बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित « Khabarhub

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका क्षेत्रमा जुनार बगैँचामा रोगका कारण समस्या भएको छ । बोटमा लटरम्म फलेका जुनारका फल कुहिएर भुइँमा झर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

गोलञ्जोर गाउँपालिका–४ का जुनार कृषक लोकबहादुर आलेमगरले बिक्रीका लागि बजार पठाउने बेला पछिल्ला दिनमा कुहिएर भुइँमा झरेको दुःखेसो गरे । उनले भने, “बिक्रीका लागि बजार पठाउने बेला समस्या भएको छ । पहिला यस्तो भएको थिएन । खै, यस्तो के रोग लाग्यो ? रोगको पहिचान गरी समस्या समाधान गरिदिन सरकारसँग हाम्रो आग्रह छ ।”

कृषकको आग्रहअनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाई, सिन्धुली र गोलञ्जोर गाउँपालिका कृषि विकास शाखाको संयुक्त टोलीले असोज २८ गते जुनार पकेट क्षेत्र आलेगाउँ, माझकुभिण्डे र मालिङ्गे क्षेत्रका १५ जना कृषकका जुनार बगैँचाको स्थलगत अवलोकन तथा कृषकसँग अन्तरक्रिया गरेको थियो ।

अवलोकनका क्रममा जुनार फल तल्लो भागबाट कुहिन सुरु भएको र कुहिएको फल भुइँमा झरेको पाइएको गोलञ्जोर कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए । उनका अनुसार बोटको तल्लो भागमा रहेका फल बढी कुहिएर झरेको देखिएको छ । अवलोकन गरिएका स्थानमध्ये आलेगाउँ क्षेत्रमा रोगको प्रकोप सबैभन्दा बढी देखिएको छ ।

शाखा प्रमुख चौधरीले भने, “हामीले जुनार बगैँचामा देखिएको रोगबारे अनुसन्धान गर्न सम्बन्धित निकायसँग सहयोग माग गरेका छौँ । कृषकले बगैँचा सफा राख्नुपर्छ, झरेका फल तुरुन्त सङ्कलन गरी खाल्डोमा पुर्नुपर्छ भनेका छौँ ।”

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एकाइ प्रमुख यामकुमार श्रेष्ठले प्रारम्भिक विश्लेषण गर्दा ढुसीजन्य रोग हुनसक्ने अनुमान गरिएको बताए। रोगको थप अनुसन्धान र पुष्टि गर्न फलको नमुना बुधबार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पठाइएको उनले बताए ।

गोलञ्जोरका केही क्षेत्रका जुनार बगैँचामा रोग देखिन थाले पनि अन्यत्र भने विगतका वर्षमा देखिका रोगसमेत नियन्त्रण हुँदै गएको एकाइ प्रमुख श्रेष्ठले बताए । जुनार उत्पादनका लागि गोलञ्जोर गाउँपालिकालाई मुख्य केन्द्र मानिन्छ । पालिकाका छ वडामा जुनारको व्यावसायिक उत्पादन भइरहेको छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यात हुँदै आएको छ ।

“गोलञ्जोरको भूमि जुनार उत्पादनका लागि अत्यन्त उपयोगी मानिन्छ । यसको खेती हाम्रो प्राथमिकतामा छ”, गाउँपालिका प्रमुख शङ्कर राज बरालले भने, ‘‘प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले उत्पादनमा असर पु¥याइरहेको छ । रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेका छौँ ।”

जुनारमा देखिने रोग नियन्त्रण गर्न सरकारी तबरबाट प्रयास नै नभएको होइन, तर हाल भएका प्रयास र जुनार प्रवर्द्धनका लागि आवश्यक व्यवस्थापन अपुग भएको स्थानीय जुनार किसान बताउँछन् ।

कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ३१८ हेक्टरभन्दा बढीमा जुनार र सुन्तलाखेती हुँदै आएको । त्यसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटले उत्पादन दिइरहेका छन् । जिल्लामा बर्सेनि रु ५२ करोड बराबरको जुनार र सुन्तला बिक्री हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १० : २० बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ