किसानलाई वरदान जस्तै बन्यो झोलुङ्गे पुल « Khabarhub

किसानलाई वरदान जस्तै बन्यो झोलुङ्गे पुल


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै थिइन् । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उनले पुल बनेपछि आउजाउ सहज बनेको सुनाइन् । ‘पहिले एक घण्टा लाग्थ्यो, अहिले दश/पन्ध्र मिनेटमा खेतमा पुगिन्छ’, पौडेलले भनिन्, ‘पुल बनेपछि धेरै सुबिस्ता भएको छ ।’

गण्डकी प्रदेश सरकारको लगानीमा यही वर्ष उक्त झोलुङ्गे पुल बनेपछि हेम्जावासी प्रत्यक्ष लाभान्वित भएका हुन् । पुल बनेकै कारण टिमिरेचौर क्षेत्रमा खेती किसानी गर्नेको सङ्ख्या बढ्न थालेको पौडेलले बताइन् । ‘पहिले यहाँको अधिकांश जग्गा बाँझै थियो, पुलले आवातजावत सहज बनाएपछि फेरि खेतीपाती सुरु भएको छ’, उनले भनिन् ।

हेम्जामा सडक र नहरको सुविधा आएपछि झण्डै ३० वर्षदेखि उपल्लो टिमिरेचौर, तल्ला टिमिरेचौर, चिसाखोलालगायत क्षेत्रमा स्थानीयले कृषि गर्न छाडेका थिए । खेतबारी झाडीमा परिणत भएको थियो । ६४ वर्षीय ऋषिराम पौडेलका भनाइमा त्यस क्षेत्रमा पहिले धानलगायत खेतीबाली गरिन्थ्यो । ‘हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै यही थियो, यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्यो’, उनले भने, ‘पछि सबै हेम्जातिर सरेपछि यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ ।’

उनले आफूले पनि यस वर्षको रोपाइँका लागि बीउ राख्ने तयारी गरेको सुनाउनुभयो । ऋषिरामले पुल बनाउनका लागि जग्गासमेत दिएका  थिए । उनले पुल छेउछाउमा रहेको जग्गामा तरकारी खेती गर्दै आएका छन् ।

सोही ठाउँका गोविन्द पौडेलले उपल्लो टिमिरेचौरमा ७५ घरपरिवारको जग्गा रहेको बताए । ‘पहिले दुई भाइ पौडेलको दुई सय मुरी धान हुने खेत यहाँ थियो, जेठबुढो धान लगाइन्थ्यो’, उनले भने, ‘झण्डै २५/३० वर्ष यहाँ रोपाइँ नै भएन, अहिले फेरि किसान रोपाइँको तयारीमा लागेका छन् ।’

खेतमा आउजाउको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले त्यो क्षेत्र पछाडि परेको गोविन्दले बताए । ‘अहिले पुलले धेरै सहज भयो, किसान फेरि कृषितिर फर्किन थालेका छन्, बाहिरबाट आएर जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेहरू पनि छन्’, उनले भने, ‘हेम्जावासीका लागि यो झोलुङ्गे पुल वरदान नै साबित बनेको छ ।’

पहिले पैदल तल खोलामा झरेर फेरि माथि खेतमा उक्लँदा सारै दुःख हुने गरेको हेम्जाकी दुर्गा पौडेलले बताइन्। ‘जाँदा मल बाेकेर, फर्कँदा धानको भारी लिएर आउँदा निकै गाह्रो हुन्थ्यो, अहिले धेरै सजिलो भएको छ,  पुल बनेपछि सिँचाइ कुलोका लागि पनि बजेट आएको छ’, उनले भनिन्, “झाडी पल्टिएको जग्गालाई सफाइ गरेर कृषि गर्न सुरु गरिएको छ ।’

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले रु ९१ लाखको लगानीमा पुल बनेको जानकारी दिए। ‘स्थानीवासीको आवश्यकता पहिचान गरेर त्यहाँ पुल निर्माण गरिएको हो, पुलले विशेष गरी कृषि उपजलाई बजार ल्याउन सहज बनेको छ, किसानको दैनिक पनि फेरिएको छ’, उनले भने ।

एक सय ७१ मिटर लामो र झण्डै एक सय मिटर अग्लो उक्त झोलुङ्गे पुल म्याग्दीको रामकृष्ण निर्माण कम्पनीले बनाएको हो । सोही ठाउँको तल्लो टिमिरचौरमा पनि झोलुङ्गे पुल बनिसकेको छ । चिसाखोलामा प्रदेश सरकारकै लगानीमा अर्को पुल बनाउने तयारी छ । याम्दामाथिका तीन झोलुङ्गे पुलले सयौँ किसानसहित त्यस क्षेत्रका बासिन्दालाई लाभ पुग्नेछ । प्रदेशभित्र सडक, पक्की पुल र झोलङ्गे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । पहाडी र हिमाल भेगमा आवातजावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेको छ ।

पछिल्लो छ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयले जनाएको छ । हाल १० वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको र ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा रहेको निमित्त निर्देशक डा बानियाँले जानकारी दिए। ‘चालु आवमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि बजेटेको स्रोत सुनिश्चित गरिएको छ’, उनले भने ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ३ : ३८ बजे

ट्रम्पको चीन भ्रमण : व्यापार, करवृद्धि र मध्यपूर्वजस्ता महत्वपूर्ण विषयमा छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी समयअनुसार मंगलबार राति चीन

नेपालमा हान्टा भाइरसको जोखिम कति ? 

काठमाडौं– पछिल्लो समय विश्वका केही भागमा देखिएको ‘हान्टा भाइरस’का बारेमा

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु, १४ घाइते

 एजेन्सी– दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३

स्वास्थ्य सुधार र खरिद प्रणालीमा सहयोग गर्ने यूएनडीपीको प्रतिबद्धता

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र संयुक्त

प्रधानमन्त्रीले भोलि नीति तथा कार्यक्रममाथि जवाफ दिने, आजलाई संसद् स्थगित

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाहले यही महिनाको ३१ गते (भोलि) नीति