समाजवादी मोर्चा अस्वीकार गरेको एमाले भन्छ-‘विचार र सिद्धान्त नमिल्नेसँग एकता असम्भव’ | Khabarhub Khabarhub

समाजवादी मोर्चा अस्वीकार गरेको एमाले भन्छ-‘विचार र सिद्धान्त नमिल्नेसँग एकता असम्भव’



काठमाडौं– नेकपा एमाले समाजवादी मोर्चामा सामेल नहुने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको पछिल्लो भेटपछि मोर्चामा सहभागी नहुने उद्घोष गरिसकेका छन् ।

उनले अहिले नै समाजवादी मोर्चामा सामेल हुनुको कुनै तुक नभएको भन्दै प्रचण्डले राखेको प्रस्तावमा विमति जनाएका हुन् ।  यति मात्र होइन ओलीले अलग–अलग विचार र सिद्धान्त भएका पार्टीहरूले मोर्चा बनाउन उपयुक्त नहुने सुझाव प्रचण्डलाई दिएका छन् ।

हाल समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्व नेकपा पार्टी छ । ओलीले वाम एकताको उदाहरण दिँदै त्यसको परिणामले कम्युनिस्ट आन्दोलन तहस नहस भएको बारेमा समेत प्रचण्डलाई स्मरण गराएको स्रोतको भनाइ छ ।

ओली निकट स्रोतका अनुसार उनी अरु विषय थाती राखेर कार्यकर्ता व्यवस्थापनमा तल्लीन छन् । एमालेले अहिले मोर्चा तथा वाम एकताबारे नसोच्ने तर ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउन विभिन्न उपाय अवलम्बन गर्ने योजना लिएको ओली निकट एमाले नेताको भनाइ छ ।

यसबारे खबरहबसँगको कुराकानीमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि अहिले एमालेको ध्यान जनताको आवश्यकता पूरा गर्ने तर्फ रहेको बताए । उनले समाजवादी मोर्चा र वाम एकता एमालेको प्राथमिकतामा नभएको तर आफ्नो पार्टीबाट अलग भएका शक्तिहरूलाई भने पार्टीमा सामेल गरिने उल्लेख गरे ।

त्यसकारण यसो हेर्दा एमाले अहिले सकभर लचिलो पाराले प्रस्तुत भएर नेकपा एकीकृत समाजवादीलाई पनि आफ्नो पार्टीमा समाहित गरेर मिसन ०८४ मा बहुमत ल्याउने अभियान सुरु गरेको छ । पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र ओलीको सम्बन्ध सुधारको गन्तव्य पनि त्यसैलाई मानिएको छ ।

एक पुराना वाम नेताले भने, ‘एमाले  अध्यक्ष ओलीलाई प्रचण्ड र माधव नेपालले चिनैकै रहेन छन् । घुमाएर के ०८४ सम्ममा के–के गर्छन् हेर्दै जानुहोला । के को वाम एकता हुनु ?’

यता एमाले उपाध्यक्ष ईश्वर पोखरेल पनि एमाले अहिले कुनै मोर्चामा सामेल नहुने जनताका काम गर्न केन्द्रित हुने बताउँछन् । उनले भने, ‘अध्यक्षज्यूले हामी सबैले दिएको सल्लाह बमोजिम निर्णय गर्नुभएको हो । हामी जनतालाई सेवा दिनतर्फ लाग्छौँ । सरकारको काम हेर्छौं ।’

शुक्रवार बिहान बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो । यसबारे आलीसँग कुरा गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

प्रचण्डले शुक्रवार दिउसो ओलीसँग भेट गरेका थिए । तर ओलीले छलफल गर्न लचिलो भए पनि मोर्चामा सहभागी नहुने प्रस्ट पारे ।
तर माओवादी नेताहरू भने एमालेले समाजवादी मोर्चाको सबै बाटोहरू बन्द नगरेको बताइरहेका छन् ।

समाजवादी मोर्चामा किन समेटिएन एमाले ?

०७४ को निर्वाचनपछि एमाले र माओवादीबीच वाम एकता भएको थियो  । तर नेतृत्वको निरन्तर टकराबका कारण यसले लामो भविष्य लिन सकेन । त्यसपछि वाम एकता गरेका दुई वटा पार्टी टुक्रिए । जसको घाटा एमालेलाई भयो ।  किनकि २०७८ भदौ २ गते निर्वाचन आयोगमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र केही नेताहरूले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराए । देशको पहिलो शक्ति भएको एमाले टुक्रियो ।

माओवादी आफ्नो घर फर्कियो ।

यसको धङधङे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग जीवित छ । त्यस कारण उनी  समाजवादी एकताको पक्षमा नरहेको उनको पार्टीका शीर्ष नेताहरूको भनाइ छ ।

यसबारे एमाले उपाध्यक्ष पोखरेलले भने, ‘राजनीतिको भुक्त भोगी हो एमाले, अरू के भनौँ ।’

यता एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि समाजवादी मोर्चाको विपक्षमा देखिइन । उनले भनिन, ‘अहिले यो विषयमा एमाले प्रवेश गर्दैन । हाम्रो प्रमुख काम जनताको पक्षमा छ ।’

उनले अगाडि थपिन, ‘विचार नै अलग–अलग भएका पार्टीहरू छन् कहाँको मोर्चा हुनु ? पार्टीको विचार र सिद्धान्त नै मिलेको छैन । यसको तुक के छ र ! ’

चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द ‘विप्लव’ छन् । उनले बिहीबार नै ओलीलाई भेटेर समाजवादी मोर्चामा सामेल हुन भनेका थिए । उनले ओलीले सकारात्मक जवाफ दिएको बताएका थिए । तर प्रचण्डसँगको भेटमा भने ओलीले फरक  नीति र सिद्धान्त भएका पार्टीको मोर्चा आवश्यक नभएको बताए ।

यता कम्युनिस्ट शुभचिन्तकहरूका लागि समाजवादी एकता गर्ने विषयले निकै महत्त्व लिएको छ  । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल वाम एकता र समाजवादी मोर्चा आजको आवश्यकता रहेको बताउँछन् ।

उनी नेपालका कम्युनिस्टहरू सुध्रनु पर्छ भने विचार मिल्ने  शक्तिहरू एक हुनुपर्ने आवश्यकता औँल्याउँछन् । ०७४ को निर्वाचनपछि माओवादी र एमालेबीच कस्सिएको लगनगाँठोले पनि वाम पार्टीहरू एक हुँदा पनि नेतृत्वको टकराबका कारण टुक्रिने भय देखिएको छ  ।

आफूबाट टुक्रिएका माओवादी घटकलाई एक गर्न कम्मर कसेर लागेका अध्यक्ष दाहालको प्रयास एक वर्षदेखि सफल हुन सकेको छैन यस कारण समाजवादी मोर्चा र माओवादी पार्टीको एकता र वाम एकताको नारा  स्थापित हुने सम्भावना देखिएको छैन ।

तर माओवादी उपाध्यक्ष पम्फा भुसाल भने एमाले सामेल नभए पनि समाजवादी मोर्चा अगाडि बढ्ने दाबी गर्छिन् ।

एकीकृत समाजवादी एमालेमा विलय होला ?

एमाले अध्यक्ष ओली समाजवादी पार्टीसँग भने केही हदसम्म लचिलो देखिएका छन् । उनले एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा समाहित गर्न सके पहिलो पार्टी बन्ने स्वार्थ राखेको पाइन्छ । तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने एमालेसँग एकता हुँदा आफ्नो ओज घट्ने भयका कारण तत्काल  एकता गर्ने पक्षमा नरहेको देखिन्छ ।

झलनाथ खनाल भने एमाले र वामपन्थी बीचको एकताका लागि आफूहरू लचिलो रहेको बताउँछन् ।

यसबारे एमालेका एक नेताले भने, ‘समाजवादीसँग पनि तत्काल एकता नहोला तर छलफल हुन्छ । उहाँहरू र हामी अहिले जहाँ जहाँ भए पनि हिजो एउटै घरमा थियौँ ।’

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १२ : ४३ बजे

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र

जसपा बैठक : राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका

आचारसंहिता उल्लङ्घन गरेका मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने

काठमाडौं  – इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा