सांसद सापकोटाको निष्कर्ष- संविधान संशोधन नभएसम्म सरकार निर्माणको शैली फेरिँदैन | Khabarhub Khabarhub

सांसद सापकोटाको निष्कर्ष- संविधान संशोधन नभएसम्म सरकार निर्माणको शैली फेरिँदैन



काठमाडौं- नारायण दाहाललाई माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको प्रत्यासी बनाउँदा उनीमाथि नातावादको आरोप लाग्यो । प्रतिस्पर्धी पार्टी मात्र होइन, पार्टीभित्रकै असन्तुष्टले पनि प्रहार गरे । प्रधानमन्त्री पुष्पकमल दाहालमाथि पार्टीमा परिवारवाद हावी भएको भन्दै चौतर्फी आलोचना भयो । 

माओवादीका थुप्रै नेता यस रोगबाट प्रताडित छन् । प्रतिवादमा उनीहरु न रुन सक्छन, न आरोप धुन नै ।  माओवादी केन्द्रका युवा नेता माधव सापकोटाको राजनीतिक जीवन पनि यही आक्षेपको परिवेशमा घुमेको छ । ज्यान हत्केलामा राखेर परिवार नै युद्धमा संघर्ष गरेको विषय ओझेलमा पर्नु तर प्राप्त राजनीतिक अवसरलाई प्रोपोगण्डा बनाइँदा आफूहरूको तेजोबध हुने गरेको उनी बताउँछन् । 

सापकोटा जनताको मतबाट सांसद बने तर पूर्वसभामुख अग्नि सापकोटासँग नाम जोडेर ब्याज खाएको विषय हावी भयो । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा उनका साइँला काका हुन् भने कान्छा काका नगरप्रमुख छन् ।

 उनका  बुबा भने सरकारी जागिरे थिए । परिवारबाट २ दाइ, १ बहिनी शहीद र गाउँका २ सय हाराहारीमा होमिएको बताउँदै उनी आफ्नो गाउँबाट २१ जना शहीद भएको जानकारी दिन्छन् ।

शरीरको दाहिने भागको कोखामा गोली बोकेर हिँडिरहेका सांसद सापकोटासँग जीवनमरणका कहालीलाग्दा अनुभव छन् । ०७९ को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदीय यात्रा तय गरेका सापकोटाले १३ वर्षको उमेर विद्यालयबाट नै राजनीति सुरु गरेका थिए । 

स्कुल पढ्दा एसएलसी पास गर्नु जीवनकै ठूलो अभिष्ट बोकेका उनी युद्धका कारण सहभागी हुन पाएनन् । २०५५ सालमा एसएलसी दिने तयारीमा रहँदा प्रहरी पक्राउका लागि आएपछि भूमिगत भएका थिए । त्यसको एक दशकपछि एसएलसी पास गरेका उनले अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर तहको पढाइ पूरा गरेर प्रज्ञा र चेतनामा अब्बल प्रमाणित गरिसकेका छन् । 

०६० सालको वैशाखमा सिरहाको बन्दीपुरमा गोली लागेर गम्भीर घाइते सापकोटालाई गाढामा हालेर उपचारका लागि ल्याइँदै थियो । गाढा पानीमा फसेपछि भोलिपल्ट बिहान १० बजे मात्र होस खुलेको थियो । 

त्यो भिडन्तमा आफ्ना गाउँका सिनियर नेताको निधन भएको तर आफू भाग्यले बाँचेको बताउँदै उनी भन्छन्, ‘त्यसपछि घाइतेहरू जंगलमा बस्यौँ । अरु अर्को भिडन्तमा जानु भयो ।’ ५ दिन बन्दीपुरको जंगलमा शरीरभरि गोली लागेको मान्छे बिना उपचार बस्दा घाउ पाकेर शरीर नै गनाउने भएको सापकोटाको अनुभव छ । ‘म बाँच्दिन कि भन्ने लागेको थियो । यस्तो पीडा सहनुभन्दा त मरेको भए जाती हुन्थ्यो जस्तो लाग्थ्यो ।’

चौतारामा भएको हमलामा फेरि उनी गम्भीर घाइते भए ।  सापकोटाको बाँच्ने अवस्था नै थिएन । तर भगवान् भएर एक जना आफन्तले बहालवाला डिएसपी लिएर उनी घाइते भएको ठाउँमा पुगे । नेपाल प्रहरीको जवान बनाएर प्रहरीकै गाडीमा धुलिखेल अस्पताल ल्याइयो । त्यहाँ उपचार हुन नसकेपछि बी एन्डबी अस्पताल स्थानान्तरण गरियो । त्यो लडाइँमा उनको देब्रेपट्टि ढाड र दाहिने खुट्टामा गोली लगेको थियो ।

 ती दिनको स्मरण गर्दै सापकोटा भन्छन– ‘महिना दिन जति नेपाल प्रहरीको सिपाहीको दर्जा लिएर उपचार नपाएको भए आज म यहाँ हुने थिइन । दुई ठूला काण्डले मलाई झन्डै लगेको थियो ।’ 

मुलुक शान्ति प्रक्रियामा अघि बढेपछि उनका काका अग्नि सापकोटा र अर्थमन्त्री वर्षमान पुन अस्पताल पुग्दा त्यहाँका चिकित्सकहरूले प्रश्न गर्दै भनेका थिए– ‘नेता भएर पुलिसलाई भेट्न किन आएको ?’ काकाले युद्धमा परेको आफ्नो भतिजो भन्दा उनीहरु जिल्ल परेका थिए । 

२०६९ सालमा देवकुमारी नेपाल ‘सन्ध्या’ संग बन्दुक साटेर विवाह गरेका उनका एक छोरा छन् । प्रस्तुत छ सांसद सापकोटासँग खबरहबले गरेको वार्तालापको सारसंक्षेप । 

जनयुद्ध लड्दै गर्दा यहाँसम्म आइपुगिएला भन्ने लागेको थियो ?

बाँचिएला भन्ने नै थिएन, संसद् र अन्य पदको त के कल्पना । तर नेपाली जनताको लागि लडिएको युद्ध भएकाले उहाँहरूको आदर्शवाद रहेछ भन्ने लाग्छ । राजनीतिक परिवारमा जन्मिएको भएर यतैतिर यात्रा मोडियो । 

अन्य पार्टीले युवालाई अगाडि बढाइरहेको बेला माओवादीले किन पुराना अनुहारलाई नै प्राथमिकता दिएको होला?

आम रूपमा नेपालको राजनीतिमा युवाको सक्रियता छ । यसमा आशावादी भएर सबै पार्टीले हेरिरहेका छन् । त्यस हिसाबले पनि हामीबाट अपेक्षा गर्नु स्वाभाविक हो । जुन प्रकारले सहानुभूति अपेक्षा व्यक्त भयो, त्यसलाई मैले सकारात्मक पूँजीको रूपमा लिएको छु । 

पार्टीको आन्तरिक र संसदीय दलको बैठकमा पुराना नेताले मात्र अवसर पाएको भनेर तपाईंले कार्यशैली फेर्न व्यापक आवाज उठाउनुभयो रे हो?

बाहिर आएका सबै सत्य नहुन पनि सक्छन् । मैले व्यक्ति किटेर केही नेता कमरेडहरूलाई त्यो प्रकारले भनेको छैन । तर संसदीय दलको बैठकमा विधि पद्धतिको बारेमा गम्भीर तरिकाले छलफल भएको हो। पार्टीको आन्तरिक जीवनप्रति केही छलफल गरेको हुँ । पार्टीमा कसरी जनआकर्षण वृद्धि गर्ने, सरकारलाई कसरी सफल बनाउने लगायतका विषयमा हिजो पनि म सक्रियतापूर्वक पार्टीमा भाग लिएर आएको थिएँ । आज पनि लिन्छु । नेता र व्यक्ति विषयमा मेरो कुनै धारणा छैन । तर विचारका पक्षमा म निरन्तर पार्टीमा सक्रिय रहने छु । 

यहाँले यसो भनिरहँदा माओवादीका नेताहरु त धमाधम पक्राउ परिरहेको दृश्य कस्तो लागेको छ ?
माओवादी एउटा आन्दोलन हो । यो एउटा विचार हो । आन्दोलन र विचार भएकाले यो एउटा ठूलो लिगेसी हो । त्यसैले मलाई के लाग्दैन भने एकाध घटनाक्रमले माओवादी आन्दोलन सकिने प्रश्न आउँदैन । माओवादी निश्चित विचार, दृष्टिकोण, सिद्धान्त, लक्ष्य र उद्देश्य लिएर अघि बढेको राजनीतिक शक्ति हो । आज सिंगो मुलुक माओवादीले कोरेको पदचापमा हिँडिरहेको छ । भएका कमीकमजोरी सच्याएर अघि बढ्ने हो भन्ने पार्टीको दृष्टिकोण हो । 

तर माओवादीकै नेता र उनका परिवार धमाधम विवाद र काण्डमा परिरहेका छन । यस्तो अवस्थामा तपाईँहरूका आदर्श जनताले पत्याउलान् ?

त्यो एउटा म्यासेज चाहिँ गयो । आयोगले पनि अनुसन्धान गर्नु भनेको हो । जतिसुकै शक्तिशाली नेता भए पनि अनुसन्धान गर्नुपर्छ भन्ने स्वयं प्रधानमन्त्री दाहालको भनाई हो । शुद्धिकरणका यस्ता अभियान चलाउँदा माओवादी पार्टीलाई नै न्याय हुने ठानेर प्रधानमन्त्रीले यस्तो निर्णय लिनु भयो । 

०६४ पछि पटक–पटक सरकारमा गए पनि माओवादी क्षयीकरणमा मै छ नि ख्याल गर्नु भएको छ ?

खाली सरकार र सत्ताको बहसलाई समाजले रुचिकर ठान्ने हुँदा यस विषयले प्राथमिकता पाएको हो । तर मेरा अग्रज नेताले पद हस्तान्तरण गरेकै कारण म सांसद भएर आएको छु ।  कमरेड अग्निप्रसाद सापकोटा सिनियर नेता पनि हुनुहुन्छ । उहाँ सरहका धेरैले नेताहरू श्रद्धालायक हुनुहुन्छ ।  पार्टीले मलाई र म जस्तालाई अवसर नदिएको भए पार्टीले मेरो क्षमता पनि जान्दैन थियो । मलाई पनि चिन्दैनथ्यो । 

माओवादी र अझ यसका सारथी प्रचण्डलाई सत्ताबिना टिक्न नसक्ने नेताका रुपमा दृष्टान्त दिने गरिएको बारे के भन्नुहुन्छ ?

निर्वाचन प्रणालीले एउटा मात्र शक्तिलाई बहुमत दिन सक्ने अवस्था छैन । त्यसो हुँदा एउटा मात्र दल हुँदा बहुमत छैन । नभएपछि एउटा मात्र दलले सरकार निर्माण गर्न सकेन । त्यो कारण कुनै न कुनै दलहरू मिलेर सरकार निर्माण गर्नु अनिवार्य छ । यी सबै गठबन्धनका कुरा नेपाली जनताले छर्लङ्गै देख्नुभएको छ । चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने र निर्वाचन पछिको नेतृत्व प्रचण्डले गर्ने भनिएको हो ।

 त्यो सहमतिमा कांग्रेस इमानदार देखिएन र एमालेले प्रस्ताव गर्‍यो । त्यसलाई स्वीकार गरेर हामी अगाडि गयौँ । यो १२ १४ महिना हामीले कांग्रेससँग सहकार्य  गर्‍यौँ । तर प्रधानमन्त्रीलाई काम गर्न गठबन्धन बाधक भयो । निरन्तर अवरोध भएपछि यो अहिले परसम्मको यात्रामा पुग्न नयाँ सहयात्रा सुरु गरेका छौँ । 

यो व्यवस्था रक्षाका लागि माओवादी र प्रचण्डले नै बढी भूमिका निर्वाह गर्नुपर्छ । यो व्यवस्था ल्याउन हामीले मेहनत गरेका छौँ । कानुन निर्माण गर्न अझै बाँकी रहेकाले त्यसको असली हकदार प्रचण्ड भएका कारण नेतृत्व अपरिहार्य भएको हो । 

वर्तमान सरकारले विश्वासको मत लिँदा गठबन्धनका सहयात्री जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले नै अर्ध समर्थन गरेकोलाई कसरी बुझ्ने ?

अघिल्लो पटकको विश्वासको मत संसदीय अभ्यासको सन्दर्भमा उचित थिएन । झट्ट हेर्दा मिले भनेजस्तो थियो । तर त्यहाँ कहीँ न कहीँ दाउपेचहरु थिए । यो पटक ठीक भएको छ । कि हामीले मुख्य पार्टी मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने गर्नुपर्‍यो । नत्र भने न्यूनतम पक्ष र प्रतिपक्षको कल्पना गर्ने स्थिति बन्नुपर्‍यो ।  कि निर्वाचन प्रणाली सुधार गर्नुपर्‍यो नत्र हुने यस्तै हो । 

यही कार्यशैलीले ०८४ मा माओवादीको हैसियत कस्तो होला ?
मेरो कुरा के छ भने ०८४ मा के हुन्छ भनेर टाउको गन्ने अवस्था छैन । ठूलै उथलपुथल भयो १५ महिनामा । ०८४ को निर्वाचन सम्म जाँदा राजनीति थिग्रिएर ठीक ठाउँमा आउँछ । मलाई लाग्छ मुद्दा, नारा कार्यक्रम लिएका शक्तिहरू ठीक ढंगले एकातिर जान्छन् । आफूलाई तयार पारेर राजनीतिलाई स्थायित्व दिन नेपाली जनताले आफ्नो अभिमत प्रकट गर्नुपर्छ । 

यहाँको पार्टीका अध्यक्षले उथलपुथल गर्छु भन्नुहुन्छ । तर अनुसन्धानको घेरामा भएका व्यक्तिलाई नै मन्त्री बनाउनुहुन्छ ?प्रमुख प्रतिपक्ष राजीनालाई बटमलाईन बनाइरहेको छ । यसले कस्तो परिणाम ल्याउला ?
यो कोर्स सुरु भएपछि निरन्तर कांग्रेसले गृहमन्त्रीको विषय उठाइरहेको छ । यस विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुभएको छ । कांग्रेसले चित्त बुझाएको छैन । बरु नयाँ नयाँ माग थपेको छ । छलफल गर्दै गएपछि सकारात्मक निष्कर्षमा पुगिएला । 

पाँच दलीय गठबन्धन सरकारको आयुबारे अहिले विभिन्न अडकल शुरु भइसकेको विषयमा के भन्नुहुन्छ ?
एमाले र कांग्रेसको घाँटी मिलेन भने के हुन्छ त ? म गम्भीरतापूर्वक के भन्छु भने यो अहिले हामीले बनाएको गठबन्धन होइन । यो सहकार्य हो । विचारमा ज्यादा सहकार्य भएका शक्ति एक ठाउँमा छन । एमाले, माओवादी र समाजवादीसँगै छन् । जसपाको पनि हामीसँग ज्यादा समानता छ । समाजवादसँग सहकार्य आवश्यक थियो  र भएको छ । 

अन्तिममा वर्तमान गठबन्धनले प्रधानमन्त्री पनि आलोपालो गर्ने भनेर सहमति गरेको हो ?
विशेषतः तीन नेताहरू प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच केही सहकार्य गर्ने भन्ने छलफल भएको छ । आलो-पालो गर्ने नै भनेर सैद्धान्तिक सहमति भएको छ । माधव नेपालसँग पछिल्लो समय छलफल भएको हो । भागबन्डाको पूरा निर्णय भने भएको छैन ।  

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ४८ बजे

ओलीले भने- कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्को सत्ता साझेदार नेपाली

कम्बोडिया जानुअघि सभामुखले भेटे राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन्

महाकाली सन्धिको बचाऊ गर्दै शंकर पोखरेलले भने- त्यसबेला एमाले फुटाए, अहिले सक्न खोज्दैछन्

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्न ठूलो

चिसो मौसमलाई माइडियाको न्यानो राहत

काठमाडौं– माइडिया ब्रान्डले नेपाली बजारमा चिसो मौसमकालागी उपयोगी  विभिन्न इलेक्ट्रोनिक्स

गाडी नदेखेका ती हरिश, यी कलाकार कक्रोच !

काठमाडौं – हास्य टेलिश्रृङ्खलामार्फत बालबालिका र युवामाझ स्थापित कलाकार हुन्‌