तिहारमा चेलीको टीकामाला खेर, दाजुभाइको निधार खाली ! | Khabarhub Khabarhub

बेरोजगारीले खोसेको पर्वोत्सव

तिहारमा चेलीको टीकामाला खेर, दाजुभाइको निधार खाली !

१५ महिनामै विदेसिए पाँच लाख युवा


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापाको गौरादह नगरपालिका–९ की दीक्षा निरौलाका दुई दाजु र एक भाइ छन् । तर, उनले दुई वर्षदेखि तिहारमा आफ्ना कुनै दाजुभाइलाई टिका लगाउन पाएकी छैनन्‌ । किनकी, उनका तीनै दाजुभाइ विदेशमा छन् ।

‘दुई वर्ष अघिसम्मभाइ नेपालमै थियो र टिका लगाउथेँ । अहिले त भाइ पनि अष्ट्रेलिया गयो, दाजुहरू त पहिल्यैबाट विदेश नै छन् । धेरै भयो तीनैजनालाई टिका नलगाएको !’ उनले भनिन् ।

दीक्षालाई तिहारको रमझम निरस लाग्छ । दाजुभाइ घरमा हुँदाको रमाइलो अब रहेन । चेली-माइतीको पर्वमा टिकाले निधार रङ्ग्याउने र मालाले गला सजाउने एक अर्को पक्ष नै नभएपछि दीक्षालाई तिहार खास हुँदैछैन ।

‘दाजुहरू घरमै हुँदा त साह्रै रमाइलो लाग्थ्यो । अहिले दाजुभाइ नभएर होला, खासै वास्ता नै लाग्दैन’, उनी भन्छिन् । तिहारका लागि नयाँ लुगाफाटो र भाइमसला किनमेल गर्नै मन नलागेको उनले सुनाइन् । गाउँघरमा अरू चेलीबेटीले किनमेल गरेको देख्दा उनको मन त्यसैत्यसै अत्यास मान्छ ।

यस्तै, झापाकै बाह्रदशीकी तारा खतिवडाका पनि तीन दाजुभाइ छन् । तर, अहिले दशैँ तिहारलाई भनेर एक जना दाजुमात्रै नेपाल आएका छन् । उनले अघिल्लो वर्ष पनि दुईजना दाजुलाई मात्रै टिका लगाएकी थिइन् । 

‘मैले तिहारमा तीनै दाजुभाइलाई एकैपटक टिका नलगाएको त वर्षौं भइसक्यो । सबै जनाको एकैपटक छुट्टी हुँदैनतीन जनामध्ये एकजना चाहिँ तिहारमा आउनुहुन्छ । त्यसरी पालो गरेको धेरै वर्ष भयो । पाँच वर्ष अगाडि चाहिँ मैले तीनैजना दाजुभाइलाई टिका लगाएकी थिएँ । त्यो साल साह्रै रमाइलो भएको थियो,’ उनी भन्छिन् ।

000

देशमा भरपर्दो रोजगारी नपाएकै कारण दाजुभाइ बिदेसिँदा दीक्षा र ताराजस्तै लाखौं दिदीबहिनीले आउँदै गरेको तिहारमा पीडाको सुस्केरा हाल्दैछन्‌ ।

वर्षेनी लाख हाराहारीमा युवाले काम खोज्दै देश छाड्दा तिहारमात्रै होइन, अरू चाडपर्व र बजार अर्थतन्त्रमा पनि उसरी नै ‘प्यानिक’ बन्दो छ । चाडबाडमा गाउँदेहात त सुनसान छ नै ! बजारमा किनमेल रौनक पनि निरन्तर घट्दो छ ।

तिहारमा विशेषगरी दाजुभाइको दीर्घायुको कामना गरेर दाजुभाइलाई टिका लगाउने परम्परा छ । दाजुभाइ नै विदेशमा भएपछि नेपालमा हुने दिदीबहिनीहरू निराश हुन्छन् ।

अलि सम्पन्न देशहरूमा रहेका दाजुभाइले त दिदी बहिनीलाई विदेशमै बोलाउने र उतै तिहार मनाउने हुँदा नेपालमा पहिलेजस्तो रमाइलो हुन पनि छाडेको छ । 

१५ महिनामै बिदेशिए पाँच लाख युवा

गत आर्थिक २०८०/०८१ को साउनदेखि हालसम्ममा पाँच लाखभन्दा बढी युवाहरूले नेपाल छोडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै नेपालबाट विभिन्न देशमा गरेर ६ लाख ६१ हजार १२५ पुरुषले श्रम स्वीकृति लिएर बाहिरिएका हुन् । श्रम स्वीकृति लिएर ८० हजार १७२ महिलाहरू पनि विदेश गएका छन् ।

यसरी वर्षेनी विदेश जाने युवाहरू बढ्दै गएका कारण अहिले नेपालमा कुनै पनि चाडबाड पहिलेजस्तो उत्साहजनक नभएको देशमा बाँकी बसेकाहरू गुनासो गरिरहन्छन्‌ ।

चालु आर्थिक वर्षको साउनमा मात्रै श्रम स्वीकृति लिएर नेपालबाट ३१ हजार २५६ जना पुरुष र पाँच हजार ६७२ महिला विदेश गएका छन् । यस्तै, साउनको तुलनामा भदौमा बिदेशिनेको सङ्ख्या अझै बढेको छ । भदौमा ३४ हजार ५१८ पुरुष र पाँच हजार ३९ महिलाले नेपाल छोडेका छन् ।

चाडबाड सुरु भएको महिना वा नेपालीहरूको महान चाड दशैँको समयमा पनि ३४ हजार १६९ जना युवाले श्रम स्वीकृति लिएका छन् । जसमा २९ हजार ८ पुरुष र चार हजार ३०० महिला रहेका छन् ।

श्रम र सुरक्षित भविष्यकै खोजीमा हाल युएई, साउदी, कतार, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत १०० भन्दा बढी मुलुकलाई नेपाली युवाहरूले गन्तव्य बनाइरहेका छन्‌ । पछिल्लो आधादशक यता १२ कक्षा उत्तीर्ण गरी बाहिरिएका लाखौं विद्यार्थीहरू देश फर्कने सम्भावना नरहेको र उनीहरूले अभिभावकलाई पनि स्थायी बसाइँसराइ गराउने अनुमान जनसङ्ख्याविद्‌हरूले गरिसकेका छन्‌ ।

देश छाड्नेहरूमा महिलाको तुलनामा पुरुषको सङ्ख्या लाखौं बढी छ । रोजीरोटीका लागि पनि बिदेशिने र उच्च शिक्षा हासिल गर्नका लागि बाहिरिने युवाहरूको जमात अन्तराष्ट्रिय विमानस्थलमा खचाखच हुने गरेको छ ।

बजारमै धक्का !

अहिले अधिकांश नेपाली युवाहरू बाहिर भएकाले किनमेल गर्ने बजार नियाल्दा पनि चाडबाडको रौनक त्यति उत्साहजनक देखिँदैन । बजारमा माग श्रृजना गर्ने युवाहरू नै देशमा नहुँदा नेपाली व्यापार व्यवसाय पनि चलायमान नबनेको व्यवसायीहरूको गुनासो छ ।

दशैँमा पनि सोचेको भन्दा ७० प्रतिशत नै कम व्यापार भएको बजारमा तिहारमा पनि निराशा छाउने बताउँछन् नेपाल व्यापार संघका अध्यक्ष हेमलाल खरेल ।

खरेलले भने, ‘सुनसानजस्तो गाउँघरमा बूढाबूढी बुबाआमा मात्रै छन्, पहिलेजस्तो साथीभाइ भेटिँदैनन्,  सबै विदेशमा छन् । खेतबारी बाँझै छन्, शहरमा केही युवा त छन्, तर चाडबाडका बेला पहिले व्यापार व्यवसायमा जसरी उत्साह आउँथ्यो, अहिले त्यस्तो छैन ।’

नेपाल राष्ट्रिय व्यापार संघका संस्थापक अध्यक्ष कुमार कटुवाल भन्छन्‌, ‘अहिले हरेक घरबाट एक जना न एक जना विदेश नै हुन्छन् । उनीहरूले नेपाल फर्कँदा सबैलाई एक न एक सामान ल्याइदिएकै हुन्छन्‌, नेपालको बजार त खुम्चिएको खुम्चियै छ ।’

‘अहिले नेपालमा व्यापार व्यवसायमा चहलपहल नहुने कारण युवाहरू विदेश पलायन हुनु नैए हो । धेरै मानिसहरू विदेशमा छन् । अनि विदेशमा भएका आफन्तहरू सबैलाई विदेशी सामान नै लिएर आँउछन्, त्यसकारण पनि नेपाली बजारमा पनि चहलपहल घटेको हो,’ उनले भने ।

यस पटकको दशैँ बजारमा पहिलेजस्तो उत्साह नभएकाले तिहारमा पनि त्यति उत्साह नहुने सम्भावना बढेको छ । अझै; नेपालमा चाडबाड परेका बेला विदेशमा बिदा नहुने भएकाले आफन्तलाई नै विदेश बोलाउनेको सङ्ख्या बढेको छ ।

न्यूरोडमा पसल गरी बसेका मनोज खड्का पनि तिहारमा पहिलेजस्तो व्यापार हुनै छाडेको बताउँछन् । मानिसहरूले आफ्ना दाजुभाइलाई टिका लगाएपछि दिने मरमसला र लुगाफाटो लगायत उपहार किन्न पहिले-पहिले धेरै भीड हुने गरेको, तर पछिल्ला वर्षमा त्यस्तो भीड हराउँदै गएको उनी अनुभव सुनाउँछन्‌ ।

यो पनि –

पसले र डमीले रुँगेका काठमाडौंका सुनसान दशैँबजार (तस्बिरहरू)

‘पहिले-पहिले तिहारअघि किनमेल गर्न आउने एक महिलाले नै ५–६ जनालाई गिफ्ट किनेर जानुहुन्थ्यो । अहिले त मान्छे नै कम आउँछन्, त्यसमा पनि गिफ्ट किन्न आउने मान्छेले पनि एक जनालाई, त्यो पनि एउटा मात्रै सामान किन्छन्‌ । धेरैले हाम्रो त भाइ नै विदेशमा छ वा दाइ नै विदेशमा छ भन्छन् । कतिले त हाम्री बहिनी वा दिदी विदेशमा छे, उसैले सबै सामान विदेशबाट ल्याउँछे भन्ने कुरा गर्छन् । बजार त धेरै खस्केको छ,’ उनी सुनाउँछन् । 

अलिक सम्पन्न परिवारका मानिसहरूले त सबै सामान नै विदेशबाट नै मगाउने भएकाले अहिले नेपाली बजारमा रौनकता हराउँदै गएको व्यवसायीहरूको भनाइ छ ।

‘पहिले-पहिले कति धेरै मानिसहरू तिहार सपिङ गर्न आउँथे, अहिले त बजार नै सुनसान छ । अब लगातार तिहारको सपिङ गर्ने बेला भइसक्दा पनि बजारमा मान्छे नै देखिँदैनन्‌,’ व्यवसायी कमला खनालले सुनाइन्‌ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : ३० बजे

विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई

काठमाडौं– विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

काठमाडौं– वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई

‘बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित’ 

एजेन्सी – उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा

काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै

चन्द्रपुर – केही वर्षयता रौतहटका वन क्षेत्रबाट काठ तस्करी गर्न

युक्रेनी विदेशमन्त्री अफ्रिका र ओमानको भ्रमणमा

युक्रेन– युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको