'दाहाल, नेपाल र देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति पालन हुन्छ'  | Khabarhub Khabarhub

‘दाहाल, नेपाल र देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति पालन हुन्छ’ 



सत्तारुढ गठबन्धनका नेताहरूले नै प्रतिपक्षको आवाज बोल्ने गरेका छन् । कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा सहभागी प्रतिनिधिहरूले पनि गठबन्धनले पार्टी संगठन निष्प्रभावी बनेको आवाज उठाए । प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र कांग्रेसले आफूलाई काम गर्न नदिएको आरोप लगाउँछ । गठबन्धन गरेर चुनावमा गएका यिनै दलका नेताहरूले आफूहरूलाई मत दिए पाँच वर्ष निर्विघ्न सरकार चलाएर जनताका समस्या सम्बोधन गर्ने बाचा गरेका थिए । वर्ष दिन नकट्दै त्यो बाचा किन धर्मरायो ? कामको कसीमा सरकार किन निष्फल देखियो ? के यो सरकारको आयु छोटिएर अर्को समीकरण बन्न लागेको हो ? वर्तमान गठबन्धनको सूत्रधार मानिएको नेकपा समाजवादीको मुखबाट सरकार नेतृत्वको सौभाग्य खोसिन लागेको हो ? नेकपा समाजवादीका नेता सोमप्रसाद पाण्डेसँग रेडियो क्यान्डिडको लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

तपाईंहरूको पार्टीबाट प्रधानमन्त्री खाने पालोमा गठबन्धन तल माथि पर्ने लक्षण देखिँदैछ नि ?
वर्तमान गठबन्धन ५ वर्षको लागि तय भएको हो । २०७९ मंसिर ४ गते निर्वाचन सम्पन्न गरेर पुस १० मा यो सरकार गठन भएको हो । यस बीचमा जसरी हामी आएको थियौँ एक हदमा त्यो यात्रा टुट्यो पनि ।  तर ६२ दिन नपुग्दै त्यो जोडियो । ओलीको चलाखीले वा प्रचण्डको प्रधानमन्त्री बन्न देउवासँग भएको छलफलमा केही तल माथि भएर टुटिसकेकोमा फेरि जोडियो । यो जोडिनु आवश्यकता र बाध्यता दुवै थियो ।  किनकि ओलीमा सरकार टिकाउने गरी जाने खालको चरित्र हिजोको इतिहासले देखाउँदैन । यो गठबन्धन अबको ४ वर्ष टुट्दैन । हाम्रो भद्र सहमति दुई वर्ष प्रचण्ड, माधव नेपाल र देउवा प्रधानमन्त्री बनेपछि पुरा हुन्छ ।

राजनीतिक स्थिरताको सन्देश दिन खोजेको कि बाँडिचुँडी सरकार चलाउन खोजेको ?

राजनीतिक स्थिरताको सन्देश दिन खोजेका हौँ । राजनीतिक स्थिरताको बाटो नै यही हो । किनकि हामीले अरु सबै प्रयोग अवलम्बन गरिसकेका छौँ । ओलीमा सत्ता टिकाउने क्षमता छ तर पनि गर्नु भएन । दुई तिहाइ मत दिएर अरूलाई दोष दिएर आफू उम्किन मिल्दैन । यतिको राजनीतिक स्थिरता  दिन यो देशमा यो गठबन्धनको विकल्प छैन ।

मन्त्रीका विषयमा कमी कमजोरी होलान् तर व्यवस्थापकीय पक्षमा बलियो बनाएर काममा लगाउनु पर्छ । यो सरकार बनेको पनि १ वर्ष पुगेको छ । वर्तमान सरकारलाई देशमा राम्रो काम नगर्ने छुट छैन ।  मुलुकको समृद्धि, अग्रगमन र सुशासन नै हाम्रो अर्जुन दृष्टि हो । यति पनि गरेनौँ भने ०८४ मा जनताले हामीलाई पत्याउँदैनन् ।

हामीले गठबन्धन बनाउँदा विकास गर्छौँ भनेर जनताबाट मत लिएर आएका छौँ । त्यसमा लाग्नुपर्छ । केही मन्त्रीको शैली, स्वभावले भने चिन्तित बनाएको छ ।

कांग्रेस, एमालेभित्र सत्ताका लागि जुन खाले लोभी पापी चरित्र हाबी छ, त्यसले सत्ता लम्ब्याउन र ०८४ को योजना पूरा हुन देला र ?

विकल्प नै छैन । मेरो प्रोफाइल लो होला तर धेरै अध्ययन गर्ने र पार्टी एकतामा लाग्ने व्यक्ति हुँ । कांग्रेसका केही नेताहरूले गठबन्धन विरुद्ध आवाज उठाउनु भएको छ । तर त्यो आवाजको कुनै जमिन छैन । गठबन्धन विरुद्ध आवाज उठाउनेसँग नागरिक र मुलुकका विषयमा अरु जल्दा बल्दा एजेण्डा हुनुपर्‍यो । त्यहाँ त गठबन्धन किन भयो, यो तोड्नु पर्छ भन्नेहरु छन् तर यसको विकल्प छैन । यो भनेको मुलुकप्रतिको घात र नेपाली जनता प्रतिको अपमान हो । हिजो गगन थापा, देउवा नेपाल चुनाव वा म चुनाव लड्दा होस् हामीले जनतालाई गठबन्धनबाट देश बनाउँछौँ भनेर कबुल गरेर भोट लिएका हौँ । गगन थापाले भोट माग्दा यही भन्नु भएको हो । अहिले त्यसैलाई भजाएर सस्तो लोकप्रियता लिनु हुँदैन ।

०८४ को चुनाव अगाडि गठबन्धनको भविष्य कि वार कि पार हुनुपर्छ भनिँदै छ । त्यो अवस्थामा तपाईँहरूको नयाँ पार्टी अप्ठ्यारो पर्ने भयो ?

नेपाली जनताको एजेन्डा बोक्न नसक्ने साथीहरू यस्तै कुरामा रमाएका छन् । ०८४ आउन अझै ३ वर्ष १० महिना छ । त्यस विषयमा अहिले नानाथरिका प्रक्षेपण गरेर टाउको दुखाउनुको अर्थ छैन । त्यस बेला परिस्थिति के बन्छ ? मुलुकको अवस्था कसरी अगाडि बढ्छ,  त्यसैले अहिले नै गठबन्धनको विषयमा छलफल गर्नु हतारो हुन्छ ।

नेपाली कांग्रेसले भोलि छाती फराकिलो पारेर तपाईँहरूलाई प्रधानमन्त्री देला जस्तो लाग्छ ? 

हिजो हामीले देउवालाई प्रधानमन्त्री बनाउँदा २२ सिट जितेकोलाई बनाएको हैन ? त्यति बेला हामी १८ जना संसदमा थियौँ । ३२ जनाको उपस्थिति थियो । जम्मा २२ सिट प्रत्यक्षबाट जितेको देउवालाई प्रधानमन्त्री स्वीकारेको इतिहास छ नि । हाम्रो संविधानले विकल्प भएसम्म संसद् विघटन गर्न नपाउने, सरकार चलाउने र संसद् सुचारु गर्नुपर्ने भनेको छ ।

०७७ साल पुस ५ गते संसद् विघटन गरेपछि सर्वोच्चले गरेको निर्णयमा एक व्यक्तिले पनि मैले प्रधानमन्त्री चलाएर बहुमत साबित गर्छु भन्यो भने प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ । प्रेम सुवालले पनि आँट गरेर म तयार छु भन्नुभयो भने कसैले रोक्दैन । त्यसैले कांग्रेसले हिजोको इतिहास बिर्सनु हुँदैन ।

अब प्रधानमन्त्री बन्न माधव नेपालको हकमा संविधानको कुन धारा आकर्षित हुन्छ ?

धारा ७६ को उपधारा १ देखि ५ हेर्दा विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नपाउने वैकल्पिक बाटो खोज्न नपाउने भनेको नै एक जना मात्र प्रेम सुवाल प्रधानमन्त्री बन्न पनि संविधानले रोक्दैन ।  २ देखि अरु उपधारा आकर्षित हुन्छ । हामी धारा ७६ को उपधारा २ बाट पनि यो सरकार बनाउन सक्छौँ । त्यसमा दुई वा सो भन्दा बढी दलको समर्थन भनेको छ ।

कांग्रेसका केही नेताहरूले ७६ को उपधारा २ अहिले क्रियाशील छ, यो अनुसारको प्रधानमन्त्रीले राजीनामा दिएपछि स्वतः ३ मा प्रवेश गर्छ र त्यसमा ठूलो दल हामीले स्वतः हामीले पाउँछौँ भनेर दाबी गर्ने गरेको यहाँ थाहा छैन ?

संविधानले मान्दैन । त्यो उहाँहरूको विश्लेषण होला । यो देशमा ०७ सालदेखि एउटा सहमतिको साथ कम्युनिस्ट र कांग्रेस मिलेर प्रजातन्त्र बहुदलीय व्यवस्था  र गणतन्त्र पनि ल्याएको हो । त्यसपछिका दिनमा सबै सहमतिबाट चलेका छौँ । हैन कसैलाई मुलुकको माया छैन, लथालिङ्ग होस् भन्ने हो भने त केही छैन । त्यसैले लोकप्रियताको लागि यस्ता विषय उचाल्नुको अर्थ हुँदैन ।

तपाईँहरू पनि एकातिर समाजवादी मोर्चाका कुरा गर्ने र वर्ग शत्रुका रूपमा कांग्रेसलाई सामन्तवादको मतियार भनेर घोषणा गरेको शक्तिसँग साझेदारी भनिरहँदा कांग्रेसको पनि मन पेट पोल्ला नि हैन र ?

त्यो कम्युनिस्ट दस्तावेजमा होला हाम्रो दस्तावेजमा छैन । प्रधान शत्रुको विषयमा कुरा गर्दा त्यस्तो कुरा उठ्यो होला । तर ०७ सालदेखि कम्युनिस्ट पार्टी स्थापना हुँदा नेपाली कांग्रेस भनेको दलाल पुँजीपतिहरूको सहयोगी हो भन्ने कुरा उठेको थियो । तर  जब हामीले क्रान्ति सुरु गर्‍यौँ, त्यति बेला पुष्पलाल, गणेशमान, बिपी कोइराला सँगै बसेर गणतन्त्र प्रजातन्त्र ल्याउन सँगै लड्नु पर्छ भनेर लडेको इतिहास छ । हामीले त्यस्तो केही भनेका छैनौँ । कांग्रेस एक्लै हिँडेर सम्भव हुने भए गठबन्धन किन चाहियो त ?

संविधानले बहुमतको नीति ल्याएको छ ।  २७५ मा १३९ त जसरी पनि संख्या पुर्‍याउनु पर्‍यो । त्यसको निम्ति बाध्यतावश गठबन्धन भयो ।

चुनावमा एक्लै एक्लै लडौँ भन्ने कांग्रेसका नेताको कुरा हो ?

गठबन्धनको अवधारणा अहिले मात्र ल्याएको हैन, हिजो पनि थियो । हामीले यही गठबन्धनबाट मुलुकको समृद्धिको बाटो ल्याउनु पर्छ । हामी पुराना दलहरूले मुलुकमा सुशासन र समृद्धिको बाटो ल्याएनौँ भने जनताले हामीलाई पत्याउने वाला छैनन् ।

यो नाराले अब कति काम गर्ला ?

सबै युवा साथीहरू जसले मञ्चमा भाषण राम्रो गरेर समर्थकको ताली खाएकाहरूलाई नागरिकको एजेन्डा, समृद्धि विषय उठाउनुहोस् भन्न चाहन्छु । गठबन्धन, एकताका विषय भनेका त्यसपछि आउने विषय हुन । तपाई बलियो हुनुस् कहीँ कतै गठबन्धनको आवश्यकता पर्दैन । अहिले गठबन्धन गर्न हुँदैन भनेर सस्तो नारा लगाएर पुग्दैन । देशलाई यो बाटोबाट यहाँ लान यसो गरेको छु । उद्योग यसरी सञ्चालन गर्छु । जलस्रोतको उपयोग गरेर देशलाई आर्थिक फड्को मारेर समृद्ध गराउन सकिन्छ भन्ने योजना राखौँ । पर्यटकीय हिसाबले २४५ देशमा  हाम्रो देश १० औँ मा पर्छ । खै त्यसलाई विकास गर्ने कुरा हाम्रा युवा साथीले ल्याउन सकेको ? आफ्ना आफ्ना स्वार्थका विषय उठाएर बोल्ने गरिएको छ, यो जनताप्रतिको उत्तरदायित्व हैन ।

अब तपाईँहरूको पार्टी कसरी जोगिएला त ?

हामीले पार्टी निर्माण गर्दा ३४५ जनाको केन्द्रीय कमिटी थियो । त्यसमध्ये ३३ जना साथीहरू अहिलेसम्म विचलित भएको देखिन्छ । तर  त्यो भन्दा धेरै साथीहरू हाम्रो पार्टीमा आउनु भएको छ । भर्खरै जन्मेको पार्टी हुनाले कतिपय काममा जनता खुसी नभएको पक्कै हो । तर हाम्रो पार्टी संगठन अगाडि बढेकै छ । अहिले प्रदेशको चुनावमा पनि ४ लाख ७७ हजार समानुपातिकमा भोट ल्याएका छौँ । पोखरा महानगरपालिका समेत हाम्रो मेयर हुनुहुन्छ । हेटौंडा उपमहानगरपालिकामा पनि हाम्रो मेयर हुनुहुन्छ । यो परिणामले स्थिति कमजोर नै त होइन, सन्तुष्ट भएर बस्ने अवस्था पनि होइन । संगठन विस्तारको अभियानमा हामी लागेका छौँ ।

तपाईँको पार्टीका मन्त्री प्रकाश ज्वालाले बालकुमारीको घटनामा नैतिकता प्रदर्शन गर्न  किन आनाकानी गरेको ? यसको स्वामित्व पार्टी लिनु पर्दैन ?

कुनै पनि मन्त्री, पत्रकार वा नागरिक सडकमा हिँड्छ भने त्यसको सुरक्षा दिने काम गृह मन्त्रालयको हो । र कुनै पनि सुरक्षाले अनुमति नदिईकन मन्त्रीको गाडी अगाडि बढ्दैन । पिएसओ वा नेपाली सेनाको जिम्मेवार व्यक्ति नभई मन्त्री अगाडि बढ्दैन । तर त्यहाँ मन्त्री जाँदा गृह मन्त्रालयले सुरक्षा दिन नसक्ने तर मन्त्री किन गयो भनेर साथमा गएको पिएसओलाई मात्र कारबाही गर्ने । यो त गृह प्रशासनको कुरा हो । हामीले प्रतिवेदन हेर्न पाएका छैनौँ । प्रधानमन्त्रीले यो प्रतिवेदनले यो कुरा लेखेको हुनाले तपाईंले राजीनामा दिनु पर्‍यो वा पार्टीमा तपाईँको मन्त्रीले यो अपराध गरेको हुनाले निजलाई हटाउनु पर्‍यो , म हटाउँछु भन्नु पर्‍यो ।  अहिलेसम्म हाम्रो पार्टीमा प्रतिवेदनमा यो कुरा भएकोले प्रकाश ज्वाला दोषी भएकोले राजीनामा दिनुपर्‍यो भनेर केही आएको छैन ।  त्यसैले यतिकै कसैले माग्यो भन्दैमा राजीनामा दिने त ? समाजवादी पार्टी नीति विधि मान्ने पार्टी हो । नीति अनुसार गलत भएको प्रमाणित भएमा राजीनामा दिन्छौँ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : ५७ बजे

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा