कोशीका पूर्वमन्त्री अधिकारीको बयान : म आफैँ पीडित हुँ, न्याय मलाई चाहियो | Khabarhub Khabarhub

जापानमा मानव तस्करी प्रकरण

कोशीका पूर्वमन्त्री अधिकारीको बयान : म आफैँ पीडित हुँ, न्याय मलाई चाहियो


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापान जाने क्रममा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफैं पीडित भएको बयान दिएका छन् ।

प्रदेश र संघीय सरकारको अनुमतिबिना नै गत कात्तिक १३ गते जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीन युवकलाई लगेको आरोपमा पक्राउ परेका अधिकारीले उक्त आरोपबाट सोमबार उन्मुक्ति पाइसकेका छन् ।

उनले त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा दिएको बयानका क्रममा उक्त प्रकरणमा आफैं पीडित भएको उल्लेख गरेका छन् ।

मानव तस्करीको अनुसन्धान गरेका प्रहरी अधिकारी र सरकारी वकिलहरूसँगको बयानका क्रममा अधिकारीले उक्त घटनामा आफू पीडित भएको जिकिर गरेका हुन् ।

मानव तस्करी तथा सरकारी कागजात र छाप किर्तेबारे आफूले त्यतिबेलै प्रहरीलाई सूचना दिएर साक्षी बनेको दाबी उनले गरेका छन् ।

‘मानव तस्करी तथा कीर्तेसम्बन्धी अपराधबारे मौकामै मलाई थाहा हुनेबित्तिकै प्रहरीलाई सूचना दिने व्यक्ति हुँ । म उक्त अपराध घटनाको पीडित र अपराधको पहिलो सूचकसमेत भएकाले अपराधमा संलग्न भन्न मिल्दैन’, उनले बयानमा भनेका छन्, ‘मसँग हङकङमा भेट भएका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान हुँदैछ । मेरो हैसियत अहिलेलाई अपराधको सूचना दिने सरकारी ‘गवाह’ हो । मेरो व्यक्तिग र म कार्यरत मन्त्रालयको सही छाप र परिचय पत्र किर्ते गरिएको हुँदा म आफैँ पीडित हुँ, दोषीमाथि कारबाही गरेर मलाई न्याय दिनुपर्छ।’

प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारको पनि स्वीकृति नलिई जापान उडेका अधिकारीले तीनजना युवकलाई अवैधानिक रुपमा लिएर गएपछि मन्त्री पद गुमाएका थिए । उनलाई नेकपा एमालेले पार्टीका सबै भूमिकाबाट हटाएर निलम्बन गरेको थियो ।

सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउँदा अन्य ११ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाउँदै फाइल अदालत लगिएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

मानव तस्करी प्रकरणमा अधिकारी गत कात्तिक २५ गते विराटनगरस्थित निवासबाटै पक्राउ गरेका थिए । उक्त प्रकरणमा जापानको अध्यागमन विभागबाट ४ जना डिपोर्ट भएका थिए । जापानको एक कार्यक्रममा जाँदा उनले असम्बन्धित युवालाई लगेपछि यो प्रकरण चर्किएको थियो ।

मन्त्री अधिकारीसँग जापान गएका तीनजनाले आफूहरूले १० देखि १४ लाख रुपैयाँसम्म बुझाएको बयान काठमाडौं प्रहरीसमक्ष दिएका थिए ।

मानव तस्करीमा मुछिएपछि अधिकारीको चर्को विरोध भएको थियो । उनले मन्त्री पदबाट राजीनामा दिएपछि एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट पनि निलम्बन गर्‍यो । त्यसपछि प्रहरीले घरैबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

त्यस प्रकरणमा जापानबाट डिपोर्ट भएकासहित ९ जना समातिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा मुछिएका दावा शेर्पा, गोपाल भन्ने योगराज गौतम, जनक राई, महेश पाण्डे, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, कञ्चन देवकोटा, विष्णुप्रसाद भट्टराई, जुगल रिजाल र दिवाकरबाबु भट्टराईविरूद्ध मुद्दा दर्ता गरेको छ। जसमध्ये दिवाकरबाबु, गोपाल र विष्णुप्रसाद फरार छन्।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ३ : १० बजे

धरानमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सुनसरी – धरान -३ स्थित माछाभौडीमा शुक्रबार एक युवकले धारिलो

जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय बहस भएन, साझा धारणा बनेनन् : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय

साताको कार्टुन : प्रचण्ड र गोहीको आँशु !

काठमाडौं – व्यवस्थाविरुद्ध १० वर्षसम्म बन्दुक उठाएका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं-टीकापुर हवाई उडान आइतबारदेखि

काठमाडौ– कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको

अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने

हैदाराबाद– पुष्पा शृङ्खलाका अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक