माओवादी अब समाजवाद ल्याउनेगरी अघि बढ्छ | Khabarhub Khabarhub

संवाद

माओवादी अब समाजवाद ल्याउनेगरी अघि बढ्छ

पार्टीले कामको ब्राण्डिङ गर्न सकेन



माओवादी नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध लिखित प्रतिवेदन पेश गरेपछि त्यसले पार्टी पङ्क्ति तरङ्गित छ । अध्यक्ष दाहालले उपमहासचिव समेत रहेका शर्माको असहमतिलाई  ‘अगुल्टो ठोसाइ’ भने पनि अन्य नेताहरू शर्माविरुद्ध उत्रिएका छन् । माओवादी बागमती प्रदेश बैठकमा पनि यसको बाछिटा देखियो । यी सबै समस्याको निदान पदाधिकारीको बैठकले गर्ने भनिएको छ । के माओवादी नेतृत्वमा विकल्प खोज्ने बेला भएकै हो ? सरकारबाट सडकमा पुगेको माओवादीभित्र कस्तो सुधार र शुद्धीकरण सम्भव छ ? यिनै विषयमा सो पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलसँग कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश :

तपाईंहरू सरकारबाट हटेर प्रमुख प्रतिपक्षको बेन्चमा पुगिसकेपछि ‘जनतासँगको हाम्रो सम्बन्ध कमजोर भएछ टुट्दै गएको छ,  जनताको बीचमा फर्किनुपर्छ’ भन्ने सामूहिक निष्कर्षमा पुग्नु भएजस्तो देखिराखेको छ । अब जनता माझमा के एजेण्डा लिएर फर्कने हो ?

गएको १८ महिनादेखि कमरेड प्रचण्डको नेतृत्वमा कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर हामीले सरकार चलाएका थियौँ । प्रचण्डजी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित भएर सरकारको कामलाई व्यवस्थित गर्न खोजेको थियो, त्यो सबैका सामू छर्लङ्गै छ ।

सामन्ती शोषणको एउटा जो अवशेष छ- त्यसलाई हटाउन कानून बनायौं । २८ हजार पीडितहरूको पहिचान भयो । ५ देखि ६ हजार बीचका मानिसले न्याय पाए । पीडितहरूको कोणबाट धेरै ठूलो विषय हो । यही सरकारले सामाजिक सुरक्षा भत्ता व्यवस्थित बनाउनुका साथै भारतमा बिजुली बेच्ने प्रक्रिया शुरू गर्‍यो । बङ्गलादेशमा बेच्न प्रक्रिया मिलाउने क्रम जारी नै छ ।

यही सरकारले सन्तुलित परराष्ट्र नीतिको लागि प्रयत्न गर्‍यो । राष्ट्र संघका महासचिवलाई नेपालमा ल्याएर यहाँको शान्ति-प्रक्रियाका बाँकी काम अगाडि बढाउने एउटा वातावरण मात्र बनाएन, जलवायु परिवर्तनका मुद्दाहरूलाई बुझ्न र विश्वबीच पुर्‍याउन पनि महत्वपूर्ण भूमिका खेल्यो ।

भ्रष्टाचार विरुद्ध सुशासन कायम गर्नको लागि एकपछि अर्का फाइलहरू उठेर कार्यान्वयनको दिशामा अगाडि बढे । भुटानी शरणार्थीको समस्यामा नेपालीलाई नै शरणार्थी बनाएर बेच्ने खेल, ललिता निवास, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला लगायत कुराहरू आए ।  सो उपर कारबााही प्रक्रिया अगाडि बढाइयो । कतिपय मानिसहरू पक्राउ परे । त्यही पृष्ठभूमिमा सरकार परिवर्तन गराउने कामहरू गरिए । त्यसैले, राम्रो काम गर्दागर्दै र त्यो दिशामा गइरहँदा यो सरकार बदलिएको छ ।

दुई ठूला दल मिल्ने बित्तिकै नयाँ गठबन्धनलाई जलप दिन संविधान संशोधनका कुराहरू उठाइएका छन् । अहिले हामीले जनतालाई भन्ने धेरै विषयहरू छन् । मूल कुरा भनेको यति ठूलो युगान्तकारी परिवर्तनपछि पनि जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको समस्या हल हुन सकेको छैन । यस्तो बेलामा निराशा भजाएर कोही पूरै पछाडि फर्किने, कोही ०४७ को नजिक-नजिक पुग्ने अवधारणा राखेर गइरहेका छन् ।

हाम्रो पदाधिकारी बैठकमा वा स्थायी कमिटी बैठकमा अध्यक्षले ‘खुलेर कुरा राख्नुहोस्, आफूलाई लागेका कुरा भन्नुहोस्’ भन्नुभयो । ‘हाम्रा समस्या र चुनौती कहाँ हुन् र कसरी समाधान गर्ने भन्ने विषय लिएर आउनुहोस्’ भन्नुभयो

पहिलो कुरा त यति बेला संविधान रक्षाको प्रश्न महत्वपूर्ण हो । जनताको बीचमा हामीले गरेका राम्रा काम  प्रचारप्रसार गर्नुपर्छ । गल्ती र कमी-कमजोरीका विषय पनि छन् । हिजो भएका कमी-कमजोरी स्वीकार गर्ने तथा जनता समस्यामा केन्द्रित भएर जाने हो । अब सीधै जनतामा गएर आन्दोलन गर्ने भन्ने हाम्रो भाष्य हैन ।

पछिल्लो स्थायी कमिटी र केही बैठक नियाल्दा तपाईंहरूले यो बीचमा गरेका कामहरूको ब्रान्डिङ गर्न र पार्टीभित्रकै नेताहरूलाई चित्त बुझाउन नसकेको देखियो, अहिले धमाधम एउटाले अर्कोको आङ कन्याउने र छारो उडाउने काम किन भइरहेको छ ?

हो, हामीले आफूले गरेका राम्रा कामको ब्राण्डिङ गर्न सकेनौँ । यसबीच आठौं महाधिवेशन त गर्‍यौं, तर संगठनात्मक ढङ्गले त्यसले देखाएको कुरामा आधारित भएर, कार्ययोजना बनाएर जाने काम गरेनौँ । त्यसले गर्दा पार्टीमा अहिले समस्या छ ।

त्यो समस्या समाधान अहिलेको आवश्यकता हो । यति बेला जनतासामू जाने, सँगै पार्टी पङ्क्तिसँग पनि गाँसिने सन्दर्भ छन् । हाम्रो पदाधिकारी बैठकमा वा स्थायी कमिटी बैठकमा अध्यक्षले ‘खुलेर कुरा राख्नुहोस्, आफूलाई लागेका कुरा भन्नुहोस्’ भन्नुभयो । ‘हाम्रा समस्या र चुनौती कहाँ हुन् र कसरी समाधान गर्ने भन्ने विषय लिएर आउनुहोस्’ भन्नुभयो ।

हाम्रा साङ्गठनिक क्षेत्रमा भएका कमी-कमजोरीहरूलाई जनवादको माध्यमद्वारा हल गरेर फेरि केन्द्रित हुन्छौँ । अब त्यसो गरिरहँदा एकातिर हामीले हाम्रा उपलब्धिको जगेर्ना गर्नुपर्ने, आर्थिक परिवर्तनको एउटा महाअभियान सञ्चालन गरेर देशलाई आत्मनिर्भरताको दिशामा लैजानुपर्नेछ । समाजवादको आधार तयार गर्नुपर्नेछ र त्यो अनुकूल पार्टी बनाउने दिशामा पनि जानुपर्छ ।

पार्टीलाई संस्थागत र व्यवस्थित ढङ्गले चलाउने, पार्टीमा देखा परेका वैचारिक स्पष्ट पार्ने, पार्टीमा देखा परेका विकृति-विसङ्गति हल गर्न सांस्कृतिक रूपान्तरणको एउटा अभियान सञ्चालन गर्ने लगायत विषयहरू हाम्रा अघि छन् । समाजवादउन्मुख अवस्थालाई केन्द्रबिन्दुमा राखेर यो दिशामा अगाडि जान्छौँ ।

पार्टीभित्र चलिराखेको बहस र पोखिएको असन्तुष्टि चाहिँ ‘हामीले १० वर्षे युद्धको राप र तापलाई बिर्सियौँ’ भन्ने चिन्ता हो कि ‘संसदीय राजनीतिमा मैले अवसर पाइनँ’ भन्ने वितृष्णाको कटाक्ष हो ? 

इतिहासले हाम्रा कामको पनि मूल्याङ्कन र समीक्षा गर्न जरुरी छ । यही पार्टी हो- जसले सामन्तवाद र राजतन्त्र विरुद्धको संघर्षमा जनयुद्धमार्फत एउटा ठूलो तरङ्ग ल्यायो । एउटा युगान्तकारी परिवर्तन सम्भव भयो, त्यसलाई संविधान निर्माणमा पनि नीतिगत र संस्थागत गरियो ।

हामी सत्तामुखी भयौँ । गठबन्धन गरेर सत्तामा जान थालियो र त्यसमा पनि भागबन्डाका कुरा आउन थाले । यी सबै कुराले विभिन्न प्रकारका असन्तुष्टि बढ्दै गए

संविधान निर्माण गरेको ७ वर्ष पूरा भएको छ, आठौं वर्षमा छौँ ।  त्यतिबेला अनेक समस्या र मुद्दाहरू थिए । पार्टी चलायमान हुनुपर्थ्यो, गतिशील हुनुपर्थ्यो,  यसलाई अझ विस्तार गरेर लिएर जानुपर्थ्यो । यही प्रक्रियामा जाँदा विश्व र नेपाली समाज पनि बदलिएको, अहिले हाबी भएको पुँजीवादले समाजमा जस्तो परिवर्तन ल्याएको छ- त्यसको विश्लेषण गरेर ठोस योजना बनाएर जानुपर्थ्यो ।

त्यता ध्यान कम भयो र सत्तामुखी भयौँ । गठबन्धन गरेर सत्तामा जान थालियो र त्यसमा पनि भागबन्डाका कुरा आउन थाले । यी सबै कुराले विभिन्न प्रकारका असन्तुष्टि बढ्दै गए । तर, अहिले नेतृत्वको वरिपरि एकताबद्ध भएर सबैले कमी-कमजोरीको जिम्मेवारी लिएर समाजवादउन्मुख बाटोमा जानुपर्छ । यो मार्ग चित्रलाई हामीले ठीक ढङ्गले व्यवस्थापन गर्‍यौँ भने समस्याहरू हल हुन्छन् भन्ने लाग्छ ।

गएको भदौमा पार्टी अध्यक्ष दाहालले प्रधानमन्त्री हुँदा ‘हामीले १०/१५ वर्षको बीचमा धेरै सम्मेलनहरू गर्‍यौँ, बैठक भेलाहरू गर्‍यौँ, तर केही गर्न सकेनौँ, पार्टी जनताबाट झन् झन् सानो हुँदै गयो’ भन्नुभएको थियो । अहिले त झन् पार्टी नेतृत्वमाथि डरलाग्दो आक्षेप लगाउने प्रतिस्पर्धा छ । यस्तो स्थितिमा जनतामाझ के लिएर जानुहुन्छ ? 

जब धेरै समस्या आउँछन्, तब हामीले जनवादी केन्द्रीयताको सिद्धान्त अवलम्बन गरेका छौँ । त्यसमा जनवादलाई बढी प्राथमिकता दिनुपर्छ । त्यसको आधारमा केन्द्रीकरण गरेर जानु पर्छ ।

यो अहिले सुरु गरेका छौँ । सबैलाई बोल्न दिनुपर्छ । यति ठूलो बलिदानको संस्कृतिबाट आएको पार्टी हो । अहिले देशको परिस्थितिले कस्तो भूमिका माग गर्छ- त्यस्तै गरी पार्टी तयार हुनुपर्छ । नेताहरू बीचका समस्या उनीहरू नै एकापसमा मिलेर समाधान गर्नुपर्‍यो ।

युवाहरूलाई देशभित्र रोजगारी दिन सक्ने वातावरण बनाएर दीर्घकालीन ढङ्गले आर्थिक रूपान्तरणको महाअभियान चलाउनुपर्छ । अब जलवायु परिवर्तनले ल्याएका ठूला ठूला मुद्दा छन् । विज्ञान प्रविधिले ल्याएका ठूला इश्यूहरू छन् । सामाजिक सञ्जालमा आएका धेरै समस्याहरू छन्

आलोचना आत्मआलोचना गरेर हुँदैन । नेताहरू मात्र बसेर हल हुँदैन भने कार्यकर्ताहरू सँगै बसेर पो गर्ने हो कि ! एकातिर यो मोडेलमा जानुपर्ने छ ।

यतिबेला नेतृत्वबाट पार्टी रूपान्तरणको प्रक्रिया, पार्टी एकता र पार्टीले गरेका निर्णयलाई कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने हो । गरेको कामको मूल्याङ्कन सङ्गठनले गर्छ । हामीले त्रुटि गर्‍यौँ, जहाँ कमजोरी गर्‍यौँ, त्यसलाई सच्याएर लिएर जाने त्यो भन्दा अर्को कुनै विकल्प छैन । नियतजन्य समस्या छन् भने समस्या नै हुन्छ, तर परिस्थितिजन्य छन् भने हल हुन्छ ।

माओवादीसँग जोडिएको एउटा प्रश्न- संसदीय राजनीतिमा आइसके पछाडि पार्टी प्रदूषित भयो।  पार्टी अध्यक्षले पनि बैठकमा स्वीकारेको भनिएको छ । मुख्य कुरो त पार्टी नेतृत्वको कार्यशैली र पार्टी नेतृत्वको व्यवहारमै ठोक्किएको रहेछ नि !

पहिलो कुरा- हामीले हामीले एक्काइसौँ शताब्दीमा नेपाली विशेषताको समाजवाद भनेर आठौँ महाधिवेशनबाट सम्प्रेषण गर्‍यौँ । त्यसलाई ठोस र मूर्त बनाएर त्यसको वरिपरि जानुपर्छ । किनकी हाम्रो सारा व्यवहारलाई विचारले पदप्रदर्शित गर्नुपर्छ ।

दोस्रो- हामीले त्यो कार्यदिशालाई कार्यान्वयन गर्ने कोणबाट पार्टीभित्र सांस्कृतिक क्षेत्रमा जुन खालको भ्रष्टीकरणको समस्या आएको छ, त्यसलाई सामान्य आचारसंहिता बनाएर मात्र हुँदैन । त्यसलाई कसरी समाधान गर्ने भनेर सांस्कृतिक रूपान्तरणसँग सम्बन्धित विषयलाई पनि प्राथमिकता दिनुपर्छ ।

तेस्रो कुरा- पार्टीलाई विधि र पद्धतिमा चलाउनुपर्छ । संस्थागत गर्नुपर्छ । त्यो परिपार्टीलाई अवलम्बन गर्नुपर्छ ।

चौथो- अहिले तीन तहका सरकार छन् । हामी संघ र प्रदेश सरकारमा छैनौँ । १२२ वटा पालिकाका स्थानीय सरकारमा छौँ । त्यहाँ नमूना ढङ्गले काम गर्नुपर्छ र संसदलाई जनताको बीचमा लैजाने मुखर संस्थाको रूपमा अगाडि बढाउनुपर्छ ।

अर्को कुरा; अब हामीले सुरु गरेका भ्रष्टाचार विरोधी जुन अभियान छन्- त्यसलाई जनस्तरबाट अगाडि बढाउनुपर्छ । यतिखेर संविधान संशोधनको नाउँमा समानुपातिक समावेशीतालाई चाहिँ अलिकति आक्रमण गर्न खोजिएको छ । अहिले भएका व्यवस्थालाई परिवर्तन गर्ने वातावरण बनाउन खोजिएको छ । संविधान रक्षा र कार्यान्वयनको निम्ति हामीले व्यापक छलफल गरेर आवश्यक भएका जन परिचालनका कार्य योजनाहरू बनाएर जानुपर्छ ।

जो कूटनीतिज्ञहरू आउँछन्- उहाँलाई नभेटी कोही फर्किँदैनन् । अहिले देशको लागि, हाम्रो पार्टीको लागि र समाजवादी आन्दोलनको लागि पनि उहाँले एक अवधि ठीक ढङ्गले काम गर्नुपर्छ

अर्को यो परिवेशमा युवाहरूलाई देशभित्र रोजगारी दिन सक्ने वातावरण बनाएर दीर्घकालीन ढङ्गले आर्थिक रूपान्तरणको महाअभियान चलाउनुपर्छ । अब जलवायु परिवर्तनले ल्याएका ठूला ठूला मुद्दा छन् । विज्ञान प्रविधिले ल्याएका ठूला इश्यूहरू छन् । सामाजिक सञ्जालमा आएका धेरै समस्याहरू छन् । त्यसैले एउटा जनताप्रति उत्तरदायी भएको पार्टीको कोणबाट हेर्दा अहिले यी सबै विषयलाई व्यवस्थित गरेर गयौँ भने मात्रै हामी त्यो दिशामा सफल हुन्छौँ ।

यसको अर्थ तत्कालका लागि प्रचण्डको विकल्प छैन भन्ने हो ? 

उहाँ लामो संघर्षबाट स्थापित व्यक्तित्व हो । ३५ वर्षदेखि उहाँले हाम्रो पार्टीको प्रत्यक्ष नेतृत्व गरिरहनुभएको छ । पार्टीभित्र लामो समयदेखि अध्यक्षमा रहिरहेकाा कारण विकल्प खोज्नुपर्छ भनेर र पार्टीभित्र र बाहिर पनि कुरा उठिरहेको छ ।

अहिले राम्रो काम गर्दा गर्दै उहाँलाई पदबाट हटाइएको छ र उहाँको नेतृत्वमा ठूला-ठूला परिवर्तन देशले देखेको छ, भोगेको छ । यही कारण मुलुक अगाडि बढेको छ । प्रचण्डलाई अहिले पदको आवश्यकता मैले देख्दिनँ । किन कि उहाँ राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा स्थापित व्यक्तित्व हो ।

माधव कमरेडसँग ०७९ को चुनाव अगाडि नै पार्टी एकता गर्ने भने बहस भएको संयन्त्र बनाउने भनेको थियो । विविध कारणले ढिला भएको थियो

जो कूटनीतिज्ञहरू आउँछन्- उहाँलाई नभेटी कोही फर्किँदैनन् । अहिले देशको लागि, हाम्रो पार्टीको लागि र समाजवादी आन्दोलनको लागि पनि उहाँले एक अवधि ठीक ढङ्गले काम गर्नुपर्छ । र आफू पछाडि यति दुख गरेर बनाएको यो पार्टीलाई ठीक ढङ्गले अवतरण गर्नुपर्छ, विश्रामको कुरा हैन ।

समाजवादी मोर्चाको नाममा संसद्‌मा आफ्नो हस्तक्षेपकारी प्रभाव जमाउन अध्यक्ष प्रचण्ड यतिबेला माधव नेपाल र विप्लवलाई प्रधानमन्त्रीको ललिपप देखाएर बेग्लै खेलोफड्कोमा देखिनुहुन्छ ।  एकातिर घरमा विवाद देखिनु, अर्कातिर यसखाले गतिविधिले झन् आत्मघात निम्त्याउँदैन र ?

समाजवादी मोर्चा अलि पहिले नै बनेको हो । त्यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । यो बीचमा विप्लवजीको पार्टीको तर्फबाट पनि पार्टी एकता गर्ने निर्णय चाहिँ गर्नुभएको छ । तर, अहिले तुरुन्तै एकता गरी हाल्ने भनेर कार्यान्वयनको क्रममा मैले देख्दिनँ ।

माधव कमरेडसँग ०७९ को चुनाव अगाडि नै पार्टी एकता गर्ने भने बहस भएको संयन्त्र बनाउने भनेको थियो । विविध कारणले ढिला भएको थियो । मुलुकमा एउटा नयाँ खालको ध्रुवीकरण गरेर वामपन्थी, देशभक्त प्रगतिशील शक्तिहरूलाई एकसाथ लिएर अघि बढ्नुपर्छ । ‘दुई दलीय प्रणालीमा लानुपर्छ, पुरानो शासकीय प्रबन्धमा फर्किनुपर्छ’ भनेको बेलामा अहिले भएका बहसलाई हिजो आँखाबाट हेर्नु हुँदैन ।

यतिबेला यो दिशालाई  पनि व्यवस्थित गर्नुपर्छ । अहिले हाम्रो महेन्द्र रायजीहरूसँग एउटै पार्टी बन्ने आधार बनिसकेको छ । अरूसँग बनिहाल्ने स्थिति छैन । हाम्रो बीचमा कार्यदिशागत समानता पाइन्छ, तर एक अर्काको बीचमा मोर्चा बनाएर काम गर्दै पार्टी एकतासम्म जानका लागि एउटा मार्गचित्र चाहिन्छ ।

हामी त्यो निर्माणको प्रक्रियामा सघन ढङ्गले छलफल गरिरहेका छौँ  । पार्टी निर्माणको प्रश्न र समाजलाई समाजवादसँग जोड्ने प्रश्न उपलब्धिको जगेर्ना गर्ने कामसँग हाम्रो पार्टीका प्रश्न र मोर्चाका प्रश्नहरू पनि गाँसिएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ०० बजे

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी

सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर मामाभाञ्जा बेपत्ता

इटहरी– सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका

सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ  

काठमाडौं– नेपाल सरकारको  उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

तनहुँ– व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट