काठमाडौं– राजु पौडेल अहिले उमेरले ३५ वर्षका भए । ‘सकस’ र ‘जुठे’ दुई सिरियल लेखन र निर्देशन गर्छन् । यद्यपि उनको उदय सिरियल ‘मेरी बास्सै’को पात्र ‘राजु मास्टर’का रूपमा भएको हो ।
वि.सं. २०६१ मा काठमाडौं आएर राजुलाई ‘राजु मास्टर’ बन्न सहज थिएन । मेरी बास्सैसम्म आइपुग्दा उनी ‘हिजो आजको कुरा’, ‘तीतो सत्य’ र ‘जिरे खुर्सानी’को छायाङ्कन स्थलमा वर्षौं धाउनुपर्यो ।
हिजो आजका कुरामा उनले पहिलोपटक अभिनय गर्न पाए । तर प्रशारण हुँदा चप्पल मात्रै देखिएको क्षण पनि उनले पार गरेका छन् ।
कलाकार बन्ने अवसर खोज्दै हिँडेका ५० जना युवालाई पछि पारेर मेरी बास्सैको ‘बुम म्यान’ बन्न उनको वर्षौंको पर्खाइ र निरन्तरता लगानी भएको छ ।
मेरी बास्सैमा ३ वर्ष बुम बोकेपछि ‘राजु मास्टर’ बने पनि उनी काठमाडौंमा आर्थिक अभावसँग करिब १५ वर्ष जुधेका छन् । भन्छन्, ‘कुनै जागिर खाएको भए पेन्सन पाक्ने अवधिसम्म मैले कलाकार बनेर बाँच्न संघर्ष गरेको छु ।’
अहिले राजु ४० जनाको टिमको नेतृत्व गर्छन् । आफ्नै दुई सिरियल छन् । घर–गाडी जोडेर आर्थिक प्रगति पनि गरेका छन् । तर काठमाडौंका सुरुवाती दिनमा पर्दा किन्ने नभए झ्यालमा पत्रिका टाँस्नु पर्ने बाध्यता उनले भोगेका छन् ।
जानौं, तिनै मेरी बास्सैका राजुका संघर्षदेखि सफलताका यात्राहरूः
गगनगौँडामा बाल्यकाल
राजु स्याङ्जाको टक्सारमा जन्मिए, तर हुकाई पोखराको गगनगौँडामा भयो । सानैमा परिवार पोखरा सरेकाले स्याङ्जाको बाल्यकाल उनलाई याद छैन ।
आमा गृहिणी, तर बुबा भारतीय सेनामा भएकाले बाल्यकालमा अभाव खेपेको उनलाई थाहा छैन । पोखराको लाहुरेको परिवार– कसलै कम आँक्ने कुरै भएन ।
दुई भाइलाई पेलेर जेठो छोराको हैसियतले बुवाको अनुपस्थितिमा घरको प्रतिनिधित्व गरेर निम्तो मान्ने जिम्मेवारी उनले आफ्नै भागमा पारेका थिए रे १
‘हामी तीन छोरा, बुवा जागिरमा हुने । व्रतबन्ध, बिहेमा निम्तो मान्न म नै जान्थेँ । भाइहरूले अवसर पाउँदैन थिए,’ उनी भन्छन्, ‘जन्त जाँदा केटी पक्षले टीका लगाएर खाममा पाँच रुपैयाँ दिन्थे । त्यसैका लागि पनि म जन्त जान्थेँ ।’
०५४–५५ सालतिर सम्रान्त परिवारको घरमा मात्रै टेलिभिजन हुन्थ्यो । राजुको घरमा थिएन । मकै छडाइदिँदै छिमेकीको घरमा टीभी हेरेको अनुभव पनि उनीसँग छ ।
‘गाउँभरका मान्छे आएर टिभी हेर्थे । टीभी साहूले मैक छोडाउन लगाउँथे, मकै छोडाउँदै टीभी पनि हेरेको छु,’ उनी स्मरण गर्छन्, ‘मान्छे धेरै भएका बेला झ्यालबाट पनि चिहाएर हेर्नुपथ्र्यो ।’
तर, कक्षा सातमा पुगेपछि टेलिभिजन हेर्न छिमेकीकहाँ धाउनुपरेन । नजिकै मामाघर थियो । मामाले बिहेमा दाइजो पाएपछि ढुक्कले टीभी हेर्न पाएको उनी बताउँछन् ।
‘मामालाई टीभी दाइजो दिन्छन् भन्ने पहिल्यै थाहा पाएको थिएँ । बिहेको दिन कति बेला टीभी दिन्छन् भनेर हेरिरहेको थिएँ । सबै दिए, टीभी दिएनन् । मलाई तनाव भयो,’ उनी सो टीभी बारेको स्मृति सुनाउँछन्, ‘फुट्छ भनेर भोलिपल्ट ल्याइदिए । त्यसपछि त जति बेला हेर्दा पनि भयो, रिमोट नि आफैँ चलाउन पाइने भइयो ।’
त्यसबेला हेरेका महजोडीका ‘नेपालबन्द’ लगायतका सिरियलहरू राजुलाई अझै याद छन् । भन्छन्, ‘सीडी किनेर लगिन्थ्यो । २०–३० रुपैयाँ पर्थ्यो । पैसा भएन भने ५–७ रुपैयाँ भाडामा सीडी लगिन्थ्यो ।’
कलाकार बन्ने इच्छा
राजुलाई कलाकार बन्ने इच्छा संयोगले पलाएको हो । उनको घर कास्की जिल्लामा पर्छ तर उनले तनहुँस्थित हंशबाहिनी विद्यालयमा पढेका हुन् ।
उनी भन्छन्, ‘तनहुँको सिमानाछेउ हाम्रो घर । छोरो दूरीको स्कुल तनहुँमा पर्ने भएकाले त्यतै पढियो ।’
कक्षा ७ मा पढ्दा कलाकार बन्ने इच्छा पलाएको उनलाई टड्कारो याद छ । संयोगले नाटक खेल्ने मौका पाएपछि उनीमा सो इच्छा पलाएको थियो ।
‘माघ ३ गते स्कुलको वार्षिकोत्सव थियो । रमेश परियार भन्ने साथीले नेतृत्व गरेर नाटक गर्ने भएका थिए । टिम बनाएर रिहर्सल पनि गरे,’ उनी भन्छन्, ‘वार्षिकोत्सवको दिन पानी प¥यो । प्रहरीको रोल गर्ने राजु गुरुङ भन्ने साथी आएन । रमेशले राजु तँ गर् भन्यो ।’
छोटो भूमिका र थोरै संवाद भएकाले राजु नाटक गर्न तयार भए । प्रहरीको ड्रेस लगाएर रिहर्सल पनि गरे । तर नाटक सुरु हुनुअभि राजु गुरुङ आइपुगे ।
‘राजु आएपछि मैले गर्न पाउँदिन किन भन्ने डर भयो, तर उसलाई खेल्ने इच्छा रहेनछ । मलाई नै गर् भनेपछि ढुक्क भएँ, तर सानो भूमिका थियो, दुई डाइलग थियो,’ उनी भन्छन् ।
साथीहरू हाँसेपछि जोसिएर स्क्रिप्टमा भएको भन्दा थप दुई डाइलग बोलेको उनलाई याद ताजै छ ।
‘हाँस्न लागे, मैले आफैँले डाइलग थपेँ । मेरो कारणले त होइन, तर त्यो नाटक सबैले मन पराउनुभयो,’ उनी भन्छन्, ‘त्यसपछि सरहरूले पनि शुक्रबारको कार्यक्रममा रमेश र मलाई नाटक गर्न लगाउन थाल्नुभयो ।’
यहीबाट उनीमा कलाकार बन्ने इच्छा पलाएको हो । वर्षेनी वार्षिकोत्सवमा नाटक गर्दा सरहरूले दिने हौसलाले झन् मलजल थपेको हुनलाई महसुस हुन्छ ।
‘अर्को वर्षको नाटक झन् राम्रो भयो । ८ र ९ मा पढ्दा त मुख्य भूमिकामा नाटक गरियो,’ उनी भन्छन्, ‘त्यसपछि सरहरूले पनि रमेश र मलाई एसएलसीपछि काठमाडौं जाने सल्लाह दिन लाग्नुभयो ।’
कलाकार बन्न काठमाडौं
राजुका अनुसार उनी स्कुलका उत्कृष्ट विद्यार्थी थिएनन् । तर, कडा मेहनत गरेपछि एलएलसीको फलामे ढोका सेकेन्ड डिभिजनमा पार गरे ।
कलाकारिताको चस्का पसेकाले काठमाडौंमा क्याम्पस पढ्नका लागि माहोल बुझ्न भन्दै नतिजाअघि नै काठमाडौं आए । साथीको डेरामा एक साता बसेर र काठमाडौं घुमेर पोखरा फर्किए ।
उनलाई एक्लै काठमाडौं आउन मन थिएन । नाटकमा खेलाउने साथी रमेशलाई पनि ल्याउन मन थियो । आर्थिक अवस्थाले रमेश काठमाडौं आउने अवस्था बनेन ।
उनी भन्छन्, ‘ऊ परिवारको जेठो छोरो, आर्थिक अवस्था कमजोर थियो । मेरो पनि अवस्था निकै राम्रो त होइन, तर काठमाडौंमा राख्न चाहिँ सक्थे ।’
दुवै मिलेर सोच्दा पनि रमेश काठमाडौं आउने वातावरण बनेन । भन्छन्, ‘उता गएर केही काम गर्न सकिन्छ कि भनेर सोच्यौं, तर पार लागेन ।’
एकसाथ काठमाडौं आउने अवस्था नबनेपछि दुवै पोखराको पीएन क्याम्पस पढ्न थाले । दैनिक गाडीभाडा २६ रुपैयाँ तिर्न नसकेपछि रमेश पीएन क्याम्पस पनि धाउन छोडे ।
‘बिहान ८ बजे कलेज हिडेपछि बेलुका ६ बजे घर पुगिने । दिउँसो खाजा पनि खानुपर्ने भयो, रमेशको खर्चले पुगेन । ऊ गाउँकै क्याम्पसमा पढ्ने भयो,’ उनी भन्छन्, ‘म पनि एक्लै जाडोमा राति घर पुग्ने भएपछि पोखरामै डेरा बस्नुपर्ने भयो । पोखरा डेरा बस्नुभन्दा त काठमाडौं बस्नु ठीक लागेर घरमा कुरा राखेँ ।’
बुवा घर आएको मौका पारेर कुरा राख्दा मासिक २५ सय खर्च पठाउने सर्तमा काठमाडौं आएको राजु बताउँछन् ।
काठमाडौंमा सकस
क्याम्पस पढ्दै कलाकारिता क्षेत्रमा संघर्ष गर्न ०६१ सालमा राजु काठमाडौं आए । एसएलसी दिएर घुम्न आउँदा बसेको साथीकै डेरामा बसे । कोटेश्वरमा डेरा थियो, खर्च आधा–आधा !
पीएन क्याम्पसबाट ठिमीमा ट्रान्सफर लिएर आएका उनी दूरी टाढा भएकाले पढ्न गएनन् । विद्यार्थी नेता समातेर पाटन क्याम्पसमा भर्ना भए ।
‘यता आएपछि त ठिमी कहाँ हो कहाँ भयो । उता एजुकेसन लिएर पढेको थिएँ, यता आएर आर्टस् पढेँ,’ उनी भन्छन्, ‘रात्रि कक्षामा भर्ना मिल्यो । त्यहीँ पढ्न लागेँ ।’
कलेज त भेटियो, तर डेरामा बस्नै सकस भएको उनी बताउँछन् । भन्छन्, ‘पानी पनि नदिने, कलको पानी चोर्नुपर्ने । जडिबुटीको ढुंगेधारामा गएर पानी ल्याउनुपर्थ्यो ।’
केही महिनापछि राजु कोटेश्वरको डेरामा अड्डिन सकेनन् । उनी अर्को साथीसँग मिलेर पाटन भोलढोका सरे । भन्छन्, ‘पर्दा किन्ने पैसा नभएर झ्यालमा पत्रिका टाँसेको थियौं ।’
चार–पाँच महिनापछि साथी अन्तै सरेपछि राजु एक्लिए । ८०० कोठाभाडा उनले एक्लै तिर्नुपर्ने भयो । त्यसपछि भने मुक्लिले खर्च पुग्न थालेको उनी सम्झन्छन् ।
‘साथी हुँदा त सबै खर्च आधाआधा हुन्थ्यो । हिँडेपछि त एक्लै परेँ । २५ सय त पुग–अपुग हुन थाल्यो । महिना कट्नै सकस हुन थाल्यो नि १’ राजुले काठमाडौंको सुरुवाती दिनका आर्थिक अप्ठेरा सुनाए ।
बान्द्रेसँग भेट
रातिको समयमा क्याम्पस पढ्ने भएकाले राजुलाई दिउँसो अभिनय सिक्ने समय मिल्यो । ९ मा पढ्दा ‘कलाकार बन्नुपरे हामीलाई सम्झनुस्’ भन्ने नवसिर्जना कला केन्द्रको विज्ञापन टेलिभिजनमा बज्दा नम्बर टिपेका थिए ।
ल्यान्डलाइनबाट त्यही नम्बरमा फोन गरेर उनी बागबजारमा अभिनय सिक्न भर्ना भए । भन्छन्, ‘मासिक १६ सय तिरेर ६ महिना अभिनय र नृत्य सिकेँ । २५ सयले नपुगेर हारगुहार गरेर १६ सय मगाएको थिएँ ।’
दैनिक पाटन–बागबजार गर्ने गाडी भाडाले खर्च बढेको थियो । भाडा बचाउन सेकेन्ड हेन्ड साइकल किनेको उनी बताउँछन् ।
‘५०० मा साइकल किनेँ, २०० को रङ लगाएर चिटिक्क बनाएँ,’ उनी भन्छन्, ‘अभिनय सिक्न जाँदा सुरोज चापागाईं ‘बान्द्रे’सँग भेट भयो ।’
त्यो बेलाको कुरा– जतिबेला बान्द्रे पनि संघर्षकै चरणमा थिए । शहर छिरेर सुरु गरेको उनको फुटपाथ पसल थियो । तर उनले सन्तोष पन्तको सिरियल ‘हिजो आजका कुरा’मा सानो भूमिकामा अभिनय गर्ने मौका पाइसकेका थिए ।
उनलाई त्यसबेला बान्द्रेले भनेका थिए रे, ‘राजु १ तलाई हिजो आजको कुरामा लैजान्छु । म त त्यहाँको मुख्य कलाकार भइसकेँ ।’
मुख्य कलाकार भनेकाले रत्नापार्कदेखि बसुन्धारासम्मको बान्द्रेको गाडी भाडा पनि आफैँ तिरेको राजु बताउँछन् ।
सिरियलको छायाङ्कनस्थल पुगेपछि राजुले अनौठो दृश्य देखे । पहिलो त उनले सुटिङको छायाङ्कन पहिलो पटक देखे । दोस्रो, ५०–६० जना नयाँ केटाहरू अभिनयको अवसर पाइन्छ कि भनेर भीड लागेको देखे ।
‘तँ, तँ, तँ बस् १ रोल छ, अरू घर जानू भन्दा रहेछन् । महिनौंदेखि अभिनय गर्न पाइन्छ कि भनेर आएका हुँदा रहेछन्,’ उनी भन्छन्, ‘सन्तोष पन्तको घरभित्र छिरेको देख्यो भने यसको त सन्तोष पन्तसँग डाइरेक्ट लिंक छ भनेर ती केटाहरूले चिया खुवाउँदा रहेछन् ।’
सुटिङको वातावरण देखेरै छक्क परे । त्यो दिन बान्द्रेसँगको किस्सा सम्झँदा उनी अहिले पनि हाँस्छन् ।
‘मुख्य कलाकार भन्थ्यो, नोकरको सानो रोल रहेछ । त्यो दिन पनि अभिनय गर्ने अवसर त पायो, तर १७ टेक खायो,’ उनी भन्छन्, ‘धेरै टेक खाएपछि सन्तोष पन्तले बान्द्रेलाई लखेट्नुभयो ।’
बोली र वास्तविकता मेल नखाएपछि फर्किने बेला बान्द्रेले लाज ढाक्न कुरा मिलाएको उनी सम्झन्छन् । उनलाई बान्द्रेले भनेका थिए रे, ‘यस्तै हो सुटिङ १ मैले आज अलि बढी टेक खाए । सबैले यहाँ टेक खान्छन् ।’
‘पहिलो पटक टीभीमा चप्पलमात्रै आयो’
पहिलो दिन जे घटना घटे पनि राजुले कलाकार बन्न जाने ठाउँ थाहा पाएँ । उनी हरेक सोमबार ‘हिजो आजको कुरा’को सुटिङमा धाउन लागे । सातौं हप्तामा उनको पालो आयो ।
‘बाहिरका ५० जनामा सन्तोष पन्तले छानेर बोलाउनु हुन्थ्यो । सातौं साता धाएपछि एकपटक पालो आयो,’ उनी भन्छन्, ‘ तिहारको बेला भैली खेल्ने दृश्यमा म अटाएको थिएँ । सातौं महिना धाउनेले भट्याउने अवसर पायो । म भैली भन्ने समूहमा थिएँ ।’
पहिलो पटक सुटिङ गरेको खुसी राजुले आफैँमा सीमित राख्न सकेनन् । ल्यान्डलाइनबाट फोन गरेर घरमा सुनाएँ । टीभीमा कार्यक्रम प्रसारण भयो, तर उनको अनुहार देखिएन ।
‘अग्ला केटाहरूले छेकेछन् चप्पल मात्रै आयो । मैले आफ्नो चप्पल चिनेँ,’ उनी भन्छन्, ‘गाउँमा छिमेकीहरू जम्मा भएर राजु टीभीमा आउँछ भनेर हेरेछन् । मलाई देख्न पाएनन् ।’
यो घटनाले उनी कति पनि निराश भएनन् । उनी ‘सुरुमा यस्तै हो’ भनेर छायाङ्कनस्थल धाइरहे । फेरि सातौं सातापछि पालो आयो, यसबेला भने उनलाई संवाद दिइएको थियो । तर क्यामेरा फेस गर्नु अघिको छटपट्टी उनले अझै बिर्सन सकेका छैनन् ।
‘सन्तोष दाइले तयार भएर बस्न भन्नुभयो । मलाई डर लाग्यो । तिर्खा लागे जस्तो हुन्छ, पिसाब लागे जस्तो हुन्छ । घाँटी सुके जस्तो हुन्छ,’ उनी भन्छन्, ‘घाँटी भिजाउन ट्वाइलेटको पानी खाएँ ।’
जसोतसो गरेर ३ टेकमा संवाद बालेपछि टीभीमा पहिलोपटक अनुहार देखिएको उनी बताउँछन् । भन्छन्, ‘संवाद दिएपछि त अनुहार देखिन्छ भन्ने भयो । त्यसपछि गाउँमा फोन गरेर यो पटक चाहिँ अनुहार नै देखिन्छ । टीभी हेर्नू भनेँ ।’
पार नलागेका सिरियल
पहिलो पटक टीभीमा आएपछि झन् हौसिएर राजु ‘हिजो आजको कुरा’को छायाङ्कनस्थल धाउन लागे । त्यसपछि सिरियल ‘तीतो सत्य’ आउन थाल्यो । उनी त्यहाँ पनि धाउन लागे ।
तीतो सत्यमा भने उनले अभिनय गर्न पाए । भन्छन्, ‘यहाँ पनि छायाङ्कन स्थलमा उस्तै भिड हुन्थ्यो, तर खेल्न चाहिँ पाएँ । नियमित त होइन, तर सानो भूमिकामा कहिलेकाहीँ ।’
जितु नेपाल ‘मुन्द्रे’ ले जिरे खुर्सानी ल्याएपछि उनी त्यहाँ पनि धाएको बताउँछन् । भन्छन्, ‘यहाँ पनि नियमित त होइन, तर ठीकै भूमिका थियो ।’
राजुले केदार घिमिरे ‘माग्ने बूढा’ र सीताराम कट्टेल ‘धुर्मुस’लाई चिनेको यहीँ हो ।
माग्ने बूढा र धुर्मुसले ‘मेरी बास्सै’ ल्याएपछि त्यसको पनि छायाङ्कनस्थल बूढानीलकण्ठ धाएको उनी सुनाउँछन् ।
‘साइकलमा कुदिहाल्ने १ जहाँसुटिङ भए पनि जान्थेँ । छायाङ्कन स्थलमा अवसर पाइन्छ कि भनेर ४०–५० जना कुरेकै हुन्थे । त्यो भीडमा म पनि हुन्थेँ,’ उनी भन्छन् ।
मेरी बास्सै र जिरे खुर्सानी दुबैतिर हिँडेको थाहा पाएपछि साथीले दिएको सल्लाह हो वा डाह उनले अझै पत्तो पाएका छैन ।
‘हरेन्द्र साथी थियो । जिरे खुर्सानीमा उसले खेल्न पाउँदा मैले पाउँदिन थिएँ । मैले पाउँदा उसले पाउँदैन थियो । म दुईतिर हिडेको थाहा पाएर उसले भन्यो– दुईतिर धाएर तिम्रो प्रगति हुँदैन,’ उनी भन्छन्, ‘म जिरे खुर्सानीमा आइन भने एकल अवसर पाउँछु भन्ने लाग्यो होला उसलाई । जे होस्–मलाई सल्लाह ठीक लाग्यो । मेरी बास्सैमा मात्र जान लागेँ ।’
मेरी बास्सैमा ‘स्थायी’
राजु मेरी बास्सैमा धाउन लागेको महिनौं भएको थियो । एक दिन साउन्डका लागि बुम माइक समात्ने मान्छे अनुस्थित भएपछि उनले अवसर पाए । उनले त्यो दिन सायदै बिर्सन्छन् ।
‘त्यो साता त पाएँ । अर्को साता पनि म बुम समात्छु भनेको, केदार दाइले हुन्छ भन्नुभयो,’ उनी भन्छन्, ‘बुम समातेपछि चाहिँ सुटिङको भात र खाजा खान पाउने भएँ । अनि नियमित नभए पनि सानो भूमिका पाउन लागेँ ।’
राजुले बुम समात्ने जिम्मेवारी पाएको दुई महिना बित्नै लागेको थियो । मेरी बास्सैको सुटिङ झापामा हुने भयो । बुम समात्न नपाइने चिन्ता भएपछि माग्ने बूढालाई फोन गरेको उनी बताउँछन् ।
त्यसबेला ‘म पनि झापा जान्छु’ भन्दा माग्ने बूढाको जवाफ थियो रे, ‘तिमी नगए कसले बुम समात्छ ?’
साताभन्दा बढीको सुटिङमा झापा लैजाने भनेपछि ‘अब म मेरी बास्सैमा स्थायी भएँ’ भन्ने लागेको उनी बताउँछन् ।
‘झापा गयौं । मेरो पनि रोल सुरुमै रहेछ । साइकलमा सुन्तलीलाई राख्नुपर्ने सिन थियो । क्यामेरा खोल्ने बित्तिकै सुन्तलीलाई लडाइदिएँ,’ उनी भन्छन्, ‘यही कारण फर्काउँछन् जस्तो लागेको थियो, फर्काएनन् । त्यसपछि त झन् पक्का स्थायी भएँ भन्ने भयो ।’
अनि बने ‘राजु मास्टर’
राजु काठमाडौं आएको चार वर्ष भएको थियो । पढाइभन्दा बढी विभिन्न सिरियलको छायाङ्कनमा समय बिताए । अंग्रेजी विषय पूरक दिएर भए पनि आईए पास भइसकेका थिए ।
परिवारले आफैँ कमाउन दबाब दिन थाले पनि खर्च पठाउन छोडेको थिएन । उनी जेनतेन त्यही २५ सयले गुजारा टारिरहेका थिए ।
यता मेरी बास्सैमा बुम र सानो भूमिकामा अभिनय गर्दा थोरै आम्दानी हुन्थ्यो । तर एक्लो ज्यानलाई पुग्ने पनि थिएन । भन्छन्, ‘पहिलोपटक महिनाको ३०० रुपैयाँ पाएको थिएँ ।’
यो ०६४ सालको अन्त्य तिरको घटना हो । ललितपुरको छैमलेमा सुटिङ थियो । स्क्रिप्टले राहत बाँड्ने पढे/लेखेको मास्टरको भूमिका माग्यो । त्यहाँ भने राजुले अवसर पाएँ ।
‘त्यो क्यारेक्टर दुई/चार एपिसोड जाने भयो । कोठी टाँसेर, दौरा सुरुवाल, चस्मा लगाएर मरो लुक्स ४५ वर्षको प्रौढको जस्तो बनाइयो,’ उनी भन्छन्, ‘ती भागहरू राम्रा बने, खुब हिट भयो । त्यसपछि निरन्तरता पायो ।’
मास्टरको भूमिकापछि अभिनयमा सुधार हुँदै गएको उनलाई महसुस हुन्छ । त्यहीसँगै स्क्रिप्ट लेखनमा पनि केन्द्रित भएको उनी सुनाउँछन् ।
‘बुम समात्ने बेलादेखि नै केदार दाइलाई कानमा यस्तो गर्दा राम्रो होला भन्थेँ । उहाँले कति पटक मान्नुभयो । त्यसपछि केदार दाइको गल्ती खोज्न थोलेँ,’ उनी भन्छन्, ‘स्क्रिप्ट लेखेर केदार दाइलाई देखाउँथेँ । मैले लेखेको सुरुमा थोरै, पछि धेरै प्रयोग हुन लाग्यो ।’
लेखन विस्तारै सुधार भएपछि माग्ने बूढासँगै बसेर मेरी बास्सैको स्क्रिप्ट लेख्न थालेको उनी बताउँछन् । भन्छन्, ‘पछि त दाइले स्क्रिप्ट लेख्न घरमै बोलाउन लाग्नुभयो ।’
कमाइ नै हुँदैन थियो
राजुले ०६८ सालमा विवाह गरे । मेरी बास्सैबाट चर्चित भइसकेका थिए । तर आर्थिक प्रगति भने भएको थिएन ।
‘बिहे नहुँदासम्म त घरबाट खर्च आउथ्यो । त्यसपछि माग्ने कुरा भएन । महोत्सवहरूको कमाइले पनि खर्च धान्न कठिन हुन्थ्यो,’ उनी भन्छन्, ‘टीभीमा पनि गोलमाल भन्ने कार्यक्रम चलाएँ, अरू प्रोजेक्टको पनि निर्देशन गर्थेँ । पैसा नै दिँदैन थिएँ ।’
पछि धुर्मुस र माग्ने बूढाले मेरी बास्सै छाडेपछि लेखन र निर्देशनको जिम्मेवारी राजु र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ मा आइलाग्यो । त्यसबेलासम्म पनि पैसाको अभाव नै रहेको बताउँछन् ।
कलाकारिताबाट आम्दानी नभएपछि श्रीमतीको गहना बेचेर जुत्ता पसल गर्न थालेपछि आर्थिक प्रगति हुँदै गएको उनी बताउँछन् ।
‘पसल नचलेर तीन–चार ठाउँमा सारेँ । ०७५ सालपछि चल्दै गयो,’ उनी भन्छन्, ‘त्यसपछि भने पैसा कमाउन लागेँ ।’
‘हल्का रमाइलोले घर–गाडी दियो ।’
०७५ मा राजु र बल्छी दुवैले मेरी बास्सै छोडे । उनीहरूले ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरियल ल्याए । तिनै सिरियलबाट आफूले घर र गाडी जोडेको उनी बताउँछन् ।
‘यता व्यापार पनि थियो । आफ्नै सिरियल गर्न लागेपछि आम्दानी बढ्यो,’ उनी भन्छन्, ‘त्यही कमाइबाट काठमाडौंमा घर–गाडी जोड्न सकियो ।’
अहिले राजु ‘सकस’ सिरियलको एकल लेखक र निर्देशक हुन् । ‘जुठे’ निर्माणमा उनले बल्छीसँग सहकार्य गरेका छन् । भन्छन्, ‘अहिले ४० जानको टिमको नेतृत्व गर्छु ।’
मेरी बास्सैले पैसा नदिए पनि ज्ञान दिएको राजुको बुझाइ छ । तर ख्याती सोही सिरियलले दिएको उनले बिर्सने छैनन् । दर्जनभन्दा बढी देशको भ्रमण गर्ने अवसर मिलाएकामा राजु मेरी बास्सैप्रति कृतज्ञ छन् ।
भन्छन्, ‘१६ वर्ष संघर्षमा बिताएँ । बल्ल फल खाने बेला आएको छ । अहिले नाम र दामदेखि सबै कुराले सन्तुष्ट छु ।’
प्रतिक्रिया