पाँचखालमा ‘सेज’ निर्माण सुस्त « Khabarhub

पाँचखालमा ‘सेज’ निर्माण सुस्त


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज स्थापना गरिएको छ ।

सरकारले विसं २०६८ भदौ २७ को मन्त्रिपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । विसं २०७५ मा मात्रै औपचारिक रुपमा जग्गा प्राप्त गरी निर्माणको काम थालिएको थियो । 

निर्यातजन्य उद्योगको स्थापना गरी व्यापार घाटा कम गर्ने र औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले सेज निर्माण गर्ने निर्णय भएको थियो तर सेजको नाममा जग्गा प्राप्ति भएको छ वर्ष बितिसक्दा पनि हालसम्म निर्माण गर्नुपर्ने पूर्वाधारलगायत काम भएका छैनन् ।

 तीन वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त योजनाअन्तर्गत निर्माणधीन मुख्य प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

योजना अघि नबढेकामा कोरोना सङ्क्रमण तथा समयमा बजेट निकासा नहुनुलाई पनि कारण बनाइएको छ । यस्तै वार्षिक जम्मा रु पाँचदेखि १० करोड मात्र बजेट विनियोजन हुने भएकाले पनि समयमा कार्यसम्पन्न गर्न ढिलाइ भएको बताइन्छ । योजनाअन्तर्गत आवश्यक पूर्वाधार निर्माणका लागि रुख कटानको प्रक्रियालगायतका कारण निर्माणमा केही ढिलाइ भएको विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमित्त प्रमुख तुलसीराम मरासिनीले बताए। 

उनका अनुसार आयोजनास्थलमा पर्ने रुख कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सेजभित्रका १४ हजार ११ रुख कटान गर्नुपर्ने भएकाले डिभिजन वन कार्यालयमार्फत वन विभागलाई सिफारिस गरिएको र विभागले रुख कटानको स्वीकृत दिने काम पनि अन्तिम चरणमा पुगेको मरासिनीले जानकारी दिए। 

सरकारले सेज स्थापनार्थ वन मन्त्रालयमार्फत तत्कालीन होक्से गाउँ विकास समितिको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको थियो । एक हजार रोपनी वन उपलब्ध गराएबापत सरकारले वन मन्त्रालयलाई रु २० करोड रकम उपलब्ध गराएको थियो ।

सेज निर्माणअन्तर्गत हालसम्म पहुँचमार्ग, मुख्य प्रशासनिक भवन तथा सेज रहने स्थानमा तारबारको काम भएको छ ।  एक हजार रोपनी जमिनमध्ये २० रोपनीको रूख कटान गरी प्रशासनिक भवन निर्माण गरिएको हो । 

सेजको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) र वातावरणीय व्यवस्थापन योजना (इएनटी) स्वीकृतसमेत भइसकेको मरासिनीले बताए ।

 अब प्रशासनिक भवनलगायत काममा हालसम्म रु १५ करोड ५३ लाख ४९ हजार सात सय खर्च भएको छ । डिपिआर अनुसार सेजको लागि करिब १४ अर्ब  खर्च हुने अनुमान गरिएको छ । पाँचखाल सेज निर्माण योजनामा प्रशासनिक भवन, सेवा भवन, सीमा–पर्खाल, बाल उद्यान, फोहर पानी प्रशोधन केन्द्र, रिफ्रेसमेन्ट सेन्टर, सार्वजनिक शौचालय, सवारीसाधन पार्किङ, खानेपानी ट्यांकी निर्माण, खानेपानी प्रशोधन केन्द्र, विद्युत्को सव–स्टेशनलगायतका संरचना निर्माण उल्लेख छ । सेजमा ५२ निर्यातजन्य उद्योग स्थापना गर्न सकिने छ ।

भैरहवापछि प्राथमिकतामा राखिएको पाँचखाल सेजको सञ्चालनले चीनबाट हुने व्यापारलाई सहजीकरण हुने जनाइएको छ । चिनियाँ लगानीकर्ताको आकर्षण बढे पनि सोचेअनुसार काम नहुँदा भने उद्योगी व्यवसायी एवं स्थानीय चिन्तित भएको पाइन्छ ।

 बहुप्रतीक्षित पाँचखाल सेज पाँचखालको मात्र नभएर काभ्रेपलाञ्चोकका साथै मुलुककै गौरवको विषय भएकाले यसको निर्माण कार्य छिटो सम्पन्न हुनुपर्नेमा माग छ । त्यसबेला सरकारले मुलुकभर १४ स्थानमा यस्ता सेज स्थापनाको अवधारणा ल्याइएको थियो ।

पाँचखालका  नगरप्रमुख महेश खरेलले सेज उद्योग स्थापना एवं रोजगारीका लागि निकै महत्वपूर्ण भएकाले समयमै निर्माण हुनुपर्ने बताए। उनले काम छिटो सम्पन्न गराउन सेज केन्द्रीय कार्यालयमै पटक–पटक ध्यानाकर्षण गराइएको बताए।

पाँचखाल सेजमा विशेष गरी चिया, कफी, अदुवा, अलैँंची, आयुर्वेदिक औषधि, दूग्ध पदार्थलगायत कृषि, खनिज, आईटी र चीनबाट कच्चापदार्थ ल्याएर प्रशोधन गर्ने उद्योग बढी सम्भाव्यता देखिएको जनाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ५ : २९ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको