अन्तर्राष्ट्रिय

युक्रेनको खार्किभमा रुसको ठूलो आक्रमण, कम्तीमा ३ जना मारिए

By खबरहब

September 25, 2024

 

काठमाडौं-रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा ठूलो आक्रमण गरेको छ । स्थानीय अधिकारीका अनुसार यी आक्रमणमा तीनजनाको मृत्यु भएको छ ।

उक्त घटनामा ३१ जना घाइते भएका छन् । अधिकारीहरूले मंगलबारबाट सुरु भएको आक्रमण गाइडेड ग्लाइड बमहरूद्वारा गरिएको बताएका छन् । चार जिल्लामा एकसाथ आक्रमण भएको हो ।

युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् । जेलेन्स्कीले यो आक्रमणको लक्ष्य युक्रेनी नागरिक रहेको जिकिर गरेका छन् ।

युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ । रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ ।

मंगलबारको हमलापछि जालेन्स्कीले रुसी आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्बिर सेयर गर्दै विज्ञप्ति जारी गरेका थिए।