देश/प्रदेश

पीडामा भुटानी शिविरका वृद्धवृद्धा : छोराछोरी युरोप र अमेरिका पुगेपछि छैन सहारा

By खबरहब

September 24, 2024

दमक- दमकस्थित भुटानी शरणार्थी शिविर बेलडागीका ७५ वर्षीय जसवीर विश्व उच्च रक्तचाप, किड्नीको समस्याले ओछ्यानमा थलिएका छन् । पाँच जनाको परिवार रहेका विश्वले नियमित चेकजाँच गराउँदै आएका छन्। तर उनलाई चेकजाँच गराउने पैसाको जोहो गर्न निकै समस्या हुने गरेको छ ।

‘कतैबाट आउने आयस्रोत्र छैन, काम गर्न सक्ने अवस्था पनि छैन’, जसवीर भन्छन, ‘मरिजान पनि सकिँदैन, गरीखान  पनि सकिँदैन, नर्कको जीवन जिउन बाध्य भएका छौ।’

जरवीरका अनुसार उनका एक छोराको मानसिक समस्याका कारण उनी तेस्रो मुलुक पुनर्वास हुन पाएनन्। त्यसपछि उनका दुःखका दिन सुरु भएको थियो। दाताले दिँदै आएको राहात पनि रोकियो, रोगले शरीर पनि गलायो अत्यन्तै पीडाको साथ बाँच्न परेको छ’ माछालाई तातोपानी हालेर खाल्डोमा राखे जस्तै हामीले पनि त्यही नर्कको जीवन बाँच्न बाध्य छौ’. जरवीर थप्छन्।

नेपालमा हाल रहेका भुटानी शरणार्थीको नर्कको जीवन जिउने अवस्था भुटानी मानवअधिकार नेता टेकराज रिजालका कारण आएको हो । उनीसहितका मान्छेले बाहिरकासँग मिलेर पैसा लिएर पुनर्वास कार्यक्रममा बाहिरका मान्छेलाई पठाएपछि साख भुटानी शरणार्थीको बिजोक भएको हो । बाहिरका मान्छे पठाएको घटना सार्वजनिक भएपछि दाताले सहयोग पनि रोकेको छ भने नेपाल सरकारले पनि बेवास्ता गर्दा समस्या जटिल बन्दै गएको जसबीरको भनाइ छ।

भुटानी शरणार्थी शिविर बेलडाँगीका सह क्याम्प सचिव आशा राईले उच्चपदस्थकै नेतृत्वमा भएको नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा शरणार्थीको साख नै गिरेको तितो अनुभाव रहेको बताइन् । दाताले पनि सहयोग बन्द गरेको र तेश्रो मुलुक जाने कार्यक्र पनि अहिले स्थगित भएकाले शरणार्थीहरू पीडादायी जीवन कटाउन बाध्य रहेको राईले बताइन्। ‘हाम्रो भविष्य नेपाल सरकारको हातमा छ । अहिले हामीलाई हातमुख जोड्नसमेत मुस्किल छ । विदेशमा बस्ने हाम्रा दाजुभाइको सहयोगमा बाँच्नुपरेको छ । त्यो कतिन्जेलसम्म चल्छ र ? उनले भनिन्, ‘नेपाल सरकारले हाम्रो स्वदेश फिर्ती, पुनर्वास र स्थानीयकरणको मुद्दालाई सम्बोधन गरोस । स्वदेश फिर्तीका लागि भुटान सरकारसँग दह्रो भएर कुरा गरोस् । दर्ताविहीनको सन्दर्भमा सरकारले छानबिन गरेर उचित निर्णय गरोस।’

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सक्कली भुटानी शरणार्थीलाई समस्या परेको उनी बताउँछिन्। नक्कली भुटानी शरणार्थीका कारण परिचयपत्र नवीकरणमा झन्झट दिँदा र समयमा परिचयपत्र नवीकरण नहुँदा शरणार्थीले धेरै समस्या झेल्नुपरेको उनी बताउँछिन् । पथरी शनिश्चरेका शिविर व्यवस्थापन चम्पासिंह राईका अनुसार झापाको बेलडाँगी र पथरीशनिश्चरे शिविरमा गरी ६ हजार तीन सय ६५ जना भुटानी शरणार्थी छन् ।

सन् २०१६ देखि पुनर्वास प्रक्रिया पनि पूर्ण रूपमा बन्द भइसकेको छ । हाल दुईतिर विभिन्न कारणले दर्ता छुटेका करिब दुई हजार हाराहारी शरणार्थी पनि छन् ।उनीहरूको जीवन अनिश्चित छ । न स्वदेशको सपनामा प्राण छ, न पुनर्वासको ढोका फेरि खुलेको छ । यो अन्धकारको असहज अवस्थाबाट शरणार्थीहरू बाच्न बाँध्य छन्।

सबैभन्दा पीडामा वृद्धवृद्धा  दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीकी ईश्वरी न्यौपाने ९१ वर्ष लागिन्। जीवनका अन्तिम दिनमा उनलाई सहाराको जरुरत छ । तर, शिविरमा उनी एक्लै छिन् ।

‘श्रीमान् भुटानमै बिते । जेठाजु पनि भुटानमै बितेपछि दुई भतिजीलाई छोरी बनाएर पाल्दै आएकी थिएँ । ती पनि पुनर्वास भएर अमेरिका गएदेखि एक्लै छु’ एकाङ्की जीवनका दुःखको पोको खोल्दै उनले भनिन्,‘छोरीहरू गएपछि पाँच वर्ष माइधार मन्दिरमा बसेँ । मन्दिरमा खाना बनाउन नसकेपछि एक वर्षअघि शिविर फर्किएँ ।’ उनी अहिले भतिज छविनाथसँग बस्दै आएकी छिन् । 

दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ६६ वर्षीय कृष्णबहादुर माझी बुढेसकालमा एक्लै छन्। विभिन्न स्वास्थ्य समस्या खेपीरहेका कृष्णबहादुर हजुरबुवा उमेरमा पुगेपनि उनलाई पकाएर खुवाउनेसम्म कोही छैन । कान समेत कम सुन्ने कृष्णबहादुर मागेर र सहयोगीले दिएको भरमा जीवन कटाउन बाध्य छन्।

मोरङको पथरी शनिश्चरे भुटानी शरणार्थी शिविरका ८४ वर्षीय मिनप्रसाद गुरुङ र ७५ वर्षीया कविमायाको पीडा पनि उस्तै छ । तीन छोरीको विवाह भए पनि गुरुङ दम्पती सहारा चाहिने उमेरमा एक्लै जीवन जिउन बाध्य हुनु परेको छ । गुरुङदम्पती बिरामी पर्दा होस या भर अभर पर्दा छिमेकीले रेखदेख गदै आएका छन्।

८० वर्षीय जितबहादुर राई पनि बुढेसकालमा एक्लै छन् । पाँच छोराछोरी र नातिनातिना पाँच वर्षदेखि अमेरिकामा छन् । कान्छी छोरी विवाह गरेर भारतको दार्जिलिङ पुगिन् । पुनर्वासको योजना आउँदा उनलाई आफ्नै देशको माटोमा फेरि टेक्न पाइन्छ कि भन्ने आशाले रोक्यो । जीवनका अन्तिम दिनमा उनी एक्लै परे । 

उनी भन्छन्,‘न आफ्नो देश फर्कन पाएँ, न सन्तानसँगै बस्न । ‘१२ छोरा १३ नाति बुढाको धोक्रो काँधै माथि’ भन्थे । ६ जना छोराछोरीको बुबा र दश नातिनातिनाको हजुरबुबा म अन्तिम समयमा एक्लो भएँ ।’ 

पछिल्लो समय एकल हुनेको मात्र जीवन निर्वाहमा समस्या भएको छैन ।सन्तान हुनेको पनि अवस्था उस्तै छ । धरै भुटानी शरणार्थी ज्येष्ठ नागरिकको सन्तान पुनर्वास भएर अमेरिका, अस्ट्रेलिया लगायतका मुलुक पुगेका छन्। जसका कारण ज्येष्ठ नागरिक भने शिविरमा एकल जीवन बिताउन बाध्य छन्। 

आफ्नो देशबाट लखेटिनुपरेको छ शरणार्थी जीवन जिउन बाध्य वृद्धवृद्धाका यी साझा दुःख हुन् । 

‘शिविरभित्रका कैयौँ ज्येष्ठ नागरिकले सन्तानको न्यानो माया नपाएको वर्षौँ भएको छ । कैयौँ परिवारका चुलोमा आगो बल्दैन । बिरामी हुँदा पानी दिनेसम्म छैनन् । पथरीशनिश्चरे शिविरका एडमिन दावा तामाङ भन्छन,‘ उमेरले डाँडो काटिसकेका ज्येष्ठ नागरिक, बिरामी र अशक्तहरू कष्टकर जीवन काट्न बाध्य छन्। खाना, लाउनदेखि शारीरिक र मानसिक समस्याले गाँजेको छ ।’ 

शिविरमा कतिको सङ्ख्यामा ज्येष्ठ नागरिक रहेको यकिन सङ्ख्या क्याम्प व्यवस्थापन समितिसंग छैन् ।  यद्यपी यूएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी ६० वर्ष उमेर भन्दा माथिका ७ सय ४९ जना वृद्धवृद्धा रहेका छन । जसमा बेलडाँगीमा ६०२ र पथरीशनिश्चरे शिविरमा १ सय ३७ जना छन्। यो सङ्ख्या केही थपघट हुनसक्छ । यो तथ्यांक यूएनएचसीआरले सन् २०१९ सम्म गरेको गणनाको आधारमा लिइएको हो।

बिलखबन्दमा शरणार्थी यूएनएचसीआरका अनुसार झापाको दमकस्थित बेलडाँगी शिविरमा पाँच हजार ३९ र पथरीशनिश्चरेस्थित शनिश्चरे शिविरमा एक हजार चार सय ९१ भुटानी शरणार्थी छन्। त्यसैगरी शिविर बाहिर १९ जना गरी कुल छ हजार ५७७ जना शरणार्थी छन्। उनीहरु सबै बिलखबन्दमा छन् । शरणार्थी समाधानका विकल्प स्वदेश फिर्ती, पुनर्वास र स्थानीयकरणमध्ये तेस्रो देश पुनर्वासले प्राथमिकता पाएको थियो । यो पनि सन् २०१६ बाट पूर्ण रूपमा बन्द छ । अहिले न त स्वदेश फिर्ती, स्थानीयकरणको विकल्प नै अघि बढेको छ, न त पुनर्वास प्रक्रिया नै अघि बढेको छ ।

बेलडाँगीस्थित भुटानी  शरणार्थी अपाङ्गा संघका कार्यक्रम व्यवस्थापक गोविन्द रिजालका अनुसार दातृ निकायले २०१८ बाट जीवनयापनबापत दिँदै आएको रासन पनि बन्द गरिसकेको छ । २०२० बाट दमकस्थित शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (युएनएचसिआर) पनि बन्द भएपछि भुटानी शरणार्थी अन्योलमा छन्।

‘नेपाल सरकारको मौनताले शिविर भयावह बन्दै छ, पारिवारिक विखण्डनले मानसिक बिरामी शिविरमा बढ्दो छ’,  रिजाल भन्छन, ‘परिवारको केही सदस्य तेस्रो देश र केही सदस्य शिविरमा छन् । पुनर्मिलनको सम्भावना पनि घट्दो छ । त्यही कारण लागूऔषध प्रयोगकर्ता शिविरमा बढ्दो छ,।’ 

उनी थप्छन्, ‘अब शरणार्थीका लागि स्वदेश फिर्ती, स्थानीयकरण र पारिवारिक पुनर्मिलनका लागि एकपटक पुनर्वासको विकल्प खुला गरिदिनुपर्छ । हामी सरकारी निर्णयको प्रतीक्षामा छौँ।’

स्वदेशको ढोका बन्द छ, पुनर्वासको आश मर्दै  शरणार्थीलाई हेर्ने दमकस्थित दातृ निकाय शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (युएनएचसिआर) छाडेर गइसकेको छ । उसले विगतमा दिँदै आएको रासन र अन्य सुविधा पनि दुई वर्षदेखि बन्द छ । शिविरमा रहेको स्वास्थ्य, शिक्षा पनि अहिले हटिसकेको छ । शिविरमा रहेका भुटानी शरणार्थी बालबालिका लामो यात्रा गर्दै सामुदायिक विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ । विगतमा शिविरमै विद्यालय र प्राथमिक स्वास्थ्य सेवा थियो ।

शिविरमा रहेका अधिकांशलाई अहिले खाना र छोराछोरीको शिक्षा, स्वास्थ्यका लागि निकै मुस्किल भएको छ ।  युएनएचसिआरको कार्यालय बन्द भएसँगै स्वदेश फर्कने ढोका पनि सदाका लागि बन्द भएको हो कि भन्ने अशंका धेरैलाई छ ।

 ‘त्यही वेला अमेरिका जान्नँ भनेँ । देशको माया लाग्यो । तर, अहिले एक्लो भएँ,’ जितबहादुर भन्छन्, ‘आफू जन्मिएको देश फर्कन पाइएन । सन्तान गएर बसेको देश पनि जान पाइएन । ऐँठन बोकेर बसेका छौँ।’ 

३४ वर्षअघिसम्म उनीहरू भुटानका सार्वभौम नागरिक थिए । उनीहरूको आफ्नो देश थियो । मातृभूमिको गर्व थियो । मेरो देश भनेर शिरमा माटो लगाउँथे । तर, हेर्दाहेर्दै सब चकनाचुर भयो । आफ्नै देश बिरानो भयो । खेदिनुपर्यो । लखेटिनुपर्यो । एक दिन अवश्य त्यो माटो टेक्न पाउने आशासहित उनीहरू शरणार्थी जीवन बिताउन थाले । झापा र मोरङका विभिन्न शिविरमा बसे । स्वदेश फिर्तीका लागि अनेक प्रयत्न गरे, तर सम्भव भएन । अन्ततः शरणार्थी समस्या समाधानका रूपमा पुनर्वास प्रक्रिया सुरु भयो । 

करिब एक लाख १५ हजार शरणार्थी तेस्रो मुलुक पुनर्वास भए । यसअघि सात वटा शिविरमा रहेका मध्ये ९० प्रतिशत भुटानीहरू पुर्नवास कार्यक्रम अन्तर्गत विभिन्न ८ वटा मुलुक गएका छन्। तेस्रो देश पुनर्वासपछि झापाको दमक–बेलडाँगी र मोरङको पथरी–शनिश्चरे शिविरमा रहेका मध्ये धेरै शरणार्थीको मनमा भुटान फर्किने इच्छाको धिपधिपे दियो बलिरहेको छ ।

 ‘जसमध्ये ५ हजार बढीको मनसाय भुटान फर्किनेछ,’ बेलडाँगी शिविर व्यवस्थापन समितिका सचिव टेकबहादुर राईले भने । 

उनका अनुसार बेलडाँगीमा १ हजार ६ सय ९४ छाप्रा छन् । परिचयपत्र भएका २ हजार १२ छन् । शरणार्थी परिचय खुल्न नसकेका १ सय ८८ (एएसआर), विभिन्न कारणले दर्तामा छुटेका (सीए) ४ सय र दर्ता हुन नपाएका भुटानी ३ सय हाराहारी छन् । 

सन् २०२२ यता शिविरमा जन्मिएका बालबालिका तथ्याङ्कमा समेटिएका छैनन्। नवजात शिशु ३ सय ३८ मात्र रहेको उल्लेख छ । युएनएचसिआरका अनुसार सन २०१९ भन्दा अघि मिक्स म्यारिज रिफुजी केश ९७१ वटा रहेका छन्। २ सय २२ जना शरणार्थी महिलाले नेपाली पुरुषसँग विवाह गरेका छन्।

३ सय ४६ शरणार्थी पुरुषले नेपाली महिलासँग विवाह गरेका छन्। २०६ जना शरणार्थी महिलाले भारतीय पुरुषसँग र १९७ शरणार्थी पुरुषले भारतीय महिलासँग विवाह गरेका छन्। मिक्स म्यारेजबाट ८ सय ७२ बालबच्चा रहेका छन्। भारतीय भुटानीको ५ सय ७२ बालबच्चा छन्।

सातवटा शिविरमा थिए भुटानी शरणार्थी भुटानी शासकले लखेटेपछि सन् १९९१ पछि भुटानबाट नेपालीभाषी भुटानी पूर्वी नेपाल आएका थिए । शरणार्थी भएर ज्यानको सुरक्षा खोज्दै नेपाल आएका उनीहरू सुरुमा माई नदीको किनारामा टहरा बनाएर बसे । सन् १९९२ मा दातृ निकाय युएनएचसिआरले उनीहरूको रेखदेख सुरु गर्‍यो । सुरुमा सातवटा शिविर बनाएर भुटानी शरणार्थीलाई राख्यो । सुरुमा दमकको बेलडाँगीमा तीनवटा, खुदुनाबारी, टिमाई, गोलधाप र मोरङको पथरीशनिश्चरेमा शिविर थियो । शरणार्थी पुनर्वास भएपछि हाल दमकको बेलडाँगीमा एउटा र शनिश्चरेमा एउटा गरेर दुई शिविरमा खुम्चिएको छ । 

भुटानको आनाकानीका कारण सन् २००३ यता शरणार्थी विषयमा वार्ता नभए पनि सन् २००७ देखि अन्तर्राष्ट्रिय समुदायको सक्रियतामा भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्वासमा गए । भुटानी पहिचानसहित आठवटा मुलुकमा जम्मा एक लाख १३ हजार पाँच सय शरणार्थीको पुनर्वास गराइएको नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोगको कार्यालय (युएनएचसिआर)ले जनाएको छ । उनीहरूको अमेरिका, बेलायत, नर्वे, नेदरल्यान्ड, न्युजिल्यान्ड, डेनमार्क, क्यानडा र अस्ट्रेलियामा पुनर्वास भइसकेको छ । 

भुटानले सन् १९९० को दशकमा जबर्जस्ती खेदिएका नागरिक शरणार्थी नभएको जिकिर गर्दै आएको छ । २०१४ मा भुटानले राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा बुझाएको प्रतिवेदनमा शरणार्थीहरू अवैधानिक आप्रवासी भएको उल्लेख गरेको छ । नेपाल र भुटानबीच शरणार्थी फिर्तीका विषयमा ०६० मा १५औँ चरणको वार्ता भएको थियो । त्यसपछि भुटानले वार्तामा बस्न अस्वीकार गर्दै आएको छ । 

पशु चौपाया पालनदेखि खेतीपातीमा सक्रिय हुँदै भुटानी पथरी शनिश्चरे र बेलडाँगी शिविरमा रहेका आधिकांश शरणार्थीहरू  शिविर भित्र  पशु चौपाया पाल्नदेखि खेतिपातीमा पनि संलग्न हुन थापेका छन्। शिविर भित्र कतिपयले पक्की संरचना समेत बनाउन थालेका छन्। जुन कार्य बन्देज छ ।तरपनि कतिपयले पक्की संरचनाको घर तयार समेत पारेका छन्। कुल ४८ हेक्टर बन क्षेत्र भित्र फैलिएको पथरी शनिश्चरे शिविरमा अहिले एक तिहाइ मात्र शरणार्थी रहेका छन्।

कुल २४ हजार बढी शरणार्थी रहेकामा धेरैजसो तेश्रो देश पुर्नवास कार्यक्रम अन्तर्गत गएपछि हाल १ हजार ४ सयको हाराहारीमा मात्र शरणार्थी बसोबास रहेको छ । ठुलो सङ्ख्यामा शरणार्थीहरू तेश्रो मुलुक गएपछि पथरी शनिश्चरेका शिविरको ठुलो क्षेत्रफल अहिले खाली अवस्थामा छ ।जसमा शरणार्थीहरूले खेतीपाती गदै आएका छन्। सँगै उनीहरूले पशुचौपायसमेत पाल्दै आएको पथरीशनिश्चरे शिविरका एडमिन दावा तामाङ बताए। 

तामाङ अनुसार पथरी शनिश्चरे शिविर भित्रको करिब एक बिघा क्षेत्रफल अतिक्रमण समेत भएको छ ।जसमा स्थानीयले खेतीपाती लगाउनुका साथै धार्मिक मोठ मन्दिर निर्माण गरेका छन्। शिविर भित्रै शरणार्थीले पनि पछिल्लो समयमा पशुपालन गर्न थालेका छन् भने खाली जग्गामा सब्जी खेती लाउन थालेका छन्। वनको जग्गा शिविर अतिक्रमण हुँदै आए पनि वन कार्यालय भने बेखार जस्तै छ।

डिभिजन वन कार्यालय मोरङका डिभिजनल वन अधिकृत उत्सव थापाले शिविर भित्रको वन अतिक्रमण भएको विषय आफूलाई जानकारी नभएकाले बुझेर जानकारी गराउने बताए।

‘विना अनुमति बनको जग्गामा बसोवासदेखि खेतीपाती लगाउन पाइदैन’ थापाले भने,‘वनको भूउपयोग गर्ने विषयमा क्याबिनेटबाट मात्र सम्भव छ। यदि शिविर भित्रको वनको जग्गा भूउपयोग गरेको अवस्था रहेछ भने हामी एक्सनमा जान्छौ ।’

थापाले आफू भर्खरै सरुवा भएर मोरङ आएकाले अहिले बुझ्नेक्रममा रहेको बताए । कस्तो अवस्थामा वनको जग्गा रहेको भन्ने विषयमा अध्ययन हुने उनको भनाइ छ ।