न सुशासन, न भौतिक विकास : कसले दिन्छ जवाफ ? | Khabarhub Khabarhub

न सुशासन, न भौतिक विकास : कसले दिन्छ जवाफ ?



दुई ठूला दल नेपाली कांग्रेस र एमालेको सहमतिमा सत्ता सहकार्य चलिरहेको छ । साना दलको चलखेलले सरकार अस्थिर भएको कारण देखाउँदै डेढ वर्षपछि शेरबहादुर देउवालाई चुनावी सरकारको नेतृत्व दिने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजपाट सुम्पिने काम भएको छ । यति हुँदाहुँदै पनि विधिको शासन, जनताका सरोकारका विषयमा ओली नेतृत्वको सरकार एक पाइला पनि अघि बढ्न सकेको छैन । कांग्रेस–एमालेको सरकारको रणनीतिकारहरुसमेत सरकारको कार्यशैलीप्रति उत्साही छैनन् । प्रधानमन्त्री ओलीको दम्भी कार्यशैलीमा परिवर्तन नआएकोमा उनीहरू आजित छन् । चुनावका दुई प्रतिस्पर्धी दलको विशुद्ध सत्ताका लागि भएको एकताले ती पार्टीहरूको सांगठनिक जीवनमा कस्तो प्रभाव पार्ला ? इतिहासकै सर्वशक्तिमान् सरकार हुँदा पनि सरकारको प्रस्तुति किन कमजोर भयो ? दुवै पार्टीमा भित्रभित्रै सल्किएको भुसको आगोले के गर्ला ? यिनै सन्दर्भमा कांग्रेसका युवा नेता गुरुराज घिमिरेसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

मूल नेतृत्वले पार्टीमा सबै विभाग भर्ने काम नै सकेको छैन । तर तपाईँहरूको समूह देशव्यापी दौडाहामा छ । तपाँईहरुलाई चुनाव लागिसकेको हो ?

प्रजातन्त्रवादी, लोकतन्त्रवादी हुन सत्ता र व्यवहारले  प्रमाणित गर्न कठिन काम हो । सिद्धान्त, अभिव्यक्तिले हुनलाई सजिलो छ । अहिले कांग्रेस पार्टी सबैभन्दा पुरानो पार्टी हो । यसलाई हाम्रा व्यवहारले सिद्धान्तअनुसारको आचरणबाट टाढा पुर्‍याएको जस्तो देखिन्छ ।

जस्तो महाधिवेशन आउन अब एक वर्ष बाँकी छ । नेतृत्व चयन भएको चार वर्ष बितिसक्यो । सबै तहका समितिहरूको कार्यकाल चार वर्ष हो । यो अवधिभित्र अर्को महाधिवेशन गरिसक्नु पर्छ । तर अहिलेसम्म  हामीले महाधिवेशनका प्रक्रियाहरू सुरु गरेका छैनौँ । कार्यपालिका आएको छैन । त्यसैले यसप्रति सबैले प्रश्न उठाइरहेको हुनाले यी विषयलाई मुखरित गर्न अग्रसर देखाएको हो ।

तपाईँ कार्यकाल सकिएको कुरा गर्नुहुन्छ । विभाग धमाधम गठन गरेको हेर्दा सभापतिका लागि बल्ल कार्यकाल सुरु भएजस्तो देखिँदै छ । अब यस्तो अवस्थामा एकतर्फी हुटहुटीको के अर्थ होला ?

हामीले पार्टीलाई नयाँ सिराबाट अगाडि नबढाउने हो भने यस्ता चुनौती सामना गर्न सकिँदैन । संसद भित्र बाहिर धेरै अस्थिरता पैदा भएको छ । बनेको सरकारले राम्रो काम गर्न सकेको छैन ।  यो सबैको कारण भनेको हामी विधिको शासनको कुरा गर्छौँ, तर विधिपूर्वक शासन सञ्चालन गर्दैनौँ । महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सबै काम सक्नु पर्छ । त्यसका लागि केही अवरोध छैन । बरु सहजता छ । चाँडै गर्नुहोस् भन्ने माग हो ।
पार्टी नेतृत्वसँग मेरो आग्रह के हो भने हामीले महाधिवेशनको प्रक्रिया सुरु गर्ने हो भने वास्तवमा नेपाली कांग्रेसले, पार्टी नेतृत्वले नवजीवन प्राप्त गर्छ । र त्यसको प्रभाव जनमानसमा पर्छ । तर त्यो सत्य पार्टी नेतृत्वले आत्मसात गरेको देखिँदैन ।

१४ औँ महाधिवेशन सकिएपछि आश गरिएका केही युवा अनुहारले पार्टीका भातृ संगठनहरुको महाधिवेशन गराउने, पार्टीलाई समयानुकूल अघि बढाउने भनेर जनाएको प्रतिविद्धताले पार्टीको जीवनमा सकारात्मक सञ्चार होला भन्ने आशा गरिएको थियो । यस अवस्थामा उनीहरूको कस्तो मूल्यांकन गर्न सकिएला ?

यो विषय  अगाडि  बढाउने जिम्मेवारी पार्टी केन्द्रीय समितिको जिम्मेवारी लिएर बसेका सभापतिकै हो । उहाँले त अब म सक्रिय राजनीतिक जीवनबाट अवकाश लिने तर्फ म अगाडि बढिराखेको छु । अब नयाँ बन्ने सरकारको प्रधानमन्त्री पनि हुनु छ । त्यसैले अब पार्टीको महाधिवेशन गरौँ म नेतृत्व हस्तान्तरण गर्छु । तपाईँहरू कार्य तालिका बनाएर ल्याउनुस् । केन्द्रीय समितिको बैठक राखेर हामी महाधिवेशन तर्फ अग्रसर हौँ भन्नुपर्ने दायित्व सभापतिकै हो ।

यति मात्र हैन पार्टीमा उठेका प्रश्नको निदान पनि सभापतिले खोज्ने हो । नेपाली कांग्रेस विधिको शासनका निम्ति लामो लडाइँ लड्ने तर पार्टीको महाधिवेशन समयमै नगराउने, पार्टीका विधानले निर्दिष्ट गरेका प्रक्रिया समयमै अगाडि नबढाउने त्यो आरोप कांग्रेसमाथि छ ।

अब हामीले आफूलाई प्रजातन्त्रवादी हुनुको वास्तविकतालाई आफूमा सिद्ध गर्न सकिराख्या छैनौँ । सिद्धान्त, संघर्ष, विकास क्रम र विश्वासले हामी प्रजातन्त्रवादी भएकोमा दुई मत छैन । त्यसमा कसैले प्रश्न उठाएको पनि छैन । तर हामीले गरेका काम कारबाही नीतिले मात्रै हैन व्यवहार र प्रवृत्तिले हुनुपर्‍यो । यो सिद्धान्तले मात्रै हुनु भएन । हाम्रो व्यवहारिक अग्रसरताले प्रमाणित गर्ने विषय हो । त्यसो भएको हुनाले यसलाई हामी साँच्चै प्रजातन्त्रवादी हौँ भनेर प्रमाणित गर्न महाधिवेशनलाई  अधिवेशन उन्मुख गराएर समयमै अधिवेशन गराउने जिम्मा पार्टीका केन्द्रीय नेताको हो । पदाधिकारीहरूको पनि हो ।

पदाधिकारीहरूले तपाइ प्रधानमन्त्री हुनुहोस् भन्न पर्‍यो । सभापति भए मात्रै प्रधानमन्त्री भइन्छ भन्ने हैन । त्यसो भएको हुनाले चार वर्षको अवधिबाट पर जानका निम्ति नेपालमा कुनै पनि असामान्य परिस्थिति छैन । त्यसकै लागि त यो व्यवस्था राखिएको हो ।

कहिलेकाहीँ काम गर्दागर्दै सफल भइएन भने एक दुई महिना बढाउने सुविधा हामीलाई छ । तर काम नै नगरी एक वर्ष बाँकी छ भनेर भन्नु हुँदैन ।

पार्टीमा तपाईंले भने जस्तो अवस्था भइदिएको भए अहिले तपाईँ र मेरो बहसको विषय त हाईटेक कांग्रेस नेतृत्व र त्यसले पार्टीमा ल्याएको परिवर्तनसंगै अपेक्षित चुनावी परिणामका विषयमा बहस हुन्थ्यो होला नि ।

अब सुधार्न सकिन्छ कि भन्ने पनि त हुन्छ नि त । सुधारको बाटोमा अथवा पार्टीलाई नवजीवन दिन देशभरिका साथीहरूको चिन्ता नेतृत्वमा बसेका साथीहरूले भन्छन् कि भन्ने अपेक्षा पनि त हो नि ।

कहिलेकाहीँ नेतृत्वलाई र नेतृत्व तहमा बसेका साथीहरूलाई उहाँहरूको भूमिका सम्झाई पनि दिनुपर्छ ।  हाम्रा नेतालाई ४ वर्ष हो– कार्यकाल । त्यसपछि विशेष परिस्थिति हो । सधैंभरि एकै परम्परालाई पछ्याउनु पर्छ भन्ने छैन । हिजो एक वर्ष बढाएको हो, त्यसैले बढाउन पाइन्छ भनेर सामान्य परिस्थितिमा पनि असामान्य परिस्थितिको सुविधा उपयोग गर्नु प्रजातान्त्रिक आचरण होइन । यो कुरा कहिलेकाहीँ सम्झाउनु पर्ने भयो ।

भनिन्छ नि– निदाएको उठाउन सजिलो हुन्छ तर निदाएको अभिनय गर्नेलाई उठाउन कठिन हुन्छ भनिन्छ । त्यही भएको हो ?  
हामीले भन्दा उठ्नु भएन भने इतिहासले उठाइदिन्छ । र फेरि सुत्न पनि पाइँदैन । राजनीतिक सिद्धान्त भनेको १० प्रतिशत मात्रै हो राजनीतिमा व्यवहारले सिद्ध गर्नु पर्छ । राजनीतिमा व्यवहार चाहिँ ९० प्रतिशत मात्रै हो है भनेर दिवंगत नेताहरू बीपी कोइराला, प्रदीप गिरिले देखाएको बाटो पनि यही हो । अब देशभरबाट नेतृत्वलाई भन्नु पर्छ भनेर हामी लागेका छौँ । उहाँहरूले गरेको त्यागलाई हामीले याद गर्नु पर्छ । त्यसैले हामीबाट जे जति गल्ती भए तिनलाई सुधार गरेर अगाडि बढ्नु पर्छ । बढ्दै गएका चुनौती सामना गर्दै अगाडि बढौँ, जनताको विश्वास र भरोसा बढाऊँ । राजनीतिलाई स्वार्थ पूरा गर्ने हतियार नबनाऊँ भनेर अगाडि बढेका छौँ ।

त्यसो भए जोगी हुन राजनीति गर्ने हो भन्ने प्रश्नले ठाउँ पाउला नि ? 
राजनीतिमा हुने व्यक्तिले अहिलेको समयका लागि मात्रै गर्दैन । उसले गरेको कामको प्रतिफल १० वर्ष पछि आउने पुस्ताले पाउनु प¥यो ।  नत्र छिमेकी देश कहाँ पुगे, हामीले बाहिर जाँदा अपमानित हुने पर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था कसले बनायो, यसको जवाफ कसले दिने हो ?

सरकारको चस्मा लगाएर हेर्दा के देख्नुहुन्छ ? 
पार्टी पनि लथालिङ्ग हुने र सरकारमा गएर पनि त्यस्तै हुने हो भने कहाँ उभिने ? सरकारमा गएर राम्रो काम गरे न इज्जत पाइन्छ । सांसदका टाउको गन्तीले हेर्दा ठूला पार्टी मिलेर यो सरकार आएको छ । ५ महिना बितिसक्यो । लक्षण केही छैन । हामीले गरेका ७ बुँदा मात्रै सार्वजनिक गर्ने हो त ? सुशासन खै, भौतिक विकास खै ? राजनीतिक स्थिरता के सरकार टिकिरहनेलाई मान्ने हो र ?  त्यसैले यी सबै कुरालाई हेरेर पार्टीको आन्तरिक जीवन सुधारियो, समयमै महाधिवेशन गर्‍यौं भने सकारात्मक प्रभाव सुरु हुन्छ । त्यसपछि सबै ठीक हुन्छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : ११ बजे

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट

पोखरा महानगरले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी– जेन-जी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन्

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

कर्णाली– कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना