समाचार

उपेन्द्रको जोड- पहिचानका आधारमा राज्य पुनर्संरचना, जनतालाई आत्मनिर्णयको अधिकार

By खबरहब

August 25, 2024

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनिएका दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘जनतासँग जसपा नेपाल, अभियान्ता अभिमुखीकरण कार्यक्रम’को उद्घाटन गर्दै अध्यक्ष यादवले यसो भनेका हुन् । उनले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थोपार्ने काममा ठूला दल लागेको बताए ।

उनले ठूला भनिएका दलहरूकै कारण अस्थिरता पैदा भएको बताए । राजनीतिक स्थिरताको बहानामा संविधान संशोधनमार्फत् समानुपातिक समावेशी हटाउन खोजिए स्वीकार्य नहुने उनले चेतावनी दिए ।

‘अहिलेको प्रणालीलाई बलियो बनाउन पहिचान र सामर्थ्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्छ, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ । जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्छ’, उनले भने ।

यादवले ठूला दलहरूबाट अब मुलुकको अवस्था सुधार नहुने भएकाले आफूहरू बलियो भएर आउनुपर्नेमा जोड दिए । यसैका लागि जनतालाई संगठित गर्न चार महिने ‘जनतासँग जसपा नेपाल, अभियान’ चलाएको उनले जानकारी दिए । उक्त अभियानपछि मुलुक जोगाउन सडक संघर्षमा जानैपर्ने उनको निचोड छ ।