सातामा ३३ अङ्कले बढ्यो शेयरबजार, सरकार ढल्ने भयमै लगानीकर्ता | Khabarhub Khabarhub

सातामा ३३ अङ्कले बढ्यो शेयरबजार, सरकार ढल्ने भयमै लगानीकर्ता


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुसको दोस्रो साता अर्थात् ६ देखि ११ गतेसम्मको अवधि नेपालको शेयर बजारका लागि केही उत्साहजनक रह्यो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चार दिन शेयर कारोबार हुँदा तीन दिन बजार बढ्यो भने एक दिन घट्यो । दुई दिन त बजार दोहरो अङ्कले नै बढ्यो । घट्दा पनि दोहरो अङ्कले नै घट्यो ।

अघिल्लो साताको बिहीबार २५९६.८२ बिन्दुमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा ३३.८९ अङ्कले बढेर २६३०.७१ बिन्दुमा पुगेको छ ।

यो साता १९ अर्ब ४७ करोड ९९ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दैनिक औसत चार अर्ब ८६ करोड ९९ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

चार दिन अवधिमा पाँच करोड १८ लाख १४ हजार ९५८ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा एक करोड २९ लाख ५३ हजार ७३९ कित्ता शेयर कारोबार भयो ।

सातामा दुई लाख ४० हजार ५५७ पटक शेयर किनबेच हुँदा दैनिक औसत ६० हजार १३९ पटक किनबेच भएको देखिन्छ ।

बजारप्रति लगानीकर्ता – कोही आशावादी, कोही निराश

यो साता बजार बढ्नुमा लगानीकर्ताको आ–आफ्नै तर्क छ । सातामा ३३ अङ्कले बजार बढ्दा केही लगानीकर्ता आशावादी त कोही निराश नै देखिन्छन् ।

अहिले शेयर बजारको अफसिजन भएकाले बजार आफ्नै गतिमा चलिरहेको धितोपत्र कारोबारका जानकार सुवासचन्द्र भट्टराई बताउँछन् । प्रत्येक वर्ष पुस, माघ र फागुनमा घट्ने बजार त्यसपछि बढ्ने गरेको भट्टराईको भनाइ छ ।

‘शेयर बजारको पछिल्लो १४ वर्षको इतिहासलाई हेर्ने हो भने १० वर्षजति तीन महिना बजार घटेको छ’, भट्टराईले भने, ‘कहिलेकाहीँ पुस र माघमै पनि बजारले बुल लिएर आएको छ ।’

यसबीच बोनस घोषणा भए पनि कम्पनीहरूले आकर्षक लाभ नदिएकाले बजारमा असर देखिएको भट्टराईको भनाइ छ । मध्यम खालको लगानी गर्नेलाई बजारले फाइदा नै गर्ने, तर फाइदा लिने भन्दै गर्दा जस्तासुकै कम्पनीमा लगानी नगर्न उनको सुझाव छ ।

सातामा ३३ अङ्कले बढेको स्थितिलाई हेरेरै लगानीकर्ता उत्साहित भइहालेको अवस्था भने नरहेको लागनीकर्ता नवराज दाहाल बताउँछन् ।

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) र एफपीओ आएकाले बजार चलायमान हुन खोजेको जस्तो देखिएको दाहालको भनाइ छ ।

‘धितोपत्र बोर्डले केही काम गर्ने खोजेजस्तो देखिएको छ’, दाहालले भने, ‘आईपीओ र हकप्रद (राइट) शेयर इस्यू हुने कुराले पनि बजार सामान्य अङ्कले बढेको देखिन्छ ।’

राजनीकि रूपमासङ्कट टरेको जस्तो नदेखिएकाले लगानीकर्ता हौसिएर लगानी गर्ने मनस्थितिमा नरहेको दाहालको भनाइ छ । ‘सत्तारुढ एमालेमा कारबाहीको काण्ड आएको छ, रास्वपामा के हुने हो – त्यो थाहा छैन, प्रतिपक्ष एक भएजस्तो देखिएको छ’, दाहालले भने, ‘सरकार ढल्दैन, राजनीतिक सङ्कट टरिहाल्यो भन्ने स्थितिमा लगानीकर्ता पुगेका छैनन् ।’

अहिले बोनस आएको, कित्ता थपिएको र सस्तो मूल्यमा बिक्री भएकाले बजार केही हरियो देखिएको दाहाल बताउँछन् । ‘यतिबेला लगानीकर्ताको खातामा बोनस आएको छ’, दाहालले भने, ‘केही कित्ता थपियो, त्यो सहित बेच्दा घाटा पनि थोरैमात्र भएको अवस्था छ, कम मूल्य भएका कारण अलिकति बढेर किनेकाले बजारमा हरियाली देखिएको हो ।’

सरकार ढाल्ने हल्लाले लागनीकर्तामा उत्साह नदेखिएको पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

‘सरकार ढाल्ने हल्ला चलिरहेको अवस्था छ, बजार घटिरहेको छ, विगतमा किनेकाहरूले पनि कति दिन कुर्ने ? नयाँले पनि यस्तो हल्लाबीच लगानी गरिहाल्ने अवस्था छैन’, पोखरेलले भनिन्, ‘अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।’

आफूहरूले पनि अहिले थप शेयर नकिनेको पोखरेल बताउँछिन् । धितोपत्र बोर्ड नै अहिलेसम्म केही काम नगरेको र सरकार ढल्ने हल्लाले शेयर लगानीकर्ताको मनोबल कमजोर भएको उनको भनाइ छ ।

‘बोर्डमा अध्यक्षज्यू (सन्तोषनारायण श्रेष्ठ) आएको पनि यत्तिका दिन भइसकेको छ, तर अहिलेसम्म एउटा पनि बैठक बस्न सकेको छैन’, पोखरेलले भनिन्, ‘उहाँले भित्री रूपमा त काम गरिहनुभएको होला, तर देखिने खालको केही काम गर्नुभएको देखिएको छैन, त्यसले गर्दा पनि लगानीकर्तामा उत्साह देखिएको छैन ।’

बोर्डले काम गरेको खण्डमा मात्र लगानीकर्ता आशावादी हुनसक्ने पोखरेल बताउँछिन् ।

सातामा कुन दिन कस्तो रह्यो बजार ?

साताको पहिलो दिन अर्थात् आइतबार बजार कारोबार घटेर शुरू भएको थियो । सरकार ढल्ने डरले पुसको पहिलो सातामा ८५ अङ्कले घटेको नेप्सेमा आइतबार पनि लगानीकर्ताको त्रास झल्किएको थियो ।

आइतबार नेप्से १३.५३ अङ्कले घटेर २५८३.२९ बिन्दुमा आइपुग्यो । बजार ०.५२ प्रतिशतले घट्दा नेप्से २६१२.२८ बिन्दु र न्यूनतम २५६९ बिन्दुमा झर्‍यो ।

आइतबार कारोबारमा पनि त्यस्तो उत्साह देखिएन । उक्त दिन चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ९१ लाख ८० हजार ७१८ कित्ता शेयर ५७ हजार ८६३ पटक किनबेच भएको थियो ।

सोमबार भने नेप्सेमा उत्साह देखियो । २८.९१ अङ्कले बढेर नेप्से २६१२.२० बिन्दुसम्म पुग्यो । उक्त दिन नेप्से १.११ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २६१२.२० बिन्दु र न्यूनतम २५८०.४९ बिन्दुमा झर्‍यो ।

सोमबार बजार बढे पनि कारोबारमा भने सामान्य गिरावट आयो । चार अर्ब ४३ करोड २४ हजार रुपैयाँ बराबरको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर ५५ हजार ९३८ पटक किनबेच भयो ।

नेप्सेको वृद्धि मङ्गलबार पनि कायम रह्यो । मङ्गलबार ३३ अङ्कको उतारचढाव देखिए पनि बजार बन्द हुँदा भने नेप्से १४.३१ अङ्कले बढ्यो । ०.५४ प्रतिशतले बढेर नेप्से २६२६.५२ बिन्दुमा पुग्दा परिसूचक उच्चतम २६४५.२० र न्यूनतम २६१२.९४ बिन्दुमा पुग्यो ।

मङ्गलबार शेयर कारोबार पनि बढ्यो । उक्त दिन पाँच अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर ६४ हजार ९१७ पटक किनबेच भएको थियो ।

बुधबार इसाइ धर्मालम्बीहरूको पर्व ‘क्रिसमस डे’ परेकाले सरकारले सार्वजनिक बिदा दिँदा शेयर कारोबार पनि भएन ।

साताको अन्तिम दिन बिहीबार (आज) नेप्सेमा सामान्य अङ्कको वृद्धि देखियो । ४.१९ अङ्कले बढेर नेप्से २६३०.७१ बिन्दुमा पुग्यो ।

बजार ०.१५ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २६३९ र न्यूनतम २६०७.७५ बिन्दुसम्म पुग्यो । बिहीबार बजारमा करिब ३१ अङ्कको उतारचढाव देखियो ।

बिहीबार पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको दुई करोड नौ लाख ७८ हजार ९७९ कित्ता शेयर ६१ हजार ८३९ पटक किनबेच भयो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ६ : ०४ बजे

पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव

कास्की – पोखरामा शनिबारदेखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु

भारतसँग सम्बन्ध सुधार गर्न तयार छौं : चीन

काठमाडौं – भारतसँग मिलेर अघि बढ्न तयार रहेको चीनले जनाएको

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने

काठमाडौं – तीव्र गतिमा आर्थिक विकाससँगै भारतमा डेटा सेन्टरको क्षेत्रमा

बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

सुनसरी – जिल्लास्थित बराहक्षेत्र नगरपालिका–१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन – लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका