मस्तिष्कसम्म हुनसक्छ कान दुखाइको असर | Khabarhub Khabarhub

मस्तिष्कसम्म हुनसक्छ कान दुखाइको असर


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानव शरीरको महत्वपूर्ण अंगमध्ये कान पनि एक हो। धेरै मानिसलाई कान दुख्ने समस्याले हैरानी बनाएको हुन्छ। विशेष गरेर साना बालबालिकामा कान दुख्ने समस्या धेरै हुने गर्दछ। धेरैले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । कानको दुखाई केही समय वा लामो समयको लागि रहनसक्छ। यसको पीडा हल्का र बढी पनि हुनसक्छ। कानकै कारणले मात्रै नभई शरीरका अन्य अंगमा समस्या भएर पनि कानको दुखाई हुने चिकित्सक बताउँछन्। के कारणले कान दुख्छ ? कस्तो दुखाइलाई गम्भीर मान्ने ? यसको उपचार के छ ? यिनै विषयमा नाक, कान र घाँटी रोग विशेषज्ञ डा. संज्ञा पौडेलसँग गरिएको कुराकानी :

कान दुख्ने समस्या प्राय धेरैलाई हुने गरेको छ, कानको दुखाइलाई हामीले कसरी बुझ्ने ?
कान सबैको एउटै भए पनि कानको दुखाइको कारण फरकफरक हुन्छ। कानको बाहिरी तहदेखि भित्री तहसम्मको दुखाइको कारण फरक हुन्छ। कसैलाई कानको बाहिरी भाग छालामा संक्रमण भएर दुख्ने हुन्छ। जसलाई मेडिकल भाषामा टेली कञ्जाइटिस भनिन्छ। त्यस्तै कानको जाली र कुरकुरे हड्डीको बिचको भागमा इन्फेक्सन हुनसक्छ। त्यसलाई ओटाइटिस टेक्सटोमा भनिन्छ। यो समस्या लिएर अस्पताल पुग्ने बिरामी धेरै हुन्छन्। त्यस्तै कानमा ढुसी परेर पनि कान दुख्ने गर्दछ।

यी सबै समस्या बाहिरी कानमा देखिने समस्या हुन्। अर्को कानको बिचको भागमा समस्या हुँदा पनि कान दुख्छ। यो प्राय बच्चामा हुने गर्दछ। यो समस्या भनेको पिप जम्ने, पाक्ने, जाली प्वाल पर्ने जस्ता कारणले हुन्छ। कसैकसैलाई रुघाखोकी लाग्यो भने पनि कान दुख्छ। किनभने नाक, कान र घाँटीको नली एउटै हुने हुनाले रुघाखोकीको असर कानमा पर्ने हुन्छ।

कानकै कारणले मात्रै नभएर अन्य कारणले पनि कान दुख्नसक्छ। रुघाखोकी मात्र नभएर दाँतको दुखाइ, घाँटीमा टन्सिल वा अन्य समस्या हुँदा पनि कान दुख्न सक्छ।

कानको कस्तो दुखाइलाई सामान्य र कस्तोलाई गम्भीर मान्ने ?
बालबालिकालाई रुघाखोकी लागेको छ र अलिअलि कान पनि दुखिरहेको छ भने सामान्य हुनसक्छ। तर लामो समयसम्म कान दुख्यो भने त्यसलाई सामान्य मान्नु हुँदैन। बच्चा रातभर सुत्न सकेन भने अस्पताल लानुपर्छ। ठुलो मान्छे भए उसको सुनुवाइमा समस्या भइसकेको भए इन्फेक्सन भयो भनेर बुझ्नुपर्छ। यसको असर मस्तिष्कसम्म हुने भएकाले समयमै उपचार गर्नुपर्छ। बारम्बार हुने कानको दुखाइलाई सामान्य रुपमा नलिई समयमै उपचार गर्नु राम्रो हुन्छ।

कुरा उमेरका बालबालिकामा रुघाखेकीकै कारणले कान दुख्ने समस्या हुन्छ ?
पाँच वर्षमुनिका बालबालिकामा कानको विकास राम्रोसँग भइसकेको हुँदैन। जसले गर्दा इन्फेक्सन भइरहने सम्भावना धेरै हुन्छ। बच्चालाई दुध खुवाउने तरिका नमिल्दा पनि कानमा समस्या हुनसक्छ। दूध खाँदै गर्दा बाहिरबाट होइन नाकबाट कानमा जाने ट्युबबाटै दूध पसेर कान पाक्नसक्ने जोखिम हुन्छ।

यो मौसममा कानका कस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेका छन् ?
अहिले भाइरल संक्रमणको जोखिम धेरै भएकाले कान पाक्ने समस्या नै धेरै हुने गरेको छ। कसैकसैले कानमा तेल राख्नेहुँदा बर्खाको समयमा पानी पनि तेलसँगै मिसिन पुग्छ। जसले गर्दा कानमा ढुसी पर्ने समस्या लिएर धेरै बिरामी आउने गरेका छन्।

तेलले असर गर्छ भन्नुभयो, बच्चाको कान सुख्खा हुँदा के गर्ने ?
बच्चाको कान एकदमै सुख्खा हुँदा कहिलेकाहीँ एक दुई थोपा तेल राख्नु नराम्रो हुँदैन। तर कानभित्र के भइरहेको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। जस्तै जालीमा प्वाल छ भने त्यसैमाथि तेल राख्दा असर गर्छ। कानमा धेरै तेल राख्दा ढुसी परेर इन्फेक्सन हुने सम्भावना भएकाले सकेसम्म कानको भित्रको भागमा तेल नराख्नु राम्रो हुन्छ। बाहिरी भागलाई चिल्लो बनाइराख्न थोरै मात्रामा लगाउन सकिन्छ।

कानको जालीमा के कारणले प्वाल पर्छ ?
पहिलो पटक कान पाक्दा कानमा पिप जम्यो र त्यो पिपलाई समयमै सफा गर्न सकेनौ भने जाली फुटाएर बाहिर निस्किन्छ। त्यसरी फुटेको जाली कहिलेकाहीँ आफै पनि टालिनसक्छ। प्रायजसो बिरामीमा नटालिएर प्वाल नै भइराख्छ।

त्योबाहेक चोटपटक लाग्दा, कानमा हिर्काउँदा, जाली प्वाल पर्छ। त्यस्तै कानको अर्को समस्या भनेको हड्डी खाने समस्या हुन्छ। यो समस्या भए थोरैथोरै पिप निस्किने, कानबाट गन्ध आउने हुन्छ। यसमा कानको धेरै दुखाई हुँदैन तर भित्रभित्रै हड्डी खाएर मस्तिष्कसम्म असर गरिसकेको हुन्छ। त्यसैले यसलाई सामान्य रुपमा नलिई समयमै उपचार गर्नुपर्छ।

कानको जालीमा प्वाल पर्दा दुख्ने र पाक्ने बाहेक अन्य लक्षण के देखिन्छन् ?
कहिले काहीँ कानको दुखाई नभएर पनि जालीमा प्वाल परेको हुन्छ। कोही सुनुवाइ कम भयो भनेर उपचार गर्न आउँछन् कान हेर्दा जालीमा प्वाल परेको हुन्छ। कसैले त्यो पनि याद गरेको हुँदैन तर जाँच गर्दा जालीमा प्वाल देखिन्छ।

बालबालिकादेखि सबै उमेरका मानिसको कान बारम्बार दुख्छ भने ढिलो नगरी उपचार गर्नु राम्रो हुन्छ।

कानको जालीमा प्वाल परेपछिको उपचार के हो ?
जाली टाल्नको अप्रेशन गर्नुपर्छ। पाकेको छ, पिप बगिरहेको छ भने औषधीमार्फत उपचार गर्न सकिन्छ। जालीमा नै प्वाल छ भने कुनै कुनै केशमा आफै टालिन्छ। आफै टालिएन भने अप्रेशन नै गर्नुपर्छ।

 

कानको दुखाइबाट बच्न के गर्ने ?
सबैभन्दा पहिले कान कोट्याउने बानी भए त्यसबाट टाढा बस्नुपर्छ। कान कोट्याउँदा बाहिरी छालादेखि भित्र कानको जालीसम्म असर हुन्छ। रुघाखोकी लाग्ने बित्तिकै औषधी प्रयोग गरेर छिटो निको पार्ने बानी धेरैमा हुन्छ। जसले गर्दा कानको इन्फेक्सन हुन्छ। बच्चालाई सकेसम्म सुताएर दूध नखुवाउनु राम्रो हुन्छ। सुताएरै खुवाउने भए टाउको अलिकति उठाएर वा सिरानी राखेर खुवाउनुपर्छ। बालबालिकादेखि सबै उमेरका मानिसको कान बारम्बार दुख्छ भने ढिलो नगरी उपचार गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ७ : १३ बजे

आज २०८१ साल भदौ २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २८ गते शुक्रबार तदनुसार

भारत–चीनबीचको सम्बन्ध धेरै जटिल छ : विदेशमन्त्री जयशङ्कर

जेनेभा – भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’

वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा

रुकुम–पश्चिमको मुसिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रुकुम–पश्चिम । यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य