मुकुल ढकालले बजाएको ‘खतराको घण्टी’ले रास्वपामा तरंग | Khabarhub Khabarhub

मुकुल ढकालले बजाएको ‘खतराको घण्टी’ले रास्वपामा तरंग

पार्टी बचाउन जुनसुकै आक्षेपको सामना गर्न तयार छु : ढकाल


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनापछिको पहिलो धक्का महसुस गरेको थियो ।

स्थापनको एक वर्षमै चौथो शक्तिका रुपमा संघीय संसद्मा प्रवेश गरेको त्यही रास्वपा छोटो समयमै ओरालोतिर लागेको गुनासो र चिन्ता उसका शुभचिन्तकले गर्न थालेका छन् ।

खासगरी सभापति रवि लामिछाने एकपछि अर्को काण्डमा मुछिँदै जाँदा उनलाई हिजो साथ दिएकाहरू तितरबितर हुन थालेका छन् । कुनै बेला सामाजिक सञ्जालमा अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जस्तै ‘हिरो’का रुपमा उनका समर्थकले प्रस्तुत गर्थे ।

तर अहिले सभापति लामिछाने सहकारी प्रकरणको गम्भीर विवादमा त फसेका छन् नै दुई पटकसम्म सरकारमा जाँदा पनि परिणाम दिन नसक्दा समर्थकहरू रुष्ट देखिन थालेका छन् ।

यिनै तनावबीच रास्वपाले इलाम २ मा भोगेको नमिठो हारपछि नेताहरूलाई देशब्यापी अभियानमा उतारेको थियो । आफ्नो नाडी छाम्ने गरी रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएकामध्ये एक नेता थिए महामन्त्री डा. मुकुल ढकाल ।

उनले महामन्त्री ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएपछि तरंग उत्पन्न भएको छ ।

गत जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेर तयार पारेको प्रतिवेदन लामिछानेलाई बुझाएका हुन् ।

महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएपछि पार्टीभित्रै उनको घेराबन्दी सुरु भएको छ ।

के भन्छन् ढकाल?

महामन्त्री मुकुल ढकालले बुधबार सभापतिलाई प्रतिवेदन बुझाउनअघि आफूनिकट नेताहरूसँग कुरा गरेका थिए । उनले त्यसबेला प्रतिवेदन बुझाइसकेपछि आउने प्रतिक्रियाहरूको सामना गर्न तयार रहेको दृढता सुनाएका थिए ।

प्रतिवेदन तयार पारेको थाहा पाएपछि उनलाई पार्टीको छलफलमा पनि बोलाइएको थियो । तर आफूले समीक्षा यात्राको प्रतिवेदन सभापतिसमक्ष बुझाउन लागेकाले ती बैठक र छलफलमा उपस्थित हुन नसक्ने भन्दै पन्छिएका थिए ।

‘मैले देश दौडाहामा जस्तो देखेँ, त्यही अवस्थाको प्रतिवेदन बुझाउन लागेको छु’, उनले त्यसक्रममा भनेका थिए, ‘मैले फरक फरक भूगोलमा गहिरोसँग अध्ययन गरेर प्रतिवेदन तयार पारेको छु । यसबाट आउने प्रतिक्रियाको सामना गर्न तयार छु ।’

महामन्त्री ढकालले उक्त प्रतिवेदन बुझाउनुअघि केही नेतासँग परामर्श पनि गरेका थिए ।

‘महामन्त्रीजीले प्रतिवेदन बुझाउनुअघि केही नेताहरूसँग परामर्श लिनुभएको थियो । उहाँले विभिन्न जिल्लाबाट आएको प्रतिक्रियालाई जस्ताको तस्तै प्रतिवेदनमा समेट्नु भएको छ’, ती नेताले भने, ‘आफूले बनाएको प्रतिवेदन सभापतिसमक्ष बुझाउन लागेको उहाँले बताउनु भएको थियो । प्रतिवेदन बुझाएपछि आउने प्रतिक्रियाहरू सामना गर्न तयार रहेको दृढता उहाँले हामीलाई सुनाउनु भएको थियो ।’

उनले प्रतिवेदन बुझाएपछि पार्टी फुटाउन लागेको आक्षेप आउन सक्ने भन्दै त्यो कुराको सामना गर्न तयार रहेको बताएका थिए ।

‘मलाई पार्टी फुटाउन लागेको, गुटबन्दी गरेको लगायत प्रतिक्रिया आउन सक्छन्’, उनले भनेका थिए, ‘तर म ती कुराको सामना गर्न तयार छु । मैले जनता र शुभेच्छुक भेटेर आएको हुँ । उहाँहरूको कुरा जस्तो छ, त्यस्तै म सभापतिसमक्ष बुझाउँदैछु ।’

महामन्त्री ढकालले यति कुरा आफूनिकटहरूसँग राखेपछि उनीहरूले पनि त्यसलाई सही अभ्यास भन्दै समर्थन जनाएका थिए । उनीहरूले पार्टी बचाउन चालिएको ढकालको कदमलाई सही भनेका छन् ।

ढकालले केही दिनअघि खबरहबसँगको कुराकानीमा आफूले गहिरो अध्ययन गरेर प्रतिवेदन ल्याएको बताएका थिए ।

‘मैले ३८ जिल्लाका जनतामाझ पार्टीको अवस्था बुझेर आएको छु । सभापतिसमक्ष प्रतिवेदन बुझाउँदैछु । बुझाइसकेपछि त्यसलाई सार्वजनिक गर्नेछु’, उनले भनेका थिए ।

के छ प्रतिवेदनमा ?

ढकालले उक्त विशेष प्रतिवेदनमा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएपछि पार्टीको आकार पनि घट्दै गएको उल्लेख गरेका छन् ।

जनतालाई पार्टीको नीति र सिद्धान्त बुझाउन नसकेकाले पनि संगठन विस्तारमा थप समस्या भएको उनको निष्कर्ष छ । उनको प्रतिवेदनमा गाउँ-गाउँ र टोलटोलमा सानो आकारको संगठन निर्माण गर्नुपर्ने सुझाव पनि समेटिएको छ । जुन अभ्यास नेकपा एमाले र नेपाली कांग्रेसले गर्दै आएका छन् ।

ढकालले यही अवस्थामा चलिरहे आगामी वि.सं. २०८४ को निर्वाचनमा पार्टीको आकार फैलिनेभन्दा अहिलेभन्दा मसिनो भएर खुम्चिने चेतवानी पनि प्रतिवेदनमा दिएका छन् ।

‘केही कुराहरूमा पार्टी सचिएर र सुधारिएर जानु आवश्यक छ। यही तरिकाले हामी ०८४ मा गयौँ भने पार्टीको आकार अहिलेको भन्दा मसिनो हुन सक्छ’, उनको प्रतिवेदनमा भनिएको छ ।

उनीसँगै उपसभापति डा. स्वर्णिम वाग्लेले पनि पार्टीले अब सानो आकारको टोल कमिटी बनाउनुपर्ने बताइसकेका छन् ।

‘हामीले हामीले गाउँ र टोलमा सानो आकारको कमिटी निर्माण गरेर पार्टीको सिद्धान्त नीति र व्यवहार बुझाउन सक्नुपर्ने चुनौती छ’, वाग्लेले खबरहबसँग भने ।

यस्तै प्रतिनिधि सभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टीमा केही कुराहरू सुधार गरेर जानु आवश्यक रहेको औँल्याएका छन् ।

‘हाम्रो पार्टीमा विभिन्न लोकतान्त्रिक कम्युनिस्ट र विभिन्न विचारधाराका साथीहरु हुनुहुन्छ। तर हाम्रो पार्टीलाई कुन विचारधारा हो र कस्तो किसिमको पार्टी हो भनेर स्पष्ट ढंगले नलगे विभिन्न खालका अवरोध आउन सक्छ’, उनले जेठ ७ मा खबरहबसँग भनेका थिए, ‘पार्टी स्थापना भएको दुई वर्ष पुगेको छ। अब हामी समीक्षा गरेर बिस्तारै मिलाउँदै जानेछौँ। पार्टीमा विभिन्न विचारहरू आउनु स्वभाविक पनि हो।’

ढकालसहितका नेताहरूले जेठ ६ गते पार्टी केन्द्रीय कार्यलय घण्टीघरबाट शुरू गरेको समीक्षा यात्रा ३८ जिल्लामा पुगेर टुंग्याएका छन् । उनले २ हजार ७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरेको बताएका छन् ।

ढकालले असार ५ गते पार्टी कार्यालय च:मातीस्थित घण्टीघरमा यात्रा समापन गरेर प्रतिवेदन लेखेका छन् ।

असन्तुष्टि

पछिल्लो समय सभापति रवि लामिछाने लामिछानेसँग खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, महामन्त्री मुकुल ढकाल, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, शिक्षामन्त्री सुमना श्रेष्ठ, सांसदहरू सोबिता गौतम, निशा डाँगी र मनिष झा लगायत असन्तुष्ट छन् ।

पोखरा र बुटवलसहितका सहकारीको बचत अपचलन प्रकरणमा मुछिएको भन्दै सभापति लामिछानेले राजीनामा दिनुपर्ने माग पनि उठेको छ ।

यसका साथै यस प्रकरणको छानबिन अवधिभर लामिछानेले गृहमन्त्रीबाट बाहिरिनुपर्नेसहितका कुरा पनि नेताहरूले उठाइरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ११ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले