‘रविले गिरीबन्धुमा नबोल्ने, ओलीले सहकारीमा नबोल्ने ?’ | Khabarhub Khabarhub

‘रविले गिरीबन्धुमा नबोल्ने, ओलीले सहकारीमा नबोल्ने ?’



काठमाडौं– पछिल्लो समय संसदमा भइरहेको नाराबाजीमा कांग्रेस सांसद रामहरि खतिवडा अग्रपंक्तिमा देखिन्छन् । उनी सक्रिय रुपमा नारा लगाउँछन् र संसदमा कडा रुपमा प्रस्तुत हुन्छन् । संसद बैठक सामान्य अवस्थामै चलेका बेला पनि खतिवडाले आफूलाई खरो रुपमा बोल्ने नेताको छवि बनाएका छन् ।

नेपाली कांग्रेसमाथि पछिल्लो समय केही प्रश्न उठेका छन् । खास गरी कांग्रेसले संसदीय मर्यादा भुलेको र गृहमन्त्री रवि लामिछानेमाथि अनावश्यक रुपमा पूर्वाग्रह साँधेको सत्तापक्षले कांग्रेसमाथि आरोप लगाउँदै आएको छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेसले किन गृहमन्त्री रवि लामिछानेलाई केन्द्र भागमा राखेर संसद अवरुद्ध गरिरहेको होला ? छानविन समिति गठनबारे कार्यदलमा किन सहमति जुटिरहेको छैन ? अब नेपाली कांग्रेसको रणनीति के हो ? के भयो भने संसदको अवरोध खुल्छ ? यिनै समसामयिक प्रश्नहरु कांग्रेसतर्फ तेर्सिएका छन् ।

प्रस्तुत छ, नेपाली कांग्रेस सांसद रामहरि खतिवडासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको अंश :

सहकारी ठगीका सन्दर्भमा संसदीय समिति बनाउने एउटा सहमति भयो तर क्षेत्राधिकारका सन्दर्भमा कार्यदलमा तपाईँहरूले लचकता देखाउनुभएन, समस्या जहाँको त्यहीँ भयो र काँग्रेसले अडान छाडेन भन्छन् नि ? रविलाई नै केन्द्र भागमा राख्नुपर्छ भन्ने कांग्रेसको भनाइ हो ?

नेपालमा एकजना मान्छेलाई मुद्दा चलाउन पाइँदैन, त्यो मान्छे रास्वपाको अध्यक्ष हो । उहाँलाई कुनै पनि कानून र मुद्दाले नछुने हुँदा केही विषयमा पनि छानबिन नगरौँ ! उहाँको पासपोर्ट छानबिन भएन नागरिकताको बारेमा अरु होला सहकारीका कुरा पनि आए । हिजो टेलिभिजनमा हुँदा थर्काएका कुरा पनि आए ।

यी सबै कारणले गर्दा उहाँ अहिले गृहमन्त्री हुनुभयो । उहाँको भर्खर आएको पार्टी हो । उहाँ आफैंले हामीले कहीँ रगत पसिना बगाएको छैनौँ भन्नुभयो । रगत बगाउनेहरूले के भन्दा हुन् त ? म केही नगरी आएको हुँ, मलाई केही गर्न पाइँदैन, मलाई यो देशको केही कानूनले छुँदैन भनेर एउटा निर्णय गरेर बनाउने छानबिन समिति हो भने पनि हामी तयार छौँ ।

नत्र, नेपाली नागरिक सत्तामा बसेका बेला सत्ताको दुरुपयोग भयो । महान्यायाधिवक्तालाई प्रयोग गरियोे । सीआइबीलाई प्रयोग गरियो । यो ठिक भएन । सबैमा छानबिन गरिनुपर्छ । हिजो टेलिभिजनमा बस्दा करोडौँ पैसा कहाँ गयो, त्यो बारेमा छलफल गरौँ भन्दा हुँदैन भनेर अटेरी लिएपछि हामीले के गर्ने त ?

कि एउटा मान्छेबारे छानबिन गर्न पाइँदैन, देशभरि अरु सबैका बारेमा छानबिन गर्ने मापदण्ड बनाएर कमिटी गठन गरौँ न त उसोभए ! कानून अनुसार जेसुकै फाइल खोल्ने कोसिस गरौँ, हाम्रो समर्थन रहन्छ ।

अबको मध्यमार्गी बाटो के त ?

संसदीय छानबिन समिति गठन गर्ने । त्यसमा ज–जसको संलग्नता छ, त्यसको नाम राखौँ भनेका छौं । सबैको भनेका छैनौँ ।

सरकारले कांग्रेसलाई संसदीय मर्यादाको पाठ सिकाइराखेको छ । अब यो महंगो पर्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ नि ?

संसदमा हामीले चप्पल हानेका छौँ कि ? खोर्सानी बोकेर हिँडेका छौँ कि ? हाम्रो भनाइ छलफल गरौँ भन्ने हो । हतार–हतार गरेर प्रधानमन्त्रीले पनि विश्वासको मत लिएको ठिक भएन । मर्यादाविपरीत त हामीले केही गरेका छैनौँ । मर्यादा विपरीत सभामुखले काम गर्न थाल्नुभयो । दुई पार्टीको मात्रै कुरा सुन्नुभयो भनेका हौँ । यसरी जाँदा देशलाई फाइदा हुँदैन भनेका हौँ ।

सहकारीका विषयमा कांग्रेसले संसदमा कुरा उठाइरहेको थियो, यहीबेला मिडियाका अध्यक्ष पनि पक्राउ परे । अब तपाईँहरूको आन्दोलन के हुन्छ ?

कानूनीरूपमा कोही दोषी छ भने त्यसलाई कानूनअनुसार कारबाही हुनुपर्छ । त्यसमा हामी कसैलाई केही भन्दैनौँ । किनकि, हामी कानूनी राज्य, प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताका लागि धेरै अगाडिदेखि लडेका पार्टी हौँ ।

हामी काूननी राज्यमा कानूनलाई बलियो बनाएर जनताका बीचमा जान चाहन्छौँ । अहिलेको पद्दति अधिनायकवादतिर उन्मुख हुने हो कि भन्ने हामीलाई चिन्ताको विषय बन्यो ।

कोही मान्छेले सहकारीका विषयमा ठग्यो, त्यो पनि करोडौँ ठग्यो भने छानबिन समिति बनाऔं र त्यसको निर्णयमा अगाडी बढौँ भनेर संसदमा बोल्यौँ । यो सबै भनिरहँदा पनि कानमा तेल हालेजसरी सरकार आनन्दले बस्यो । यी सबै कुरा उठ्दै गर्दा मिडियाले निरन्तर समाचार लेखिरहेको थियो । कसैलाई पूर्वाग्रही दृष्टिकोणले पक्राउ पुर्जी दिएको हो भने यो घोर आपत्तिजन कुरा हो । तर, त्यसमा कोही कानूनी रूपमा संलग्न नै छ र दोषी नै छ भने त्यसलाई बचाऊ गर्ने पक्षमा हामी छैनौँ ।

तर, सबै कुराको सीमा हुन्छ । जसलाई पनि पहिला समाऊ, थुन त्यसपछि कारबाही गर भन्ने प्रवृत्तिको विरुद्धमा छौँ हामी । पहिला थुन अनि सुन भन्ने हैन । पहिला कसैको कुरा सुनेर ठिक छैन भने थुन्ने हो, तर यहाँ तर्साएर राजनीति गरेर सत्तामा बस्ने र सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास भयो ।

आफ्ना बारेमा मुद्दा आयो भने महान्यायाधिवक्तासम्म गएर सर्टिफिकेट जस्तो हातमा बोकेर हिँड्ने । यो कानूनी राज्यको उपहास हो । अदालतको फैसला पो नजिर हुन्छ, महान्यायाधिवक्ता चिर्कटो बोकेर म इमानदार छु भनेर हिँड्नु ठिक होला त ? यस्तो प्रवृत्तिले मुलुकलाई कहाँ लैजान्छ ?

हामीले हिजो पनि सदनमा जुन अडान लिएका थियौँ, त्यो अडानबाट नेपाली कांग्रेस आज परिवर्तन भएको छैन । तथानाम कसैका बारेमा गर्दैमा कांग्रेस हतोत्साहित हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो राजनीतिमा अज्ञानताको बोध हुन्छ । त्यो बाटोमा सरकारले बुझ्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

मिडिया उद्योगीलाई पक्राउ गर्दा कांग्रेस किन डराएको भनेर तपाईँहरूमाथि अर्को प्रश्न उठेको छ नि ?

कांग्रेस डराएको भए कसैलाई पक्राउ गरेको ठाउँमा जान्छ त ? मान्छेलाई पक्रिने कुरा कानूनसम्मत छ भने त्यो ठिक हो । तर दोष, ईर्ष्या र प्रतिशोधपूर्ण छ भने त्यो राम्रो होइन । त्यो बाटोमा त राज्य जाने नै हैन । तपाईँका बारेमा यो कुरा उठेको छ, यति बजे आउनुहोस् भन्दा आउँछन् नि । कसैको कार्यकक्षमा गएर मान्छेलाई थर्काउनु हुँदैन ।

उहाँको नागरिकताको बारेमा मुद्दा छ भने त्यो पहिलादेखि चलेको हो, यसलाई यसो गरौँ, जनकपुरबाट यो आएको त्यहाँ उपस्थित हुनुहोस् भन्नुपर्यो‍ । न्युज लेखिएको भरमा नै तर्साउन खोजिएको हो भने यो आपत्तिजनक हो भन्ने हाम्रो भनाइ हो । गल्ती कमी कमजोरी हो भने कारबाही रोक्नुहोस् भनेर हामी भन्दैनौँ ।

सरकार कता जाँदैछ भन्ने लागिरहेको छ ?

अपरिपक्व, बालकपन, केटाकेटी, जिद्धिपन, घमन्ड, दम्भ र द्वन्द्वहीनताको उपजजस्तो लागेको छ । युक्रेनमा एउटा लिडरसिप आएर राष्ट्रपति हुँदा र छिमेकी राष्ट्रको सानो इन्ट्रेस्ट नबुझ्दा त्यहाँ देश ध्वस्त र जनताले दुःख पाउने अवस्था आयो । त्यस्तै, नेपाल जस्तो देशमा अपरिपक्व मान्छे यस्तो ठाउँमा पुग्दा त्यसको परिणाम देशले अप्ठ्यारोसँग भोग्नुपर्छ ।

अहिलेको राजनीतिक परिवेश राम्रो छैन । जनतामा निराशा फैलाएर त्यसको फाइदा आफूले लिने काम भएको छ । यो सबै समस्या समाधान गर्ने बेलामा यस्ता कुरा लिएर केन्द्रमा पनि झगडा गर्दा जनतामा झन् आक्रोश र निराशा पैदा हुन्छ । यो सबै समस्या अहिले गृहमन्त्रीको कारणले आएको छ ।

रविको प्रकरणमा एमालेको भूमिकाका सन्दर्भमा के भन्नु हुन्छ ?

हिजो प्रतिपक्षमा हुँदा रविले कहिले गिरीबन्धु कहिले यति, कहिले ओम्नी लगायतका विषयमा संसदभित्र र बाहिर कराएको सुनिन्थ्यो । सुनका बारेमा, बालकुमारी घटना, माओवादी सशस्त्र द्वन्द्वका बारेमा कराएको देखिन्थ्यो ।

तर, अहिले रविले गिरीबन्धुबारेमा नबोल्ने र एमालेले सहकारीमा विषयमा केही नबोल्ने स्थिति देखिएको छ । माओवादीको विषयमा पनि रवि नबोल्ने र रविका विषयमा माओवादी नबोल्ने । उनीहरु सत्ताका लागि बसेका छन् ।

सबै बेथितिमा कांग्रेसकै नेता सामेल छन् भन्छन् नि ?

को को छन्, त्योबाट सुरु गर्नुहोस् । म भए पनि सुरु गर्नुहोस् भनेका छौँ हामीले । प्रमाणित गर्नुहोस्, नेपाली कांग्रेसका सभापति देखि सबै हामी जान तयार छौँ भनेका छौँ हामीले । उहाँहरू पनि आफ्ना बारेमा छानबिन गर्न तयार हुनुपर्यो‍ ।

अब अध्यादेशबाट बजेट आउने हो ?

सरकार त्यो बाटोबाट जान्छ भने हामीले भन्नु केही छैन । तर, गलत बाटोबाट राज्य सत्ता सञ्चालन गर्दा त्यसको परिणाम के हुन्छ, त्यो सरकारले बुझ्ने कुरा हो । हामीले उठाएको कुरा सरकारले सही र गलत भनेर त बुझेको छ । सधैँ सत्तामा बस्न पाइँदैन, त्यसैले त्यही सोचेर काम गर्नु पर्छ ।

नयाँ पार्टी भनेर आउने र हामी सबै परिवर्तनको पक्षधर भनेर आउने अनि त्यही पार्टीको गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी पार्टी फुटाउने विधेयक ल्याउने संसद् चलिरहेको बेला फिर्ता गर्ने र संसद् अन्त्य गरेर अध्यादेश ल्याउने पद्दतिको विकास भयो भने योभन्दा दुर्भाग्यपूर्ण कालो दिन नेपालको संसदीय इतिहासमा केही हुँदैन । उहाँहरूले अरूलाई मात्रै यो फुटाउन प्रयोग गरिन्छ भनेर सोच्नुभएको होला, त्यो कहिलेकाहीँ आफैंमाथि आइपर्न सक्छ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : ४३ बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को