गहुँखेती गर्न रासायनिक मल अभाव | Khabarhub Khabarhub

गहुँखेती गर्न रासायनिक मल अभाव


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले गत मङ्सिरमा तीन चरणमा रासायनिक मल वितरण गरेको थियो । सरकारले उपलब्ध गराउँदै आएको सहुलियतको उक्त मल यादवले भने पाउन सकेनन्।

यादवले धान थन्क्याएलगत्तै करिब पाँच कट्ठा जग्गामा गहुँ छर्ने तयारी गरेका थिए । गहुँ बालीका लागि खेत जोतेर तयार पारिसक्दासमेत उहाँले युरिया र डिएपी मल किन्न पाएनन्। सोमबार पनि उहाँ मल लिन लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय पुगे।

‘खेती लगाउने समय घर्किसक्यो, कतैबाट पनि मल किन्न पाइएन । यहाँ त पाइन्छ कि भनेर आएको हुँ’, कृषक यादवले भने, ‘तर यहाँबाट पनि मल पाउन सम्भव भएन ।’

कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई प्रत्यक्ष रूपमा मल दिन नमिल्ने र यसका लागि रासायनिक मल वितरण गर्ने सहकारी धाउनुपर्ने यादवले बताए। उनी रित्तै घर फर्किए । अनुदानको मल मारमा समेत मल अभावले किन्न नपाएको यादवको गुनासो छ ।

यादवको जस्तै सिराहाका १७ वटै पालिकाका अधिकांश किसानले मल पाउन सकेका छैनन् । कतिपयले मल अभावका कारण गहुँ छर्न पाएका छैनन् । कतिपयले उम्रिएको गहुँमा मल छर्न सहकारी तथा अन्यत्र भौँतारिरहेका भेटिन्छन् । तर मल सहजै पाइँदैन । भेटिए पनि चर्को मूल्य तिर्नुपर्छ । स्थानीय तहको सिफारिसअनुसार सहकारीमार्फत पाउनुपर्ने मल पनि किसानले पाउन सकेका छैनन् ।

किसानका लागि रासायनिक मल एकदमै न्यून मात्रामा प्राप्त भएको लहान नगरपालिका–२ का वडाध्यक्ष सियाराम यादवले बताए। मागको करिब एक तिहाइ मात्रामा रासायनिक मल उपलब्ध भएकाले अहिले मलको हाहाकार भएको उनले जानकारी दिए । किसानलाई दिइने मलको कोटा बढाउन वडाध्यक्ष यादवले सरकारसँग माग गरे।

भारत तथा तेस्रो मुलुकबाट सरकारले खरिद गरेर ल्याएको रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि सहकारी संस्थामार्फत किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको छ । स्थानीय तहमा त्यहाँका उपप्रमुख तथा उपाध्यक्षको नेतृत्वमा मल खाद्य आपूर्ति समितिको सिफारिसमा कृषि सहकारी डिलरबाट किसानलाई रासायनिक मल वितरण हुँदै आएको छ ।

सिरहामा १७ वटै पालिकामा गरी एक सय २० कृषि सहकारी डिलर रहेका छन् । यसबाटै किसानलाई रासायनिक मल वितरण गरिँदै आएको कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय लहानका प्रमुख दीपराज पौडेलले बताए। उनका अनुसार सरकारले नै न्यून मात्रामा उपलब्ध गराएकाले अहिले मल अभाव भएको हो ।

सिरहामा ६ हजार चार सय हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये झण्डै ७५ प्रतिशतमा गहुँखेती हुने गर्छ । यसका लागि कम्तीमा चार हजारदेखि चार हजार पाँच सय मेट्रिक टन डिएपी मल र तीन हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने प्रमुख पौडेलले बताए।

कार्यालयले मङ्सिरमा तीन चरणमा गरी एक हजार दुई सय ७२ मेट्रिक टन मात्र डिएपी मल वितरण गरेको उनले जानकारी दिए ।  पहिलो चरणमा आठ सय ७२ मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन युरिया, दोस्रो चरणमा तीन सय मेट्रिक टन डिएपी र त्यति नै मात्रामा युरिया तथा तेस्रो चरणमा एक सय मेट्रिक टन डिएपी र सोही मात्रामा युरिया वितरण गरिएको थियो ।

प्रमुख पौडेलले अझै आठ सय ५० मेट्रिक टन डिएपी मल आयात गरिने बताए । यहाँबाट वितरण गरिने डिएपी मल प्रतिबोरा दुई हजार दुई सय ७२ रुपैयाँ ५० पैसा, युरिया प्रतिबोरा आठ सय २२ रुपैयाँ ५० पैसा र पोटास एक हजार पाँच सय ७२ रुपैयाँ तोकिएको छ । धान, मकै, गहुँजस्ता प्रमुख खाद्यान्न बाली लगाउने मौसममा सधैँ रासायनिक मल अभाव हुँदा देशको अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ४ : २५ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका