'तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छ' | Khabarhub Khabarhub

‘तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छ’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) मा जलवायु वित्तका विषयमा विशेष छलफल हुने बताएका छन् ।

कोप–२९ लाई अर्थपूर्ण बनाउन आज आयोजित ‘राष्ट्रिय जलवायु सम्मेलन’ कार्यक्रममा मन्त्री ठकुरीले कोपमा जलवायु वित्तको एजेन्डालाई महत्वका साथ उठान गरिने उल्लेख गरे। 

‘कोपमा सबै देशहरू जलवायु परिवर्तनका कारण निम्तिएका संकट र समस्या समाधान गर्न एकजुट हुनेछन् । जलवायु संकटसँगै समाधानमा नेपालले गरेको उपलब्धिबारे प्रचार गरी थप सहयोग र सहकार्यका माध्यमबाट हाम्रा आवश्यकता पूर्ति गर्नेबारे अघि बढ्ने छौँ’, उनले भने।

वित्तीय सहयोगबिना विकशील देशलाई जलवायु परिवर्तनले निम्ताएका चुनौतीसँग लड्न असहज हुने भएकाले वित्तसम्बन्धी विषयमाथि छलफल गरिने मन्त्री ठकुरीले बताए।

‘तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनु जरुरी छ । यसलाई हासिल गर्न विश्वले स्वच्छ तथा दिगो ऊर्जा स्रोत अवलम्बन गरी कार्बन उत्सर्जनमा कमी ल्याउने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ ।’

जलवायु परिवर्तनका कारण केही समयअघि थामेमा भएको हिमताल विस्फोट र काठमाडौँलगायत क्षेत्रमा आएको बाढीका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने मन्त्री ठकुरीले जानकारी दिए।

सन् १९९२ को जलवायु परिवर्तन महासन्धि र सन् २०१५ को पेरिस सम्झौता अनुमोदन गर्नुका साथै नेपालले आफ्नो प्रतिबद्धता पूरा गर्दै आएको भन्दै मन्त्री ठकुरीले नेपालले विसं २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार पारी कार्यान्वयन गरिरहेको जानकारी दिए। विद्युतीय सवारी प्रवर्द्धन तथा स्थानीयस्तरमा जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिलाई विश्वले प्रशंसा गरेको उनले उल्लेख गरे । 

मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्नेक्रम घटेको, बाढीपहिरोलगायत जलवायुजन्य विपत्तिहरुले निरन्तर पुर्‍याइरहेको क्षतिकाबारेमा सम्बन्धित जिल्लाका जनप्रतिनिधि, स्थानीय, विज्ञ तथा सञ्चारकर्मीले जानकारी गराइरहेको बताए ।

सन् २०१५ मा भएको पेरिस सम्झौतासँगै विश्वले जलवायु परिवर्तनका विरुद्ध एकत्रित प्रयास गर्न एक साझा प्रतिवद्धताका साथ अघि बढेको बताउँदै मन्त्री ठकुरीले यो सम्झौताले विकासशील र विकसित देशबीच सहकार्य गर्दै समस्या समधान गर्न प्रोत्साहित गर्ने उल्लेख गरे। 

हाम्राजस्ता देशका लागि जलवायु परिवर्तनका प्रभाव गम्भीर बनेका बताउँदै सीमित स्रोत र साधनले यो समस्यासँग जुध्न नसकिने भएकाले बहुपक्षीय प्रक्रियामा सहभागी हुनु अत्यन्त महत्वपूर्ण रहेको उनले बताए।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : ४८ बजे

आज १२ बजेभित्र उद्योगहरूमा लाइन जोड्न असम्भव : प्राधिकरण

काठमाडौं– बिजुलीको लाइन काटिएका उद्योगहरूमा आज मध्याह्न १२ बजेभित्र पुनः

बागलुङमा ‘पिकअप भ्यान’ दुर्घटना, पाँच जनाको मृत्यु

बागलुङ– बागलुङ छिस्तीमा पिकअपभ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ

विद्यालय स्थापनाको चार दशकपछि पक्की भवन निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना

‘टीओडी’ मिटरका आधारमा महशुल उठाउने सरकारको निर्णय

काठमाडौं– सरकारले ट्रक तथा डेडिकेटेड महशुलबापत प्रिमियम शुल्क बक्यौता ‘बिलिङ

सर्वत्र जनता पिरोल्ने नेताको बिगबिगी

अमेरिकी राष्ट्रपति आइजनहावरले पद सम्हालेपछि उनका नाममा असंख्य उपहार र