जंगली जनावरबाट किसानलाई बाली जोगाउन सकस « Khabarhub

जंगली जनावरबाट किसानलाई बाली जोगाउन सकस


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।

बेलडाँडी–५ झिलमिलास्थित बसोबासका लागि उनको घर छ । चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भए पनि जंगली जनावरका कारण उनको बासस्थान भने राधापुर नै बन्ने गरेको छ । खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ’, उनले भने, ‘खेतमै मचान बनाएका छौँ । राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउँछौँ ।’

गिरीको मात्रै मचानमा बास होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै छ । करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन् । यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारको जस्तै देखिने बुख्याचासमेत राखेका छन् ।

‘काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्नका लागि कोठाजस्तै बनाइएको हुन्छ । त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ । जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ’, नन्दाले भने, ‘यसले केही हदसम्म जनावर भाग्छन् ।’

राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ । डेढ बिघा जमिनमा उखु खेती गर्दै आएका नन्दा जनावरबाट जोगाउन सके वार्षिक चार लाखसम्मको कारोबार हुने गरेको बताउँछन् ।

निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी –५ का गोविन्द रानाले बताए । ‘यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ । तर के गर्ने जोगाउन सकिँदैन’, उनले भने, ‘रातभर सुत्न पाउँदैनौँ । विद्युतको सुविधा पनि छैन । मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ ।’

राधापुरमा बस्नका लागि खेतभर व्यक्तिपिच्छे मचान घर छन् । वर्षौंदेखि जंगली जनावरको पीडा झेल्दै आए पनि सरकारले आफूहरुको समस्या समाधान नगरेको यहाँका किसानको गुनासो छ । ‘राति मचानकै बास बसेर जनावर कुरेर बस्छौँ । जनावरबाट बाली जोगाउन सके सहजै जीविकोपार्जनका साथै राम्रै आम्दानी गर्न सकिन्थ्यो’, बेलडाँडी–५ कै श्यामलाल रानाले भने, ‘तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन ।’

उनले राधापुरमा डेढ बिघा जमिनमा उखु खेती गर्दै आएका छन् । राष्ट्रिय निकुञ्जमा तारबार गरे खेतमा जनावर आउनबाट जोगिन सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ०४ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव