नौ वर्षसम्म अधुरो धरहरामा दैनिक चढ्दैछन्‌ ६०० मानिस | Khabarhub Khabarhub

नौ वर्षसम्म अधुरो धरहरामा दैनिक चढ्दैछन्‌ ६०० मानिस


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सबैले बयान गरेको सुनेपछि भक्तपुरका ८३ वर्षीय काजी श्रेष्ठलाई धरहरा हेर्न र चढ्न मन लाग्यो । पहिलेको भन्दा अग्लो र ठूलो धरहरा ! नातिनीले पनि हेर्न रहर गरिरहेकी थिइन् ।

काजीकी नातिनी बबिताले सोमबार धरहरा चढ्नेगरी आइतबार टिकट काटिन् । अनि हजुरबुलाई लिएर धरहरा आइन् । भिडभाड भए पनि वृद्ध हजुरबा लाइनमा बस्नुपरेन । सुरक्षा गार्डको सहयोगमा लिफ्टसम्म चढने ठाउँमा पुर्‍याइन् । लिफ्टमा राखेर २० तला माथि पुर्‍याइन् ।

२० तलामा पुगेपछि काजी भुइँमा थचक्क बसे । अनि भने, ‘लिफ्टमा म कहिल्यै चढेको थिइनँ, तर मन लागेपछि डरले पनि थामेन । धरहराको लिफ्ट चढ्दा त केही हुँदैन रहेछ, धरहरा पनि पहिलेको भन्दा धेरै ठूलो !’

धरहरा परिसर हरियाली बनाइएको र तल बस्न पनि थुप्रै ठाउँ व्यवस्था गरेकाले राम्रो भएको काजीले बताए । पुरानो भग्नावशेषलाई पनि थप उचित व्यवस्थापन गर्न उनले सुझाए ।

००

पार्वती खत्री सीतापाइलाबाट पनि धरहरा चढ्न सुन्धारा पुगिन् । सुरुकै दिन धरहरा चढ्न भनेर उनी साथीहरूसँग त्यहाँ गएकी थिइन् । तर, त्यो दिन बाहिरी गेटसम्म नै लाइन पुगेको देखेपछि फर्किइन् ।

घर गएर आफू धरहरा चढ्न नसकेको कुरा छोरालाई सुनाइन् । छोराले ‘म अनलाइनबाट टिकट काटिदिन्छु’ भने । अनि गत सोमबार दिउँसो २ः३० बजेको टिकट काटिदिए ।

‘म त एक्लै भए पनि धरहरा चढ्छु भनेर आएको ! भिड केही कम रहेछ,’ धरहरा परिसरमा भेटिएकी उनले भनिन्, ‘माथिबाट सारा संसार देखिँदो रैछ । म त कहिल्यै यस्तो अग्लो ठाउँमा चढेको थिइनँ । एकदमै रमाइलो लाग्यो ।’

वि.सं. २०७२ बैशाख १२ गतेको भूकम्पले साविकको धराहरा भत्काएपछि नयाँ धरहरा निर्माण गरिएको छ । नवनिर्मित धरहरा चढ्न ९३ वर्षसम्मका वृद्धवृद्धासमेत आउने गरेका त्यहाँ कार्यरत सुरक्षागार्ड दिलीप कार्की बताउँछन् ।

पहिलो दिन नै धरहरा चढ्न वृद्धवृद्धा र अशक्तहरू बढी आएका उनले जानकारी दिए । अहिले पनि एक वर्षभन्दा पनि कम उमेरका बालबालिकादेखि ९० वर्षभन्दा माथिका पनि वृद्ध मानिसहरूसमेत आइरहेका उनले बताए ।

पार्किङ व्यवस्थापन गरिएका कारण सवारीसाधन भएका मानिसहरूलाई धरहरा चढ्न कुनै समस्या नहुने उनको भनाइ छ । ‘पहिलो दिन चाहिँ व्यवस्थापन पनि राम्रोसँग भएन, मान्छेहरूको भीड पनि अत्याधिक नै थियो, तर अहिले त टिकट काट्ने भएपछि त धेरै सजिलो भएको छ,’ कार्कीले सुनाए ।

गत बिहीबार उद्घाटन भएकोे धरहरा चढने मानिसहरूको संख्या अहिले नियमित बनिसकेको छ । शनिबारसम्म भने अत्यधिक भीड लागेको थियो । दैनिक ६०० जनामात्रै चढ्न मिल्ने भनिए पनि बिहीबारमात्रै दुई हजारभन्दा बढी मानिसहरूले धरहरा चढेको शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन विभागले जनाएको छ ।

आइतबारदेखि भने टिकट अनिवार्य गरिएको छ । घरमै बसेर अनलाइनबाट या धरहरा नै पुगेर पनि टिकट काट्न सकिन्छ । मंगलबारका लागि पनि सोमबार नै टिकट बुकिङ भइसकेको विभागले जनाएको छ ।

अहिलेसम्म धरहरा चढ्न दैनिक ६०० नै टिकट बुकिङ भइरहेको विभागले जनाएको छ । निर्धारित टिकट सकिएका कारण आइतबार र सोमबार करिब आधा मानिसहरू त धरहरा नै नचढी फर्किएका थिए ।

विभागका अनुसार धरहरा चढ्न प्रत्येक घण्टा १०० वटा टिकट बेच्ने गरिएको छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म धरहरामा प्रवेश अनुुमति दिइएको छ । अहिले पनि तीन दिनसम्मका लागि अग्रिम टिकट बुकिङ भइसकेको छ ।

शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहरा व्यवस्थापनको जिम्मा पाएको छ । मन्त्रीपरिषदको बैठककले कहिले र कति शुल्क राख्ने विषयमा अहिलेसम्म कुनै निणर्य अथवा आदेश जारी नगरेकाले शुल्कबारे निर्णय हुन नसकेको हो ।

निःशुल्क प्रवेश गर्न www.dharhara.gov.np बाट अनलाइन टिकट बुक गर्न सकिन्छ ।

अझै सकिएन पुनःनिर्माण

धरहरा ढलेको ९ वर्षपछि बनेको नयाँ धरहरा पुरानोभन्दा पनि ठूलो छ । वि.सं. २०७८ बैशाखमै उद्घाटन गरिएको धरहरा निर्माण कार्य भने आधादर्जन पटकसम्म म्याद थप्दा पनि पूरा भएको छैन । उद्घाटन गरेको तीन वर्षपछि गत बिहीबार पुनः उद्घाटन गरिएको छ ।

पुरानो धरहराको भग्नावशेषलाई पनि सीसाभित्र राख्ने भनिए पनि जस्ताको तस्तै छ । धरहरा परिसरमै रहेको सुन्धारा पनि पुरानै अवस्थामा छ । सुन्धाराको लागि पानीको मुहान नभेटिएकाले यहाँ काम अघि नबढाइएको विभागले जनाएको छ ।

यसपटक पनि धरहरा सञ्चालन कार्यविधि बिनै प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट संविधान दिवसका दिन अर्थात् बिहीबारदेखि धरहरा सञ्चालन गर्ने निर्णय गराएका थिए । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओली सत्तामा रहेका बेला बग्रेल्ती आयोजना घोषणा गर्ने, एउटै आयोजनाको शिलान्यास र उद्घाटन पटकपटक गर्ने, तर निर्माण सम्पन्न गराउनेतर्फ कुनै ध्यान नदिने प्रवृत्तिका कारण आलोचित छन् ।

विभागले चाहिँ अब तीव्र गतिमा काम अघि बढ्ने जनाएको छ ।

कस्तो छ नयाँ धरहरा

ऐतिहासिक सम्पदा भए पनि धरहरा बहुउपयोगी आधुनिक भवनका रूपमा निर्माण भएको छ । यहाँ निर्माण भएका सम्पूर्ण भवनहरूको डिजाइन पनि नयाँ छ ।

आधुनिक शैलीमा धरहरा निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो । जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा विस्तार भएको छ ।

पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ रहेको नयाँ धरहरा २२ तलाको भूकम्प प्रतिरोधात्मक छ । परिसरसहित साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटर छ ।

धरहराको भूमिगत तलामा सवारीसाधन पार्किङ गर्दा शुल्क लाग्दैन । धरहरा परिसरले ओगटेको जमिनको भूमिगत कक्षको आधाभन्दा धेरै भागमा पार्किङ व्यवस्था गरिएको छ । एकपटकमा ३५० वटा गाडी र ६ हजारभन्दा बढी मोटरसाइकल राख्न सकिने विभागले जानकारी दिएको छ ।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पारित गरेको डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिन्छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्ष (वैशाख ०७८) अघि धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । तर, धेरै काम बाँकी भएकाले धरहरा खुलेको थिएन ।

धरहराको इतिहास

धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए । उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप धरहरा निर्माण गर्न लगाएका थिए ।

भीमसेन थापा प्रधानमन्त्री भएका बेला निर्माण गरिएकाले धरहरालाई ‘भीमसेन स्तम्भ’ पनि भनिन्थ्यो । सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुने गर्थे ।

धरहराको सबैभन्दा माथिल्लो तलामी शिवलिङ्ग थियो । टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण थियो । धरहराको निर्माण मुगलशैलीमा गरिएको थियो । स्तम्भ निर्माणमा इँटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) प्रयोग गरिएको थियो ।

वि.सं. १९९० भन्दा पहिले धरहरामा ११ तला थियो । नवौं तलामा बार्दली थियो । तर, वि.सं. १९९० माघ २ मा आएको महाभूकम्पको कारणले बार्दलीभन्दा माथिको दशौँ र एघारौँ तला भत्किएपछि नौ तलामा सीमित भयो ।

तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले साविक बमोजिम नौ तला नै कायम गरी धरहरा पुनःनिर्माण गराएका थएि । पुनः वि.सं. २०७२ को महाभूकम्पले यो पूर्ण रूपमा भत्किएको थियो ।

धरहरा प्रवेश खुलेसँगै यस क्षेत्रको भिड नियन्त्रणका लागि गृह मन्त्रालयले थप प्रहरी परिचालन गर्ने भएको छ । खानेपानीको व्यवस्था काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले गर्नेछ । यसका लागि बगैँचामा खानेपानीको धाराको व्यवस्था गर्नेछ ।

धरहरा क्षेत्रमा विद्युत व्यवस्थापनको जिम्मेवारी नेपाल विद्युत प्राधिकरणलाई दिइएको छ । हालका लागि आवश्यक सबै कर्मचारी व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : ३४ बजे

सीजी मोटर्सले बागडोलमा खोल्यो डेडिकेटेड ईभी सर्भिस सेन्टर

काठमाडौं – सीजी मोटर्सले ललितपुरको बागडोलमा नयाँ डेडिकेटेड ईभी सर्भिस

रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय फुयाँल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध सर्वोच्चमा दायर रिटको

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

काठमाडौ‌– नेकपा (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो

सभामुख घिमिरेबाट कम्बोडियन समकक्षीसँग भेट

काठमाडौं– पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट

धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता जारी, चापागाईँ आएनन् 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अहिले अर्थ मन्त्रालयमा अन्तर्वार्ता