ब्रेकिङ स्टोरी

गौरा पर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

By खबरहब

August 26, 2024

काठमाडौं- सैनिकमञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको हो ।

‘केपी ..रो पाराले, दु:ख पाए साराले, केपी …र, देश छोड’ जस्ता अमर्यादित नाराबाजी युवाहरूले गरेका हुन् ।

मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भइरहँदा आयोजकले शान्त बनाउने कोसिस गरेका थिए । तर अराजक शैलीमा युवाहरूले अश्लील शब्दसहित गौरा पर्व कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथि हुन आइपुगेका छन्, गौरापर्वको सन्दर्भ छ। तर दर्शकदृघाबाट स्वागतको सट्टा अपमानको वर्षा भैरहेको छ।
कसले सिकायो होला? कसले दिक्षित गर्‍यो होला? किन सम्मान गर्न आयोजित कार्यक्रममा अपमान गरिन्छ होला?😒 pic.twitter.com/fWaZYIH96q

— Dipesh Shahi (@DipeshShahi) August 26, 2024


त्यसक्रममा प्रधानमन्त्री ओलीले उक्त नाराबाजीप्रति असन्तुष्टि जनाए । उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण रहेको उल्लेख गरे । ‘नेपालीको परिचय मेलमिलाप हो । तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ’, उनले भने ।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिका रुपमा पुगेका थिए ।

गौरापर्वको सन्दर्भमा अतिथि बन्न पुगेका ओलीविरुद्ध दर्शकदीर्घाबाट स्वागतको सट्टा अपमानको वर्षा भएपछि आयोजकले पनि चित्त दुखाएका छन् ।