चितवनका एकजना भाइले मलाई फोन गरेर भने, दाइ एउटा नयाँ हात्ती आएको छ । यस्तो जण्ड छ… । मैले भनें, ‘त्यस्तो जण्ड हात्तीको फोटो खिच्नुपर्यो ।’
उहाँले सेनाको मानिसलाई फोन गरिदिनुभयो । अनि म साइकलमा सुर्र गएँ । त्यहाँ पुग्दा आर्मीमा मानिसहरुबाहेक कोही थिएनन् । उनीहरुले मलाई पस्न दिएनन् ।
मैले भाइलाई फेरि फोन गरें । उहाँले फेरि फोन गरिदिनुभयो । अनि आर्मीको मान्छेले आएर भन्नुभयो, ‘तपाई त फरक मान्छे हुनुहुँदोरहेछ । तपाई त हात्तीको भाषा पनि बोल्नुहुन्छ रे । यो हात्तीले के–के भन्दोरहेछ, तपाई भित्र पस्नोस् ।’
म भित्र पसें । मान्छेहरु कराइराखेका थिए । जंगली हात्ती । पहिलोचोटि चितवनमा आएको । मलाई त दशवटा दशैं एकैचोटि मनाएजस्तो भयो । क्यामेरा, रेकर्डर सबै तयारी अवस्थामा राखेको हुन्छु जहिल्यै पनि । त्यहाँ पनि सबै कुरा तयारै थियो ।
त्यहाँ हात्ती अघिल्लो दिन आएको रहेछ । हात्तीकेन्द्रमा गइसकेपछि पोथी हात्तीचाहिँ अन्तै लगिदिएछन् । अब हात्ती त बौलाउने भो । जुन चिज खोज्न आएको छ, उसका प्रियसीहरु नै बिछोड गराइदिएपछि त हात्तीले छोड्छ ? त्यो हात्तीले त्यहाँ विध्वंश मच्चाएछ । म पुग्दा पनि फोटो खिच्न खोज्दैथिएँ, विध्वंश मच्चाउला मच्चाउला जस्तो गर्यो ।
हात्तीको गति भनेको ४० किलोमिटर प्रतिघण्टा हो । हामीचाहिँ २० किलोमिटरसम्म दौडन सक्छौं ।
अरु मानिसहरु नजिकै नभएका बेलामा फोटो खिच्न खोजेको, म मान्छेबाट अलि टाढा, हात्तीबाट अलि नजिक थिएँ । मलाई के कुरा थाहा थियो भने म जोखिम त लिन्छु, तर ‘क्याल्कुलेसन’ गर्छु । हात्तीको गति भनेको ४० किलोमिटर प्रतिघण्टा हो । हामीचाहिँ २० किलोमिटरसम्म दौडन सक्छौं ।
हात्ती ४० मिटर पर थियो । म २० मिटर पर थिएँ, ७ मिटरमा आर्मीको ब्यारेक थियो । मैले के सोचें भने २ मिनेटमा म ४/५ स्न्याप हान्न सकिहाल्छु, त्यो दौडेर आयो भने म फुत्त घरभित्र पसिहाल्छु । नभन्दै त्यो हात्ती आइहाल्यो हान्नलाई । म पनि भागिहालें । आर्मीमा मान्छेहरुले मलाई बेस्सरी गाली गर्नुभयो । तपाईले यहाँ पत्रकार हुँ भन्दै क्यामेरा तेस्र्याएर हात्तीले मान्छ ? भन्दै गाली गर्नुभयो ।
पछि मलाई त्यो हात्तीको फलो गर्न मन लाग्यो । सौराहामा एउटा फेस्टिबल थियो । त्यहीबेला एकजनाले फोन गरेर मलाई भन्नुभयो, ‘त्यो हात्ती नजिकै आएको छ ।’
म फेस्टिबल छाडेर त्यहाँ गएँ । त्यो हात्ती हामी सबैले देख्यौं । त्यो राप्तीको पारिपट्टि थियो, हामी राप्तीको वारि, होटल भएको साइटमा थियौं । मैले के अनुमान गरें भने अब यो हात्ती विस्तारै, तीन किलोमिटरजति हिँडेर पोथी हात्ती भएको ठाउँमा जान्छ ।
म साइकलमा छु । फोटो खिच्दै वारिबाट त्यसलाई फलो गर्दै गइरहेको छु । त्यो हात्ती नभन्दै त्यही हात्तीसारमा पुग्यो । मैले एकजना भेटेरीनरी डाक्टरलाई भनेको थिएँ, त्यो हात्ती रातभरि त्यहाँ बस्यो भने म त्यो हात्तीसारमा रातभरि कतै टुक्रुक्क बस्छु, मलाई खान दिनु पनि पर्दैन, खाली म त्यसको वाच गर्छु ।
पाँच बजेपछि हात्तीसार बन्द भयो, सबै घरतिर लागे । त्यो हात्ती त्यहीँ आयो । हात्तीसारमा राखेको दानापानी, घाँस खान थाल्यो । साँझ पर्न लागेको थियो । फोटो खिच्न जाँदा त्यो हात्ती मलाई हान्नलाई दौडेर कराउँदै आयो । त्यो हात्ती मकहाँ आउनुभन्दा पहिल्यै म बारभित्र पसिहाल्छु भनेर मैले पनि त्यहाँ हिसाब–किताब गरेको थिएँ । त्यहाँका मानिसहरुले के ठानेछन् भने हात्तीले मलाई सिध्यायो । त्यो हात्तीलाई धपाउन उनीहरुले टिन–सिन ठटाएर बेस्सरी कराए ।
म त्यहाँ साँझसम्म बसें । फोटो खिचें । त्यो हात्तीलाई दिनभरि पट्याउँदाखेरि मैले लगभग १६० वटा फोटोहरु खिचें होला । त्यसको आनीबानी हेर्नलाई मैले फोटो खिच्ने गरेको हुँ । त्यसले दानापानी कति खान्छ, कसरी खान्छ, त्यो हेर्न मन लाग्छ ।
बघिनीको दुःख
बघिनीको बिषयमा पनि म केही भन्न चाहन्छु । यो असाध्यै रोचक र मन छुने कथा पनि हो ।
बाघ जंगलमा बस्छ । त्यहाँ घर हुँदैन, केही हुँदैन । पानी पर्छ, हावाहुरी चल्छ, हिलो हुन्छ, त्यस्तो अवस्थामा बघिनीले आफ्ना बच्चाहरु पाउँछे । बच्चा पाउँदा सबैभन्दा दुःख पक्ष के छ भने सुरुमा उसका बच्चा आँखा नदेख्ने हुन्छन् । सिरेटो चल्यो भने साना बच्चाहरुलाई छिटो चिसोले पनि छुन्छ । त्यस्ता बच्चालाई न्यानो पनि दिएर, अरु शत्रुहरुबाट पनि जोगाएर, कतै गएर शिकार मारेर त्यो मासु ल्याएर बच्चालाई खुवाउनुपर्ने हुन्छ । हेर्नोस् त कति मन छुने कुरा छ त्यहाँ ।
बाघका भालेहरु कस्ता हुन्छन् भने जब पोथीले आफ्ना बच्चा हुर्काइरहेको हुन्छ, उसका सबै हर्मोन र ध्यान बच्चामा खर्च भइरहेको हुन्छ । त्यस्तो बेलामा आमालाई यौनको तृष्णा हुँदैन । तर, भालेको स्वार्थ फरक छ । भालेलाई त्यसमा कुनै सरोकार छैन, भालेलाई यौनको इच्छा जागेका बेलामा पोथी भेट्टाउनुपर्यो । जब उसले पोथी भेट्टाउँदैन, तब भाले बौलाउँछ ।
भालेको ध्याउन्न पोथीलाई एक्लो बनाउने अनि यौनको तृप्ति मेटाउने हुन्छ । त्यस्तो बेलामा पोथीले आफ्ना बच्चाहरुलाई भालेबाट पनि जोगाउनुपर्ने हुन्छ
प्रकृतिले उसलाई यस्तो सूचना दिएको छ कि यी बच्चा रहुञ्जेल पोथी यौनका लागि तयार हुन्न, त्यसैले बच्चा मार्दिनुपर्छ । भालेको ध्याउन्न चाहिँ बच्चा मार्ने अथवा बच्चाबाट छुटकारा गराएर पोथीलाई एक्लो बनाउने अनि यौनको तृप्ति मेटाउने हुन्छ । त्यस्तो बेलामा पोथीले आफ्ना बच्चाहरुलाई भालेबाट पनि जोगाउनुपर्ने हुन्छ ।
बिरालो प्रजातिमा मानिसहरुले ‘के बच्चा सारिराखेको होला, बिरालोले बच्चा सारेजसरी’ भन्छन् नि । यो त्यही कारणले भएको हो । उसलाई अर्को ठाउँ, अर्को ठाउँमा बच्चा सार्दै हैरानी हुन्छ । अरु मांसहारीबाट पनि जोगाउनुपर्ने छ । जसबाट संभोग गरेर बच्चा जन्मिएको हो, उसैबाट पनि जोगाउनुपर्ने छ आमाले । र, तिनलाई हुर्काएर पढाउनुपर्ने छ ।
बघिनीले भालेबाट आफ्ना बच्चाहरुलाई जोगाउन ढाडमा बच्चाहरुलाई चढाउँदै ओराल्दै गर्दोरहेछ । त्यो देखेपछि अलि टाढा भएको भालेले त्यो देखेपछि यो पोथी त अर्कैले ओगटिसकेको रहेछ भन्ने भ्रम पर्दोरहेछ र हत्तपत्त पोथी ओगट्ने दुस्साहस नगर्दोरहेछ ।
जंगलको राजा त्यसै भनेको हैन, बाघ धेरै इन्टिलिजेन्ट जनावर हो । बाघले हत्तपत्त लडाइँ गरिहाल्दैन । ऊ एकदमै कुशल सेना हो ।
बाघ ठूलो अजंगको जीव हो । बाघ असाध्यै छिटो दौडन्छ । बाघभन्दा पनि छिटो चितुवा दौडन्छ । चितुवा भन्दा पनि छिटो चित्तल दगुर्छ । तर बाघ र चितुवाले चित्तललाई त समाउँछ, कसरी ?
बिरामी वा बुढो भएको चित्तललाई समाउनु त स्वाभाविकै हो । तर, छिटो दुगर्ने चित्तललाई समाउन सक्ने खास कारण के हो भने दौडने क्रममा चित्तल डराएको हुन्छ । तुफान कुदिरहेको बेला चितुवा वा बाघ कहाँनेर आइपुगेछ भनेर पछाडि फर्केर हेर्छ र उसको गति कम हुन्छ र बाघ वा चितुवाले समात्छ ।
चराको भाषा
मार्स ह्यारियर नामको मांसहारी चरा हुन्छ । त्यसका भालेहरु प्रजननका बेलामा पोथी फकाउनका लागि ४० प्रतिशतले पोथीको भेष बदल्छन् । पोथी झुक्किएर आउँछ र त्यही बेलामा पोथीलाई आफ्नो बसमा पार्छन् ।
मान्छेहरुले पनि सहबास र प्रेमका कुराहरु प्रायः अँध्यारोमै गर्छन् । बत्ती बालिसकेपछि अलिकति मान्छेलाई डिस्टर्ब भइहाल्छ । यस्तो चराहरुमा पनि हुँदोरहेछ ।
बत्ती झ्याप्प बलेका बेलामा लाज मानिहाल्ने । अप्ठ्यारो अप्ठ्यारो लाग्ने । उनीहरु पनि बत्ती नभएको ठाउँ रोज्दारहेछन् । चराहरुले चुम्बन गरेको फोटो मैले धेरै खिचेको छु । त्यो प्रायः साँझ–साँझ परेको, घाम डुबेको बेलामै छ । यो बैज्ञानिक तथ्य हो कि हैन, थाहा छैन, तर चराहरुमा पनि त्यस्तो हुँदोरहेछ ।
हामी मानिसहरु व्यायाम गर्छौं । चराहरुले पनि व्यायाम गर्छन् । चार पाँच महिनाअघि बिहानै मैले एउटा तलाउमा चराहरुले व्यायाम गरिरहेको तस्बिर खिचेको छु ।
बसाइँ सुनुपर्ने छ भनेपछि मजाले खाने, पखेटाहरु झिक्ने गर्छ । पछाडि गुद्पवारनेर एउटा भाँडो, अंग हुन्छ, त्यसमा तेलीय पदार्थ हुन्छ, त्यो शरीरमा घस्ने गर्छन् । राम्रोसँग खान्छन् र एकदम तगडा बनेर बसाइँ सराइमा निस्कन्छन् । बसाइँ सर्दाखेरि चराहरु भी आकारमा उड्छन् । यसको पनि विशेष अर्थ छ ।
हामीले कुखुराको भाले बासेको त सबैले सुनेका छौं । घडी नहुने टाइममा हामी भाले बासेको सुनेर यति समय भयो भन्ने गर्दथ्यौं । सबैभन्दा ज्यांगो र तगडा भाले सबैभन्दा पहिले बास्छ । उसको रेटिनामा प्रकाशको सूचक परेपछि ऊ बास्छ ।
पहिलो मुख्य भाले नबासिकन अरु बास्दैनन् । र्यांकिंग अनुसार दोस्रो, तेस्रो भाले क्रमशः बास्दै जान्छन् । भालेको बासाइमा यौन पनि हुन्छ, धम्की पनि हुन्छ, आफ्नो बासस्थानको विषय पनि हुन सक्छ । पहिलो भाले मर्यो भने दोस्रो भाले पहिले बास्छ ।
(‘जीवनगाथा’ पुस्तकका लेखक ददि सापकोटाले शनिबार आयोजित विमोचित कार्यक्रममा व्यक्त गरेको विचारको अंश)
प्रतिक्रिया