राजनीति

कांग्रेस-एमालेबारे प्रचण्डको टिप्पणी : कार्यान्वयन नगरी संविधान असफल भयो भन्ने छुट छैन

By खबरहब

September 23, 2024

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रोसँग कार्यान्वयन नै नगरी संविधान संशोधन र समीक्षाको कुरा झिक्नु ठिक नहुने बताएका छन् ।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले पनि संविधान कार्यान्वयनमा ठूलो चुनौती छ । इमान्दारिताका साथ कार्यान्वय गरिसकेपछि मात्रै पो समीक्षा गरेर संशोधनमा जाने हो’, उनले भने, ‘तर अहिले सकेसम्म कार्यान्वयनमा गर्न नदिने का भएको छ । संविधान कार्यान्वयन भएन भनेर अर्को बाटोमा जान सकिँदैन । कार्यान्वयन नगरी यो संविधान असफल भयो भन्ने छुट यसमा सही गर्ने दलहरू र शक्तिलाई छैन ।’

उनले अहिलेका सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको एजेन्डा कहिल्यै पनि संविधान संशोधन नभएको टिप्पणी गरे ।

‘अहिलेको प्रधानमन्त्रीको पार्टी एमाले र कांग्रेसले संविधान संशोधन गरौँ भनेर छलफल गरेका थिएनन्’, उनले भने, ‘उनीहरूलाई सरकार चाहिएको थियो । माओवादी सरकारलाई हटाउनका लागि उनीहरूले संविधान संशोधनको कथा बनाएको हो । संविधान संशोधन ठूला पार्टीको एजेन्डा होइन । यी दुई पार्टीको उद्धेश्य माओवादीलाई फ्याँकेर सत्तामा पुग्नु मात्रै थियो ।’