ब्रेकिङ स्टोरी

रविले भने- सहकारी ठगीबाट ‘क्लिन चिट’ पाइसकेँ, मुद्दा लगाउन सरकार चलखेल गर्दैछ

By खबरहब

September 24, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सफाइ दिइसकेकोबताएका छन् ।

मंगलबार फेसबुक लाइभमा देखिएका उनले गोर्खा मिडिया नेट्वर्कमा विभिन्न सहकारीबाट अवैध बाटोबाट भित्रिएको भनिएको पैसा परिचालनका लागि जिम्मेवारी लिने बताएका छन् ।

लामिछानेले संसदीय समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीमा संलग्नता नदेखिएको निष्कर्षसहित ‘क्लिन चिट’ दिइसकेको बताएका हुन् ।

‘संसदीय छानबिन समितिले सहकारी ठगीमा मेरो संलग्नता नरहेको भनिसकेको छ । म गोर्खा मिडियामा रहँदा पैसा आएको कुराको जिम्मेवारी लिनुपर्छ । मैले त्यो जिम्मेवारीबाट भाग्न मिल्दैन, भागेको छैन,’ उनले भने।

तर पूर्गगृहमन्त्रीसमेत रहेका लामिछानेले आफूलाई फसाउने गरी सरकारले मुद्दा लगाउने उपाय खोजिरहेको जिकिर गरे ।

‘मलाई मुद्दा लगाउने उपायका लागि सरकारबाट चलखेल भइरहेको छ’, उनले भने, ‘संसदीय समितिबाट सफाइ पाइसकेको अवस्थामा गोर्खा मिडियामा आएको रकम परिचालनको हकमा जिम्मेवारीबाट भागेको छैन ।’