गण्डकीमा ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम « Khabarhub

गण्डकीमा ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

प्रदेश निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने लक्ष्यसहित सरकारले आर्थिक वर्ष २०७५–०७६ को नीति तथा बजेटमा उक्त कार्यक्रमलाई समावेश गरेको थियो ।

त्यसयता हरेक आर्थिक वर्षको बजेट र कार्यक्रममा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ले प्राथमिकता पाउँदै आएको छ । बहुवर्षीय आयोजनाअन्तर्गत सडक स्तरोन्नति र कालोपत्रको काम भइरहेको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कतिपय सडक आयोजनाको प्रगति न्यून देखिएको उनको भनाइ छ । ‘प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएकाले स्रोतको समस्या छैन’, प्रवक्ता पौडेलले भने, ‘एघार वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण भइरहेको छ ।’

सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिसका आधारमा सडक आयोजना छनोट गरिएको उनले बताए । मन्त्रालयले प्रदेश गौरवको आयोजनाका रुपमा स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणलाई पनि गति दिएको छ । उक्त कार्यक्रमअन्तर्गत ११ सडक आयोजनाको ८९ किलोमिटर स्तरोन्नति भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रदेशका ८५ वटै स्थानीय तहका केन्द्रलाई सडक सञ्जालले जोड्ने प्रदेश सरकारको लक्ष्य छ । मन्त्रालयले अहिलेसम्म सडक नपुगेको गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिका केन्द्रमा सडक पुर्‍याउन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । मार्ग खोलिएका सडकको स्तरोन्नति र कालोपत्र गर्ने योजनालाई अगाडि बढाइएको उक्त मन्त्रालयले जनाएको छ ।

‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाको एक सय २२ किलोमिटर सडक स्तरोन्नति भइरहेको प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा. महेन्द्रबहादुर बानियाँले जानकारी दिए ।

उनका अनुसार प्रदेश स्थापना भएयता छ सय ७४ किलोमिटर पक्की र पाँच सय ६६ कच्ची सडक बनेको छ । आगामी दुई वर्षभित्रमा थप पाँच सय १५ किलोमिटर कालोपत्र र ६७ किलोमिटर ग्राभेल गर्ने लक्ष्य छ ।

‘प्रदेशभित्रका एक सय ६२ सडक बहुवर्षीय आयोजनाका रुपमा निर्माणाधीन अवस्थामा छन्’, उनले भने, ‘पूर्वाधारतर्फ प्रदेश सरकारको सबैभन्दा ठूलो बजेट सडकमा खर्च हुँदै आएको छ ।’

सडक सँगसँगै पुल निर्माणलाई पनि प्राथमिकता दिइएको डा. बानियाँले बताए । प्रदेश सरकारको लगानीमा पछिल्लो ६ वर्षमा ८५ पक्की पुल बनेका छन् भने ५३ वटा निर्माणाधीन छन् ।

थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको प्रक्रियामा रहेको उक्त मन्त्रालयले जनाएको छ । पुल निर्माणले प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहज हुनेछ । पुलका लागि चालु आर्थिक वर्षमा ३४ करोड १५ लाख विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ३९ बजे

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे

कफिनमा फर्किए शिखर चुम्न गएका कीर्तिमानी युक्त (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही