अन्तर्राष्ट्रिय

पनडुब्बी विकासमा भारतसँग सहकार्य गर्ने ब्राजिलको चाहना

By खबरहब

September 23, 2024

काठमाडौँ– ब्राजिलले आणविक ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीको विकास गर्न भारतसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ ।

ब्राजिलको नौसेनाका कमाण्डर एडमिरल मार्कोस साम्पाइयो ओल्सनले आणविक ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीको विकासमा भारतले प्राविधिक तथा प्रशिक्षणात्मक सहयोगको अपेक्षा गरिएको बताएका हुन् ।

हालै दिएको एउटा अन्तरवार्ताका क्रममा एडमिरल मार्कोसले आफ्नो मुलुकमा युरेनियमको ठूलो भण्डार रहेको उल्लेख गर्दै भारतसँग सहकार्य गर्न इच्छुक रहेको बताए । आणविक पनडुब्बीको क्षेत्रमा जानकारी आदान प्रदान, संयुक्त अनुसन्धान र आणविक ऊर्जामार्फत गति शक्ति उत्पन्न गराउने प्रणालीको विकासमा दुई मुलुकबीच सहकार्य हुनसक्ने उनको भनाइ छ ।

भारतको रक्षा पोर्टल इण्डिया डिफेन्स रिसर्च विङका अनुसार हाल ब्राजिलले आणविक ऊर्जाबाट सञ्चालन हुने आफ्नो पहिलो पनडुब्बीको विकास गरिरहेको छ । अल्भारो अल्बेर्टो नाम दिइएको उक्त पनडुब्बीको निर्माण सन् २०२९ सम्म सम्पन्न भइसक्ने लक्ष्य राखिएको छ ।