मिथिला महाकुम्भ माध्यामिकी परिक्रमा आज सम्पन्न हुँदै « Khabarhub

मिथिला महाकुम्भ माध्यामिकी परिक्रमा आज सम्पन्न हुँदै


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– यसवर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो ।

मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तरगृह परिक्रमा हो ।

अन्तिम अर्थात् १५औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६औँ दिन बिहान अन्तरगृह अर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ ।

मध्यमा यात्रामा यात्रीले नेपाल भारतका विभिन्न तीर्थस्थलमा १५ रात्रि बास गरेका छन् । नेपालतर्फ धनुषामा ६, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रातको बास बस्ने परम्परा छ । फागुन औँसीका दिन सुरु भएको मध्यमा यात्रा आज टुङ्गिँदै छ ।

जनकपुरधामस्थित राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तरगृह अर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ ।

मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६औँ दिन बिहान यो यात्रा पुरा गर्छन् । घरव्यवहारको कामले समय निकाल्न नसकेर मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तरगृहमा सहभागी हुन्छन् । मध्याह्नपूर्व सम्पन्न गरिने यस यात्रामा एक लाखभन्दा बढीको सहभागिता रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष)ले जनाएको छ ।

अन्तरगृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दु मैथिल जनविश्वास छ । त्रेता युगमा श्री राम र जानकीले जनकपुरधाम वरपर विहार गर्नुभएको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ ।

मध्यमा र आजको अन्तरगृह परिक्रमाका सहभागीले आज बिहानको यात्राकै क्रममा गएराति होलीका दहन गरिएको खरानी उडाउँदै फागु खेल्छन् ।

मिथिलामा परिक्रमाको १५औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने (आगो लगाउने) र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ । यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ । मिथिलामा धुरा उडाएपछि फागु खेल्ने परम्परा छ ।

धुरा उडाउने परम्पराभित्र दुई चलन छन् । एकथरि धुरा उडाएपछि फागु खेल्न थाल्छन् भने मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तरगृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ ।

यसअनुसार मिथिलामा आज र भोलि दुवै दिन होरी (होली, फागु) खेलिने साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउँछन् । राक्षसी वा दुष्ट प्रवृत्तिविरुद्ध सत्य र न्याय स्थापित भएको खुसियालीमा फागु पर्व मनाइने परम्परा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : ३१ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा