एउटा कलाकारले ढुंगामा कला देख्छ । ढुंगामा वेपर्वाह छिनो चलाउँछ । घनले पिट्छ । जब ढुंगा या ढलोटले देवताको आकार लिन्छ, त्यही कलाकारले आफूले बनाएको कलामा आदरपूर्वक दण्डवत् टक्र्याउँछ । भनिन्छ– जुन ढुंगाले छिनोका प्रहार खप्छ, त्यो पूजायोग्य हुन्छ । प्रहार खप्न नसकेर फुट्ने ढुंगा मानिसको खुट्टा पुछ्ने ठाउँमा खुम्चिन्छ ।
कलाकार कमलेश लिम्बू (डिएगो)को साङ्गोपाङ्गो कलायात्रा यस्तै फन्को मारिरहेको छ । चाडपर्वले घेरिँदै जाँदा आर्ट स्टुडियोमा उनी ढुंगामा भगवान लक्ष्मीको आकृति उतार्न व्यस्त छन् । अबको पाँच दिनमा यो अर्डर हात लगाउनुपर्ने भएकाले पनि उनको दैनिकी व्यस्ततामा बद्लिएको छ । छिनो र हथौडीको सहारामा ढुंगामा आकृति उतारिरहेका कलाकार कमलेशलाई शिलालेख र ताम्रपत्र लेख्नुपर्ने कामको पनि उतिकै चाप छ ।
जुनसुकै समय पनि ढुंगा र धातुमा अनेकौं आकृति उतार्न तल्लिन रहने मोरङ मधुमल्लाका डिएगो नामले परिचित कलाकार कमलेश कला क्षेत्रमा लागेको तीन दशक नाघ्यो । त्यसयता उनले सायदै फुर्सदको सास फेर्न पाएका छन् । उनको दैनिकी सधैँ भीमकाय ढुंगामा जीवित, दिवंगत व्यक्तिहरूको आकृति उतार्नमै बित्ने गरेको छ ।
मिक्लाजुङ गाउँपालिका ७ मधुमल्ला बजारमा दाजुभाइ आर्ट स्टुडियो चलाइरहेका कमलेशले तीन दशकको दौरानमा अनेक उतारचढाव झेले पनि उनको सपनाको उडान भने निरन्तर जारी छ । विशेषतः आफूलाई मूर्तिकारको रूपमा चिनाउने कमलेशको सालिक, मूर्ति निर्माण, शिलालेख र ताम्रपत्र लेखनमा विशेष दक्खल छ । लाहुरे परिवारमा हुर्किए पनि पारिवारिक विरासत नपछ्याएका कमलेशले कलाक्षेत्रमा होमिएर निर्जीव पत्थर र धातुमा जीवन भरेर आफ्नो कलालाई देशदेशावर पुर्याइरहेका छन् ।
कमलेशका बुवा बुद्धिबहादुर चेम्जोङ भारतीय सेनामा कार्यरत थिए । उनी पनि एक पटक बुवासँग ‘पल्टन’को अवस्था हेर्न गए । त्यहाँ सेनाको दुःख देखेपछि उनलाई लाहुरे हुने रहर कहिल्यै जागेन । बरु सोही ठाउँबाट उनमा नेपालमै केही गर्नुपर्छ भन्ने सोच पलायो । बाल्यकालदेखि हरेक चिज हेरेर नक्कल उतार्ने खुबी उनमा थियो ।
कलाप्रति रुचि राख्ने उनी स्कुलमा हुने प्रतियोगितामा पनि उत्कृष्ट चित्र बनाएर पुरस्कृत हुन्थे । त्यसले उनलाई कलाप्रति लगाव बढाउँदै लग्यो । पछि उनको रुचि बिस्तार हुँदै मूर्तिकलातर्फ मोडिएको थियो।
कमलेश भन्छन्,– ‘बुवा इन्डियन लाहुरे भए पनि मभित्र लाहुरे हुने सोच कहिल्यै आएन । बच्चैदेखि कलाकृति तर्फ मन मोडियो, अहिले आफूले रोजेको पेशामा संलग्न छु । अब जीवनभर यसैमा रम्ने योजना छ ।’
बाल्यकालदेखि नै चित्र बनाउने लगाव उनमा थियो । चित्र कोर्दाकोर्दै ब्लेडको माध्यमबाट कोर्न शुरु गरेका कमलेशले रेतीको छिनो बनाएर बाल्यकालमा ढुंगामा आकृति भर्न आरम्भ गरेका थिए । काम गर्दै गएपछि कलाका विषयमा थप अध्ययन अघि बढाउनुपर्ने खाँचो देखेपछि उनी काठमाडौं हानिए ।
त्यहाँ डायमण्डको टुल्सहरु सिक्ने अवसर उनलाई मिलेको थियो । यद्यपि ४० बर्षीय कमलेश यस क्षेत्रमा आफ्नो कुनै गुरु भने नभएको बताउँछन् । स्वअध्ययन गरेर आफूलाई कला क्षेत्रमा तिखारेको बताउने उनी यस क्षेत्रमा लाग्दै गर्दा प्रेरणाका स्रोत व्यक्तिहरू भने प्रशस्तै रहेको अनुभव सुनाउँछन् ।
‘कला क्षेत्रमा लागे पनि गुरु राखेर सीप सिकेको छैन’ कमलेश भन्छन्,– ‘मेरो जीवन कालमा ज्ञान, सीपका लागि कुनै त्यस्तो एकडेमीमा नै भर्ना भएर ज्ञान लिएको भने छैन । कडा मेहनत र लगनशीलताकै कारण आज म यो स्थान आउन सफल भएँ जस्तो लाग्छ ।’
मोफसलमा रहेर पनि स्वअध्ययन गरेर कला क्षेत्रमा सक्रिय कमलेशले आफ्नै ठाउँ मधुमल्ला बजारलाई कर्मक्षेत्र बनाउँदै आएका छन् । सानो र सीमित बजार क्षेत्रमा रहेर मूर्तिकला संलग्न हुँदै आएका कमलेश पछिल्लो समय कोशी प्रदेशमा गनिएका–चिनिएका मूर्तिकारका रूपमा चिरपरिचित छन् ।
कमलेशले किरात धर्मगुरु फाल्गुनन्दको १२ फुट अग्लो पूर्णकदको सालिकदेखि विभिन्न प्रसिद्धि कमाएका व्यक्तिहरूको कलाकृति उतारेका छन् । उनले ७ वर्षअघि नै ढुंगामा फल्गुनन्दको पूर्णकदको सालिक बनाएका थिए । सालिक तयार पार्न चार महिना लागेको थियो । सालिक बनाएबापत कमलेशले १२ लाख पारिश्रमिक लिएका थिए । त्यसपछि उनले साना ठूला गरी फल्गुनन्दका पाँच वटा अरु सालिक तयार गरेका छन् ।
पूर्वका ठूला इतिहासकार इमानसिं चेम्जोङ, बलभद्र न्यौपानेदेखि विभिन्न व्यक्तिको सालिक, देवीदेउताको मूर्ति, ठाउँ विशेषका आकृति उतारेका कमलेशले कोरेका सयौं सालिक, मूर्ति र चित्र अहिले देशका विभिन्न शहरका मन्दिर, पार्क र संग्रहालयमा देख्न सकिन्छ ।
ढुंगामा आकृति उतार्न एक हप्तादेखि चार महिनासम्म्म लाग्ने गरेको कमलेश बताउँछन् । यसबापत न्यूनतम २५ हजारदेखि १२ लाखसम्म पारिश्रमिक लिएको उदाहरण छ । आफू सिर्जना र कलाकारिताकै लागि जन्मिएको कमलेशको स्वमूल्यांकन छ ।
मूर्तिकार कमलेशका अनुसार पछिल्ला वर्ष आट्र्स व्यावसायिक हुँदै गइरहेको छ । मूर्तिकलामा धैर्य र लगनशीलता भएको अवस्थामा मूर्तिकारहरू मूर्ति बनाएर सजिलैसँग जीवन धान्न सक्ने मात्र नभई नाम र दाम दुबै मिल्ने कलाकार कमलेशको भनाइ छ । तर पछिल्लो समय सालिक, मूर्ति तयार पार्न कच्चा पदार्थ (ढुंगा) अभाव हुँदा समस्या हुने गरेको उनी बताउँछन् ।
‘कलाकृति भर्ने यो पेशा ढुंगामा आश्रित छ’ कमलेश भन्छन्–‘स्थानीय खोला नालामा ढुंगा अभाव हुन लागेको छ, जसका कारण पेशा नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको छ ।’ स्थानीय सरकारहरुले जथाभावी खोला ठेक्का लगाउँदा ठेकेदारहरुले ब्रेकर लगाएर महत्त्वपूर्ण ठेला आकारका ढुंगा नष्ट गर्ने गरेका कारण मूर्ति र तयार पार्ने ढुङ्गाहरूको अभाव सृजना हुने गरेको उनको भनाइ छ ।
उनको आग्रह छ– ‘भविष्यमा विभिन्न सम्पदा, सालिक र मूर्ति तयार गर्ने ढुंगा अभाव सृजना हुने देखिन्छ । त्यसैले खोला ठेक्का लाउँदा ढुंगाको वर्गीकरण गर्ने व्यवस्था गरियोस् । यसले भोलिका दिनमा प्रकृतिले दिएको निःशुल्क उपहारका रूपमा रहेको एउटा ढुंगाको अभावमा कलाकारले भोको पेट बस्न नपरोस् ।’
कलाकार कमलेशको कला क्षेत्रको कर्ममा श्रीमती दुर्गाकुमारीको दरिलो साथ रहँदै आएको छ । तीन दशकभन्दा बढी समयदेखि व्यावसायिक रूपमा मूर्तिकलामा होमिएका कमलेशको शरीरले साथ दिँदासम्म यही क्षेत्रमा काम गर्ने धोको छ ।
मोफसलमा बसेर पनि कलाकृतिको माध्यमबाट राष्ट्रलाई योगदान गरेको भन्दै ललित कला प्रतिष्ठानले यो वर्षको ३० हजार राशीको प्रादेशिक पुरस्कारबाट कलाकार लिम्बूलाई सम्मान गरेको छ । प्रादेशिक ललितकला प्रदर्शनीबाट छनौट भई राष्ट्रिय ललित कला प्रदर्शनीमा उनले नगदसहित पुरस्कृत भएका हुन् ।
कमलेशको विश्लेषणमा कला भनेको मृत्युपछिको जीवन हो । कलाले मानिसलाई सधैँ जीवन्त राख्छ । मानिसको मृत्यु भएपछि पनि मूर्ति र सालिकले जीवन बोल्छ । कसको सालिक हो ? कसले बनाएको हो ? जस्ता प्रश्नोत्तरले दुवैलाई जीवन्त बनाउने भन्दै उनी भन्छन्– ‘मैले मेरो जीवन कालमा कोरेका हजारौँ मूर्ति र चित्र अहिले देशका विभिन्न शहरका मन्दिर, पार्क र संग्रहालयमा देख्न सकिन्छ । र यो बस्तु सधैँ जीवित रहन्छ ।’
प्रतिक्रिया