अन्तर्राष्ट्रिय

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

By खबरहब

September 23, 2024

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमणका घटना बढ्दै गएको छ ।

प्रधानमन्त्री शेख हसिनाले देश छाडेसँगै बंगलादेशमा हिन्दू धर्मावलम्बीविरुद्ध हिंसात्मक घटनामा वृद्धि भएको थियो । अहिले भने यस्ता आक्रमणको निशानामा इस्लाम धर्मअन्र्तगत सुफी सम्प्रदाय परेका छन् ।

पछिल्लो समय सुफी सम्प्रदायका मुसलमानले आस्था राख्ने मठ र मजारमा धार्मिक अतिवादीले आक्रमण गर्न थालेका छन् ।

हालै बंगलादेशको सिलेटमा रहेको हजरत शाह परान मठमा तोडफोड भएको घटना बाहिरिएको छ । मठमा सुफी धर्मगुरु हजरत शाह परानको जयन्तीका अवसरमा आयोजित कार्यक्रममा अतिवादीले तोडफोड गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार १४ औँ शताब्दीका सुफी धर्मगुरु परानले सिलेट कब्जा गर्न आफ्ना मामा शाह जलालसँगै युद्धमा सहभागी भएको इतिहास छ । यस आक्रमणसँगै श्रद्धालुहरु भयभित भएका छन् । धार्मिक अतिवादीले सुफी मठ र मजारलाई गैर इस्लामिक मान्ने गरेका छन् ।