बीपी प्रतिष्ठानमा १४ वर्षपछि खुल्यो बढुवाको जाम, चिकित्सक पलायन रोकिने विश्वास  « Khabarhub

बीपी प्रतिष्ठानमा १४ वर्षपछि खुल्यो बढुवाको जाम, चिकित्सक पलायन रोकिने विश्वास 



सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक शिक्षक र कर्मचारीको पदोन्नति गरेको छ । बीपी प्रतिष्ठानमा प्रशासनिक कर्मचारीको १४ र चिकित्सक शिक्षक तर्फ ६ वर्षपछि पदोन्नति गरेको हो ।

भ्रष्टाचार काण्ड, अख्तियारको छापा, मेडिकल उपकरण र भौतिक पूर्वाधार निर्माणमा ठेकेदार कम्पनीहरूको लापरवाही जस्ता बेथितिका कारण १४ वर्षअघि जुन पदमा नियुक्त भएका थिए सोही पदमा कर्मचारीहरू कार्यरत थिए । यसैगरी चिकित्सक शिक्षकहरू ६ वर्षदेखि पुरानै पदमा कार्यरत थिए । जागिरमा भविष्य नदेखेपछि चिकित्सकहरूको पलायन क्रम बढेको थियो ।    

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले औपचारिक जानकारी दिँदै  खवरहवलाई भने, ‘बीपी प्रतिष्ठानलाई चलायमान बनाउन लामो समयदेखि योगदान दिने चिकित्सक शिक्षक र कर्मचारीले पदोन्नतिका लागि दबाब दिन आन्दोलन चलाएका थिए । उनीहरूको जायज माग सम्बोधन गरी पदोन्नति गरिएको छ ।’ 

 बीपी प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीको बढुवा ०७९ पुस २० र माघ २५ गते प्रकाशित विज्ञापन अनुसार गरिएको हो । उनकाअनुसार  शिक्षक तथा कर्मचारीहरूको पदोन्नति प्रक्रिया मूल्याङ्कन तथा अन्तर्वार्ताबाट आन्तरिक एक तह बढुवा र स्तर वृद्धि गरिएको हो । 

उनले भने, ‘आवेदन दिनेहरू मध्ये चिकित्सक शिक्षक तर्फ स्थायी र करार गरी १ सय ९५ जनाको एक तह बढुवा भएको छ । यसैगरी प्रशासनिक कर्मचारी तर्फ स्थायी र पफर्मेन्स करार गरी ४ सय ९ जनाको एक तह र ३ सय ९ जनाको स्तर वृद्धि गरिएको छ ।’ 

चिकित्सक र कर्मचारीहरूले प्रा.डा. प्रल्हाद कार्की कायममुकायम उपकुलपति भएको बेला गत माघ फागुन ताका २७ दिन लगातार भद्र अवज्ञा गरी सबै जिम्मेवारी बहिष्कार गरेर पठन पाठन र परीक्षा ठप्प बनाएका थिए । निलम्बनमा परेका डा गिरी सर्वोच्च अदालतबाट मुद्दा जितेर आएपछि तत्काल रोकिएको बढुवा प्रकृया सुरु गरेका थिए । करिब डेढ वर्षअघि उनैले शुरु गरेको बढुवा प्रकृयालाई बीचमा आएका कायम मुकायम उपकुलपति प्रा.डा. कार्कीले एक्कासि रोकेपछि चिकित्सक र कर्मचारीहरू आन्दोलित भएका थिए ।  

 पदोन्नतिका लागि कर्मचारीहरूले एक दशक र चिकित्सकहरूले ७ वर्षदेखि पटक पटक आन्दोलन गर्दै आएका थिए । आफूले सिकाएका विद्यार्थीहरू अन्य संस्थामा प्राध्यापक भइसक्दा प्रतिष्ठानका सहायक, सह र अतिरिक्त पदमा नियुक्त चिकित्सक शिक्षकहरू भने पुरानै तहमा रहेका थिए ।

हालै प्राध्यापक भएका एक चिकित्सकले भने, ‘कस्तो विडम्बना थियो भने पदोन्नति प्रक्रियामा आफूले पढाएको विद्यार्थीलाई अन्तर्वार्ता दिनु परेको अवस्थासम्म आएको थियो । किनकी ऊ त बेलैमा प्राध्यापक भइसकेको थियो । पुरानै तहका चिकित्सक शिक्षकहरूले उसको अगाडि अन्तर्वार्ता दिनुपर्ने अवस्था सृजना भएको थियो । तर ढिलै भएपनि पदोन्नति भएकोमा हामी खुशी छौं ।’ 

त्यसो त प्रतिष्ठानमा चिकित्सक शिक्षकहरूको पदोन्नति नहुँदा वृत्ति विकासमा मात्र नभएर विद्यार्थी भर्ना कोटामा समेत असर परेको थियो । प्राध्यापकको सङ्ख्या अनुसार नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्नाको कोटा दिने भएकाले कतिपय विभागमा प्राध्यापकविहीन हुँदा सीमित सङ्ख्यामा मात्र विद्यार्थी भर्ना हुने गरेको थियो । 

 सामान्यतया बीपी प्रतिष्ठानमा एमडी-एमएस र डेन्टलतर्फ एमडीएस पास गरेपछि एक वर्षसम्म अनिवार्य सिनियर रेजिडेन्ट (एसआर) तहमा काम गर्नु पर्छ । एकवर्ष एसआर भइसकेपछि मात्र सहायक प्राध्यापक हुन योग्य बन्छ ।  उक्त पदमा चारवर्ष अनुभव बटुलेपछि सहप्राध्यापकको प्रतिस्पर्धामा जान सक्छ । सहप्राध्यापक भएको तीन वर्षमा अतिरिक्त र अतिरिक्त भएर थप तीन वर्ष सेवा गरेपछि प्राध्यापकमा बढुवाको ढोका खुल्छ । प्रतिष्ठानमा सात बर्षयता प्रशासनिकदेखि कर्मचारीका वृत्ति विकासका काम नियमित हुन सकेका छैनन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १ : ४२ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित