पर्वतमा मौसम सूचना केन्द्र स्थापना | Khabarhub Khabarhub

पर्वतमा मौसम सूचना केन्द्र स्थापना


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ । युएसएआईडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिकामा मौसम सूचना केन्द्र (वेदर स्टेशन) स्थापना गरेको हो ।

मौसमको पूर्वानुमान गरी नागरिकलाई सम्भावित जोखिमबारे समयमा जानकारी दिने उद्देश्यले स्टेशन स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । यसबाट विशेगरी वायुमण्डलीय अवस्थाका विभिन्न पक्षहरूको मापन, निगरानी र विश्लेषण गरी नागरिकलाई समयमा सूचना प्रवाह गरिने मोदी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत दिपक शर्माले जानकारी दिए ।

उनका अनुसार पाँच लाख ५० हजारको लागतमा मौसम सूचना केन्द्र स्थापना भएको हो । यसले मुख्यगरी तापक्रम मापन गर्ने, हावाहुरीको गति र दिशाका बारेमा जानकारी दिनुका साथै वर्षा र आर्द्रता मापन गर्नेछ । साथै जलवायु अध्ययन, आपत्कालीन पूर्वसूचना प्रदान गर्न सहयोग पुग्ने शर्माले बताए ।

यो सूचना केन्द्रलाई जल तथा मौसम विज्ञान विभागका विभिन्न भागमा रहेका जलवायु मापन केन्द्रहरूसँग समन्वय गरी दैनिक रूपमा एकीकृत विवरणहरू उपलब्ध गराउने मोदी गाउँपालिकाले तयारी गरेको छ । केन्द्र स्थापनासँगै विशेषगरी वर्षायाममा हुने बाढीपहिरोका घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

बेमौसममा हुने वर्षा, असिना, चट्याङ र हावाहुरीका कारण कृषि बाली, पशुचौपाया तथा मानवीय क्षति न्यूनीकरण गर्न सकिने भएकाले यसलाई प्रभावकारी रूपमा सञ्चालन गरिने मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए । उनले मोदी गाउँपालिकाका मात्र नभएर आसपासका सबै नागरिकलाई मौसमी विपदबाट सुरक्षित राख्न केन्द्रलाई प्रयोग गरिने उल्लेख गरे ।

आस्कले युएसएआईडीको सहयोगमा जल र जङ्गल परियोजना सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत जिविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।

व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकको प्रोत्साहन र प्रवर्द्धनका लागि मौसमी सूचना प्रणालीको विस्तार गरिएको संस्थाका प्रशासन प्रमुख शिव पोखरेलले जानकारी दिए । उनका अनुसार मोदी गाउँपालिकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासे क्षेत्रमा कार्यक्रम केन्द्रित भएकाले पनि मोदीमा मौसम स्टेशन स्थापना गरिएको हो ।

यस क्षेत्रका बासिन्दाले विगतमा जस्तो बाढी, पहिरो, चट्याङ, हावाहुरीलगायत प्राकृतिक विपदबाट क्षति व्यहोर्नुपर्ने घटना न्यूनीकरण हुने पोखरेलको दाबी छ । पालिकाले सबै वडाका नागरिकको मोबाइल नम्बर सङ्कलन गरी मौसमको पूर्वानुमान र सम्भावित जोखिमबारे एसएमएस (खबर) प्रवाहसमेत गर्ने जनाएको छ ।

मोदीमा गत वर्षमा मात्रै चट्याङ लागेर तीन जनाको ज्यान गएको थियो भने धेरै सङ्ख्यामा पशुचौपायाको क्षति भएको थियो ।

त्यसैगरी गत वर्षायाममा गाउँपालिकाभित्रका झण्डै दुई दर्जन बढी परिवार बाढीपहिरोका कारण विस्तापित बनेका थिए भने पर्वतमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : २९ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत