समाचार

गृहमन्त्रीले भने- अध्यागमन देशको ऐना हो, कर्मचारीको व्यवहार सुधारौँ

By खबरहब

September 25, 2024

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको काम र कर्मचारीको व्यवहारलाई लिएर बाहिर नकरात्मक टिप्पणी हुने गरेको बताएका  छन्। उनले अध्यागमनको ‘इमेज’ सुधार्न आवश्यक रहेको पनि बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

अध्यागमनबारे आमजनतामा राम्रो बुझाई नभएको भन्दै अवाञ्छनीय गतिविधि भए कुनै हालतमा स्वीकार्य हुने पनि लेखकले बताएका छन् ।

विमानस्थलमा कार्यरत सरकारका अन्य संयन्त्रसँग समन्वय गरेर काम गर्न पनि उनले अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो’, उनले भने, ‘आउने मान्छेले नेपाल हेर्ने यहीँबाट हो। जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’

गृहमन्त्री लेखकले अध्यागमनको काम सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको बताएका छन् ।

त्यसक्रममा अध्यागमका कर्मचारीले कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव भएको बताए । त्यसैगरि कार्यालयका लागि भौतिक संरचना सुधार र कर्मचारीलाई समयक्रम अनुसार प्रशिक्षण आवश्यक रहेको उनीहरूले बताएका थिए ।

अध्यागमन कार्यालय अनुगमनमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडीसमेत विमानस्थल पुगेका थिए ।