झापा विद्रोहको समीक्षा : नेताले बिगारे | Khabarhub Khabarhub

झापा विद्रोहको समीक्षा : नेताले बिगारे


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०२८ सालमा भएको झापा विद्रोहका अगुवाहरु मध्ये एउटै नाम गरेका दुईजना दुर्गा अधिकारीहरु छन् । एकजना सानो दुर्गा अधिकारी र अर्का ठूलो दूर्गा अधिकारी । यीमध्ये ठूलो दुर्गा अधिकारी बुधबार काठमाडौंमा देखिए ।

झापा आन्दोलनलाई समेटेर कुमार भट्टराईले लेखेको ‘२८ साल’ नामक पुस्तक विमोचन समारोहमा अतिथिका रुपमा उपस्थित भएका ठूलो दूर्गा अधिकारीले केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायतसँगै १० वर्ष लामो जेल जीवन बिताएका छन् ।

वृद्ध अवस्थाका अधिकारीले झापा आन्दोलनमा गरिएको संकल्प पूरा हुनै लाग्दा आफ्नै पार्टीका नेताहरुले राजनीतिलाई टेढो मेढो बाटोमा हिँडाएर बिगारेको बताए ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो । तर, ओली मंगलबारदेखि नै बिरामी परेका कारण उपस्थित हुन सकेनन् ।

केपी ओलीमा मात्र होइन, आन्दोलनका अगुवा सीपी, आरके लगायतका ठूला नेता उपस्थित थिएनन्, थिए त केवल वयोवृद्ध ठूलो दूर्गा अधिकारी मात्र ।

कुमार भट्टराईद्वारा लिखित झापा विद्रोहमा आधारित पुस्तकको विमोचनमा पत्रकार पुरुषोत्तम दाहाल र ठूलो दुर्गा अधिकारी सहभागी थिए । पुस्तक इतिहास र बास्तविक पात्रहरुमा आधारित भएता पनि उपन्यासका रुपमा प्रकाशित भएको छ ।

झापा विद्रोह : १५ को मृत्यु, एक बेपत्ता

झापामा २०२८ साल जेठ २ गते कर्णबहादुर गौतमको हत्याबाट झापा विद्रोह सुरु भएको मानिन्छ । त्यसबेला हिंसात्मक विद्रोहको नेतृत्व सीपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, केपी ओली लगायतका नेताहरुले गरेका थिए, जो ०४६ सालको परिवर्तनपछि निरन्तर सत्तामा रहे ।

त्यसबेला विद्रोहीको पक्षबाट कर्णबहादुर गौतम, धर्मप्रसाद ढकाल, ज्ञानी ढकाल, ज्ञानबहादुर बस्नेत, बुटन चौधरी, उद्रकान्त राजवंशी, बिष्णुप्रसाद विमली र ईश्वरी चुडालसमेत ८ जनाको हत्या भएको थियो ।

पञ्चायती सरकारले झापा जेलबाट इलाम सार्ने बहानामा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली ठोकेर सामुहिक हत्या गरेको थियो ।

त्यसैगरी, प्रहरीले गरामनीमा लखेटेर चन्द्र डाँगीको हत्या गरेको थियो भने लुकेर बसेको अवस्थामा घेराउ गरी बुधबारेमा राम प्रसाद श्रेष्ठको हत्या गर्नुका साथै सानो दुर्गा अधिकारीलाई पक्राउ गरेको थियो ।

झापा विद्रोहमा भएको मानवीय क्षतिको कुरा गर्दा विद्रोही पक्षबाट ८ जना र सरकारी पक्षबाट ७ जना गरेर १५ जना झापालीको ज्यान भएको थियो । एक जना पुण्य शर्मा अहिलेसम्म बेपत्ता छन् ।

विद्रोहपछि पञ्चायती सरकारले गरेको दमनमा परेर सयौं झापालीहरु निर्वासित भएका थिए भने कैंयौंले १० देखि १७ वर्षसम्म जेल जीवन यापन गरेका थिए । केपी ओलीसमेत १४ वर्ष जेल परेका थिए ।

चीनको सर्वाहारा सांस्कृतिक क्रान्ति र भारतको चारु मजुम्दारको नक्सलवादी आन्दोलनबाट प्रभावित भएर झापामा जनवादी क्रान्ति गर्ने भन्दै सशस्त्र विद्रोह सुरु भएको थियो ।

‘२८ साल’ पुस्तक विमोचन समारोहमा ठूलो दुर्गा अधिकारीले पार्टीका नेताहरुले आन्दोलनलाई हाइज्याक गरेको र पीडित कार्यकर्तालाई वास्ता नगरेको गुनासो पोखे ।

ठूलो दुर्गा अधिकारीको भनाइ उनकै शब्दमा–

२०२७/२८ सालको घटना अहिले धेरै लामो भयो । झण्डै ४२ वर्ष भयो । यसको इतिहास धेरै छ । सबै नेपाली जनताले थाहा पाउन् र बुझुन् भन्ने हिसाबले शीत बटुले जसरी ठाउँ ठाउँमा गएर थोपा बटुलेर लेखकले बटुल्नुभएको छ । हामीले आफूसँग भएका अनुभवहरु यसमा जम्मा गरेका छौं । यसलाई एकमुष्ठ बनाएर किताब प्रकाशित भएको छ ।

झापा जिल्लाको त्यतिबेलाको स्थिति, त्योबेलाको राजनीति, त्योबेलाका कार्यकर्ता, त्योबेलाको सरकारको दमन, त्यहाँ मान्छे कस्ता थिए, के भए, कसरी यो अवस्थामा आइपुगे र हामी को हौं भन्ने कुरो यो किताबमा चर्चा छ । सबै चाहिँ होइन, तर मूलभूत कुरो जम्मा गरेर प्रकाशित ग¥यौं र आज सफल पनि भयौं ।
यसलाई राम्रोसँगले पढ्नुभयो भने त्योबेलाको परिस्थिति के थियो, किन आन्दोलन गर्नुप¥यो ? किन लडाइँमा मारिनुप¥यो, मार्नुप¥यो ? आजसम्म ती संघर्षमा भाग लिने जनताको स्थिति के छ ? के संकल्प गरिएको थियो, त्यो पूरा भयो कि भएन भन्ने कुरो अक्षरैपिच्छे ख्याल राखेर पढ्नुहोला । भएको छ भने छ भन्ने, छैन भने अब के गर्नुपर्छ, लागिहाल्ने । मेरो सुझाव यो हो ।

मलाई चाहिँ के लागेको छ भने हामीले जुन कुरो गरेका थियौं, जे चिताएर काम थालेका थियौं, त्यो अधुरो भयो । पूरा हुन सकेन । जब मुखमा पुर्‍याउने बेलामा गाँस अर्कैले खोसिदियो । कसले खोसे भन्दा आफ्नै पार्टीका आफ्नै नेताहरुले ।

राजनीतिलाई बांगो टेढो पारेर जनताको वास्तै नगरिकन आफ्नो मात्रै स्वार्थ पूरा गर्ने नीति लिएर अगाडि बढ्दाखेरि आज देशको यो हविगत भएको छ ।

आजसम्म के गरेर यो अवस्था आएको छ ? अहिले यो संघर्षले ल्याएको उपलब्धी भनेको हामीले बोल्न लेख्न पायौं । त्यसबेला यो थिएन । हामीले जेलमा बस्दा लेख्न पाइएन, बोल्न पाइएन । पढ्न पाइएन । कलाकारहरुले गीत गाउन पाएनन् । पत्रकारहरुले पत्रिकामा कुनै कुरा लेख्न पाएनन् । आज त पाइएको छ । एउटा उपलब्धि ल्याएको यति नै हो अहिले । अरु केही पनि देखेको छैन मैले ।

गर्न सकिने बेलामा, फल फल्ने बेलामा नेताहरुले बिगारे । सीधा भाषामा म चाहिँ यही भन्छु ।

अहिले पनि नेपाली जनताको भाग्य गएको छैन । देश छ । जनता छन् । आउने पिँढी छ । यो सरक्क कसरी हुन्छ, अर्को पिँढीलाई हामीले जिम्मा नलगाएसम्म नेपाली जनताको दुःख जाँदैन भन्ने कुरो मैले महसुस गरेको छु ।

त्यसबेलाका अनुभवहरु अरु पनि धेरै छन् । हामी सास रहुञ्जेल हाम्रा अनुभवहरु देश र जनतालाई बाँड्न तयार छौं । तपाईहरुले बुझिदिनोस् देशलाई परिवर्तन गर्नुपर्ने जिम्मा हाम्रो पालामा यस्तै भयो, अब युवाहरुले लिनुपर्ने अवस्था आएको छ । तपाईहरुले बुझेर कुन बाटो लिनुपर्छ, अर्को एउटा रेखा नकोरिकन नहुने अवस्था भएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : १९ बजे

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४