जब सफल कलाकार बन्न २० वर्ष लाग्यो... | Khabarhub Khabarhub

जब सफल कलाकार बन्न २० वर्ष लाग्यो…

डाक्टर बन्न काठमाडौं छिरेका विजय कबड्डीको ‘बीके’ बनेर निस्किए


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 10 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्दामा नायक-नायिकालाई देख्दा कलाकार बन्ने रहर जो कोहीमा जाग्न सक्छ । तर, एकजना किशोर पुस्ताको मानिस सफल कलाकार बन्नका लागि कत्ति वर्ष संघर्ष गर्नुपर्ला ? अभिनेता विजय बरालले गरेको ०६१ देखि ०८१ सालसम्मको यात्रालाई हेर्दा स्पष्ट हुन्छ ।

‘विजय बराल’ फिल्म क्षेत्रमा स्थापित नाम हो । रङ्गमञ्चमा पनि उनले विशेष स्थान राख्छन् ।

मण्डला थिएटर आजको स्थानमा पुर्‍याउन उनले जीवनको ऊर्जाशील उमेर, सीप, बल र पसिना लगानी गरेका छन् । तर, उनी आज जे छन्, त्यो उनको लक्ष्य होइन । भन्छन्, ‘म त काठमाडौं डाक्टर बन्न आएको थिएँ !’

भर्नाको म्याद गुज्रिएकाले उनको डाक्टर बन्ने सपना पूरा भएन । उनी जब सर्लाहीमै प्लस टु सकेर दोस्रो पटक काठमाडौं आए, त्यसबेला उनी कमेडियन बन्ने अर्को सपना पनि बोकेर आएका थिए । भन्छन्, ‘क्यारिकेचर गर्थेँ । टेलिसिरियलमा काम गर्ने सपना देखेको थिएँ ।’

जब उनी काठमाडौंमा स्नातक पढ्न थाले, लक्ष्य बदिलियो । नाटकमा प्रवेश गरे । त्यही क्रममा गुरुकुल हुँदै मण्डला हुँदै पुगे । मण्डलाबाट फिल्म प्रवेशको अवसरहरु देख्न थाले । तिनै विजयको बाल्यकालदेखि फिल्मसम्मको यात्रा यस्तो छ :

सर्लाहीमा बाल्यकाल

विजयका हजुरबुवा सिन्धुलीबाट बसाइँ सरेर सर्लाही गएकाले उनको जन्म, हुर्काइ, र स्कुले शिक्षा त्यहीँ भयो ।

सर्लाहीमा उनको पुर्ख्यौली घर पूर्व-पञ्चिम राजमार्गको आडैमा छ । भारतीय सीमा नजिकै भएका कारण उनलाई थाहा भएदेखि नै गाउँ चलायमान थियो ।

सोही कारण उनले विभिन्न पहिरन, हुलिया र समुदायका मान्छेहरु देख्ने अवसर बाल्यकालदेखि नै पाए । यद्यपि राजमार्गमा रफ्तारमा हुइँकिने गाडीले कैयन् पटक निद्रा खराब हुनु उनका लागि राजमार्गको छेउमा घर हुनु बेफाइदाको पाटो थियो ।

बुवा नेपाल बैंकको जागिरे भएकाले बाल्यकालमा उनले आर्थिक संकटको सामना गर्नु परेन । आफ्ना बजारिया साम्रगीको माग बुवाले पूरा नगरिदिएको उनलाई सम्झना छैन । अहिले पनि उनलाई आफूले बिताएको बाल्यकाल कठिन लाग्दैन ।

भन्छन्, ‘अपेक्षा पनि ठूला थिएन । वर्षमा एकपटक स्टुडियो गएर फोटो खिच्न पाइन्थ्यो । दसैंमा नयाँ लुगा लगाउन पाइहालिन्थ्यो । अरु माग के गर्ने ?’

आफूले थाहा पाउँदादेखि नै घरमा रेडियो भएको उनलाई धमिलो स्मरण छ । अर्थात् उनले हुर्किएपछि गीत सुन्ने गरेको रेडियो किनिएको मिति उनलाई याद छैन । आफू जन्मनभन्दा पहिल्यै किनेको हुनुपर्ने उनको अनुमान छ ।

बरु आफू तीन कक्षामा पढ्दा नै घरमा टेलिभिजन आएको उनलाई टड्कारो याद छ । उनको सम्झनामा त्यसअघि गाउँमा टीभी थिएन ।

‘त्यसबेला टीभीको महत्त्व थियो । विशेष व्यक्तिहरुको घरमा मात्रै हुन्थ्यो । हाम्रोमा टीभी आउनुअघि छिमेकीको घरमा भएको थाहा छैन । काका टीभी मेकानिक भएकाले हाम्रो घरमा छिटो आयो,’ उनी भन्छन, ‘शुक्रबार र शनिबार फिल्म हेर्न हाम्रो घरमा भीड हुन्थ्यो ।’

पढाइमा अब्बल नै रहेकाले स्कुलसम्मको पढाइमा तेस्रोभन्दा पछाडि परेको अनुभव विजयलाई थाहा छैन । भन्छन्, ‘म पहिलो, दोस्रो र तेस्रोमा एक हुन्थेँ । तर, अंग्रेजीमा भने कमजोर थिएँ ।’

स्कुले स्मरण…

विजयको आफ्नो बाल्यकाल अन्य साथीहरुको जस्तै पढाइ र भौतिक खेलमै बित्यो । चप्पलको पाङ्ग्रा गुडाउने, गुच्चा खेल्ने जस्ता खेलमा बाल्यकाल बिते पनि किशोर अवस्थामा पुगेपछि भने फुटबलमा रस पसेको उनलाई टड्कारो याद छ । फुटबलमा रस पस्नुको कारण हो– सर्लाहीकै जुवानु राई राष्ट्रिय टिममा हुनु ।

‘फुटबलको माहौल एकदमै राम्रो थियो । जुवानु सर्लाहीकै भएर होला, फुटबलको लोकप्रियता उत्कर्षमा थियो,’ उनी सम्झन्छन्, ‘फुटबल खेल्न हामी अरु गाउँमा पनि जान्थ्यौं ।’

पढाइ राम्रो भएको र डाक्टर बन्ने लक्ष्य भएकाले उनमा खेलाडी बन्ने सपना भने हाबी हुन पाएन ।

स्कुलको अतिरिक्त क्रियाकलापमा भने वतृत्वकला र हाजिरीजवाफको जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएको अनुभव उनीसँग छ ।

‘अन्तरविद्यालय हाजिरी जवाफ र वक्तृत्वकालमा भाग लिन गएको थियौं,’ उनी भन्छन्, ‘एक पटक हाजिरी जवाफमा प्रथम भएको थियौं । कति कक्षा पढ्दा हो बिर्सिएँ ।’

घरमै टीभी हेर्न आउने छिमेकीहरुबाट उनले नायक निखिल उप्रेती, नायिका जल साह, गायक शिव परियार, कमेडियन शिवशंकरलगायत सर्लाहीकै हुन् भन्ने थाहा पाएका हुन् । कलाकार नारद खतिवडा उनकै गाउँले हुन् ।

यिनै कुराले उनलाई पहिलो पटक कक्षा आठमा पढ्दा पहिलो पटक स्टेज चढ्ने प्रेरणा दिएको हो । ‘सबै सर्लाहीको हो भनेपछि म पनि कलाकार बन्न सक्ने रहेछु त भन्ने भयो,’ उनी भन्छन् ।

उनले पहिलो पटक स्टेज चढेर देखाएको प्रस्तुती थियो-  नारद खतिवडाकै गीत ‘ढोका खोलन बोस्टेकी आमा’मा प्यारोडी नाच ।

सो प्यारोडी नाचबाट साथीहरुको प्रशंसात्मक प्रतिक्रियालाई उनी कलाकारिता प्रवेशको ‘हुक लाइन’ मान्छन् । त्यसपछि भने कमेडियन बन्न क्यारिकेचरको सुरु गरेको उनी सुनाउँछन् ।

‘त्यसबेला सरस्वती पूजा, दसैं र विदाइ-स्वागतका कार्यक्रम स्कुलमा धेरै हुन्थ्यो,’ उनी भन्छन्, ‘ती कार्यक्रमहरुमा क्यारिकेचरहरु सुनाउने, प्यारोडी नाच्ने काम बाक्लिन थाल्यो ।’

डाक्टर बन्ने सपना

विजयको एसएलसी ०६० सालको हो । त्यसबेला एसएलसीलाई ‘फलामे ढोका’ भन्ने गरिन्थ्यो । उनी ७३ प्रतिशत ल्याएर उत्तीर्ण भए । उनी भन्छन्, ‘डाक्टर बन्ने सपना थियो, मिहिनेतले पढिन्थ्यो नि । म एलएलसीमा हाम्रो ब्याचको तेस्रो हुँ ।’

एसएलसीको नतिजापछि ०६१ मा डाक्टर बन्न काठमाडौं आएको उनी सुनाउँछन् । त्यसबेला उनीसँगै डाक्टर बन्न दुई साथीहरु पुस्कर बराल र अशोक बराल आएका थिए ।

‘डाक्टर बन्नका लागि प्लस टूमा साइन्स विषय पढ्न अस्कल क्याम्पसमा बुझ्न गयौं । भर्ना मिति कटेछ,’ उनी भन्छन्, ‘मेरो अंग्रेजी कमजोर भएकाले पढ्न सक्छु जस्तो लागेन । अनि साथीहरुसँग सल्लाह गरेर उतै पढ्ने भनेर सर्लाही फर्कियौं ।’

काठमाडौंको तीनदिने बसाइमै उनको बाल्यकालदेखिको डाक्टर बन्ने सपनाको मृत्यु भयो ।

‘हामी तीनैजना गाउँ फर्कियौं । उता गएर जेहेन्दार विद्यार्थीका रुपमा छात्रवृतिमा कमर्स पढ्यौं,’ उनी भन्छन् ।

कलाकारिताको हुटहुटी

सर्लाहीमा प्लस टू पढ्ने क्रममा क्याम्पसको कार्यक्रममा क्यारिकेचरले गर्न थालेपछि साथीहरुले विजयलाई थप हौसला दिए । उनलाई साथीहरुले भन्थे, ‘विजय तँ त कलाकार नै बन्नुपर्छ ।’

क्यारिकेचर गर्ने एक्लो व्यक्ति भएका कारण साथीहरुले कलाकार बन्न सुझाएको हुनुपर्ने उनको अनुमान छ ।

‘साथीहरुले टीभीमा मात्र कलाकारहरुले क्यारिकेचर गरेको देखेका थिए । बाहिर एक्लो व्यक्ति म थिएँ । उनीहरुलाई पनि क्यिारिकेचर विशेष कला हो भन्ने थियो,’ उनी सुनाउँछन्, ‘मलाई पनि आफू साच्चिँकै खतरै हुँ कि जस्तो लाग्थ्यो ।’

कलाकार बन्ने इच्छा त पलायो । तर उनलाई प्रक्रिया थाहा थिएन । ठूलोममी (आमाकी दिदी) का छोरा बिमल भट्टराई फिल्म लाइनमा भएकाले फोन गरेको उनी स्मरण गर्छन् ।

दाइलाई फोन गरेर उनले भनेका थिए, ‘दाइ, म क्यारिकेचरहरु गर्छु । सिरियलमा लगाइदिनू ।’

कक्षा १२ को नातिजा आएलगत्तै उनी काठमाडौं आउन पाएनन् । अंग्रेजी विषय झुण्डिएकाले उनी पूरक परीक्षा दिएर पास भएपछि मात्र राजधानी छिरे । ०६४ सालमा काठमाडौं आउँदा उनको स्पष्ट लक्ष्य थियो– कलाकार बन्ने ।

मीनभवनको पढाइ

यसपटक काठमाडौं आउँदा पनि विजयसँग अशोक र पुस्कर दुबै सँगै थिए । तीनजना मिलेर कोटेश्वरमा एउटै डेरामा बसे । नेपाल कमर्स क्याम्पसमा भर्ना भए ।

क्याम्पसमा पुग्दा सर्लाहीमा सँगै प्लस टु पढेका २६ जना साथीसँग भेट भयो । उनी भन्छन्, ‘हाम्रो २७ जनाको ग्याङ नै बन्यो ।’

काठमाडौं आएपछि पनि क्याम्पसको कार्यक्रममा स्टेज चढ्न उनलाई पुराना साथीहरुको आड थियो ।

क्याम्पसको कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पौडेल प्रस्तुती दिन आउँदा आफूले क्यारिकेचर गरेको उनको एक यादगार स्मृति हो ।

भन्छन्, ‘उहाँ त स्थापित कलाकार नै हुनुहुन्थ्यो । पैसा तिरेर बोलाएको हुनुपर्छ । जे होस् स्थापित कलाकार आउनुअघि र गएपछि हामीहरुले पालो पाउँथ्यौं ।’

काठमाडौंको भागदौड

काठमाडौं आएपछि विजयको जागिरे जीवन पनि सुरु भयो ।

घरबाट काम गर्ने दबाब नभए पनि आफ्नो लागि चाहिने खर्च घर छोडेपछि बासँग माग्नुहुन्न भन्ने मनस्थितिले जागिर गरेको उनी बताउँछन् ।

भन्छन्, ‘साथीको इन्स्टिच्युट म्यानेज गर्ने काम गरेँ । तलब १०-१२ हजार हुन्थ्यो । मलाई के चाहियो ? बालाई खर्च चाहिँदैन मलाई भनेर सानपट्टी दिन्थेँ ।’

बिहान क्याम्पस र दिउँसो जागिरमा मात्रै उनको दैनिकी सीमित थिएन । विभिन्न सिरियलमा पनि धाउन थाले ।

सिरियलमा धाउने उनका दुई च्यानल थिए– उही ठूलोममीका छोरा दाइ बिमल भट्टराई र हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ।

दाइले फोन नै गरेर दीपकराज गिरी, जितु नेपाल लागयतका त्यसबेलाका चलेका टेलिसिरियलका हर्ताकर्ता कलाकारलाई भाइलाई काम लगाइदिन अनुरोध गरेको उनले भुलेका छैनन् ।

तर, ती कलाकारबाट विजय टीभीमा देखिन पाएनन् । यद्यपि दमन रुपाखेतीको सिरियलमा सानो भूमिकामा भने कष्टले काम पाए ।

‘बूढानीलकण्डमा सुटिङ थियो, गएँ । टीभीमा आउने बित्तिकै जाने सानो रोल थियो । खान पनि समय नहुने’ उनी भन्छन्, ‘आफूलाई कलाकार बन्न संघर्ष गर्नुपर्छ भन्ने के थाहा ! सानो भूमिका भएकाले केहीपटक मात्रै गएँ ।’

यता शिवशंकरसँग भने गृहजिल्लाको नाताका कारण उनी जोडिए । शिवशंकरको भेट गराउने माध्यय भने विजयले चिनेकै एक विद्यार्थी नेता थिए ।

‘शिवशंकर दाइको गाईजात्रा हिट थियो । मलाई दुई वर्ष अवसर दिनुभयो । सानो भूमिका थियो,’ उनी भन्छन् ।

गाईजात्रा बाहेक केही भिडियोमा शिवशंकरले अवसर दिलाए पनि कलाकारिताले गति लिन नसकेको महसुस विजयलाई भयो ।

‘काठमाडौं आएको एक वर्ष भइसक्यो । जहाँ जे पाउँछ, त्यही अभिनय गर्न हिँडेको छ । भनेको जस्तो रोल कतै पाइँदैन,’ उनी सम्झन्छन्, ‘डुल्दा डुल्दा यसरी त हुन्नँ है भन्ने भइसकेको थियो ।’

नाटकको चस्का

सुरुवाती समयमा ‘गुरुकुल थिएटर’का दर्शक विद्यार्थीहरु थिए । विद्यार्थीमा नाटक हेर्ने संस्कार विकास गर्ने गुरुकुलको रणनीति नै थियो ।

सोही कारण विजय पनि गुरुकुलमा पुगे । त्यसबेला उनले हेरेको पहिलो नाटक ‘सपनाको साविती ’ हो’ ।

‘निशा शर्मा अभिनयका लागि रुनुभयो, यता मेरो पनि आँशु खसेछ,’ उनी भन्छन्, ‘नाटकको शक्ति मैले यहीबेला बुझेँ । अनि म गुरुकुलको नियमित दर्शक हुन थालेँ ।’

बिस्तारै गुरुकुलका कलाकार सौगात मल्ल, प्रवीन खतिवडालगायतसँग चिनजान हुन लागेपछि निःशुल्क नाटक हेर्नेसम्मको च्यानल बनेको उनी सुनाउँछन् ।

यद्यपि उनी नाटकमा जोडिने बाटो देखाउने जस भने गुरुकुलको व्यवस्थापन हेर्ने दिपेश दाहाललाई दिन्छन् ।

‘दीपेश दाइसँग क्याम्पसमा चिनजान भएको थियो । उहाँलाई ममा कलाकार बन्ने इच्छा छ भन्ने थाहा थियो,’ विजय भन्छन्, ‘उहाँले नै मलाई पाटनमा अभिनय कार्यशाला खुल्दै छ भन्ने जानकारी दिनुभएको हो ।’

अभिनय सिक्ने मौका

विजयले अभिनयको पहिलो तालिम ०६५ लिएका हुन् । पाटनको यलमाया केन्द्रमा भारतको नेसनल स्कुल अफ ड्रामाको टिम आएर दिएको ४५ दिनको कार्यशालामा उनी सहभागी भएका हुन् ।

उनी भन्छन्, ‘वरिष्ठ लेखक, निर्देशक र थिएटर कलाकार एम के रैना पनि प्रशिक्षण दिनेमा हुनुहुन्थ्यो ।’

त्यही कार्यशालाले उनलाई पहिलो पटक नाटकको कलाकारका रुपमा मञ्चमा पुर्‍यायो । उनी भन्छन्, ‘कार्यशालापछि एउटा नाटक गर्नुपर्ने थियो, त्यहीँबाट नाचघरमा मैले पहिलो नाटक- अन्धो युग गरेको हुँ ।’

मण्डलामा प्रवेश

कार्यशाला खुलेको जानकारी दिने उनै दीपेश दाहालमार्फत् विजय मण्डला थिएटरमा पुगेका हुन् ।

दीपेशले विजयलाई भनेको थिए, ‘मण्डला थिएटर अनामनगरमा छ । राजन खतिवडालाई भेट्नू, मेरो नाम लिनूँ । ऊबाट नाटकको अवसर पाउन सक्छौ ।’

विजय त्यहाँ पुग्दा मण्डलाको संरचना पूर्णरुपले बनेकाे थिएन । उनी त्यहाँ पुग्दा देखेको दृश्य सम्झन्छन्, मण्डलाको एउटा मात्रै कोठा थियो । रिहर्सल गर्नेसमेत ठाउँ थिएन । बुद्धि तामाङहरु फेस्टिभलको तयारीमा थिए ।’

खैर, मण्डला पुगेपछि विजयले काम त पाए तर ब्याक स्टेजको । त्यो काम पनि हेटौंडामा संगीत तथा नाट्य प्रतिष्ठानको फेस्टिभल भएकाले पाएको पाएको उनी बताउँछन् ।

‘हेटौँडा गएँ । मेरो जिम्मेवारी सेट बनाउने थियो । मलाई चाहिँ अभिनय गर्न पाउँछु भन्ने थियो तर के पाउनु,’ उनी भन्छन्, ‘फेस्टिभलमा रमाइलो भयो, सिकाइ भयो, दिक्क लाग्यो ।’

त्यही फेस्टिभलमा जान र पूर्णकालीन अभिनयमा लाग्ने सोचका कारण इन्स्च्यिुटको जागिर छोडेको उनी सुनाउँछन् ।

सबै छोडेर थिएटरमा लाग्नुको कारण चाहिँ म जस्तै कलाकार बन्ने सपना देखेकाहरु जे गर्छन्, मैले पनि त्यही गर्छु भन्ने निर्णय थियो । उनीहरुको पनि जागिर थिएन ।  मेरो नहुँदा के हुन्छ र ? भन्ने भयो ।

दोस्रो नाटक

हेटौंडाको फेस्टिभलपछि मण्डलामा विजयको आवत–जावत बाक्लियो । राजन खतिवडाले दोस्रो नाटक ‘कर्ली हियर’मा पनि ब्याक स्टेजको काम दिए ।

अभिनय गर्ने इच्छा भए पनि ब्याक स्टेजमा थन्कनु पर्दा एक किसिमको दिग्दारी भने लागेको उनी सम्झन्छन् ।

भन्छन्, ‘मलाई कलाकार बन्नु थियो तर कहाँ यहाँ आइपुगेँ भन्ने त भयो नि । सँगै नाटकले म सहती कुरामा रमाइरहेको छु, अभिनय त नाटकमै गर्नुपर्छ भन्ने महसुस गराएको थियो ।’

यद्यपि दोस्रो नाटकदेखि ‘चरनदास चोर’गर्ने अवसर आकस्मात उनलाई आइलागेको हो । दयाहाङ राई फिल्म ‘लुट’मा व्यस्त भएकाले आफूले सो भूमिका पाएको उनको बुझाइ छ ।

भन्छन्, ‘दया दाइले नभ्याएपछि मलाई दिने कुरा भएछ । राजन दाइले तिम्रा लागि रोल छ, आऊ भन्नुभयो । म फेरि घरको कामले बिराटनगर गएको थिएँ ।’

एकैपटक ठूलो भूमिका पाउँदा विजयलाई डर र लोभ दुवै एकैपटक पलायो । सक्दिनँ कि भन्ने डर बोकेर उनी काठमाडौं हानिए ।

‘पाठशाला स्कुलमा रिहर्सल थियो । मञ्चन चाहिँ पाटन संग्रालयमा भयो,’ उनी भन्छन्, ‘त्यो नाटक हेर्न मैले क्याम्पसका सरहरु र साथी सबैलाई बोलाएँ । एकजना सरले नाटकपछि राम्रो गर्‍यौं भनेर साइकल नै उपहार दिनुभयो ।’

मण्डलाको बसाइ

दोस्रो नाटकले अभिनयप्रति जगाएको रुचिले विजयलाई मण्डलामै बस्ने निर्णय लिन बाध्य बनायो । मण्डला बसाइका सुरुवाती कामहरु उनका ब्याक स्टेजकै थिए ।

‘राजन दाइले नाटकको काम ल्याउनुहुन्थ्यो । हामी बुद्धि दाइको नेतृत्वमा ब्याक स्टेजका काम गर्थ्यौै,’ उनी भन्छन्, ‘पर्यटन बोर्ड, एक्टर स्टुडियो जहाँ नाटक हुन्छ, त्यहाँ ब्याक स्टेजको काममा जान्थ्यौं ।’

ब्याक स्टेजमा विजय मात्रै थन्किएका थिएनन् । अभियनमा रुचि राख्ने अरु साथीहरु पनि थिए । यही रुचिले मण्डलाको संरचना निर्माणको कामले निरन्तरता पाएको उनको बुझाइ छ ।

‘हामीले आफूलाई काम गर्नका लागि आफ्नै स्पेसको जरुरी छ । अरुले काम दिँदैनन् । मण्डला विस्तार गनुपर्छ भन्ने निर्णय भयो,’ उनी भन्छन्, ‘म आफ्नो डेरा भाइलाई जिम्मा लगाएर मण्डलामै बस्ने थालेँ ।’

त्यसपछि बुद्धि तामाङ, नाजिर हुसेन, उमेश तामाङ, विकाश जोशीसँग मण्डलामै बसेर संरचना निर्माणको कामलाई निरन्तरता दिएको उनी बताउँछन् ।

‘एकजना श्रमिक राखेर बाँकी काम हामीले गरेका हौं । सुरुमा हामी सबैले ५०/५० हजार हालेर काम सुरु गरेको हो,’ मण्डलाको संरचना निर्माणबारे विजय भन्छन्, ‘हामीलाई सुत्न मण्डलामै ठाउँ थियो । खाना सस्तो होटल खोजेर खान्थ्यौं ।’

खाने खर्च जुटाउन ब्याक स्टेजको काम र रेडियो नाटक गरेर भए पनि मण्डलाको काम पूरा गरेको उनी बताउँछन् ।

‘एकैपटक काम गर्न पैसा थिएन । संरचना पूरा बन्न डेढ वर्ष लाग्यो । त्यो समय खानु पनि पर्‍यो । जसले जे जानेको छ, त्यही बाहिरी काम गरेर जोहो गर्थ्यौं,’ उनी भन्छन्, ‘सधैँ बालुवा चाल्ने काम मात्र भएन । त्यो समयमा अभियनको कार्यशाला पनि हुन्थ्यो । एक-दुईवटा नाटक पनि गरियो ।’

यही दौरान आफूले स्नातक पास गरेको उनी सुनाउँछन् ।

फिल्ममा फड्को

संरचना निर्माणपछि मण्डला सञ्चालनमा आयो । विजयले नाटक गर्ने अवसर पनि पाए । तर, नाटकबाट चिया खर्च पनि आउँदैन थियो ।

‘नाटकबाट पैसा आउँदैन थियो । पैसा हुँदैन भन्ने हामीलाई थाहा थियो,’ उनी भन्छन्, ‘मण्डलामा नाटक गर्न थालेपछि आम्दानीको स्रोत विस्तार गर्न म फिल्मतिर लागेँ ।’

पहिलो फिल्म ‘छड्के’मा विजय (सेतो सर्ट)ले निर्वाह गरेको भूमिका 

विजयले अभिनय गरेको पहिलो फिल्म ‘छड्के’ हो । ‘सानो भूमिका छ तर पनि अडिसन नै दिएको हो,’ उनी भन्छन्, ‘फिल्म चलेर हिट भएपछि मैले पाँच हजार पारिश्रमिक पाएको थिएँ ।’

जब बने ‘बीके’

कबड्डी विजयको सातौं फिल्म हो । त्यस बेलासम्म उनले दर्शकले याद गर्ने भूमिका पाएका थिएनन् । तर, फिल्म निर्माण प्रक्रिया बुझ्न पाएकाले उनी सन्तुष्ट नै थिए ।

सानो भूमिकामा फिल्म गर्ने र बाँकी समय उनी नाटकमै व्यस्त थिए ।

‘खर्च जुटाउन फिल्म गर्ने, रेडियो नाटक गर्ने । बाँकी समय मण्डलामा नाटक गर्थेँ,’ उनी भन्छन्, ‘त्यो समयमा बढी नाटक गर्ने नै म थिएँजस्तो लाग्छ ।’

यही दौरान उनलाई र बृद्धि तामाङलाई फिल्म ‘कबड्डी’को प्रस्ताव आयो ।

‘दया दाइ मण्डलाकै संस्थापक भएर त्यहीँ स्क्रिप्टको काम भएको थियो,’ उनी भन्छन्, ‘फिल्म बनाउन बजेट थिएन । हामी अभिनयसहित दोहोरो काम पनि काम गर्न सक्ने भएकाले अफर आयो ।’

कबड्डीमा ‘बीके’को भूमिकासहित कस्टुम र सेट डिजाइनको जिम्मेवारी निर्वाह गरेको उनी बताउँछन् ।

भन्छन्, ‘दया दाइ लुट चलेर हिट मान्छेसँग काम गर्नु चुनौती त्यसै थियो । अझ दोहोरो जिम्मेवारीमा थियौं । निकै अहसज भए पनि काम गरियो ।’

कबड्डी हिट भयो । विजयले पनि फिल्मको मुख्य भूमिकामा भएकाले चर्चा पाए । त्यसले फिल्ममा उनको व्यस्तता बढायो ।

‘कबड्डीको त्यो पात्र मेरो जीवनको टर्निङ पोइन्ट नै बन्यो । फिल्मका प्रस्तावहरु पनि आउन लागे,’ उनी भन्छन्, ‘फिल्मले राम्रो व्यापार गरेकाले एक लाख रुपैयाँ पनि पाएँ ।’

कबड्डी ३ पछि…

विजयले कबड्डीपछि सहायक भूमिकामा काम त पाउन थाले तर आर्थिक प्रगति खासै थिएन । कबड्डीको तेस्रो श्रृंखलापछि भने आर्थिक पक्ष पनि सबल बन्दै गएको उनी बताउँछन् ।

भन्छन्, ‘कबड्डी–३ बाट चाहिँ मेरा सीमित आवश्यकता पूरा गर्न सक्ने भएँ । साथै, मलाई चाहिने पैसा अब अभिनयबाटै आउँछ भनेर ढुक्क हुने अवस्था भयो ।’

यद्यपि विजय सबैभन्दा व्यस्त रहेको वर्ष ०८० हो । उनको पहिलो सन्तानको जन्म भएको वर्ष पनि यही हो । ‘छोरो वैशाखमा जन्मियो, म त्यो वर्ष व्यस्त भएँ । त्यसैले छोरालाई लक्की चार्म भन्छु,’ उनी भन्छन्, ‘त्यही वर्ष दुई फिल्म सुपरहिट भए । बेलायतको भ्रमण त्यही वर्ष भयो । समग्रमा अहिलेसम्म मेरो करिअरको उत्कृष्ट वर्ष त्यही होे ।’

अहिले विजयले अभिनय गरेका १६ फिल्म प्रदर्शन भइसकेका छन् । जसमा उनको केन्द्रीय भूमिका रहेको फिल्म ‘पण्डित बाजेको लौरी’ हो । तर, भन्छन्, ‘मलाई सहायक भूमिकामा नै रुचाइएको छ ।’

फिल्मको व्यस्तताले उनले अहिले नाटक गर्न भ्याएका छैनन् । यद्यपि उनले अभिनय गरेको नाटकको संख्या दुई दर्जनभन्दा बढी छ ।

विजयको करिअरसँगै मण्डला थिएटरले पनि उचाइ लिँदैछ । उनी अहिले पनि मण्डलाका सञ्चालक मध्येका एक हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ३ : ०५ बजे

रवि लामिछानेको बयान आज पनि

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

संघीय संसद्का दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ ।

कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु

झापा–कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना

इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनः स्थापना केन्द्र स्थापना

कटारी – कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा