सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती | Khabarhub Khabarhub

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन । 

यतिका समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । विसं २०६८ मा रूपन्देहीको सालझण्डीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको थियो । रुपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार काम हुन सकेको छैन । 

संघीय  सरकारले सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अगाडि बढाए पनि निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ । विसं २०७८ कात्तिक ५ गते निर्माण कम्पनीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि वडा नं ९ को फल्लेघरसम्म को २२ किलोमिटर सडक ग्राभेल गर्ने गरी जिम्मा लिएको थियो । 

सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलका लागि स्वच्छन्द-ओमबुद्ध जेभी काठमाडौँले रु २३ करोडमा जिम्मा पाएको थियो । तीस महिनामा सक्ने गरी सम्झौता भए पनि हालसम्म आधा पनि काम हुन सकेको छैन ।

हालसम्म २६ प्रतिशत वित्तीय र ३० प्रतिशत भौतिक प्रगति भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी दिक्षा बस्यालले जानकारी दिए । निर्माण कम्पनीको ३० महिने काम गर्ने अवधि सकिएको भन्दै म्याद थपका लागि निवेदन आएको उनको भनाइ छ । 

कार्यालयले म्याद भने थपी नसकेको बस्यालले बताए । निर्माण कम्पनीले चासो दिएर काम नगर्दा समयमै काम नसकिएको उनले बताए । कार्यालयले बारम्बार समयमै काम सक्नका लागि ताकेता गरे पनि अटेरी गरेको छ । 

सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन आउने पर्यटक र स्थानीय बढी मर्कामा छन् । दैनिक सयौँ यात्रु तथा पर्यटक जोखिमपूर्ण यात्रा गरेर ढोरपाटन पुग्ने गर्छन् । हिउँदको समयमा जसोतसो यातायातका साधन चले पनि बर्खा लाग्यो भने ठप्प हुने गर्दछन् । 

हिउँदको समयमा पनि ठूलो वर्षा हुँदा गाडी राम्रोसँग चल्न सक्दैनन् । सडक सहज नहुँदा स्थानीयलाई पालिकाको केन्द्र बुर्तिबाङ आउजाउमा समेत समस्या भएको ढोरपाटन-९ का प्रेमबहादुर घर्ती मगरले बताए। ढोरपाटनदेखि बुर्तिबाङ बजार दूरीका हिसाबले छोटो भए पनि अप्ठ्यारो सडकका कारण दुई घण्टा बढी समय लाग्ने उनको भनाइ छ ।

एक सय ९० किलोमिटर दूरीको सालझण्डी–ढोरपाटन सडक  बागलुङमा मात्रै ५० किलोमिटर पर्छ । यो सडकसँग बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका गरि तीन पालिका जोडिएका छन् । ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले निर्माण कम्पनीको ढिलासुस्तीका कारण यहाँका हजारौँ नागरिक र सयौँ पर्यटकले समस्या भोग्नुपरेको बताएका छन् । 

पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट आउने पर्यटकले बुर्तिबाङसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा सहजरुपले आए पनि ढोरपाटन पुग्न निकै गाह्रो भएको गुनासो गर्ने गरेको उनको भनाइ छ । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : १८ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र