अखिल क्रान्तिकारीको अध्यक्षमा दीपेश र नरेशसहित १४ दाबेदार, कसले पाउलान् प्रचण्डको साथ ? | Khabarhub Khabarhub

अखिल क्रान्तिकारीको अध्यक्षमा दीपेश र नरेशसहित १४ दाबेदार, कसले पाउलान् प्रचण्डको साथ ?

विवादरहित नेतृत्व आउनुपर्ने पूर्वअध्यक्षहरूको सुझाव



काठमाडौं– नेकपा (माओवादी केन्द्र)निकट  विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुन लागेको छ । नयाँ नेतृत्वका लागि हुन लागेको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा १४ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।

क्रान्तिकारीको इतिहासमा पहिलोपटक महिला अध्यक्ष बनेकी पञ्चा सिंहको कार्यकाल सकिएपछि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सम्मेलन हुन लागेको हो । पञ्चालाई २०७८ असोज २७ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसम्मत अध्यक्ष बनाएका थिए।

तर, यसपटक प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चुनिने दाबी सिंहको छ । उनका अनुसार १० गतेबाट काठमाडौंमा सम्मेलन सुरु हुँदैछ । ११ गते विधान प्रस्ताव पारित गरी १२ गते निर्वाचन गर्ने तयारी छ।

सम्मेलनमा देशभरबाट २३ सय १३ विद्यार्थी उपस्थित हुँदैछन् । अखिल क्रान्तिकारीमा आठ प्रदेश कमिटी छन् । हालसम्म ६ प्रदेश कमिटीको निर्वाचन भइसकेको प्रवक्ता जीपी मैनाली बताउँछन् ।

मैनालीका अनुसार मधेश प्रदेश र उपत्यका विशेषमा सम्मेलन हुन बाँकी छ । छुटेका दुई प्रदेशहरूमा पार्टीको राष्ट्रिय सम्मेलनपछि मात्रै सम्मेलन गर्ने तयारी छ ।

‘दुईवटा प्रदेशमा महाधिवेशन हुन पाएको छैन, राष्ट्रिय सम्मेलनपछि हामी ती प्रदेशमा पनि सम्मेलन सक्नेछौँ’, उनले भने, ‘केही प्राविधिक कारणले दुई प्रदेशमा महाधिवेशन नभएको हो । नयाँ नेतृत्वले त्यहाँ पनि महाधिवेशन गर्नेछ ।’

मैनालीले यसो भने पनि पार्टीमा कायम गुटगत विवादका कारण दुई प्रदेशमा महाधिवेशन हुन नसकेको नेताहरू बताउँछन् ।

अध्यक्षमा १४ जनाको दाबी

अखिल क्रान्तिकारीमा अहिले १९ जना उपाध्यक्ष छन्। तीमध्ये १३ जनाले आगामी कार्यकालका लागि अध्यक्षमा दाबेदारी गरेका हुन् ।

सङ्गठनका महासचिव एवम् पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पनि अध्यक्ष हुने तयारीमा छन् । उनी सहकारी र सुन तस्करी प्रकरणमा प्रकरणमा मुछिएका व्यक्ति हुन् ।

यसअघिको कार्यकालका लागि पनि दीपेशले अध्यक्षमा दाबी गरेका थिए । त्यसबेला माओवादी केन्द्र साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विभाजित भएको कारण देखाउँदै प्रचण्डले सिंहलाई अध्यक्ष बनाएका थिए । यो पटक ‘जसरी पनि अध्यक्ष बन्नेगरी’ दीपेशले तयारी गरिरहेको उनी निकटहरू बताउँछन्‌ ।

सिंहपछि पुन नै अध्यक्ष हुन समझदारी नभएकाले अन्य नेता पनि नेतृत्वमा आउनसक्ने नेताहरू बताउँछन् । पुनलाई अध्यक्ष बनाउन माओवादी उपमहासचिव वर्षमान पुन, नेतृ ओनसरी घर्ती र उनका बुवा नन्दबहादुर पुनले नै प्रचण्डलाई आग्रह गरिरहेका बताइएको छ ।

अध्यक्षका अन्य दाबेदारमा नरेश रेग्मी पनि हुन् । उनी संगठनको प्रशिक्षणमा अग्रसर नेता हुन् । उनलाई महासचिव देव गुरुङ, उपाध्यक्ष पम्फा भुसाल, सचिव राम कार्की, नेतृ रेखा शर्मा र माधव सापकोटा लगायतको साथ छ ।

पार्टी अध्यक्ष प्रचण्डले रेग्मीलाई साथ दिनसक्ने केही नेताहरू दाबी गर्छन् । तर, प्रचण्डले यसबारे मुख खोलेका छैनन् ।

यस्तै, अर्का उपाध्यक्ष पवन कार्की पनि अध्यक्षका दाबेदार हुन् । उनी सिंह अध्यक्ष हुँदा समानान्तर गतिविधिमा सक्रिय नेता हुन् । उनको पनि सम्भावना बलियो छ । उनी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन् ।

वरिष्ठ उपाध्यक्ष इन्द्र भुसाल, उपाध्यक्षहरू नारायण खनाल, मदन भूल, क्षितिज सापकोटा, प्रवीणा अधिकारी, तुकमान महरा र केशव रावल लगायत पनि अध्यक्षका दाबेदार छन् ।

उनीहरूमध्ये मदन भूललाई जनार्दन शर्माले पनि साथ दिने चर्चा छ । यस्तै, वर्तमान अध्यक्ष सिंह र पार्टी सचिव देवेन्द्र पौडेलको समर्थन पनि भुललाई नै रहने चर्चा छ ।

उपाध्यक्ष प्रविणा अधिकारी अर्की दाबेदार हुन् । उनलाई पनि अघि बढाउन केही नेताहरू तयार देखिन्छन् ।

प्रचण्डको साथ कता ?

दीपेश पुनका पक्षमा मातृ पार्टीका अध्यक्ष प्रचण्ड खुल्दा विवाद हुने डरले यतिखेर माओवादी केन्द्रको संस्थापनलाई सताएको छ । प्रचण्डले नरेश रेग्मी या पवन कार्कीलाई सहयोग गर्ने सम्भावना रहेको माओवादीका एक पदाधिकारी बताउँछन् ।

‘रेग्मीलाई उम्मेदवार बनाउन महासचिव गुरुङ, उपमहासचिव शर्मा र अन्य उपाध्यक्षहरू पनि तयार हुनुहुन्छ’, पार्टीका एक नेताले भने, ‘अहिले दीपेश विवादमा रहेकाले नेताहरूले खुलेर साथ दिनुहुन्न होला ।’

माओवादीका अर्का एक पदाधिकारीले प्रचण्डले पुनलाई सहयोग गरे पार्टीमै विद्रोह हुने चेतावनी दिइसकेका छन् ।

यता; अध्यक्ष सिंह चार-पाँचजना मात्रै अध्यक्षका लागि निर्वाचनमा जाने विश्वास व्यक्त गर्छिन् । तर, उनी सहमतिको सम्भावना कम रहेको बताउँछिन् ।

‘विवादरहित व्यक्ति आउनुपर्छ’

क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ पार्टी र सङ्गठन अझै खतरामा जाने संकेत देखिएकाले जो आए पनि विवादरहित र वैचारिक हिसाबले संगठनलाई बलियो बनाउने नेतृत्व आउनुपर्ने बताउँछन्‌।

‘यो बेला विद्यार्थी आन्दोलन कमजोर भएको भएको छ । पार्टीलाई मजबुत र चलायमान बनाउन विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण  हुन्छ,’ तामाङले भने, ‘विद्यार्थी संगठनमा विवादरहित, क्षमतावान्, प्रशिक्षण दिन सक्ने योग्य र अध्ययनशील मान्छे आउनुपर्छ ।’

संगठनका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले विद्यार्थीहरूले भोटमात्रै हाल्ने भन्दा पनि आफ्ना कुराहरू राखिदिने इमानदार, क्षमतावान् र प्रगतिशील नयाँ विचारले खारिएको व्यक्तिलाई चुन्नुपर्ने बताए । नेतृत्व क्षमताले भरिपूर्ण अध्ययनशील मान्छेलाई जिताउनुपर्ने पक्षमा विद्यार्थीहरू उभिने उनको विश्वास छ ।

उनले अहिलेका विद्यार्थीहरू एडभान्स र आफैँमा अध्ययनशील रहेकाले सबै हिसाबले क्लिन चिट भएको मान्छेलाई नै नेता बनाउने दाबी गरे ।

‘यो या त्यो व्यक्ति भनेर म जान्नँ ,तर विद्यार्थीले नेता चुन्दा विचार र योजनामा स्पष्ट, सबैलाई समेट्ने क्षमता भएको व्यक्ति हुनुपर्छ,’ न्यौपानेले भने, ‘नयाँ विचार र विवादमा कतै पनि प्रश्न नउठेको व्यक्ति विद्यार्थीले चुन्छन् भन्नेमा ढुक्क छु ।’

उमेरहद विधानमा आउला ?

नेताहरूले विद्यार्थी संगठनमा उमेरहद लागु गर्ने आवाज उठाइरहेका छन्। तर, यही महाधिवेशनमा उमेर हदको कुरा लागू हुने सम्भावना न्यून रहेको पूर्व अध्यक्ष न्यौपाने दाबी गर्छन् ।

‘तत्काल उमेर हद लागू गर्न विद्यार्थीहरूको उमेर कति हुनुपर्ने हो भन्ने विषयमा पनि चर्चा र छलफल हुन बाँकी नै छ,’ न्यौपानेले भने, ‘२८, ३२ र ३५ मा पनि कुन चाहिँ उमेरहद कायम गर्ने भन्ने विषय छलफल होला ।’

अर्का पूर्वअध्यक्ष रञ्जित तामाङ गैरविद्यार्थी आउने डर र राजनीतिक स्वार्थ हुने भएकाले उमेरहद लागू हुनुपर्ने विषय विधानमा समावेश गर्ने दाबी गर्छन् ।

‘धेरै साथीहरूले उमेरहदको कुरा उठाउनुभएको छ । ११ गते विधान बनाउने बेला यो कुरा उठ्ला । हामीजस्ता युवाले पनि उमेर हद कायम हुनुपर्छ भन्ने कुरा उठाएका छौँ’, तामाङले भने, ‘विभिन्न प्रसङ्ग उठ्लान्, तर सबैको निर्णयअनुसार निर्वाचन गर्नुपर्ने भएकाले उमेर हद यो पटक नै कायम नहुन सक्छ, हामी प्रयत्न गर्नेछौँ ।’

वर्तमान अध्यक्ष सिंह ११ गते संगठनको विधान बनाउँदा उमेरहदको विषय एजेन्डामा रहेकाले व्यापक छलफल हुने दाबी गर्छिन् । उनले खबरहबलाई भनिन्, ‘विधानमा उमेर हदको विषय उठ्छ । तर कति र कहिलेबाट हुने भन्नेमा हलको निर्णय नै कुर्नुपर्ने हुन्छ ।’

अहिले कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा मात्रै उमेरहद लागू भएको छ। एमालेनिकट अनेरास्ववियु र नेकपा (एकीकृत समाजवादी)को अनेरास्यवियुमा पनि उमेरहद लागू भएको छैन ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : १३ बजे

दाङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

देउखुरी – दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने

क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश

चितवन खाद्यान्नमा आत्मनिर्भर

चितवन– जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन

अवकाशमा जानुअघि प्रधानन्यायाधीशले न्यायाधीश सिफारिस गर्न खोजेपछि बारको विरोध

काठमाडौं– अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ न्यायाधीश सिफारिस

साफ यू-१७ च्याम्पियनसिप : नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं– साफ यू-१७ च्याम्पियनसिपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज