भेडेटारमा यस्तो बन्दैछ विश्वकै अग्लो ‘बिग बुद्ध’ | Khabarhub Khabarhub

भेडेटारमा यस्तो बन्दैछ विश्वकै अग्लो ‘बिग बुद्ध’


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

सुनसरी- धरानदेखि भेडेटारतर्फ जाने कोशी राजमार्गस्थित छोटीमोरङ डाँडामा विश्वकै अग्लो बुद्धको प्रतिमा देख्न पाउँदा कस्तो कल्पना गर्नुहुन्छ ? धरानको शीरमा रहेको भेडेटार त्यसै पनि पूर्वको मनोरमस्थल हो । 

भेडेटार नजिकै पलेटी कसेर बसी एक हातले आशिर्वाद दिइरहेको १५० फिट (४६.७५ मिटर) उचाइको ‘थाउजेण्डस् बिग बुद्ध’को प्रतिमा बन्न लागेको छ । यो परिकल्पना साकार भएमा हङकङको लान्ताउ आइल्याण्डमा रहेको विग बुद्धको प्रतिमा र शातिनमा भएको थाउजेण्ड विग बुद्धसँंग तुलना गर्न जो कोही हतारिन सक्छ ।

 छोटीमोरङको डाँडामा विग बुद्धको प्रतिमा स्थापना गरी बुद्ध अध्ययन केन्द्र निर्माण गर्ने उद्देश्यले पहिलो चरणको परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) हालै तयार भएको छ ।

 डीपीआरअनुसार थाउजेण्डस् विग बुद्धको प्रतिमा बनेमा हङकङको विग बुद्ध भन्दा १२.७५ मिटर अग्लो हुने छ । अर्थात विश्वकै अग्लो विग बुद्धको प्रतिमा धरानको हुने छ । सन् १९९३ मा कास्य धातुबाट निर्मित हङकङको विग बुद्धको उचाइ ३४ मिटरमात्र अग्लो छ ।

 

धरान उपमहानगरपालिका–४ मा पर्ने छोटीमोरङको डाँडासहित साढे १० हेक्टर (१३ विघाकट्ठा) जमिन ०७४ साउन १६ गते बसेको मन्त्रिपरिषदको बैठकले सूर्योदय बुद्ध विहारलाई धार्मिक वनका रुपमा प्रयोग गर्न भोगाधिकार दिइसकेको छ ।

 विगबुद्धका परिकल्पनाकार प्रदीप थापाकै पहलमा सरकारले जमिन उपलव्ध गराएपछि आर्थिक संकलन गरेर पूर्वाधार तयार हुँदै आएको छ ।

 पछिल्लो समयमा डीपीआर तयार भएपछि सूर्योदय बुद्ध विहारका अध्यक्ष थापासहित उनको टिममा रहेका हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष टंक राना, महासंघका वर्तमान अध्यक्ष रीता गुरुङ, समितिका उपाध्यक्ष प्रदीप शाक्य, सचिव मनोहर शाक्य, कोषाध्यक्ष शीला बज्राचार्य लगायत सदस्यहरु हौसिएका छन् । उनीहरुलाई हङकङकी जिल्ला काउन्सिलर अरुणा गुरुङ, हङकङकै समाजसेवी पुष्पा गुरुङ (पुष्पा गुरुआमा) लगायतले साथ र सहयोग दिएका छन् ।

अध्यक्ष थापा खबरहबसँग भन्छन्, ‘मुख्य शहरभन्दा धेरै टाढा रहेको हङकङको लान्ताउ टापुस्थित डाँडा र शातिन डाँडा बुद्धसँग सम्बन्धित नभए पनि हङकङ सरकारले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न विशाल बुद्ध प्रतिमा निर्माण गरेर करोडौं आम्दानी गरिरहेको छ । नेपालको बुद्ध देखाएर हङकङले पर्यटनबाट कमाएको तरिकालाई हामीले किन नसिक्ने ?’

 थापा अगाडि भन्छन्, ‘अहिले त्यहाँ पुग्नका लागि हङकङ सरकारले केवलकार पनि बनाइदिएको छ । बुद्ध प्रतिमा हेर्न, टहलिन र घुम्न दैनिक २० हजार बढी मानिसहरुको धुइरो लाग्छ ।’

 हङकङको जस्तो अर्बौं रुपैयाँ खर्च गर्न नसकिए पनि आफ्नै मुलुकमा भएको डाँडापाखालाई झन सुन्दर बनाउन सकिने थापा बताउँछन् ।

सरकारले वुद्ध प्रतिमा निर्माणका लागि सबै बजेट नदिए पनि स्वदेश र विदेशका दातृ निकायले चासो देखाएको र आर्थिक पारदर्शिता अपनाएर छोटीमोरङको थुम्कीडाँडामा थाउजेण्ड विग बुद्ध निर्माण गर्न सकिनेमा थापा विस्वस्त छन् ।

उनी भन्छन्, ‘हामीले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई बाटो देखाइदिएका मात्र हौं । यहाँ बिग बुद्ध बनाएर लाखौं नाफा र कमिसन खानु छैन । बरु आफ्नै गोजीको रकम खर्च भइरहेको छ । कम्तिमा हाम्रा अग्रजहरुले यति चाहिँ गरिदिएछन् भनेर भावी पुस्ताले सम्झने छन् ।’

 धरानदेखि करिव १४ किमी दुरीमा रहेको छोटीमोरङको डाँडामा निर्माण हुने थाउजेण्ड विग बुद्धको बारेमा गुम्बा विकास समितिसँंग पनि छलफल भइरहेको थापा बताउँछन् । उनी भन्छन्, ‘डीपीआर तयार भएकाले म लगायत केही साथीहरु त्यसैको शिलशिलामा गुम्बा विकास समितिसँग अर्को चरणको छलफल गर्न काठमाण्डौंमा छौं । समितिसँग पनि कसरी आर्थिक संकलन गर्ने भन्ने विषयमा छलफल गर्दैछौं ।’

उनी थप्छन्, ‘धरान उपमहानगरपालिकाको पनि गहना बन्ने भएको र मेयर हर्कराज राई आफैं नै प्रकृतिप्रेमी र श्रमदानका पक्षधर भएकाले पनि समन्वयकारी भूमिका खेल्नुहुने विश्वास लिएका छौं ।’

 कस्तो बन्दैछ संरचना ?

 आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्दै बौद्ध धार्मिक उपासक, ध्यान प्रेमी र प्रकृति प्रेमीहरुलाई तान्दै स्थानीय समुदायको आर्थिक उपार्जनमा टेवा दिने उद्देश्यले डीपीआर तयार गरिएको योजनाकारको भनाइ छ । डीपीआर अनुसार निर्माण सम्पन्न भएमा कम्तिमा दैनिक सातहजार देखि १० हजार मानिसले अवलोकन गर्न आउने अनुमान गरिएको छ ।

 थाउजेण्ड्स विग बुद्धको प्रतिमा राख्ने परिकल्पनाकार प्रदीप थापा भन्छन्, ‘सरकारले हामीलाई औपचारिक रुपमा जमिन उपलव्ध गराएयता प्राविधिक कामहरु भइरहेका छन् । हालसम्ममा सोइल टेस्ट र स्ट्रक्चर एनालाइसिस भइसकेको छ । आर्किटेक्चर तयार भएको छ । डीपीआर नै तयार भएकाले अब मुख्य कामहरु गर्नेतिर हाम्रो ध्यान मोडिएको छ ।’

 सनलाइट डेभलपर्स एण्ड सप्लायर्स प्रालिका सिभिल इन्जिनियर सुमन श्रेष्ठ, आर्किटेक्चर पूजा श्रेष्ठ र युमन शाक्यले तयार गरेको डीपीआरमा पेमादेखि माथि १५० फिट अग्लो मुख्य प्रतिमा विगबुद्ध राखिने छ ।

 कोशी हाइवेदेखि विगबुद्धको प्रतिमासम्म जानका लागि अपाङ्ग मैत्री बाटो हुनेछ । बीच बीचमा स्तुपा र धुप बाल्ने ठाउँहरु राखिने छ । विग बुद्धभित्र दुई तलाको म्युजियम हल, वरिवरि घुम्ने र ध्यानकेन्द्र, रेलिङसँगै घुमाउने मानेहरुप्रतिक्षालय समावेश गरिएको छ ।

माथिल्लो तलामा बुद्धको जीवनी र उनको बाणीलाई पेण्टिङमार्फत देखाइने छ । बुद्धसम्बन्धी ऐतिहासिक पुरातात्विक सामाग्री पनि राखिने छन् । प्रतिमाकै नजिकै अवलोकनकर्ताहरुका लागि क्यान्टिन, शौचालाय, झरना र धरानको समग्र इतिहासदेखि वर्तमानसम्मका तथ्यलाई पनि समावेश गरिने छ ।

 खासगरी परियोजना एउटै भए पनि तीन विकल्पमा डीपीआर तयार गरिएको युमन श्रेष्ठले बताए । उनको भनाइ अनुसार विग बुद्धको प्रतिमा धरानतिर फर्केको हुनेछ । प्रतिमा मात्र करिव १४ करोड रुपैयाँ र दुइ तलाको भौतिक संरचना तयार गर्न थप १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उनी भन्छन्, ‘तर बुद्धसम्बन्धी कलेजका भवन र पुस्तकालयको संरचना पनि तयार गर्ने हो भने बजेट बढ्न सक्छ ।’

 मुख्य प्रतिमामा तामा कि फाइवरको प्रयोग गर्ने भन्नेबारे निर्क्यौल हुन सकेको छैन । करोडौं खर्च गरिसकेपछि सदियौंसम्म रहने बनाउन तामा उचित हुने श्रेष्ठको भनाइ छ । फाइवरको आयु यकिन नहुने र घामपानीले चाँडै असर पार्ने भएकाले सोच्नुपर्ने उनको सुझाव छ । एक पटकमा हजार जना घुमफिर गर्ने क्षमताको भौतिक संरचनाको विग बुद्धको प्रतिमाको डिजाइन गरिएको छ ।

 

हालसम्म के के निर्माण भए ? 

 सरकारले जमिन उपलब्ध गराएपछि सूर्योदय बुद्धविहार समितिले दुई वर्षअघि ३६ फुट अग्लो बुद्धको सुनौलो प्रतिमा स्थापित गरेको छ । तर, यो प्रतिमा विग बुद्ध बन्ने स्थानबाट करिव डेढसय मिटर दूरीमा छ । सानो बुद्धकै परिसरमा भिक्षुहरू बस्ने भवन, शौचालय, प्रतीक्षालय, पानी, बिजुलीका लाइन र सडक तयार भएको छ । सानो बुद्धको प्रतिमा अवलोकन गर्न पछिल्लो समयमा दैनिक पाँच सयजना आउने गरेका छन् ।

 

उक्त प्रतिमा तयार गर्दा ३६ लाख रुपैयाँ खर्च भएको समितिका अध्यक्ष थापाले बताए । धरानका स्थानीय बासिन्दासमेत रहेका थापा हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष एवं हाल द नेप्लिज एसोसिएसन हङकङका अध्यक्ष हुन् ।

समितिको पहलमा संघीय र प्रदेश सरकारले जमिन संरक्षण र तारा घेराबारा गर्न र भौतिक पूर्वाधार तयार गर्न यसअघि ८० लाख रुपैयाँ दिएको थियो । अध्यक्ष थापाका अनुसार हालसम्म भौतिक पूर्वाधार निर्माणमा सरकारले दिएको बाहेक थप अढाइ करोड रुपैयाँ खर्च भइसकेको छ ।

थाउजेण्डस् विग बुद्धको प्रतिमा स्थापनाका लागि तत्कालीन सभामुख ओनसरी घर्तीमगर र थाइल्याण्डका राजगुरु फारा नासोभनले ०७२ सालमा संयुक्त शिलान्यास गरेका थिए । पछिल्लो सानो बुद्धको प्रतिमा भने कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले अनावरण गरेका थिए ।

समितिका सदस्य दिलकुमार राई भन्छन्, ‘सरकारबाट आएको बजेट तार घेराबारा र भौतिक पूर्वाधारमा खर्च गरेका छौं । यो हाम्रो निजी सम्पत्ति नभएकाले धरान उपमहानगरपालिकासँग पनि समन्वय गरिरहेका छौं ।’ सरकारको गुम्बा विकास समितिले दुई पटक पाँच–पाँच लाख रुपैयाँ दिएको छ । तत्कालीन मेयर तारा सुब्बा हुँदै धरान उपमहानगरपालिका र सूर्योदय बुद्ध विहारबीच सम्झौतासमेत भएको थियो ।

सम्झौताअनुसार विग बुद्धको प्रतिमा स्थापना गरेर पर्यटनमा टेवा दिन, आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने, बुद्ध अध्ययन केन्द्र निर्माण गर्ने लगायत १२ बुँदे सहमति भएको थियो । सोहीअनुसार डीपीआर तयार भएको बरिष्ठ सल्लाहकार टंक रानाको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : ५३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार