नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग « Khabarhub

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।

नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो एक सय सात रुपैयाँका दरले लोक्ता बिक्री हुने बताए ।

‘दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजनाअनुसार १५ वर्षपछि खुला गरिएको छ’, उनले भने, ‘फुर्सदको समयमा जङ्गलको लोक्ता संकलन गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।’

यसअघि मालिका–३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनःसञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो ।

उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हातेकागज उद्योग मात्र सञ्चालनमा छ । पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ ।

माघदेखि वैशाखसम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताए ।

कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उनले बताए । जङ्गलमा गाईवस्तु चराउने क्रममा गोठालाहरूले लोक्ता सङ्कलन गर्छन् ।

बराहताल, बासरातेलगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमको भनाइ छ ।

‘एकजनाबाट अधिकतम ३० हजारसम्मको लोक्ता खरिद भएको छ’, उनले भने, ‘एक जनाले सरदर १० देखि १५ हजारका दरले आम्दानी गरेका छन् ।’ समुद्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइको जङ्गलमा पाइने अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज तयार पारिन्छ ।

सुकेको लोक्तालाई एक हप्तासम्म पानीमा भिजाउने, पकाएर बनेको लेदोलाई आवश्यकतानुसार विभिन्न आकारको जाली भएको फ्रेममा राखेर घाममा सुकाएपछि नेपाली कागज तयार हुन्छ । नेपाली कागजमा लेखेको अक्षर नउड्ने भएकाले लामो अवधिसम्म रहने अभिलेख प्रिन्ट गर्न प्रयोग हुन्छ ।

अदालत, प्रहरी, प्रशासन, स्थानीय तह, सहकारी, बैंक, वित्तीय संस्थाहरूले महत्त्वपूर्ण प्रतिवेदन, अभिलेख र निर्णय तथा पत्रका लागि नेपाली हातेकागज प्रयोग गर्छन् । समुदायस्तरमा चिना, तमसुक लेख्न पनि नेपाली कागज प्रयोग गर्ने चलन छ ।

म्याग्दीमा उत्पादन हुने नेपाली कागज जिल्लाभित्रका साथै, बागलुङ, कास्की र काठमाडौँमा खपत हुने गरेको छ । आकार र तौलअनुसार फरक–फरक मूल्यमा कागज बिक्री हुन्छ । सबैभन्दा कम चार दशमलव पाँच ग्रामको एउटा कागजको साढे चार रुपैयाँ पर्छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ५४ बजे

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

काठमाडौं- यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ । आईसीसी

जेन-जी घाइतेको विवरण सार्वजनिक

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका