत्र बोर्ड


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८१ साउन २१ गते सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयममा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले चारवटा कम्पनीको नाम लिँदै प्रतिशेयर नेटवर्थ कम भएको, तर शेयर मूल्य अस्वाभाविक तरिकाले बढाइएको भन्दै सभामुख र सरकारको ध्यानकर्षण गराए ।

त्यसरी अस्वभाविक शेयर मूल्य बढ्नुको कारण देखाउँदै सिंहले भने–‘अनलाइन क्लब हाउसबाट जनतालाई गुमराहमा पारिन्छ, सोसल मिडियाबाट प्रोपोगान्डा र कर्नरिङ (बजार घटाउन वा बढाउन मिलेमतोमा शेयर खरिद–बिक्री गर्ने काम) गर्छ ।’

सामाजिक सञ्जाल फेसबुकमा शेयरबजार केन्द्रित नाम राखेर खोलिएका ग्रुपहरू हेर्दा सिंहले भनेका कुरा सत्य सावित हुन्छ । सांसद सिंहले भनेजस्तै शेयरको मूल्य बढाउन सामाजिक सञ्चालमा कानूनलाई चुनौती दिँदै दिनहुँ प्रोपोगाण्डा हुने गरेको छ ।

‘कुनै स्टकमा झट्का लगाएर सर्किट लगाउनुपर्‍यो भने हामीलाई सम्पर्क गर्नुहोला ।’ यो पोस्ट साउन २५ गते शुक्रबार शेयर मार्केट (शेयर बजारमा चासो राख्नेहरूको समूह) नामक फेसबुक ग्रुपमा ‘बुल हिटर’ नामक फेसबुक आइडीबाट भएको पोष्ट हो ।

उक्त फेसबुक प्रोफाइल भने शंकास्पद छ । उक्त फेसबुक प्रोफाइलमा हर्क साम्पाङको फोटोलाई एआई प्रयोग गरेर बुढो बनाएको फोटो राखिएको छ । केही पोष्टहरू भएपनि उक्त आइडी फेक हो भन्न सकिने धेरै आधारहरू छन् ।

तर, शेयर मार्केट नामक ग्रुपमा भने ३ लाख ५८ हजार ९ भन्दा बढी सदस्यहरू छन् । बुल हिटरले गरेको पोष्टमा ४ घण्टा अवधिमा ९३ लाइक र ४६ कमेन्ट आएको छ । अर्थात् उक्त ग्रुपमा सहभागीको सङ्ख्या ठूलो रहेको पोष्टमा आएको सहभागिताले देखाउँछ ।

साउन २९ गते शेयर मार्केट अफ नेपाल (शेयर हब) नामक फेसबुक ग्रुपमा सुमन राउतले ‘एनएलआइसी (नेपाल लाइफ इन्स्योरेन्स) ब्याक एगेन २००० प्लस प्लस सून’ भन्दै पोष्ट गरे । दुई घण्टामै उक्त पोष्टमा १७ जनाले रियाक्ट र ६ जनाले कमेन्ट गरे । उक्त कम्पनीको शेयर नेप्सेमा २ घण्टा पछाडि हेर्दा ४ प्रतिशत भन्दा बढीले बढेको पनि देखियो ।

सामाजिक सञ्जालमा अरूलाई ‘यो किन’ र ‘त्यो किन’ भन्ने मात्र होइन, कुन किन्दा ठीक होला भन्ने पनि भेटिने गरेका छन् । साउन २९ गते ‘शेयर मार्केट (शेयर बजारमा चासो राख्नेहरूको समुह)’ नामक फेसबुक ग्रुपमा कमल खतिवडा नामक खाताबाट एउटा पोष्ट भयो । ३ लाख ५९ हजार भन्दा बढी मेम्बर (सदस्य) भएको उक्त ग्रुपमा खतिवडाले ‘आजको लागि बेस्ट कुन स्टक होला ?’ लेखेका थिए ।

खतिवडाले लेखेको एक घण्टाको अवधिमा उक्त पोष्टमा ३७ जनाले लाइक र ५७ कमेन्ट आयो । उक्त पोष्टको कमेन्टमा ‘आइएलआइ, सानिमा बैंक, एपीआई, जेएफएल (नेप्सेमा सूचीकृत कम्पनीका छोटा नामहरू)’ जस्ता थुप्रै कम्पनीका शेयर किन्नलाई धेरैले कमेन्ट गरेका थिए ।

शेयर बजारका जिज्ञासाहरू नामक अर्को फेसबुक ग्रुप छ । २ लाख ४३ हजारभन्दा बढी सदस्यहरू रहेको उक्त ग्रुपमा बेनामे सहभागीले ‘जे सुकै होस् ! ३०५ मा एचआइडीसीएल किनेँ मैले त’ लेखे । फेसबुक ग्रुपमा कसैले पनि आफ्नो पहिचान नखुलाई पोष्ट गर्ने मिल्ने भएकाले सो पोष्ट उनले उक्त शेयर किनेर लेखेका थिए वा आफ्नो शेयरको मूल्य बढाउन, यो केही भन्न सकिने अवस्था छैन ।

माथिका सन्दर्भ केही प्रतिनिधि घटनामात्र हुन् । फेसबुक, क्लबहाउस र ह्वाटएप जस्ता सामाजिक सञ्जालमा यस्ता प्रचार दिनहँुजसो हजारको सङ्ख्यामा हुने गरेको छ । यसो गर्न कानूनी रोक भए पनि शेयर कर्नरिङ गर्न दैनिक गलत प्रचार हुने गरेको छ ।

कानूनको धज्जी उडाइँदा धितोपत्र बोर्ड मूकदर्शक

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले शेयर कर्नरिङ गर्नु कानून विपरीत भनेको छ ।

ऐनको दफा ९८ मा जालसाजीयुक्त कारोबारबारे लेखिएको छः

‘कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्यले लिइ देहायका कारोबार गरेमा जालसाजी गरेको मानिनेछ –

(क) कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा वा

(ख) सकैलाई भुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा ।’


सोहि ऐनको दफा ९९ मा जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने भनिएको छ ।

उक्त दफामा लेखिएको छ– ‘कुनै विवरण झुठो वा भ्रामक हो भन्ने थाहा हँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यास्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा भलुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिनेछ ।’

जालसाजीयुक्त कारोबार गरे उक्त ऐनको दफा १०१ मा दण्ड–सजाय व्यवस्था पनि छ । दफा १०१ को उपदफा ३ मा ‘दफा ९७, ९८, ९९ र १०० बमोजिमको कुनै काम गर्नेलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने छ र त्यस्तो कारोबारबाट कसैलाई हानी–नोक्सनाी भएको रहेछ भने त्यस्तो हानी–नोक्सानी समेत भराई दिनुपर्नेछ’ लेखिएको छ ।

तर, धितोपत्र बोर्डले भने अहिले सम्म सकैलाई पनि कारबारही गरेको छैन । बोर्डले केही काम भइरहेको गरिरहेको बताए पनि ठोस काम गरेर कानूनको दायरामा भने कसैलाई पनि ल्याउन सकेको छैन ।

धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारी पनि अहिलेसम्म कारबाही नभएको स्वीकार गर्छन् । ‘अध्ययन एउटा स्टेजमा पनि पुगेको होला, तर मैले ठ्याक्कै थाहा नपाएको हुनाले भन्न कठिन भएको हो’, प्रवक्ता अधिकारीले भने, ‘अलि अघि केही उजुरी आएका थिए, तर अहिलेसम्म कारबाही भएको छैन ।’

शेयर कर्नरिङ गर्ने विषयमा अहिलेसम्म किन कारबाही हुन सकेको छैन भन्ने खबरहबको प्रश्नमा अधिकारीले भने, ‘मेरो विभागले भन्ने कुरा भएन, मैले त्यो कुरा कसरी भन्न मिल्यो र !’

खरबहबले पुनः ‘प्रवक्ता भएको नाताले जवाफ तपाईंले जवाफ दिने होला नि !’ भन्ने प्रश्नमा प्रवक्ता अधिकारीले भने, ‘जुन कुराको निर्णय भएको छ– त्यो कुराको पो जानकारी दिने हो त, कर्नरिङ कहाँ भएको÷नभएको कुराहरूमा कसरी के भन्ने र मैले ?’ शेयर कर्नरिङ रोक्न ठोस किसिमले भने केही पनि काम नभएको अधिकारीले बताए ।

सामाजिक सञ्जालको प्रयोग गरी अर्बौं रुपैयाँको शेयर कर्नरिङ हुने गरेको धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुङ्गाना बताउँछन् । ‘त्यसमा ठूलो चलखेल हुन्छ, अर्बौंको कर्नरिङ हुन्छ’, ढुङ्गानाले भने, ‘त्यहाँ यति ठूलो गिरोह छ कि उस्तै परे बोर्डको अध्यक्ष समेतलाई फाल्न सक्छन् ।’

अध्यक्ष हँदा बोर्डको वस्तु विनिमय बजार तथा अनुसन्धान विभागका कामु कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा छानबिन समिति बनाएर अध्ययन समेत गराएका ढुङ्गानाका अनुसार नेतृत्व दह्रो भए कर्नरिङ नियन्त्रण हुन्छ ।

तर, अहिले बोर्ड नेतृत्वविहीन भएकाले पनि कर्नरिङ गर्नेलाई सजिलो भएको ढुङ्गाना बताउँछन् । कर्नरिङ रोक्न सकिने ढुङ्गानाको भनाइ छ । त्यसका लागि बोर्ड र सरकार मिलेर लाग्नुपर्ने उनले सुझाए । ‘बोर्डसँग कर्नरिङ रोक्न सक्ने किसिमको आट हुनुपर्‍यो’, ढुङ्गानाले भने, ‘त्यसअनुसार सरकारले पनि सहयोग गर्नुपर्छ ।’

नियामक निकाय नै कमजोर भएका कारण सामाजिक सञ्जालमा जथाभावी शेयर किन्न वा बेच्न हौस्याउने गलत चलन भएको नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बताउँछन् । त्यस्तो कार्यलाई सरकार र बोर्डले नियन्त्रण गर्नुपर्ने पाण्डेको भनाइ छ ।

‘त्यसरी सामाजिक सञ्जालमा जथाभावी शेयर किनबेच गर्ने उक्साहटमा लगानीकर्ता पनि पर्नुहुँदैन’, पाण्डेले भने, ‘नियामक निकाय र सरकार पनि चनाखो हुनुपर्‍यो ।’

शेयरबजार प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा एउटा समूह नै लाग्ने गरेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि बताउँछिन् । त्यस्तो कार्य निन्दनीय भएको र कारबाही निम्ति नियामक निकाय खरो उत्रनुपर्ने पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : ०५ बजे

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज

मनमोहन सिंहको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको

माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो

काठमाडौं– नेकपा माओवादी केन्द्रले  सङ्‍घीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले

निजामती सेवा विधेयक आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथिको

दक्षिण कोरिया : कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

सियोल– दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार