मधेसका भुइँमान्छे : सबैभन्दा उत्पीडितको कथा | Khabarhub Khabarhub

मधेसका भुइँमान्छे : सबैभन्दा उत्पीडितको कथा

‘चिताको ज्वालाभन्दा ठूलो चिन्ताको ज्वाला छ’



काठमाडौं-  ‘हामी यो देशका सबैभन्दा उत्पीडनमा परेका मान्छे हौं । किसान र मजदुर हौं । हामी सबैभन्दा शान्तिप्रिय मानिस हौं । यो वर्ग भनेको आफ्नो पसिना बाहेक अरुको एक पैसा नखाने हो । हाम्रो आन्दोलन कुनै पनि खालको उत्तेजित र असंवेदनशील हुँदैन । बरु हामी आफ्नै शरीरलाई पीडा दिने काम गर्छौं ।’

विभिन्न जिल्लाबाट २७ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका ७५ वर्षका वृद्धदेखि बालवालिकासम्मको नेतृत्व गर्ने निर्ग नवीनले आइतबार खबरहबसँग मिटरब्याज पीडितहरुको आन्दोलनको ‘सौन्दर्य–पक्ष’ सुनाए ।

उनले थपे,‘माघ १६ गतेदेखि पूर्व मेची र पश्चिम महाकालीबाट एकसाथ यात्रा सुरु गरेका हौं । हिँडेर काठमाडौं आउने क्रममा धेरैजना बिमारी हुनुभयो । कत्तिको खुट्टामा फोका उठेका छन् । बाटोमा पानीले भिज्नुपर्‍यो । सार्वजनिक पाटी र खुला आकाशमुनि रात बिताउनुपर्‍यो । तर, बिरामी भएर पनि यात्रा छोडेर कोही फर्कनुभएको छैन । उपचार गर्दै आयौं ।’

काठमाडौंमा कतिजना मिटरब्याज पीडितहरु आएका छन्, कुन उमेर समूहका मानिसहरु छन् र उनीहरु कसरी बसेका छन्, त्यसबारे संघर्ष समितिका प्रवक्ता निर्ग नवीनको वयान पछि सुनौला । अहिले चाहिँ केही प्रतिनिधि पात्रहरुको कहालीलाग्दो कहानी सुनौं ।

नेपाली भाषामा राम्रोसँग आफ्नो ‘स्टोरी’ भन्न नसक्ने केही मिटरब्याज पीडितहरुको शोषणको कहानी यस्तो छ–

चिताको ज्वालाभन्दा ठूलो चिन्ताको ज्वाला हुन्छ

-महम्मद इस्लाम (७५ वर्ष)

मेरो घर रौतहट जिल्ला, विजयपुर नगरपालिका वडा नम्बर १ मा पर्छ । मैले तारकेश्वर प्रसाद सोनहार, बाबुलाल यादव, शेख इन्जादसँग ऋण लिएको थिएँ । कसैसँग एक लाख, कसैसँग ५० हजार रुपैयाँ लिएको थिएँ । एक लाख ऋण दिएकाले चार लाखको कागज बनाएको छ । ५० हजार दिएकाले दुई लाखको कागज बनाएको छ ।
मैले एउटा छोरो पढाइरहेको थिएँ, त्यसैका लागि पैसा लिएको हुँ । अरु दुईजना छोरालाई विदेश पठाउन त्यो पैसा खर्च गरेँ ।

छोरालाई कतारमा फ्री भिसामा पठाएको थिएँ । दुई वर्ष काम नपाएर घुमेरै फर्कियो । अनि साहूको ऋण तिर्न सकिएन ।

मेरा छोरा तीनजना हुन् । एकजना त काठमाडौंमा नै छ । ऊ यहाँ पढ्दैछ । दुई जना अहिले कतारमै छन् । तरुनी बुहारी घरमा छ, युवा छोरा विदेशमा छ । यो अवस्थामा म समय काटिरहेको छु ।

मैले लघुवित्त संस्था आशा बैंक, नेसनल बैंक जस्ता स्थानीय बैंकहरुमा आफ्नो घर घडेरी धितो राखेर विभिन्न समयमा १३/१४ लाख खर्च निकालें । घरमा खर्च र विदेशमा भएका छोरालाई यहीँबाट खर्च पठाएँ । धितोमा आफूसँग भएको सबै जग्गा राखेको छ । सात कठ्ठा जति जग्गा थियो मेरो ।

किस्ता पनि तिरिरहेको थिएँ । महिनामा ८० हजार जति किस्ता तिर्थें । आधी रकम तिरेपछि पनि ऋण जतिको त्यति नै बाँकी छ भन्यो । तीन वर्ष किस्ता तिर्दा पनि त्यति नै रकम बाँकी छ भन्छ । ऋण घटेकै छैन । मैले ८० हजार किस्ता तिरेकोमा ५० प्रतिशत त विभिन्न शीर्षकमा यताउता पार्छ । यसरी साँवा पनि घट्दैन ।

अहिले हामी घरविहीन हुने अवस्था छ । लघुवित्तले जग्गा लिलाम गर्छु भनेर दबाब दिइरहेको छ । चिताको ज्वालाभन्दा ठूलो चिन्ताको ज्वाला हुन्छ । आत्महत्या गरौं भने, त्यो पनि ठीक भएन ।

सरकार हाम्रो अभिभावक हो, यो अभिभावक समक्ष म आफ्नो पीडा राख्छु, अभिभावकले पीडा सुनिदियो भने राम्रो । सुनिदिएन भने पनि रौतहटको माटोमा मिल्ने मेरो लास सिंहदरबार र प्रचण्ड सरकारकै ढोकामा बस्नु जाती भन्ने लाग्यो । त्यही भएर म यहाँ (काठमाडौं) आएको हुँ ।

यत्रो दिन हिँडेर आउँदा गाह्रो त भयो । खुट्टामा चोट पनि लागेको छ । उठ्न पनि अर्को व्यक्तिको साहारा चाहिन्छ । धेरै कठिन छ ।

सरकारले मिटर ब्याज ऐन लागू गरेर सिडियो कार्यालय र एसपी कार्यालयलाई भ्रष्टाचार गर्ने ढोका खोलिदिएको छ । पीडितले न्याय पाएको छैन तर कर्मचारीको भकारी भरिएको छ । पीडितलाई नै प्रहरी, सिडियो कार्यालयका कर्मचारीहरु थर्काउँछन् । बैंकहरुको दबाब त्यस्तै छ । साहुहरुको दबाब पनि उस्तै छ ।

अब हामी यहाँ न्याय नपाएर काल खोज्न आएका हौं । हामी यहीँ मर्छौं । तर, यति विश्वास छ, हरिशचन्द्र राजाले सत्यको लडाइँका लागि आफ्नो धन सबै खत्तम गरेर मसानघाटको चौकीदारी गरेका थिए । त्यही पनि सत्यबाट हटेनन् । अन्त्यमा उनैको विजय भएको थियो । त्यस्तै हामी पनि यी ढोंगीहरुको चौकीदारी गरेजस्तै २५ दिन लगाएर पैदल हिँडेर, पीडा सहेर यहाँ आएका छौं । हामी सत्यका लागि लड्न आएका हौं ।

म लड्दा लड्दै मर्न आएको हुँ । अहिले मेरो त्यो जग्गाको मूल्य कठ्ठाको १० लाख पर्छ । कुनै २५ लाखसम्म पर्ने पनि छ । हरेक गाउँमा यस्तो समस्याका कारण उठीबास हुने अवस्था छ । प्रधानमन्त्री प्रचण्ड, न्यायाधीश, सिडियो, एसपी सबैलाई थाहा छ कि– गाउँघरमा चार लाख ऋण लिँदा १६ लाखको कागज गराउँछ ।

अनि म फेरि चुप लागेँ…..

-शेखनुर मोहम्मद, (६७ वर्ष)

मेरो घर गौर नगरपालिका वडा नम्बर ६, रौटहटमा पर्छ । घरमा नातिनातिना, छोराबुहारी छन् । मेरा तीन छोरा, सात छोरी हुन् । सात नाति–नातिना छन् ।
घर बनाइरहेको थिएँ, छाना लगाउन शेख अब्दुल खालिक भन्ने गाउँको महाजनसँग मैले ८० हजार रुपैयाँँ लिएँ । त्यसबेला उसले धितो राख्न भनेको थियो । मैले १४ कठ्ठा जमिन उसको नाममा पारित गरिदिएँ ।

उसले जुनबेला पैसा फिर्ता हुन्छ, त्यहीबेला जमिन फिर्ता गर्ने बताएको थियो । त्यसपछि त्यो जग्गामा उनीहरुले भाडा नतिरी बाली पनि खाइरहेका थिए । मलाई उब्जाउ बढी हुने भएर त्यो जग्गाको लोभ लाग्यो । मैले उसलाई म तपाईंको पैसा दिन्छु, मेरो जग्गा फिर्ता गरिदिनु भनें ।

उसले मेरी बहिनीका नाममा जग्गा छ, ऊ आएपछि फिर्ता गरिदिन्छु भन्यो । उसले जग्गा फिर्ता गर्न आलटाल गरेपछि मैले गाउँमा भलाद्मीहरु बोलाएर छलफल राखेँ । त्यहाँ उसले हामीले जग्गा किनेका हौं भन्यो ।

ऊ साहु महाजन भएकाले हामीले केही गर्न सक्ने कुरा भएन । म चुप लागेर बसेँ । चुनावको समयमा उनीहरुको कान्छो भाइ सद्भावना पार्टीबाट वडामा उठेको थियो । उसलाई मैले न्याय मिलाइदिन आग्रह गरेँ । उसले पनि आश्वासन दियो । त्यो चुनावमा उसले हार्‍यो । उसले पनि चुनाव हारिसकेँ, अब म केही गर्दिनँ भन्यो । अनि म फेरि चुप लागेँ ।

मिटरब्याजीको समस्या समधानका लागि सिडियो कार्यालयमा निवेदन दिन सरकारबाट आह्वान भयो । मैले त्यहाँ निवेदन दिएँ । त्यहाँबाट पनि केही पार लागेन ।

सिडियो कार्यालयले पनि ऊसँग छलफल गराउन सकेन । ऊ कार्यालयमा जाँदै जाँदैन । अहिले म काठमाडौंमा पैदल यात्रा गरेर आएको हुँ । धेरै गाह्रो भएको छ । ढाडमा दुखाइ भइरहेको छ । औषधि खाइरहेको छु ।

म सरकारसँग यो दुःख सुनिदिन आग्रह गर्दछु । छोराहरु छुट्टिइसकेका छन् । म एक्लै छु । अब घरमा कसरी जाने ? छोराछोरीले पनि जग्गा पास गरेर फर्काएनौ भनेर तनाव दिइरहेका छन्, कसरी घर जाने ? भएको जग्गा साहूले लग्यो, अहिले ज्याला मजदुरी गरेर खानुपरेको छ ।

‘श्रीमान र छोरा कतारमा छन्, जग्गा लिलाम हुन लागेको छ’

-समसुन्नी साह (४१ वर्ष)

मेरो घर सुइकटवा– ३, कपिलवस्तु हो । घनश्याम मुराउबाट ५ लाख ५२ हजार हामीले ऋण लियौं । ६ वर्ष अगाडि, ट्याक्टर किन्नका लागि ।

मुराउले पैसाको जरुरत भयो भन्दै टर्चर सुरु गर्‍यो । हामीले दोस्रो साहु खोज्यौं र उसका नाममा जमिन पास गरिदियौं । साँवा र ब्याज गरेर मुराउको ८ लाख रुपैयाँ फर्कायौं । जग्गा दिव्या चौधरीका नाममा गयो ।

दिव्याले पनि टर्चर गरिन् । त्यसपछि विजयलक्ष्मी कुर्मीका नाममा हामीले जमिन फर्कायौं । दुई कित्तामध्ये केही जमिन मेरो नाममा आयो, केही जमिन विजयलक्ष्मीको नाममा गयो ।

पाँच कट्ठामध्ये तीन कट्ठा दश धुरको एउटा कित्ता थियो । अर्को दुई कट्ठा दुई धुरको कित्ता बन्यो । एकै ठाउँको जमिन हो । सर्त थियो, आठ लाखको ।

आठ लाखमा हामीले विजयलक्ष्मीको फरवार्ड बैंकबाट धितो राख्यौं । सात कट्ठा जमिन फेरि राख्यौं र पैसा झिक्यौं । हामीले पैसा फर्कायौं । जमिन एक कित्ता फिर्ता दिने मौखिक शर्तमा वियलक्ष्मीको नाम गरिएको थियो ।

मेरा श्रीमान र दुई छोरा कतारमा छन् । हामीले जमिन दिव्याको नाममा किनेको हो, पैसा किन फर्काउने ? २८ लाख रुपैयाँ नगद दिएको, दुई कट्ठा दुई धुर जमिन विजयालक्ष्मीबाट मलाई चाहियो । तर, साहु भन्छन्, १० लाख देउ, जग्गा लैजाऊ ।

गाउँमा पञ्चायत राखियो । मिटरब्याज कार्यालय, सिडियो कार्यालयमा पनि गयो । किनेको हो भने हामीसँग पैसा किन लिएको ? २८ लाख दिइसकिएको छ, जमिन फिर्ताको लागि अझै १० लाख मागेको छ । अब मलाई न्याय चाहिएको छ ।
बैंकले सबै लिलामी गर्न लागेको छ । ५ लाख ५२ हजारको हिसाब गरेर हाम्रो जग्गा फिर्ता देऊ ।

घरमा बालबच्चा छाडेर न्याय माग्न आएका छौं

-जयन्ती खातुन, (४५ वर्ष)

मेरो घर सर्लाहीको रीतपुर नगरपालिका वडा नम्बर ६ मा पर्छ । मैले डिप्रोस नगरवथी, लालबन्दी बैङ्कबाट पैसा लिएको हुँ । चार लाख रुपैयाँ लिएकोमा दुई वर्षमा त्यो संस्था बन्द भयो । बन्द हुँदा पनि पैसा तिरेको तिर्‍यै भयो । पछि ५ देखि ७ महिना किस्ता नतिर्दा घरमा आएर ३ लाख ३५ हजार रुपैयाँ देऊ, नत्र घर लिलाम गरिदिन्छु भन्यो ।

बच्चाको विवाह गर्न लिएको पैसा । साढे २ वर्षसम्म महिनाको २ हजार, ४ हजार गरेर किस्ता तिर्दा महिनामा १२ हजार किस्ता तिरेका रहेछौँ । जब बन्द खुल्यो, हामीले सबै बचत गरेर ४ लाख लियौँ । ४ लाखमा ४० हजार उसैले लियो । हामीले ३ लाख ६० मात्र निकाल्यौँ । त्यसपछि १०–१० हजार तिर्यौँ । अहिले ५–७ महिनादेखि पैसा तिरेको छैनौँ । अहिले घर लिलामीका लागि चिठी काटिसकेको छ ।

यहाँ अब न्याय पाइन्छ भनेर आएका हौँ । बालबच्चा घरमा छोडेर आएका छौँ, चिन्ता लाग्छ । छिमेकीलाई गाईबस्तु जिम्मा लगाएर बाटोमा हिँडेर आउँदा खुट्टा, जीउ दुख्यो । बाटोमा चिउरा खाएर यहाँ आएका हौँ ।

‘साहुको संरक्षणमा स्थानीय सरकार छ’

-प्रकाश रैदास (३८ वर्ष)

मेरो घर कपिलवस्तुको बारगंगा नगरपालिका वडा नम्बर १० मा पर्छ । मेरो परिवारमा आमा, बुवा श्रीमती र तीन छोरी छन् ।

भैरहवाको रामनन्द बनियाँसँग पाँच रुपैयाँ सयकडा ब्याजमा ३ लाख २५ हजार लिएको थिएँ । त्यो ऋण तिर्दा–तिर्दा ९ लाख ५० हजार बुझाएँ । पैसा तिर्ने क्रममा कपिलवस्तुमा जग्गा धितो राखेँ । घर पनि राखेँ । त्यो दाउमा लगाइदिएँ तैपनि ब्याज र साँवा सकिएन । अझै ९ लाख ९९ हजार पैसा दिए तिम्रो जग्गा फिर्ता गर्छु भन्छ । यो पैसा नदिएसम्म जग्गा फिर्ता नगर्ने भन्छ ।

मिटरब्याजसम्बन्धी ऐन आएपछि निवेदन हालें । घरको समस्याले ऋण लिएको थिएँ ।

साहुले सिडियो कार्यालय अगाडि एउटा ठेलामा पान बेच्छ । त्यो पान पसलेसँग २८६ वटा पूर्जा रहेछ । यत्रो ठूलो मिटरब्याजी साहु । त्यत्रो मान्छेले ऋण प्रवाह गरेर सबैलाई भूमिहीन बनाएको छ । सरकारले उसको सम्पत्ति किन छानविन गरको छैन ? स्थानीय सरकार त्यही पसलेकै संरक्षणमा बसेको छ ।

मैले मिटरब्याजको निवेदन हालेर दुईलाख दिएर जग्गा फिर्ता ल्याएँ । जम्मा ११ लाख २५ हजार बुझाएँ । तर ११ कठ्ठा १९ धुरको मैले पैसा चलाएको होइन । दिदीभाइ दुर्गाप्रसाद बनियाँ र राजमति बनियाँ मिटरब्याजी दलाली हुन् ।

बैंकमा आफ्नो जग्गा राख्ने प्रक्रिया मिलाइरहेको थिएँ । दुर्गाले भन्यो, किन बैंकमा राख्छौ, तिमीलाई चार कठ्ठा यही पिच बाटोमा पास गरिदेऊ । एकछिनका लागि यो जग्गा धितो राख । बैंकमा मूल्याङकन हुँदैन । बाटोको जग्गाको मूल्याङकन राम्रो हुन्छ ।

उसले आफ्नो दिदीको नाममा जग्गा राखायो र ७ लाख रुपैयाँ त्यहाँबाट लिएँ । दिदीको नाममा राखेर त्यो पैसा भाइलाई भोलिपल्टै बुझाइदिएँ । यो चार कठ्ठा मलाई पास गर भन्दा पैसा पाएपछि अलझाउँदै गयो । मालपोतमा गएर ल्याप्चे पनि लगायो । ८ लाख ५० हजार बुझाएँ । राजस्व तिरेर जग्गा पास गरौं भन्दा नागरिकता हराएको छ भन्छ । प्रतिलिपि निकालेर आउ, अर्को दिन पास गरौं भनें । ११ लाख ७५ हजार बुझाएँ ।

अदातलमा अरु मान्छे लगाएर जग्गा रोक्का गराइदियो । पास पनि गरिदिएन । एक वर्षपछि बोलाएर ब्याज र साँवा जोडेर तमसुक बनाइदियो । ७ लाखको एक वर्षमा ११ लाख ७५ पुर्याइदियो । मसँग डबल तमसुक बनाएको छ । २२ लाखको तमसुक बनाएको छ ।

‘साहुले माओवादीलाई खुवाएर आफ्नो पक्षमा पार्‍यो ’

-अर्जुन चौधरी (३६ वर्ष)

मेरो घर चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ मा पर्छ । मैले २०५५ सालमा खेत धितो राखेको थिएँ । हेमलाल महतोले जोतेर खाइरहेका छन् । त्यसमा नक्कली कागज बनाएर एक बिघा ७ कट्टा ७ धुर अदालतबाट लिलाम गरिदिएछ । मैले १८ कट्ठा जमिन सोधभर्ना राखेकोमा उसले त्यसलाई लिलाम गरेर अर्कै जमिन लिलाम गरिदिएछ ।

हेमलाल महतो अहिले सर्लाही मलंवाको लेखन्दास हो । उसले अहिले अरूलाई पनि ठगिरहेको छ । सम्पत्ति छानबिन गर्दा उसले अथाह कमाइसकेको छ ।

सोधभर्ना लिँदा यो मान्छे खराब हो भनेर थाहा थियो । किनकि, हामी पैसा तिर्न जाँदा उसले बाहना बनाएर मेरो नागरिकता छैन भन्दै जमिन फुकुवा गरेन । त्यतिबेला संकटकालमा उसले माओवादीलाई खुवाएर आफ्नो पक्षमा पार्‍यो । त्योबेला माओवादीका नेतामा लक्की चौधरी थिए ।

महतोले मेरो जग्गा आफ्नो नाममा गरेर अहिलेसम्म जोतखन गरेर खाइरहेको छ । उनीहरूको बहुमत बढी छ हाम्रो कुरा कसैले सुन्दैनन् । यहाँ बस्दा पनि खाना खाँदा दिनमा ३–४ सय खर्च भएको छ । खल्तीको पैसाले कति धान्ने हो, थाहा छैन कहिले पानी खाएर, कहिले सुख्खा त भोकै बस्नुपर्छ । जबसम्म न्याय पाउँदैनौँ, तबसम्म बस्छौँ ।

हामी आउँदा बाटोमा कसैले सहयोग गरेनन् । यो लडाइँमा जबसम्म सरकारले न्याय दिँदैन, तबसम्म हामी यसरी नै बसिरहन्छौँ । हाम्रो जग्गा फिर्ता नभएसम्म लडाइँ जारी रहन्छ ।

‘२० जना ज्येष्ठ नागरिक र ५ जना बालबच्चासहित आएका छौं’

-निर्ग नवीन, प्रवक्ता, मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समिति

हामी २८ वटा जिल्लाका कार्यसमितिबाट निर्णय गरेरै काठमाडौं आएका हौं । तर, यहाँ ४२–४३ जिल्लाका पीडितहरु छन् । अहिले हामी एक हजारभन्दा बढी छौं । आज (आइतबार) हामी २७ औं दिनमा छौं । माघ १६ गतेदेखि पूर्व मेची र पश्चिम महाकालीबाट एकसाथ यात्रा सुरु गरेका हौं ।

हिँडेर काठमाडौं आउने क्रममा धेरैजना बिमारी हुनुभयो । कत्तिको खुट्टामा फोका उठेका छन् । बाटोमा पानीले भिज्नुपर्‍यो । सार्वजनिक पाटी र खुला आकाशमुनि रात बिताउनुपर्‍यो । तर, बिरामी भएर पनि यात्रा छोडेर कोही फर्कनुभएको छैन । उपचार गर्दै आयौं ।

यहाँ २० जनाभन्दा बढी ६० वर्षमाथिका महिला र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु पनि हुनुहुन्छ । चार–पाँचजना बच्चा चार वर्षमुनिका छन् । समग्रमा महिलाको उपस्थिति बाक्लो छ । त्यसमाथि पनि ४० कटेका महिला बढी छन् ।

हाम्रो यो यात्राको खर्च यहाँ आएका सहयोगी साथीहरु र संघर्ष समितिले जिल्ला जिल्लाबाट ल्याएको चामल, दालबाट पूर्ति भइरहेको छ । काठमाडौंको बसाइ एकदमै असहज छ । खुला आकाशमुनिको बसाइ छ ।

हामीलाई राति चाहिँ भृकुटीमण्डपमा राखिएको छ । राति १० बजेसम्म बस्दा पनि यो हल खोलिएन । यो हलमा संघर्ष समितिले ताला तोडेर भित्र छिरेका हौं । यहाँ शौचालयको व्यवस्था राम्रो छैन । पानी छैन । यत्रो समूह भएपछि खानाको व्यवस्था नराम्रो त हुने नै भयो ।

हामीलाई भेट्न राजनीतिक पार्टीका केही व्यक्तिहरु आए । उनीहरु आउने क्रम जारी छ । पत्रकार साथीहरु आउनुभएको छ । उहाँहरु पनि हाम्रो माग र आन्दोलनमा समर्थन जनाउने र पहल गर्छौं भनेर जानुहुन्छ ।

हाम्रो आन्दोलनमा जनताको उत्कृष्ट सहभागिता छ । पीडितहरु दिनानुदिन थपिइरहनुभएको छ । आन्दोलनका रुपमा हेर्दा हामीले ठूलो दबाब सिर्जना गर्न सफल भएका छौं । परिणामको विषय त हाम्रो हातमा छैन ।

हामीले जसका लागि आन्दोलन गरेका छौं, हामी यो देशका सबैभन्दा उत्पीडनमा परेका मान्छे हौं । किसान र मजदुर हौं । हामी सबैभन्दा शान्तिप्रिय मानिस हौं । यो वर्ग भनेको आफ्नो पसिना बाहेक अरुको एक पैसा नखाने हो । त्यसैले यो आन्दोलन कुनै पनि खालको उत्तेजित र असंवेदनशील हुँदैन । बरु हामी आफ्नै शरीरलाई पीडा दिने काम गर्छौं ।

यसरी नै हामी यो राज्यलाई पगालेरै छाड्छौं । हामीसँग ठूलो नैतिक बल छ । हामी आफ्नै पसिनामा बाँच्ने मान्छे हौं । हाम्रो आन्दोलन सशक्त बनाउन हाम्रो नैतिक बल नै बलियो छ । यो समूहको नैतिक बलसँगै आतंकित छ यो राज्य ।

हामीलाई गाउँ फर्कन हतार छ, तर हाम्रो माग पूरा नभएसम्म यो आन्दोलन जारी रहनेछ । गृह मन्त्रालयले एउटा अनौपचारिक पत्र पठाएको छ । त्यो चिठीलाई हामीले अस्वीकार गरेका छौं । त्यो अव्यवहारिक छ । त्यसपछि उसले दोस्रो पत्र पठाएपछि हामी वार्तामा बस्न तयार भएका छौं ।

यो पनि-

गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार

थप तस्बिरहरु-

 

 

तस्बिरहरु- चिरायु शाक्य

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : १४ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ३ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख ३ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख ३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३ गते सोमबार तदनुसार

मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या

झापा – सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि

बिस्का नखः जात्राको अवसरमा टोखामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४