राजनीति

खुमलटारमा रवीन्द्र मिश्र, प्रचण्डलाई भने : राजतन्त्र नफर्काए देश विस्फोटतिर जाँदैछ

By खबरहब

September 24, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच सोमबार एउटा अन्तरक्रिया कार्यक्रममा जम्काभेट भयो ।

होटल मल्लमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपालको वर्तमान संविधानलाई मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संविधान भएको टिप्पणी गरिदिए ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर)को संयुक्त आयोजनामा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रममा उनले राजसंस्था फर्काउनुको विकल्प नरहेको तर्क गरे ।

दुई ध्रवतिर फर्किएको राजनीतिक विचारधारा बोकेका यी दुईजना नेताबीच राजतन्त्र र गणतन्त्रलाई लिएर घोचपेच चल्यो । प्रचण्ड सशस्त्र संघर्षमा रहेका बेला चर्चित अन्तर्वार्ता गर्न भ्याएका मिश्र बीबीसीको जागिर छाडेर राजनीतिमा होमिएका हुन् । अहिले उनी राजतन्त्रको पक्षमा चर्को वकालत गर्दै हिँडेका छन् ।

उनले सोमबार नेपालमा राजतन्त्र पुनर्स्थापना र हिन्दु राज्यको वकालत गर्दै गर्दा प्रचण्डले जवाफमा ती दुवै कुरा सम्भव नभएको बताए । तर उनले अहिले राजावादीहरूलाई पनि बोल्ने अधिकार गणतान्त्रिक व्यवस्थाले नै दिएको नि उनले उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा जम्काभेटका क्रममा प्रचण्डले मिश्रसँग संवाद गर्न चाहेको बताएका थिए । उनको त्यही चाहना मंगलबार पूरा भएको छ । प्रचण्डलाई भेट्न पूर्वपत्रकार तथा वर्तमानमा राजावादी दलका नेता मिश्र खुमलटार पुगे ।

उनले खुमलटारस्थित प्रचण्ड निवासको छतमा दुईजना गफ गरिरहेको तस्बिर हाल्दै एक्समा लेखेका छन्, ‘प्रचण्डसँग मनका कुरा !’

उनले वर्षौँपछि प्रचण्ड निवासमा भेट बताउँदै आफूले राजसंस्था पुनर्स्थापित गरेर देशलाई जोगाउनुपर्ने धारणा राखेको पनि उल्लेख गरेका छन् ।

‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ’, उनले एक्समा भनेका छन्, ‘र, त्यतिबेला तपाईंहरूको ‘अग्रगमन’, नाम र शालिक केही बाँकी रहने छैन।’, लामो व्याख्यासहित सारमा मैले यही भनेँ।’

प्रचण्डसँग मनका कुरा!

हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।

“अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।” लामो… pic.twitter.com/WBpbjXYHho

— Rabindra Mishra (@RabindraMishra) September 24, 2024

मिश्रका अनुसार प्रचण्डले उनीसँग विभिन्न ७ बुँदामा जवाफ दिएका छन् । जसमध्ये एउटा रोचक कुरा राजा महेन्द्रबारे छ ।

‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ’, प्रचण्डको भनाइबारे मिश्रले उल्लेख गरेका छन्, ‘महेन्द्र त गजबका ‘भिजनरी’ राजा रहेछन् ।’

प्रचण्डले यही परिस्थितिको निरन्तरताले देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगिसकेको बताएको पनि मिश्रले उल्लेख गरेका छन् ।

‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु’, प्रचण्डको भनाइबारे उद्धृत गर्दै मिश्रले लेखेका छन् ।

प्रचण्डले सशस्त्र संघर्षका बेला आफूले राजासँग मिलेरै जान चाहेको बताएको पनि मिश्रले एक्समा लेखेका छन् । ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ’, प्रचण्डको भनाइबारे मिश्र लेख्छन्, ‘राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनताका अलिक नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो ।’

प्रचण्डले अब निरन्तरताको क्रमभंग चाहिएको बताएको पनि मिश्रले उल्लेख गरेका छन् । ‘म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन’, प्रचण्डले मिश्रसँग भने, ‘तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।’

मिश्रले कौसीमा लामो संवाद सकेर तल ओर्लिंदाको दृश्यबारे पनि एक्समा बर्णन गरेका छन् । आफू कौसीबाट झर्दा माओवादी पार्टीका दर्जनौँ नेताहरू प्रचण्डजी पर्खेर बसिरहेकाबारे पनि उनले उल्लेख गरेका छन् ।

‘सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा-बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए’, उनले भनेका छन्, ‘उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ/बित्नेछ भन्नेमा सम्भवत: उनीहरू अनभिज्ञ थिए ।’

मिश्रले प्रचण्डसँगको संवादपछि अहिलेको व्यवस्थाबाट देश नबन्नेमा आफू झन् ढुक्क रहेको बताए । ‘म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु’, उनले निष्कर्ष सुनाएका छन् ।

मिश्रकै शब्दामा प्रचण्डका केही टिप्पणी

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेको छु।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गग्जबका ‘भिजिनरी’ राजा रहेछन्।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाबारे पूरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो।

६. अहिले पो प्रधानमन्त्री भएँ, युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७. म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।